Saturday, April 27, 2024

-->
हाम्रो नीति र मूल्यमान्यता

मूल मान्यता


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सक्रिय र जिम्मेवार नागरिकका रूपमा हामी (उकालोका पत्रकार, कर्मचारी र सञ्चालक) मानवता, उदारता, समता र न्यायमा विश्वास गर्छौं। पत्रकारिताको माध्यमबाट यी मान्यताको प्रवर्द्धन नै हाम्रो मुख्य जिम्मेवारी हुनेछ।


समाजमा सञ्चारमाध्यम


लोकतन्त्रमा आमसञ्चार माध्यमलाई नागरिकको प्रत्यक्ष आवाज मानिन्छ। यसको भूमिका समाज तथा राज्यका शक्तिहरूबीचको सेतुका रूपमा रहन्छ। हामी यो विषयमा पूर्णतः सचेत छौं। अरुका आवाजको प्रतिनिधित्व गर्ने भएकाले पनि आमसञ्चार माध्यम सधैँ दुईवटा धारको बीचमा रहन्छ। यही कारण मुख्य रूपमा मानवता, उदारता, समता र न्यायको प्रवर्द्धन गर्ने सञ्चारमाध्यम जानेर वा नजानेर वा कतिपय अवस्थामा आधिकारिक रूपमा नै त्यस्ता मान्यता भत्काउन वा अवमूल्यन गर्न प्रयोग हुनसक्छन् भन्नेमा पनि हामी उत्तिकै प्रष्ट छौं। हाम्रो परिकल्पना र समाजमा हुने भूमिकालाई निरन्तर ध्यान दिँदै हामीले विश्वास गर्ने मानवता, उदारता, समता र न्याय जस्ता मूल मान्यतामा आँच नआउने गरी तिनलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं ।


विचारको विविधता र सुसूचित छनोट


आधुनिक समाजहरू जति जटिल देखिन्छन्, त्यति नै विविधताले भरिपूर्ण पनि छन्। यो हाम्रो विश्वास हो। हामी नागरिकका अनुभव, समस्या र दृष्टिकोणहरूमा पाइने विविधता समाजमा सकारात्मक परिवर्तनका स्रोत हुन् भन्ने विश्वास गर्छौं। जिम्मेवार सञ्चारमाध्यम नागरिकका विविधतापूर्ण अनुभव, समस्या र परिवर्तनको दृष्टिकोणलाई ठाउँ दिने माध्यम बन्नुपर्छ। जिम्मेवार सञ्चारमाध्यमले हिंसा वा आक्रामकताको साटो शान्तिपूर्ण राजनीतिलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ। जब नागरिक सामान्यभन्दा सामान्य देखिने तथ्यबारे समेत सुसूचित हुन्छन् र त्यसलाई महसुस गर्नसक्छन्, तबमात्र उनीहरूले व्यक्तिगत र सामूहिक हितका लागि सुझबुझपूर्ण निर्णय लिनसक्छन्।


राज्यका संरचनागत सीमाहरूका कारण सीमान्तकृत तहका नागरिकले आफ्ना आवाज सुनाउन सदियौँदेखि कठिनाइ भोगिरहेका छन्। अझ, आफ्ना आवाज राख्नै पाइरहेका छैनन्। यही कारण आमसञ्चार माध्यमले उनीहरूलाई अझ बढी प्राथमिकता र ठाउँ दिनुपर्छ भन्ने हाम्रो ठम्याइ हो। त्यस्तै, आफ्ना यथास्थितिवादी कथ्यलाई पुन:उत्पादन गरिराख्न चाहने शक्तिशाली तप्कालाई सञ्चारमाध्यमले निरन्तर प्रश्न गरिराख्नुपर्छ। यो हाम्रो मान्यता हो।


विश्वव्यापी अनुभव र असल अभ्यास


सञ्चारमाध्यमका रुपमा हाम्रो प्राथमिक उद्देश्य नेपाली नागरिकका सरोकार र मुद्दालाई सार्वजनिक ‘स्पेस’ दिलाउनु हो । हो, सिकाइ र अभ्यासका हिसाबले नेपालमा पनि थुप्रै मिडिया अनुभव छन्। त्योसँगै हामी इतिहासका विभिन्न कालखण्डमा विश्वव्यापी रूपमा संग्रहित असल अभ्यासहरूलाई समेत पछ्याउनेछौ। साथै, हामी आफैँ पनि ऐतिहासिक र विश्वव्यापी रूपमा ‘ट्रेन्ड सेटर’ हुन सकिन्छ भन्नेमा विश्वास गर्छौं।


