Sunday, April 28, 2024

-->

पितम देउरालीमा पाहुना पर्खिरहेका लक्ष्मण जसलाई शहर झर्दा चक्कर लाग्छ

पोखराबाट नजिकै ‘हाइकिङ’ गरेर एक रात बस्नका लागि पनि यो ठाउँ शान्त र रमणीय छ। बास बसेका पाहुनाहरूलाई खानबस्न सस्तो ‘प्याकेज’ सहित साँझ ‘क्याम्प फायर’को व्यवस्था छ।

पितम देउरालीमा पाहुना पर्खिरहेका लक्ष्मण जसलाई शहर झर्दा चक्कर लाग्छ
आफ्नै गाउँको होटल व्यवसायबाट सन्तुष्ट लक्ष्मण गुरुङ हिमालहरूको दृश्यावलोकनमा रमाउँदै। तस्वीरहरू: श्याम/उकालो

पितम देउराली (कास्की)– २०७८ सालको जनगणनाअनुसार नेपालका अधिकांश जिल्लामा गाउँको भन्दा शहरको जनघनत्व बढी छ। गाउँ छोडेर शहर झर्ने क्रम तीव्र हुँदा दिनानुदिन गाउँहरू रित्तिँदै गएका छन्। सुखसयल र अवसरको खोजीमा मानिसहरू गाउँ छोडेर शहर छिरिरहेका छन्। शहरमा पनि नअडिएर बिदेसिनेको संख्या चुलिँदै गएको छ। 

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पितम देउरालीका लक्ष्मण गुरुङ (५०) को रहर भने भिन्न छ। उनलाई त नजिकको शहर पोखरा झर्दा पनि चक्कर लाग्लाजस्तो हुन्छ। दिनभर हिमाल हेर्दै दैनिकी शुरूआत गर्न रमाउँछन् उनी। दुई–चार महिनाको अन्तरमा कामै परेर पोखरा झरिहाले पनि बेलुका गाउँ फर्किहाल्छन् लक्ष्मण। 

अन्नपूर्ण र मर्दी हिमालको काखमा अवस्थित पितम देउरालीमा ‘न्यु पितम देउराली गेस्ट हाउस एन्ड रेस्टुरेन्ट’ सञ्चालन गरेर बसेका गुरुङ बिहान घाम उदाएपछि नअस्ताउञ्जेलसम्म हिमाल हेरेर बस्दा आनन्द लाग्ने बताउँछन्। 

“बिहान चराको आवाज सुनेर ब्युँझियो, एकदमै आनन्द लाग्छ। पोखरा गयो भने यता हेर्‍यो घर, उता हेर्‍यो घर, तल हेर्‍यो फोहोर, एकदमै आत्तिन्छु,” उनी भन्छन्, “मलाई पोखरा जानै मन लाग्दैन। म त हिमाल हेर्दै बस्ने हो। यसैमा आनन्द लाग्छ। कामले पोखरा जाँदा पनि त्यहाँ बस्न मन लाग्दैन।”

पछिल्लो पटक चार महिनाअघि पोखरा गएका लक्ष्मण आफ्ना साथीहरू पनि गाउँमै आनन्द मान्ने भएकाले शहर झर्न मन नगर्ने बताउँछन्। पोखरातिरै बस्ने उनका छोराछोरी पनि कहिलेकाहीँ भेट्न गाउँमै आइपुग्छन्। 

विदेशमा पाएको हण्डर–ठक्कर
व्यवसाय थाल्नुअघि लक्ष्मण पनि वैदेशिक रोजगारीमा थिए। १६ वर्षको उमेरमै साउदी अरब पुगेका उनले पाउनुसम्म दुःख पाए। भन्छन्, “साउदी गएको थिएँ। महादुःख पाएर आइयो। त्यही भएर नेपालमै केही गर्ने सोचले गाउँमै व्यवसाय गरेर बसेको छु,।”

सीपबिना विदेश जाँदाको पीडाबारे उनी सुनाउँछन्, “आफू पढेलेखेको छैन, सीप केही आउँदैन। विदेश गएर बेल्चा समात्ने, बालुवा चाल्ने, सिमेन्ट उचाल्ने, त्यही हो। अरू राम्रो काम पाइँदैन। पढेलेखेका मान्छे त उहीँ छन् नि, उनीहरूले नै काम पाएका रहेनछन्। अनि हामी नेपालीले केको गतिलो काम पाउनु र?”

विदेश जानेलाई काम सिकेर मात्र जान सुझाव दिन्छन् लक्ष्मण। तर अन्त गए पनि साउदीमा चाहिँ आफ्ना शत्रु पनि नजाऊन् जस्तो लाग्छ उनलाई। उनका साहुले फुर्सद भएको देख्नासाथ एउटै काम बारम्बार दोहोर्‍याएर गर्न लगाउँथे। 

“काम केही भएन भने रम्बल (बालुवा राख्ने ठाउँ) को बालुवा एक ठाउँबाट अर्को ठाउँमा सार्न लगाएर हैरान पाथ्र्यो। एकचोटि त अति भएर बेल्चा नै फालिदिएँ,” उनी सम्झिन्छन्, “त्यहाँ धेरै दुःख पाएर आएको हो म त। त्यही भएर तपाईंहरू विदेश जाने हो भने केही काम सिकेर मात्र जानुस् भन्छु।”

प्रेम साट्दै गोठालो गर्ने ठाउँमा होटल
पितम देउरालीमा नौ वटा होटल खुलिसकेका छन्। पदयात्रीको सुविधाका लागि केही मिटर दूरीको अन्तरमा होटल सञ्चालनमा आएका छन्। स्वदेशी तथा विदेशी पर्यटकहरू होटलमा ‘क्याम्प फायर’का साथ रमाइलो गरिरहेका भेटिन्छन्। 

