Monday, May 06, 2024

-->

इलामको उपचुनाव: पहिचान पक्षधरका लागि गम्भीर परीक्षा

पूर्वी नेपालको यो चुनावलाई कतिपयले पहिचानवादीका लागि अन्तिम परीक्षा भएको बताएका छन्। एउटा सिटको हारजितले खासै अर्थ नराखे पनि पहिचानविरोधी र पक्षधरका लागि जुँगाको लडाइँ बनेको छ, यो चुनाव।

इलामको उपचुनाव पहिचान पक्षधरका लागि गम्भीर परीक्षा

वैशाख १५ को उपनिर्वाचनका लागि दलबलसाथ राजनीतिक दलहरू प्रचारप्रसारमा जुटेका छन्। इलाम–२ र बझाङ–१ मा चुनाव भए पनि धेरैको ध्यान इलाममै केन्द्रित छ। किनभने पहिचानवादी र गैरपहिचानवादीसँगै नेपाली राजनीतिको समूल रूपान्तरको मुद्दासँग जोडिन पुगेको छ, इलाम–२। पछिल्लो चरण आन्दोलनको केन्द्र बनेको पूर्वी नेपालको यो चुनावलाई कतिपयले पहिचानवादीका लागि अन्तिम परीक्षा भएकोसमेत बताएका छन्। एउटा सिटको हारजितले खासै अर्थ नराखे पनि पहिचानविरोधी र पहिचान पक्षधरका लागि जुँगाको लडाइँ बन्दैछ यो चुनाव। 

रोचक नयाँ–पुराना सबै राजनीतिक दलले रैथाने उम्मेदवारहरूलाई लिएर प्रतिस्पर्धामा उत्रिएका छन्। तर प्रश्न उठ्छ, जुन राजनीतिक दलहरूले आजसम्म स्थानीय जनताको भोट लिए, तर एउटा प्रदेशको असली पहिचान दिन सकेनन् भने तिनले पहिचानवादीको बाँकी इतिहास, पहिचान र अधिकारको कसरी संरक्षण गर्न सक्लान्? त्यसो हुँदाहुँदै पनि इलाममा उनीहरू आफूहरूलाई नै असली पहिचानवादी पक्षधर रहेको दाबी गरिरहेका छन्। पहिचान पक्षधरकै कतिपय व्यक्ति तिनकै 'मारुती' बनिरहेका छन्। 

कोशी प्रदेशको नामकरणसँगै जन्मिएको पूर्वको पहिचानको आन्दोलनलाई राज्य र राजनीतिक दलले ठूलो समस्या मानेका छन्। त्यसको मतलब परम्परागत दलले जनताको पहिचानको मुद्दालाई 'समस्या' बुझेका छन्। जबकि तिनको त्यो सोच नै आफैमा समस्या हो। तर बिनासंघर्ष र बलिदान आजसम्म कसैले केही पाएको छैन। मधेशी जनता यस मामलामा एक पाइला अघि बढिसकेकाले उनीहरूबाट पूर्वका पहिचानवादीले समेत पाठ सिकेर पदचाप पछ्याउन जरुरी छ, जसले गर्दा मूलवासी, आदिवासी जनजाति तथा किराँतीहरूले आफ्नो इतिहास र वर्तमानको रक्षा गर्न सक्नेछन्। 

यस अवस्थामा पहिचान पक्षधरहरूले नाम, थर–अनुहारबाट होइन, विचार र इतिहासको गहिराइमा पुगेर आफ्नो 'अर्ग्यानिक' उम्मेदवार पहिचान गरी मतदान गर्न जरुरी छ। पहिचान नामेट पारिएकाहरूकै जस्ता एकाध अनुहार त पञ्चायतमा पनि थिए, तर पञ्चायतले खास जात र भाषालाई मात्रै नेपालीका रूपमा स्थापित गर्ने चेष्टा गरेको थियो। र, यो चुनावमा पनि अनुहार देखाएर पहिचान पक्षधरलाई भ्रम पार्ने चेष्टा गरिएको छ।

गाउँघरमा अझै पनि दलीय परम्परालाई नै निरन्तरता दिने खालको सामाजिक मनोविज्ञान छ। अझै पनि मान्छेहरू नयाँ र युवा पुस्ताको नेतृत्व हतपत स्विकार्दैनन्। उमेर ढल्केका मानिसलाई मात्र नेतृत्व स्विकार्ने, युवाले काम बिगार्छन् भन्ने मनोविज्ञान छ। जबकि इतिहास युवा सोचले नै बदलेको छ। कतिपय मान्छे उमेरले वृद्ध भए पनि सोच र चेतनाले युवा हुन्छन्। मतदाता र मतदातालाई चुनावी बुथसम्म पुर्‍याउन भूमिका खेल्ने राजनीतिक कार्यकर्ताले यसबारे सबैलाई पक्कै जागरूक बनाएकै होलान्।

भोट दिन जाँदैगर्दा मतदाताले यी तमाम विषयमा सोच्नुपर्नेछ। अर्को कुरा, थोरै लालचमा मतदाताले धेरै कुरा गुमाउँदै आएका छन्। आफ्नो इतिहास र वर्तमान लेख्नुपर्ने ठाउँमा मिचाहाहरूको इतिहासको भारी बोकिरहेका छन्। र, विरोधी शक्तिलाई नै मजबुत गरिरहेका छन्। आफ्नै खुट्टामा बन्चरो हानिरहेका हुन्छन्। 

