Saturday, April 27, 2024

-->

जलेश्वरअघि र पछिको रास्वपा

जलेश्वर बैठकपछि रास्वपा विचार, सिद्धान्त र कार्यक्रमसहितको राजनीतिक पार्टी भएको छ। जलेश्वर बैठकअघिको र पछिको रास्वपा फरक हो।

जलेश्वरअघि र पछिको रास्वपा

मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्यो। पार्टीको विचार र संगठन निर्माणका सन्दर्भमा सो बैठक खास थियो। पार्टीको केन्द्रीय कमिटी र संसदीय दल छुट्टाछुट्टै र संयुक्त गरी सञ्चालन गरिएको बैठकमा पार्टीको वैचारिक धार र सांगठनिक संरचना विषयमा छलफल र काम भए। पार्टीको महाधिवेशनसम्म पुग्नका लागि पार्टीको आधिकारिक अधिवेशन त्यही बैठकमार्फत शुरूसमेत गर्‍याैँ।   

जलेश्वर बैठकअघिको रास्वपा आम रूपमा बुझिएअनुसार केही अभियन्ता, प्राज्ञिक र व्यावसायिक व्यक्तिहरूको पहलकदमी थियो। हिजोका दिनमा नेपाली जनता र फरक दलहरूले जति नै संघर्ष र त्यसपछि राजनीतिक परिवर्तन ल्याए पनि अपेक्षाअनुरूप नेपाली समाजको रूपान्तरण नभएको ठहरसँगै एउटा अभियानका रूपमा आएको थियो रास्वपा। सो पहलकदमी/अभियानले आफूलाई राजनीतिक दलका रूपमा दर्ता गर्‍यो, चुनावमा सहभागी भयो। व्यक्तिगत रूपमा पार्टी सभापति रवि लामिछानेले विगतमा मिडियामा रहँदा उठाउनुभएका जनताका मुद्दा, कामलगायत अन्य धेरै कुराको समोच्चमा राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टीका रूपमा उदायो।

त्यतिले मात्र त पुग्नेवाला थिएन। हामीमाथि प्रश्नहरू थिए। आजको संसदीय व्यवस्थामा संसद्को ठूलो पार्टी भइरहँदा राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीको अडान या धारणा के हो भन्दै हामीलाई सोधिनु स्वभाविक थियो। जलेश्वर बैठकअघिसम्म हाम्रो पार्टीमा ती प्रश्नबारे ठोस उत्तर थिएनन्। हामीले त्यसमा राम्रोसँग काम गर्नैसमेत पाएका थिएनौँ।   

जलेश्वरमा हामीले एक प्रस्तावना पास गर्यौं, जसमा पार्टीले कुन धारको राजनीति गर्छ, समाजका जटिलताको समाधान कसरी गर्छ र समाज रूपान्तरण गर्न केके गर्नुपर्छ भन्नेबारे राजनीतिक र सैद्धान्तिक विषय उल्लेख छ। त्यो प्रस्तावना सर्वसहमतिले पारित भयो। सांगठनिक संरचनामा पनि जलेश्वरपछि केही काम भएका छन्, जसअनुसार हामी अहिले वडास्तरीय अधिवेशनमा देशभर जुटिरहेका छौँ। यसरी जलेश्वर बैठकपछि रास्वपा विचार, सिद्धान्त र कार्यक्रमसहितको राजनीतिक पार्टी भएको छ। जलेश्वर बैठकअघिको र पछिको रास्वपा फरक हो।   

दायाँ कि बायाँ?
राजनीतिक हिसाबमा 'राइट' र 'लेफ्ट'का बहस निरन्तर चलिरहँदा जलेश्वर बैठकमा हामीले दुई/तीन वटा महत्त्वपूर्ण कुरा उठायौँ। एउटा, निजी क्षेत्रलाई सम्पूर्ण रूपमा निषेध गरेर देशको आर्थिक विकास गर्न सकिँदैन भन्ने हाम्रो संश्लेषण थियो। त्यसअनुसार खास ठाउँ र क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ। तर त्यसो गरिरहँदा सामाजिक न्याय चाहिँ छाड्न मिल्दैन। विशेष गरी हाम्रोजस्तो विशिष्ट खालको समाजमा धेरै सन्दर्भमा सामाजिक न्यायको विषय छाड्नै मिल्दैन। 

निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय पुँजी निर्माण गरेर सामाजिक न्याय स्थापित गर्दै समावेशी-लोकतनान्त्रिक-बहुलवादी पार्टी बनाउँछौँ भनेर हामीले प्रस्तावनामा प्रस्ट भन्यौँ। हामीले लोककल्याणकारी राज्य र समाजवादका कुरा गरेका छाैँ। त्यो पारित भइसकेपछि त्यही नै हाम्रो विचार हो। त्यसो हुँदा अब रास्वपाले जातीय, लैंगिक, वर्गीय विभेदबिरुद्ध काम गर्दै लोककल्याणकारी राज्यको प्राप्तिको लागि काम गर्छ। हामी प्रस्ट छाैँ, विभेद र असमानता हटाउन हिजोका प्रयासहरूले पुगेनन्।

हाम्रो प्रस्तावना सरसर्ती हेर्दा अमूर्त देखिन्छ। तर भोलिका दिनमा त्यसकै आधारमा हाम्रा दस्ताबेजहरू लेखिनेछन्। मधेश, दलित, महिला र बढ्दो वर्गीय असमानताबारे  हामी थप लेख्नेछाैँ।

समावेशिता र सन्तुलन
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालय या अन्य कमिटी संविधानको परिकल्पना या हाम्रो समाजअनुसारको समावेशी हुनुपर्थ्यो, त्यो ठ्याक्कै छैन। त्यसलाई थप सन्तुलित बनाउनमा हाम्रो प्रयत्न जारी छ। हाम्रा कमिटीहरूमा खड्केका धेरै कुरा भर्न बाँकी छ, हामीले त्यसमा प्रयत्न गरिरहेका छाैँ। उपलब्ध र सम्भव हुँदासम्म काम पनि गरेका छाैँ, तर त्यसमा हाम्रा असहजता र सीमितता पनि छन्। प्राविधिक जटिलताले सोचेअनुरूप पार्टी निर्माण गर्न असहज पनि हुनेरहेछ। 

तर मुख्य कुरा, पार्टी नेतृत्व र पार्टी समिति यो कुरामा एक हदसम्म स्पष्ट छ कि हामीले पार्टीलाई समावेशी बनाएनौँ भने, सम्पूर्ण नेपाली समाजको प्रतिनिधित्व हुने खालको पार्टी केन्द्रीय समिति र सचिवालय बनाएनौँ भने फेरि पनि हामी र अरुबीच फरक रहन्न। त्यसबारे पार्टीभित्र सघन छलफल हुने गरेको छ। 

त्यसो भन्दैमा पार्टीलाई समावेशी र सन्तुलित नबनाउने छूट हामीलाई छैन। हाम्रो केन्द्रीय कमिटीमै अपुग महिला, दलित, मधेशी र पिछडा वर्गको सहभागिताको विषय छ। दैनिक रूपमा काम गर्ने गरी सानो, चुस्त र दुरुस्त सचिवालय छ हाम्रो, त्यसमा पनि हाम्रा कमीकमजोरी छन्। कमीकमजोरी भए पनि हामी त्यसमा सजग छाैँ, सुधारका लागि निरन्तर काम गरिरहेका छाैँ। 

समानुपातिक सहभागिताबारे सभापति 
पार्टी अन्ततः 'टिमवर्क' भए पनि पार्टी नेतृत्व भन्नेबित्तिकै मुख्य रूपमा पार्टी सभापति नै हो। समानुपातिक सहभागिताका विषयमा उहाँ प्रस्ट हुनुहुन्छ। उहाँले बारम्बार भन्ने पनि गर्नुभएको छ– कुनै पनि समाज समावेशी छैन भने त्यो समाज कहिले पनि समृद्ध हुँदैन र विभेद भएको समाज कहिल्यै अगाडि बढ्दैन। उहाँसँग निकट भएर काम गर्दा यसबारे म प्रस्ट भएको छु। सभापतिको स्वचेतन र बुझाइ ठूलो हो। त्यसको कार्यान्वयनका लागि व्यवहारमा कत्तिको काम भएको छ, त्यो अलग कुरा भए पनि उहाँको बुझाइ सही छ। सभापति समानुपातिक प्रतिनिधित्वबारे गम्भीर हुनुहुन्छ। केन्द्रीय तहमा भएका अन्य साथीहरू पनि यसबारे प्रस्ट भएझैँ लाग्छ। 