कार्यालयको ‘इकोसिस्टम’मा मूल्यमान्यताहरू संस्थागत गर्ने


सञ्चारमाध्यमले एउटा प्रणालीमा काम गर्छ। जब प्रणालीका सबै अंगले जिम्मेवारीअनुसार उत्कृष्ट मूल्यमान्यता र मानक स्थापित गर्ने अभ्यास गर्छन्, मूल्यमान्यतामा आधारित इकोसिस्टमलाई लागू गर्छन्, तब मात्र उत्कृष्ट कार्यसम्पादन सम्भव हुन्छ। प्रणालीगत रूपमा एउटा साझा आचारसंहिताबाहेक पनि हाम्रा सल्लाहकारहरू, सञ्चालकहरू, सम्पादकीय समूह, प्रशासनिक तथा सहयोगी कर्मचारीहरूसमेत छुट्टाछुट्टै र विशिष्ट आचारसंहिताबाट निर्देशित हुनेछन्।


हाम्रो उद्देश्य


पत्रकारिता र आमसञ्चारको माध्यमबाट बृहत्तर सार्वजनिक हितको रक्षा गर्नु हाम्रो उद्देश्य हो।


हामी सान्दर्भिक, विश्वसनीय र गहन सूचना सामग्रीको उत्पादन तथा प्रशारण गर्नेछौँ। हामी पारदर्शी, जवाफदेही र सुशासन प्रवर्द्धन एवम् बहिष्करणमा परेका समूह तथा समाजको आवाजलाई विशेष स्थान दिएर विविधतायुक्त नेपाली समाजको जीवन्त तस्वीर प्रस्तुत गर्नेछौं ।


हाम्रा मार्गदर्शक सिद्धान्त


स्वतन्त्रता


उकालो डटकम सार्वजनिक हितको संरक्षण र सचेत एवम् सूसुचित, न्याय र शान्तिपूर्ण समाज निर्माणका लागि समर्पित छ । समाजको बृहत्तर हित र सत्यतथ्य सूचना प्रवाहको सुनिश्चितताका लागि यो संस्था सबै प्रकारका भौतिक लाभ त्याग गर्न तत्पर छ, रहनेछ।
हामी समाचार स्रोतसँगको विशेष सम्बन्ध र अरु कुनै बाध्यताबाट टाढा रहन उपलब्ध हरसम्भव सबै प्रयास गर्ने छौँ। हाम्रा मूलभूत मान्यतामा कहिँकतै सम्झौता हुनेछैन।


राष्ट्रिय र समुदायको स्वार्थ


उकालोले राष्ट्रिय र सार्वजनिक हितलाई पहिलो प्राथमिकतामा राख्नेछ। सञ्चारमाध्यमको कर्तव्य निजी स्वार्थपूर्ति नभएर बृहत्तर सार्वजनिक हितको रक्षा भएको तथ्यमा हामी दृढ छौं। राष्ट्रिय र सार्वजनिक हितलाई पहिलो प्राथमिकतामा राख्ने सन्दर्भमा यी मूल्यमान्यता कुनै व्यक्ति विशेष वा पदाधिकारीको दाबीभन्दा माथि हुन्छन् भन्ने विषयमा सजग हुनैपर्छ। हामी यसमा सजग छौं।


निष्ठा र उच्च नैतिक आचरण


वृहत लोकतान्त्रिक अभ्यासअन्तर्गत निर्मित संविधान र कानून, लोकतान्त्रिक मूल्यमान्यता र त्यसका प्रचलित विश्वव्यापी अभ्यास सामान्यतः हाम्रा दायरा हुन्, जहाँभित्र रहेर हामी आमसञ्चार संस्थाको अभ्यास गर्ने छौं। यी मूल्यमान्यता हाम्रा लागि स्वनियमनमा रहनेछन्। अनि, हामी इमान्दारीपूर्वक स्वार्थको द्वन्द्व र व्यावसायिक स्वार्थको आडमा निजी स्वार्थ पूर्ति गर्न खोज्ने प्रयत्न र प्रवृत्तिविरुद्ध रहनेछौं।


उकालो जहिले पनि र जस्तोसुकै अवस्थामा पनि देखिने स्वार्थको द्वन्द्वलाई अस्वीकार गर्ने प्रतिज्ञा गर्दछ।


