Monday, April 29, 2024

-->

लेनिन स्मृति शताब्दी दिवस विशेष
लेनिन, भ्रमित विचार र नेपाली राजनीति

पुँजीपति वर्गको सहयोगी विचार लोकतान्त्रिक-समाजवाद हुने कुरा मार्क्सवादी-समाजवादी क्रान्ति विपरीत हो, तर यसले मार्क्सवादी पंक्तिलाई पनि प्रभावित गरिरहेको हुन्छ।

लेनिन भ्रमित विचार र नेपाली राजनीति

लोकतान्त्रिक समाजवादीहरूको एउटा रोचक भनाइ छ– ‘साम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद हुन्छ र समाजवादबाट लोकतन्त्र झिकिदिए साम्यवाद हुन्छ।’ अहिलेको नेपाली काँग्रेस त खुला रूपमा पुँजीवादी विचारको समर्थक भएको छ, तर पुराना नेताहरूले पनि यस्तै भन्ने गर्थे। नेपाली काँग्रेस लगायतको लोकतान्त्रिक समाजवाद (प्रजातान्त्रिक समाजवाद) विचार भारतीय लोकतान्त्रिक-समाजवादी नेताहरू जयप्रकाश नारायण र डा. राममनोहर लोहियाहरूको संगत, विचार र आन्दोलनबाट प्रभावित विचार हो। 

सामाजिक विकासको चरणमा समाजवादी संक्रमणबाट गुज्रेर नै साम्यवादी चरण विकसित हुने हो भन्ने मार्क्सवादी अर्थराजनीतिक वैचारिक तथ्यबाट बीपीलगायत नेपाली काँग्रेसका वैचारिक नेताहरू अवगत थिएनन् भन्ने होइन। तर नेपालको राजनीतिमा मार्क्सवादीहरू उनको सबैभन्दा कट्टर प्रतिस्पर्धी भएकोले उनीहरू साम्यवाद र समाजवादलाई विकृत गरेर प्रस्तुत गर्न चाहन्थे। यसैले उनीहरूले मार्क्सवादी-साम्यवादी र समाजवादी अवधारणालाई तानाशाही र लोकतन्त्रबिनाको अर्थमा व्याख्या गर्ने गरेका थिए। तर सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा बोल्सेभिक क्रान्तिकारीहरूले गरेको अक्टोबर क्रान्ति, समाजवादी सोभियत संघको स्थापना, समाजवादी कार्यक्रमहरूको सफलता र अकल्पनीय कीर्तिमानहरूले संसारभरिका श्रमजीवि वर्ग तथा उत्पीडित समुदायमा सर्वहारावर्गीय राज्य र समाजवादप्रति व्यापक आकर्षण पैदा गरिरहेको थियो। यस प्रभावबाट नेपाली समाज पनि अछुतो थिएन। त्यसैले नेपालमा पनि लोकतान्त्रिक समाजवादीहरू समाजवादको थेगो चाहेर पनि छाड्न चाहँदैनथे।

समयको प्रवाहमा नेपालको कम्युनिस्ट आन्दोलनभित्र पनि नेपाली कांग्रेसको संगतको असर पर्न थालेको छ, र आफूलाई लोकतान्त्रिक समाजवादी नभने पनि प्रवृत्तिगत रूपमा यस्ता बहसहरू कम्युनिस्ट पार्टीहरूमा लोकप्रिय हुँदै गएका हुन्।

...
साम्यवादी र पुँजीवादीहरूबीच लोकतान्त्रिक समाजवादीहरूको 'पुँजीवाद ढल्कुवा' अवस्थिति नयाँ होइन। उत्पादन र उत्पादनको साधनहरूमाथिको स्वामित्वको निम्ति प्रतिस्पर्धामा सर्वहारा वर्गीय विचारहरू र प्रतिविचारहरू वर्गसंघर्षका उपज हुन्। सामन्तवादविरुद्ध पुँजीवादी समाजको विकास तथा पुँजीवादी समाजविरुद्ध समाजवादी समाज, र समाजवादको बीचबाट संक्रमण हुँदै शोषणविहीन साम्यवादी समाजको विकास र सर्वहारावादी समाजवादी क्रान्तिको माध्यमबाट समाजवादको स्थापनाको अर्थराजनीतिक विचारहरूको विकास यसैका परिणाम हुन्। यसरी नै सर्वहारावर्गको नेतृत्वमा समाजवादी क्रान्तिको मार्क्सवादको प्रतिविचारको रूपमा मार्क्सका समकालीन एडबर्ड बर्नस्टिनको क्रमिक सुधार र चुनावी संसदीय बाटोबाट पनि समाजवादमा पुग्न सकिने कानूनी मार्क्सवादी भ्रमहरू यस्तै धारणा हुन्। भ्रम यस कारण भनियो कि यस्तो सुधारवादी बाटोबाट बहुसंख्यक सर्वहारा श्रमिक वर्गीय समाजवाद कहीँ पनि विकसित भएको छैन।