कहिलेकाहीँ कतिपय साथीहरू क्षमता (मेरिटोक्रेसी)को कुरा पनि उठाउँछन्, तर उहाँहरूले के बुझ्नुपर्छ भने क्षमता कसैको पनि 'व्यक्तिगत' हुँदैन। जोकसैको क्षमता व्यक्तिको समुदाय, वर्ग, जात, क्षेत्र, धर्म, लिंगको आधारमा बनेको हुन्छ। क्षमताको हिसाबकिताब लामो हुन्छ, युगौँदेखिको गणितको आधारमा क्षमताको परिभाषा गर्नुपर्छ। हाम्रोजस्तो सोपानयुक्त समाजमा 'म स्वतः क्षमतावान् भएको हुँ' भन्ने कुरा सिधै तर्क र तथ्यपूर्ण हुँदैन। हजारौँ वर्षदेखिका पुर्खा र परिवारको शासनसँगको सम्बन्ध या खास जात भएकै कारण कसैको क्षमता प्रस्फुटित हुन्छ या कसैको यी सबको अभावमा युगौँसम्म क्षमता प्रस्फुटित हुँदैन। त्यस कारण क्षमता व्यक्तिगत हुँदैन। समाजको जटिलताबारे हाम्रो चिन्तन र धारणा मिल्दैन भने हाम्रो राजनीति पनि कहीँ पुग्दैन। 

यो तथ्य मनन गर्ने धेरै साथीहरू हुनुहुन्छ पार्टीमा। उहाँहरू त्यस कारण समावेशिताको गहिराइ बुझ्नुहुन्छ भने कतिपयले गहिराइमा सो कुरा नबुझे पनि समावेशीबिना यो समयको राजनीति सम्भव छैन भन्ने ठान्नुहुन्छ। कतिपय चाहिँ "मैले हिजो सो कुरा नबुझे पनि अब बुझिएला नि त" भन्ने ठाउँमा हुनुहुन्छ। अतः पार्टीमा समावेशीको बुझाइबारे समस्या छैन, व्यवहारमा उतार्न भने समस्या भएकै छ। 

'पपुलिजम' 
हाम्रो पार्टीको कुरा हुँदा लोकरिझ्याइँ (पपुलिजम)को समेत यदाकदा चर्चा गरिन्छ। यसलाई दुईवटा कोणबाट हेर्नुपर्छ: एउटा 'पपुलारिटी' (लोकप्रियता) र अर्को पपुलिजम (लोकरिझ्याइँ)। राजनीतिशास्त्रमा भनिने 'पपुलिजम'को नेपाली अनुवाद लोकरिझ्याइँ हो। सत्ता र शासनमा जान लोकप्रिय कुरा गर्ने तर काम नगर्नेलाई पपुलिस्ट (लोकप्रियतावादी) भनिएको हो। पपुलिस्ट नकारात्मक बुझिन्छ। तर निर्वाचनमा कुनै व्यक्तिले अरू व्यक्तिभन्दा बढी मत पाउने कुराचाहिँ लोकप्रिय हुनु हो। त्यसलाई सकारात्मक रूपमा लिऊँ। जलेश्वर बैठकअघिको रास्वपा लोकप्रिय पार्टी हो। त्यति छोटो समयमा त्यति धेरै चर्चित भएर देशको चौथो ठूलो दल बनेको हो। त्यसलाई नकारात्मक रूपमा नलिऊँ। 

तर जलेश्वरपछिको रास्वपा लोकरिझ्याइँमा लाग्यो, समाजको बनावट र यसका गम्भीर मुद्दालाई ध्यान दिएन भने त भोलि जनताले हाम्रो मूल्यांकन पक्कै गर्नेछ। हिजो हाम्रा ज्ञान र मेहनतमार्फत २०७९ मा एउटा शक्ति आर्जन गर्‍याैँ, तर आज हामी पूर्ण रूपमा राजनीतिक पार्टी हौँ। जलेश्वरबाट हामीले दिएको सन्देश पनि त्यही हो। हामीसँग संगठन छ, धेरै मान्छे पार्टीमा जोडेका छाैँ। रास्वपा ठूलो परिवार भएको छ र त्यसमार्फत हामी एउटा विचार अघि बढाएका छाैँ। त्यसो हुँदा रास्वपा पपुलिजममा लाग्दैन, तर जनताको मुद्दा उठाएर पपुलर भने हुनसक्छ। हामीले असल मुद्दा उठायौँ भने पार्टी पक्कै थप लोकप्रिय हुनसक्छ।

हामी गम्भीर पार्टी भएका नाताले अब हाम्रो विश्व दृष्टि के हो, समाजका समस्या र विरोधाभासमा हामी कसरी काम गर्छाैँ भन्नेमा धेरै काम गर्नुछ। हामी लोकप्रियताको बाटोमा लाग्दैनौँ र त्यो सम्भव पनि छैन। हामीले आजको दिनको राजनीति गर्नुपर्छ। र, यसबारे रास्वपाभित्र एकमत छ। 

