Monday, April 29, 2024

-->

विद्यालयमा हुने दुर्व्यवहारका कारण गुमाउँदैछन् विद्यार्थीले ज्यान

विद्यार्थीलाई पाठ घोक्न लगाउने र जस्ताको तस्तै भन्न नजाने शारीरिक यातना दिने विद्यालय पनि छन्। अनुशासनका नाममा विद्यार्थीमाथि काठमाडौँका विद्यालयहरूले पनि शारीरिक र मानसिक यातना दिने गरेका छन्।

विद्यालयमा हुने दुर्व्यवहारका कारण गुमाउँदैछन् विद्यार्थीले ज्यान
प्रतीकात्मक तस्वीर

काठमाडौँ– रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका–१ को भ्याली पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा सृष्टि गौतममाथि गत भदौ २५ गते विद्यालयमै निर्घात कुटपिट भयो। प्रिन्सिपल पुष्पा भाटकी भतिजीलाई घुमाउन लगेर बिगारेको भन्दै विद्यार्थीहरूकै अगाडि उनलाई यातना दिइएको थियो। 

प्रिन्सिपल भाटले विद्यालय सञ्चालक युडेन भण्डारीकै उपस्थितिमा सृष्टिलाई कुटपिट गरेकी थिइन्। प्रिन्सिपलको यातनाबाट तनावमा परेकी उनले घर फर्केपछि विद्यालय पोसाकमै झुण्डिएर आत्महत्या गरिन्। उनको परिवारले प्रिन्सिपल भाट र विद्यालय सञ्चालक भण्डारीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दियो। 

उजुरीपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। रुकुम पश्चिम जिल्ला अदालतले दुवै जनालाई जनही एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए। यसबारे प्रधानाध्यापक भाट बोल्न चाहिनन्। विद्यालय सञ्चालक भण्डारीको मोबाइल अफ छ।

त्यस्तै, धादिङको ज्वालामुखी गाँउपालिका–७ चैनपुरस्थित सालबास माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत जीतबहादुर बयलकोटीले गत वैशाख २० गते विष सेवन गरे। त्यसको दुई दिनपछि २२ गते उनको मृत्यु भयो। प्रधानाध्यापकले पैसा तिरेपछि मात्रै परीक्षाको प्रवेशपत्र पाइने, अन्यथा परीक्षामा बस्न नदिइने बताएपछि उनले आत्महत्या गरेको परिवारको भनाइ छ।

जीतबहादुरको परिवारले आत्महत्या दुरुत्साहन आरोपमा प्रधानाध्यापक बलराम इटनीविरुद्ध जाहेरी दिएको छ। विद्यालयले भने विज्ञप्ति निकालेर पारिवारिक झगडाका कारण उनले आत्महत्या गरेको दाबी गरेको छ। जीतबहादुरको मोबाइल परीक्षणका लागि पठाइएको र त्यसको नतिजा आएपछि थप अनुसन्धान हुने धादिङ प्रहरी प्रमुख, एसपी गौतम मिश्रले बताए।

विद्यालयका प्राधानाध्यापक इटनी यस घटनामा आफू दोषी नभएको दाबी गर्छन्। “विद्यालयमा २० गते कार्यक्रम थियो, प्रवेशपत्र माग्न आउँदा मैले साँझ लैजानू भनेको थिएँ। तर ऊ आएन, त्यसपछि घरमा गएर उसले विष सेवन गरेछ। त्यसमा हाम्रो दोष केही छैन,” उनले भने, “२६ गतेदेखि परीक्षा थियो। परीक्षा दिने दिनसम्म प्रवेशपत्र नपाएको भए म जिम्मेवार हुने थिएँ। तर आफ्नै पारिवारिक समस्याका कारण उनले त्यसो गरेको हुनुपर्छ।” 