जबकि, राजनीतिक दल र तिनका नेतृत्व आफूलाई सार्वजनिक जीवनमा फरक रूपमा प्रस्तुत गर्छन्, शासन चलाउन जस्तोसुकै कठिन परिस्थितिमा जोसुकैसँग पनि मिल्छन्। सबैजसो पार्टीका विचार र सिद्धान्त 'गफाडीका गन्थन'मा सीमित छन्। तर भूगोलको राजनीतिमा चाहिँ हामीहरू खास कुनै चिन्ह, पार्टी र नेता भनेर विभाजित भइरहेका हुन्छौँ। सोही कारण पहिचान पक्षधर शक्ति कमजोर हुँदै गएको हो। प्रदेश नम्बर २ को अन्तिममा भएको नामकरण पहिचान पक्षधरहरूको असंगठित र खण्डित चरित्रका कारण हो।    

हाम्रो अर्को कमजोरी आफ्नो हितका मुद्दा बोक्ने समूह या उम्मेदवार नचिन्नु पनि हो। थोरै भए पनि यसको प्रभाव शहरहरूमा परेको छ। धरानमा हर्क साम्पाङ, धनगढीमा गोपाल हमाल, काठमाडौँमा बालेन शाहहरू यत्तिकै जन्मेका होइनन्। ७५३ स्थानीय सरकारमध्ये यिनकै चर्चा हुन्छ। अन्य पालिकाका जनप्रतिनिधि नै छैनजस्तो लाग्ने गरी छायामा परेका छन्। 

इलाम २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिम, नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का र नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू कडा प्रतिस्पर्धामा छन्। 

स्मरणीय छ, यहाँ एक लाख १५ हजार ३४२ मतदाता छन्। यसअघि, ०७९ को निर्वाचनमा तत्कालीन गठबन्धनका कांग्रेस उम्मेदवार डम्बर खड्कालाई नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङले ११४ भोटले मात्र हराएका थिए। यो क्षेत्रमा नेम्वाङले यसअघि ३० हजार २० मतले जितेका थिए भने २९ हजार ९०० मत कांग्रेसका खड्काले ल्याएका थिए। यतिबेला एमालेका पक्षमा चार घटक दल समर्थनमा छन् भने पहिचानवादीका पक्षमा ४१ घटकको समर्थन छ। प्रतिस्पर्धामा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ उम्मेदवार छन्। अहिलेको संसदीय राजनीतिको अभ्यास तथा निर्वाचन प्रणालीको वर्ग चरित्र हेर्दा पुराना दलहरू सत्ता, शक्ति र पहुँच तथा आर्थिक रूपमा बलिया छन्। तर ऐतिहासिक र वैचारिक रूपमा पहिचानवादी बलिया छन्। 

हुन त एउटा चुनावले सबै छिनोफानो पक्कै हुने होइन, तर इलामको चुनाव पहिचानप्रति त्यहाँ रहेको हुटहुटी र असन्तुष्टिलाई 'ब्यालेट'मार्फत देखाइदिने गजबको अवसर हो। लोकतान्त्रिक युगमा हामी उत्पीडित क्षेत्र, समुदाय र लिंग अरूको लागि आफ्नो अस्तित्वको बलिदान दिँदै आएका छौ। आफूलाई गोरुझैँ बँधुवा बनाइएको तथ्य हामीहरूले बिर्सने गरेका छौँ। आफ्नो पार्टी भन्यो मर्नसमेत तयार हुने, तर आफ्नै पार्टी र नेतृत्वले आफूमाथि गर्दै आएका घात, अन्याय र अत्याचारको हिसाब गर्न नसक्ने निम्छरो मनोवृत्ति हामीमाझ छ। 

देशमा अनेकन् राजनीतिक दलहरू थपिएको थपियै छन्, तर सर्वसाधारण नागरिकको समस्या भने बढ्दो छन्। अहिलेको उपनिर्वाचन पुराना-नयाँ दल तथा स्वतन्त्र उम्मेदवारसँगै शक्ति केन्द्रहरूका लागिसमेत उत्तिकै महत्त्वपूर्ण छ। त्यसमाथि यो चुनावी परिणामले २०८४ को निर्वाचनको परिणामलाई समेत संकेत गर्नेछ। 

पहिचानको विषयलाई जातीय अहंकार र लिँडेढिपीका रूपमा आम रूपमा विश्लेषण गरिँदै आइएको छ र पहिचानवादीहरूको भावनामा 'डोजर' लगाएर प्रदेश नामकरण गर्दा त्यही सन्देश गयो। त्यसो हुँदा त्यसलाई चिर्ने सुअवसर पनि हो यो चुनाव। यो चुनावमा पहिचान पक्षधरको जितको सामाजिक, आर्थिक, राजनीतिक, वैचारिक र ऐतिहासिक अर्थ रहनेछ। 

शहरमा भोट बढी छ, गाउँमा भोट कम छ। यो तथ्य मनन गर्दै शहीद पदम लिम्बूको सपना साकार पार्न सबैले कम्मर कसेर जुट्नु आवश्यक छ। राज्यको मूल प्रवाहमा रहेको एकल जातीय सोच, चिन्तन र प्रवृत्तिमा क्रमभंग ल्याउनका लागि पनि मधेशपछि पहिचान पक्षधरहरूले पहिचानको झन्डा फहराउने प्रयत्न गरौँ। 

(लेखक जनमत पार्टी समर्थक हुन्। यो उनको व्यक्तिगत विचार हो।)


सम्बन्धित सामग्री