Sunday, April 28, 2024

-->

उकालो साप्ताहिक ब्रिफिङ : मिडियाको संकट, बाँसबारीको अन्योल

यो साता उकालोमा महासंकटमा मिडिया, बाँसबारी जग्गाबारे १५ महिनादेखि ‘अनुसन्धानरत’ अख्तियार, मधेशमा फेरि बदलाको राजनीति चर्किने चिन्ता, विद्यालय शिक्षा विधेयकमा सांसदका १७५२ संशोधन सहितका खबर चर्चामा रहे

उकालो साप्ताहिक ब्रिफिङ  मिडियाको संकट बाँसबारीको अन्योल

ब्रिफिङको शुरूआत गरौँ, एउटा नयाँँ–पुरानो प्रकरण– विवादित बाँसबारी जग्गा हडपेको सम्बन्धमा सरकारी निकायको अनुसन्धान गतिबाट। तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा एउटा व्यापारिक घरानाले हडपेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको केही दिनमा १५ महिना पूरा हुँदैछ। यी १५ महिनामा अख्तियारले गरेको अनुसन्धान हेर्ने हो भने, विवरण पठाइदिन अर्थ मन्त्रालयलाई निर्देशन दिनेबाहेक अरू कुनै पहल अघि नबढेको देखिन्छ।

यसै सन्दर्भमा मंगलबार प्रकाशित विशेष रिपोर्ट बाँसबारी जग्गा प्रकरणमा १५ महिनादेखि ‘अनुसन्धानरत’ अख्तियारमा चौधरी ग्रुपले हडपेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गाबारे अख्तियारले १५ महिनादेखि गरिरहेको अनुसन्धान जहाँको त्यहीँ रहेको ‘डिटेलिङ’ गरिएको छ। साथै, यसमा कसरी अर्थ मन्त्रालयको अपुरो प्रतिवेदनले अख्तियारलाई सजिलो पारिदिएको छ भनेर फलोअप गरिएको छ।

मंगलबार नै प्रकाशित महासंकटमा मिडियाले नेपाली मिडिया जगत्, विशेषत: प्रिन्ट मिडियाको 'अधोगति'का कारण, खासगरी आर्थिक पाटोमा केन्द्रित रही केलाएको छ। कोरोनापछि बल्झिएको आर्थिक मन्दी, पत्रकारको तलबमा ढिलाइ, जागिर कटौती, निरन्तरका संस्थागत आन्दोलन आदि समस्याले यस उद्योगको संकटलाई सतहमा ल्याइदिएको विवरण यस लेखमा पढ्न सकिन्छ। यस क्षेत्रसँग सम्बन्धित सम्पादक, पत्रकार, विज्ञापन एजेन्सी लगायतसँग निरन्तर छलफलमा केन्द्रित रही यो लेख तयार पारिएको हो। आगामी दिनमा मिडिया संकटबारे थप अध्ययन, छलफलपछि शृंखलाबद्ध रूपमा लेख प्रकाशित गरिने छ।   

यसैगरी, यही हप्ता लागू हुनेगरी काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने निर्णय गरेको छ। उक्त निर्णयअनुसार धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ गर्न रोक लगाइने छ। यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने महानगरको तयारी छ। न्युरोडका लागि पार्किङको अन्य विकल्प खोज्ने क्रममा महानगरले धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार पनि गरिरहेको छ।

टेलिकमका तत्कालीन एमडी सुनिल र मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेको खबर यो हप्ताको चर्चित हेडलाइन मध्य एक थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक (एमडी) सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको लगायत अभियोगका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने, भागी जाने सम्भावनासमेत भएकाले पक्राउ गरिएको आयोगले जनाएको छ। विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

अर्कोतर्फ, डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। मंगलबार मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष राजीनामा बुझाएका हुन्। मधेश प्रदेश सरकारबाट बाहिरिएको जनमत पार्टीले जनमुखी काम गर्दा बाधा अड्चन गरेको, मन्त्रालय बारम्बार फुटाउने र आफूहरूमातहतका मन्त्रालयहरू पनि एकल ढंगले चलाउने गरेको आरोप लगाएको छ।  जनमत–जसपाबिच देखिएको यस टकरावले मधेशमा फेरि बदलाको राजनीति चर्किने चिन्ता बढेको छ। 

मधेश सरकारको नेतृत्व शुरूको एक वर्ष जसपाले तथा पछिल्ला दुई–दुई वर्ष जनमत र कांग्रेसले गर्ने समझदारी थियो। त्यही समझदारी तोडिन थालेपछि बढेको जसपा–जनमत टकराव बदलाको राजनीतितर्फ उन्मुख हुँदैछ।