यो ठाउँ पहिले भैँसीगोठ थियो। लक्ष्मणको किशोरकालीन सम्झनामा यो ठाउँ रमाइलो गर्ने र मायाप्रेम गाँस्ने थलो थियो। त्यसैकारण यहाँको नाम ‘पितम देउराली’ रहन पुग्यो। लक्ष्मणका अनुसार गुरुङ भाषामा ‘प्रि’ भनेको ‘माया’ र ‘तम’को अर्थ ‘रहनु’ भन्ने हुन्छ। माया बस्ने देउराली भएकाले यो ठाउँलाई पहिले ‘प्रितम देउराली’ भनिन्थ्यो। पछि अपभ्रंश हुँदै ‘पितम देउराली’ हुन पुग्यो।  

धम्पुस, भिच्चुक र लान्द्रुकबासीको घाँसदाउरा गर्ने थलो पनि यही थियो। घाँसदाउरा गर्न आउँदा एकअर्कालाई सघाउने र पात बजाएर भेट्न संकेत गर्ने गर्थे उतिबेलाका तन्नेरीहरू। लक्ष्मणले पनि पात बजाएर नै प्रेम गाँसेका थिए। उनी सुनाउँछन्, “मान्छेहरू पात बजाउँदै हिँड्थे। पात बजाएरै मायापिरति साट्थे। म पनि पात बजाएर हिँड्थे। त्यसरी नै पात बजाउँदा माया बस्यो अनि बिहे भयो।”

लक्ष्मणका जिजुबाजे पुस्तादेखि नै गोठालो गरेको पितम देउरालीमा गाईभैँसी प्रशस्त पालिन्थ्यो। किशोरकिशोरी र युवकयुवतीदेखि बूढापाकासम्म गोठालामै रमाउँथे। अहिले भने गाउँ छोडेर बिदेसिनको लहर यति बढेको छ कि उनकी श्रीमती पनि वैदेशिक रोजगारीमा गएकी छन्। 

गाउँ नछाडेका लक्ष्मणले चार वर्षअघि होटल व्यवसाय थालेका हुन्। यो बाटो भएर ट्रेकिङ हिँड्नेहरूलाई सजिलोका लागि होटलहरू खुल्न थाले। पोखराबाट नजिकै हाइकिङ गरेर एक रात बस्नका लागि पनि यो ठाउँ शान्त र रमणीय छ। बास बसेका पाहुनाहरूलाई खुशी पार्न साँझ ‘क्याम्प फायर’को व्यवस्था छ। 

पोखराबाट नजिकको गन्तव्य
पदयात्रामा जान रुचाउने तर लामो फुर्सद नहुनेहरूका लागि सही गन्तव्य बन्न सक्छ पितम देउराली। यही बाटो भएर विश्वकै चर्चित पदमार्ग एबीसी (अन्नपूर्ण बेस  क्याम्प) र मर्दी हिमाल जान सकिन्छ। टाढापानी, घोरेपानी पनि यही बाटो हुँदै जाने हो। 

पोखराबाट डेढ–दुई घण्टामा पितम देउराली पुग्न सकिन्छ। धम्पुस र काँडे दुवैतिरबाट यहाँ आइपुग्ने बाटो छ। “रमाइलो ठाउँ छ। ट्रेकिङ जाने हो भने पनि यो बाटो आउँदा हुन्छ,” ठट्यौली पारामा लक्ष्मण भन्छन्, “नभए एक रात बस्ने गरी आउनोस्। पात बजाएर रमाइलो गरेर जानुहोला।”

पाहुनाका लागि प्याकेज
पितम देउरालीमा साँझ खानबस्न एउटै ‘प्याकेज’ तोकिएको छ जसमा चिकेन खाना खाए १३ सय रुपैयाँ पर्छ भने भेज खाना खाँदा एक हजार। बिहानको ‘ब्रेकफास्ट’ प्याकेजभित्रै पर्छ। यहाँ आउने पाहुनाहरूले यो प्याकेज अरू ठाउँको तुलनामा बढी रुचाउँछन्। 

“सामान ढुवानीखर्च महँगो पर्छ पोखराबाट गाडीमा सामान ल्याएको २० हजार भाडा लाग्छ। गाडीबाट खच्चड लगाएर ल्याउँदा ४० हजार पर्छ। यहाँको समितिले नै प्याकेजमा सबैले तिर्न सक्ने गरी मेनु बनाएको छ,” उनी भन्छन्।

घुमघामको सिजन सकिँदा पनि पितम देउरालीका होटलहरू बन्द हुँदैनन्। गाउँ भएकाले बाह्रै महिना खुल्ला हुन्छ। कोही यात्री ट्रेकिङमा हिँडिहाले भने समस्या हुन सक्छ भनेर एक जना मात्रै भए पनि बस्ने गरेको उनले सुनाए।

यो बाटो मर्दी हिमाल जाँदा फरेस्ट क्याम्प, लो क्याम्प बादल डाँडा हुँदै हाइक्याम्प पुगिन्छ। एबीसी जाँदा लान्द्रुकबाट छोम्रोङ पनि पुगिन्छ। यहाँबाटै घोरेपानी र टाढापानी पनि पुगिन्छ। लक्ष्मणले बताएअनुसार अफसिजनमा खाली हुने होटलहरू सिजनमा भरिभराउ हुन्छन्।   


सम्बन्धित सामग्री