छोटो अवधिमा स्थापना भई यहाँसम्म आएको हाम्रो पार्टी कुनै व्यक्ति र समूह विशेषको राजनीतिक अभियान होइन। यो कुरामा धेरै जना असहमत हुन सक्लान्, तर हाम्रो पुस्ताको पछिल्लो चेतनाको शान्तिपूर्ण र लोकतान्त्रिक विद्रोह र राजनीतिक अभियान हो रास्वपा। आफ्नो विमतिलाई जनताले कसरी मतदानको माध्यमबाट स्थापित गर्छन् भन्ने सन्देश पनि हो यो पार्टी। हामीले र अन्य राजनीतिक दलले पनि यो सन्देशलाई बुझ्नुपर्छ। 

संयोगले यो पार्टीमा अहिले रवि लामिछाने, सन्तोष परियार, डीपी अर्याल र स्वर्णिम वाग्लेहरू छन्, भोलि जोसुकै भए पनि यो अभियान निरन्तर जानेछ। यो अभियानलाई हामी कहाँसम्म लैजान सक्छाैँ, त्यो हाम्रो क्षमतामा भर पर्ने कुरा हो। अभियानलाई एक ठाउँमा पुर्‍याएपछि यसलाई अर्को पुस्ताले लैजाला। यसरी यो अभियान निरन्तर जानुपर्छ। यो अभियान छोड्यौँ भने, जनअपेक्षाअनुसार हामीले नेतृत्व गर्न सकेनौँ भने हाम्रो लागि मात्रै नभएर आउने पुस्ताका लागि पनि बेइमानी हुनेछ। 

केही आरोप, केही चर्चा
अन्य केही पार्टीमा झैँ रास्वपाभित्र पनि 'वन म्यान सो' हुने गरेको भन्ने टिप्पणी पनि सुनिन्छन्। तर तथ्य के हो भने समूह या पार्टी जति नै ठूलो भए पनि नेतृत्वमा त कोही न कोही हुन्छ नै। विश्वभरकै अभ्यास यही हो। नेतृत्व बनाउन जुट्नेहरू पछाडि धेरै हुन्छन्। तर बाहिर चाहिँ नेतृत्वको अनुहार देखिन्छ। यस्तो लाग्छ कि सबै कुरा एकै जनाले गरिरहेको छ। रवि लामिछानेले हाम्रो पार्टीको नेतृत्व गरेकै हो। उहाँकै नेतृत्वमा यो पार्टी यहाँसम्म आएको हो। तर यो पनि सत्य हो कि त्यस बीचमा व्यक्ति रवि लामिछाने र पार्टी सभापति रवि लामिछानेमाथि जुन किसिमका प्रश्न उठे र उल्झनहरू आए, त्यसबारे पार्टीभित्र निकै छलफल भए, भएका छन्। 

मैले यस्ता घटनाहरूमा सधैँ र सिधै पार्टी सभापतिसँग छलफल गरेको छु। उहाँका कतिपय व्यक्तिगत विषय पनि मिडियामा उठेका होलान्। उहाँबारे उठेका प्रश्नहरूबारे पार्टीभित्र छलफल हुने गरेको छ। कति लामो समयसम्म छलफल हुन्छ भन्नेबारे समयका सीमितता होलान्, तर त्यसउपर विभिन्न कोणबाट छलफल हुन्छन्। कहाँकहाँ त्रुटि भयो भनेर समीक्षा समेत हुन्छ। समीक्षा गरेर नै हामी यहाँसम्म आइपुगेका हौँ। 

अर्को कुरा, स्थानीय तहमा चुनिएर काम गरिरहेका, चर्चामा आइरहेका कतिपय जनप्रतिनिधि/शक्तिको कुरा उठ्ने गरेको छ। यदि साँचो अर्थमा यो देशका समस्याप्रति, यो भूगोल र समुदायको सम्भावनाउपर एकदमै गम्भीर भएर कोही शक्ति/व्यक्ति राजनीतिक रूपमा काम गर्न तयार जोसुकै छन् भने ती सबैसँग सहकार्य गर्न हामी तयार छाैँ, किनकि सारा समस्याको हल हामीले मात्रै गर्नसक्छाैँ भन्ने भ्रममा हामी छैनौँ। सबै मिलेर एकीकृत हुँदा झनै राम्रोसँग काम गर्न सकिन्छ भन्ने हाम्रो ठहर छ। भोलि उपयुक्त समयमा त्यतातिर बहस भयो भने हामी सबै रचनात्मक व्यक्ति र शक्तिसँग सहकार्य गर्न सक्छाैँ। तर त्यसका सीमितता भने हुनेछन्।


परियार रास्वपाका प्रमुख सचेतक हुन्।


सम्बन्धित सामग्री