विविध हेडलाइन

राष्ट्र

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका १८ उम्मेदवार विजयी, एमालेले जित्यो एक सिट  : राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १९ सिटका लागि बिहीबार सम्पन्न मतदानको परिणामअनुसार सत्ता गठबन्धनका १८ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक उम्मेदवार विजयी भएका छन्। सत्तारूढ दल कांग्रेसले १०, माओवादी केन्द्रले पाँच र नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक सिट जित्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि एक सिट जितेको हो।

विद्यालय शिक्षा विधेयकः समस्या एकातिर, सांसदका १७५२ संशोधन अर्कैतिर : सांसदहरूले विधेयक संशोधनका लागि दर्ता गरेका एक हजार ७५२ मध्ये झन्डै आधा अर्थात् ७०० भन्दा बढी प्रस्ताव शिक्षाको गुणस्तर वृद्धिमा नभई शिक्षकका सेवा सुविधा विस्तार र व्यवस्थापनमै केन्द्रित छन्।

भिजिट भिसामा कडाइ गर्न ल्याइएको १७बुँदे निर्देशन खारेज

राष्ट्रवाद र अवसरको चेपुवामा 'पासपोर्टधारी' नेपाली

रवि लामिछाने जोडिएको सहकारी ठगीमा सीआईबीले थाल्यो अनुसन्धान

खेल

बर्बादी मात्र देख्दादेख्दै ‘म्याच फिक्सिङ’मा किन लाग्छन् खेलाडी : फुटबल र क्रिकेटको सबभन्दा ठूलो अपराध मानिने ‘फिक्सिङ’मा नेपाली खेलाडीको एकपछि अर्को संलग्नता आर्थिक कारणसित मात्र जोडिएको छैन, खेल संघ र तिनका पदाधिकारीको संदिग्ध भूमिका यसमा झन् बढी जिम्मेवार छ।

मैदानमा ९० मिनेट बिताउन १६० किलोमिटर यात्रा गर्ने ‘सिन्धु एफसी’को संघर्ष : खुमलटार एफसीबाट यू१६ लिग खेलिरहेको सिन्धुपाल्चोक एफसीका खेलाडी खेल हुने दिन लामोसाँघुबाट ८० किमि टाढाको काठमाडौँ आउँछन् र त्यही दिन फर्किन्छन्।

समाज

अयोध्यामा ‘उन्माद’, नेपालमा उत्सव : अयोध्याको राम मन्दिर प्राणप्रतिष्ठाको बाछिटा जनकपुरसम्म आएको छ। ‘विशेष दिन’ भन्दै नगरमा माछा, मासु, मदिरा बिक्री वितरण निषेध गरिएको छ। वीरगन्जमा घरघरमा ‘जय श्रीराम’ लेखिएका गेरुवा झण्डा राखिएका छन्।

विद्यालयमा हुने दुर्व्यवहारका कारण गुमाउँदैछन् विद्यार्थीले ज्यान : विद्यार्थीलाई पाठ घोक्न लगाउने र जस्ताको तस्तै भन्न नजाने शारीरिक यातना दिने विद्यालय पनि छन्। अनुशासनका नाममा विद्यार्थीमाथि काठमाडौँका विद्यालयहरूले पनि शारीरिक र मानसिक यातना दिने गरेका छन्।

पितम देउरालीमा पाहुना पर्खिरहेका लक्ष्मण जसलाई शहर झर्दा चक्कर लाग्छ : पोखराबाट नजिकै ‘हाइकिङ’ गरेर एक रात बस्नका लागि पनि यो ठाउँ शान्त र रमणीय छ। बास बसेका पाहुनाहरूलाई खानबस्न सस्तो ‘प्याकेज’ सहित साँझ ‘क्याम्प फायर’को व्यवस्था छ।

बजार छ तर धमाधम पेसा छाड्दैछन् काठमाडौँका किसान : काठमाडौँ उपत्यकाका फार्महरूमा जग्गाको भाडाकै कारण लागतमूल्य बढ्ने, तर बजारमूल्य भने त्यसअनुसार नपाइने कारण कृषकहरू पेसाबाट विस्थापित भइरहेका छन्।

अर्थ–बजार

मूल्यवृद्धिको आधिकारिक तथ्यांक र उपभोक्ताको भोगाइबीच किन मेल खाँदैन?

विदेशी मुद्राको बढ्दो सञ्चितिः सरकारलाई ठूला आयोजनामा लगानी गर्ने अवसर

अध्ययन भन्छ– जीडीपीको ४२ प्रतिशत हाराहारी पुग्यो अनौपचारिक अर्थतन्त्र, ठूलो हिस्सा घरजग्गामा

अतिथि आवाज

'द मिडल अर्डर कोल्याप्स'

जलेश्वरअघि र पछिको रास्वपा

नेपालबाट किन बिदेसिइरहेका छन् डाक्टर?

कलेजमा भेटिएका ‘क्रान्तिकारी’ महेश्वरमान सर

लेनिन, भ्रमित विचार र नेपाली राजनीति

कला

जब कविताले जीवनको बाटो मोडिदियो

 


सम्बन्धित सामग्री