पैसा नभएका कारण जीतबहादुर मात्र नभई अन्य तीन जना विद्यार्थीले पनि प्रवेशपत्र लिएका थिएनन्। पैसा नतिरेकै कारण सबैलाई प्रवेशपत्र दिँदा सबैले पैसा छैन भन्ने र प्रवेशपत्र माग्ने भएकाले पछि लिन आउनू भनिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद छत्कुलीले बताए। उनका अनुसार कार्यक्रम सकिएपछि उनका अन्य साथीहरूले परीक्षा दिने दिनसम्म पैसा बुझाउने शर्तमा प्रवेशपत्र पाएका थिए।

दुइ विद्यार्थीले ज्यान गुमाएका यी घटना पछिल्ला दृष्टान्त हुन्। विद्यालयहरूमा विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिइएका घटनाहरू सार्वजनिक भइरहेका छन्। विद्यार्थीलाई पाठ घोक्न लगाउने र जस्ताको तस्तै भन्न नजानेमा शारीरिक यातना दिने विद्यालय पनि छन्। अनुशासनका नाममा विद्यार्थीमाथि काठमाडौँकै विद्यालयहरूले पनि शारीरिक र मानसिक यातना दिने गरेका छन्।

काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतनमा अनुशासन प्रमख (डिसिप्लिन इन्चार्ज–डीआई ) नवराज लोहनीले दिएको मानसिक यातनाले गत वर्ष उस्तै दु:खद् दुर्घटना निम्त्याएको थियो। उक्त विद्यालयमा कक्षा ११ मा पढ्ने सदीक्षा चौधरीले २०७९ मंसिर २१ गते आत्महत्या गरिन्।

सदीक्षा १५ दिनदेखि विद्यालय गएकी थिइनन्। त्यस विषयमा कुरा गर्न उनलाई लोहनीले कार्यकक्षमा बोलाएर अभिभावक ल्याउन र स्पष्टीकरण दिन भने। यदि अभिभावक नल्याए विद्यालयबाट निष्कासन गर्नेसम्मको धम्की उनले दिए। 

सदीक्षाले अर्को दिन आमालाई लिएर विद्यालय गइन्। डीआई लोहनीले आमाकै अगाडि उनलाई विभिन्न लाञ्छना लगाए। त्यसपछि आमाले उनलाई लिएर घर गइन्। घर पुगेपछि उनले विद्यालय पोसाकमै झुण्डिएर आत्महत्या गरिन्। उक्त घटनापछि विद्यालयले लोहनीलाई निष्कासन गर्‍यो।

सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थित लर्ड ब्राइट विज्डम इङ्लिस स्कुलमा कक्षा ८ मा अध्ययनरत अमन चौधरीले २०७६ फागुन ६ गते आत्महत्या गरे। प्रधानाध्यापक सुदीप कार्कीले यातना दिएका कारण अमनले आत्महत्या गरेको उनका बुवा अस्मिन बताउँछन्। आत्महत्या दुरुत्साहनमा प्रधानाध्यापक कार्कीविरुद्ध जाहेरीसमेत परेको थियो। 

बाबु अस्मिनका अनुसार विद्यालयमा विभिन्न बहानामा पटकपटक अमनलाई निर्घात कुटपिट गर्ने गरिएको थियो। तर प्रधानाध्यापक कार्कीले विज्ञप्ति जारी गरेर अभिभाभवकले लगाएको आरोप निराधार भएको बताएका थिए। 

कस्तो हुनुपर्छ शिक्षक र अभिभावकको भूमिका?
प्रहरीको पाँच वर्षयताको तथ्यांकअनुसार १८ वर्षमुनिका बालबालिकाको आत्महत्या दर बढिरहेको छ। पाँच वर्षमा १८ वर्षमुनिका तीन हजार ३८८ बालबालिकाले आत्महत्या गरेका छन्। 