हामी केही मौलिक अभ्यास गर्न पनि प्रतिबद्ध छौं। हामी हाम्रा समाचार स्रोतहरूबाट कुनै उपहार स्वीकार गर्दैनौँ। आफ्नो कामका लागि कुनै निःशुल्क यात्रा गर्दैनौँ। हाम्रो जिम्मेवारी वा पदीय भूमिकाका कारण कुनै विशेष सुविधा खोज्दैनौँ र कुनै अवस्थामा दिइएको भए पनि त्यस्तो सुविधा स्वीकार गर्दैनौँ। अञ्जानवश हुने त्रुटि जहाँ पनि हुनसक्छन्, तर हामी यो मान्यतामा दृढ रहन्छौं।


हाम्रा निजी र व्यावसायिक व्यवहारबाट हाम्रो पेशा र उकालो डटकमलाई कुनै प्रकारको क्षति हुने छैन। हामी व्यक्ति र संस्थालाई बदनाम गराउने कुनै पनि कार्य वा गतिविधि गर्ने छैनौँ र त्यसमा संलग्न पनि हुने छैनौँ।


हामीबाट हाम्रो रिपोर्टिङ र सम्पादन कार्य अनि क्षमतालाई प्रभावित पार्न सक्ने अथवा सम्झौता भएको जस्तो देखिने कुनै पनि राजनीतिक, सामुदायिक, सामाजिक कार्य र व्यवहार प्रदर्शन हुने तथा त्यस्ता कार्यमा सक्रिय सहभागिता जनाउने काम हुनै छैन।


निष्पक्षता र वस्तुनिष्ठता


उकालोमा आबद्ध समाचारदाता र सम्पादक तटस्थता तथा निष्पक्षतामा प्रतिबद्ध हुनेछन्। यदि, महत्वपूर्ण र अर्थपूर्ण तथ्यलाई बेवास्ता गरिएको छ र त्यससँग सम्बन्धित मुख्य पक्षलाई उनीहरूको धारणा राख्न दिइएको छैन भने कुनै पनि समाचार सामग्री निष्पक्ष हुन सक्दैन। निष्पक्षताले नै समाचारलाई पूर्ण बनाउँछ।


त्यस्तै, हामी तथ्यको नाममा कुनै असान्दर्भिक विषय समावेश गर्दैनौँ। तथ्य तथा तथ्यांकको सत्यजाँच अर्थात् ‘फ्याक्ट चेक’ उकालोको प्राथमिकतामा रहनेछ।


हामी जानेर वा नजानेर पाठकलाई दिग्भम्रित बनाउने वा धोका दिने काम गर्दैनौँ। हामीलाई थाहा छ, निष्पक्षताले इमान्दारिता दर्शाउँछ।


हामी सामाजिक मूल्यमान्यता र त्यहाँ विद्यमान शिष्टाचारलाई पनि उत्तिकै सम्मान गर्छौं। यदि, कुनै सामग्री विद्यमान समाचार सामग्रीका मूल्यमान्यताका हिसाबले आमरूपमा ग्राह्य अयोग्य वा अपाच्य भएको अवस्थामा ती सामग्री प्रकाशन वा प्रशारण गर्दा ‘डिस्क्लेमर’ राखेर मात्र प्रकाशन वा प्रकाशन गर्नेछौं।


विविधता नीति


हामी कार्यस्थल र उत्पादन गर्ने सामग्रीमा समानता र सामाजिक समावेशीकरणलाई महत्व दिन्छौँ। त्यो हामीले के गर्छौँ र कसरी गर्छौं भन्नेमा झल्किने छ।


आवद्धता र संलग्नता


उकालोका पत्रकारहरु निम्न विषयको पैरवीका लागि भएका गतिविधिमा सहभागी हुन सक्नेछन्ः


(१) आम मानिसको स्वतन्त्रता र स्वाभिमान
(२) अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्र सञ्चारमाध्यमको अधिकार
(३) कानूनको शासन


यद्यपि, त्यस्तो संलग्नता कुनै राजनीतिक दलको सदस्य वा निश्चित पैरवी समूहको व्यक्तिका हिसाबले नभई व्यावसायिक पत्रकारका रूपमा हुनुपर्नेछ। तर उकालोका पत्रकारहरूले ती गतिविधिको रिपोर्टिङ गर्ने छैनन्, जुन गतिविधिमा उनीहरू स्वयं संलग्न छन्।
उकालोले लिएका नीति र मूल्यमान्यता समय र आवश्यकता अनुसार निरन्तर परिष्कृत र परिमार्जित भैरहनेछन्।