शिक्षाविद् विद्यानाथ कोइराला अभिभावक र शिक्षक, विद्यार्थीबीचको दूरी बढेको कारण विभिन्न जटिलता देखा परेको बताउँछन्। किशोरकिशोरीहरू प्रविधिमा रमाउने र अभिभावक तथा शिक्षकहरू प्रविधिका संयन्त्र चलाउन बन्द गर्न दबाब दिने कारण यस्तो दूरी बढेको हो। शिक्षकले पाठ्यपुस्तकमा मात्रै जोड्न खोज्ने र विद्यार्थी बाहिरिन खोज्ने स्थितिले असहिष्णुता बढेको कोइरालाको भनाइ छ। “परिवारमा कर्तव्यमुखी हुन सिकाइएन र विद्यालयमा पनि सिकाइएन भने तनाव व्यवस्थापनको उपाय हुँदैन। त्यही कारण बालबालिकाहरूले आत्महत्याजस्तो गम्भीर कदम चाल्न थालेका छन्,” उनले भने। 

कतिपय अवस्थामा बालबालिका र किशोरकिशोरीहरूका लागि मनमा लागेको कुरा बोल्ने वातावरण सिर्जना गरिदिनुपर्ने कोइरालाको भनाइ छ। उनीहरूले बोल्ने भाषा, गर्ने व्यवहारमा अभिभावक र शिक्षकहरूले प्रश्न गर्दा वा विरोध जनाउँदा उनीहरू साथी समूहमै रमाउँछन्। उनीहरूको व्यवहार र बोलीलाई अभिभावकले उमेरअनुसारको परिवर्तनका रूपमा बुझेर व्यवहार गर्नुपर्ने कोइरालाको सल्लाह छ। 

त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउने समाजका अनेक सम्बन्ध तथा राजनीति र आर्थिक वातावरणले बालबालिकामा समस्या सिर्जना गरेको बताउँछन्। “शिक्षालयले विद्यार्थीलाई उत्पादनशील बनाउने, हिंसारहित समाजको निर्माण गर्ने, सहअस्तित्व सहितको शान्तिपूर्ण समाज बनाउने कुरामा योगदान दिन सक्षम बनाउनुपर्छ। तर पठनपाठन र परीक्षाका अवैज्ञानिक पद्धतिका कारण विद्यार्थीहरू विभिन्न समस्यामा परिरहेका छन्,” उनले भने।

मानसिक स्वास्थ्यसम्बन्धी सर्वेक्षण ‘नेशनल मेन्टल हेल्थ सर्भे २०२०’ले बालबालिकामा मानसिक चिन्ता ३ प्रतिशतले बढेको देखाएको छ। त्यस्तै, ४ प्रतिशतले आत्महत्याको सोच विकास भएको पाइएको छ। 

विश्व स्वास्थ्य संगठनले किशोरावस्थाका बालबालिकालाई अनिवार्य दुई घण्टा शारीरिक कसरत गराउनुपर्ने जनाएको छ। शारीरिक कसरतले बालबालिकालाई आनन्द हुने खालको ‘न्युरोकेमिकल्स डोपामिन लेभल’लाई सन्तुलित गराइदिने र तनाव कम हुने मनोविद् विनोद पौडेल बताउँछन्। 

पौडेलका अनुसार किशोरावस्थामा शारीरिक र मानसिक विकास तीव्र गतिमा हुन्छ। साथीहरूसँग दाज्ने, किशोर र किशोरीले कतिपय अवस्थामा शारीरिक सम्बन्ध राख्ने र कुलतमा फस्ने भएकाले विभिन्न कारण निराशा उत्पन्न भई आत्महत्या गर्ने सोच पलाउने उनको भनाइ छ। “शारीरिक व्यायाम कम हुँदै जाँदा मानसिक समस्याहरू बढेको छ। शिक्षक र अभिभावकले बालबालिकाको त्यो अवस्था बुझेर व्यवहार गर्न नसक्दा घटना भएका छन्,” पौडेल भन्छन्।


सम्बन्धित सामग्री