पुँजीपति वर्गको सहयोगी विचार लोकतान्त्रिक-समाजवाद हुने कुरा मार्क्सवादी-समाजवादी क्रान्ति विपरीत हो, तर यसले मार्क्सवादी पंक्तिभित्र पनि प्रभावित गरिरहेको हुन्छ। यी विचारहरू पहिलो नजरमा मध्यपन्थीजस्तै देखिए पनि यथार्थमा यी दक्षिणपन्थी अवसरवादी विचार हुन्, जसले मजदुरवर्ग र उत्पीडित समुदायलाई भ्रमित पारेर समाजवादी क्रान्तिको बाटोलाई कमजोर र सुस्त पार्छ, समाजवादी शक्तिलाई पलायनको बाटोमा धकेल्छ र क्रान्तिलाई अलपत्र पार्छ। नेपाली मार्क्सवादी राजनीतिमा कम्युनिस्ट पार्टीहरू मार्क्सवादी सर्वहारा वर्गीय सचेतना गुमाएर जसरी कानूनी र संसदीय बाटोबाट नै समाजवादसम्म पुग्ने राग अलाप्दै छन्, यो दक्षिणपन्थी अवसरवादको सटिक नमूना हो।

वर्तमान गणतान्त्रिक संविधानलाई समाजवादोन्मुख घोषित गरिएको छ। त्यसै कारण आफूलाई क्रान्तिकारी भन्ने माओवादी केन्द्र होस्, वामपन्थी भन्ने एमालेलगायत दल वा लोकतान्त्रिक समाजवाद भन्ने नेपाली काँग्रेस होस् अथवा मधेशकेन्द्रित दलहरू र यहाँसम्मकि राजतन्त्रवादी दलहरू, सबैसँग आ–आफ्नै ‘समाजवाद’ छ। आफूलाई मार्क्सवादी, लेनिनवादी र माओवादी भन्न रूचाउने देशभित्रका केही गैरसंसदीय कम्युनिस्ट पार्टीसँग पनि समाजवाद छ। तर तिनका समाजवाद फरक–फरक खालका छन्। 

सोभियत क्रान्तिका नायक लेनिनले यस्तै विविधवर्णी मार्क्सवादी विचार र दक्षिणपन्थी अवसरवादविरुद्ध दृढतापूर्वक संघर्ष गरेर रुसमा समाजवादी क्रान्ति सफल पारेका हुन्। लेनिन आज जीवित भएको भए १५४ वर्षका हुने थिए। तर प्रकृतिले यति धेरै बाँच्ने अनुमति कसैलाई दिँदैन। ५४ वर्षको छोटो, तर अत्यन्त सक्रिय जीवन बाँचेर २१ जनवरी १९२४ को दिन हृदयाघातबाट उनको मृत्यु भयो। बीसौँ शताब्दीमा विश्वलाई वैचारिक र राजनीतिक व्यवहारमा सबैभन्दा बढी प्रभावित गर्नेमध्ये लेनिन सबैभन्दा माथिल्लो पंक्तिका हुन्।

...
सोभियत कम्युनिस्ट पार्टीमा ‘शान्तिपूर्ण संक्रमण र शान्तिपूर्ण सहअस्तित्व’को राजनीतिक लाइनको दक्षिणपन्थी अवसरवादी ख्रुस्चेभपन्थीहरूको वर्चस्वको वैचारिक विचलनको कारण पुँजीवादी अन्तर्वस्तुको विकास भएर सन् १९९० मा सोभियतसंघको विघटन भयो। त्यसपछि संसारभरि कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ। तर पनि सोभियत समाजवादको सफलताले विश्वभरका सर्वहारा श्रमिक वर्ग तथा उत्पीडित जनसमुदायको राज्यसत्ताको अभिलाषालाई समाजवादले सबैभन्दा लोकप्रिय र आदर्श राजनीतिक स्वप्नको रूपमा निरन्तर आकर्षित गर्दै आइरहेको छ। 

पञ्चवर्षीय योजना, सार्वत्रिक समान शिक्षा र भेदभावबिना सबै नागरिक रहनुपर्छ भन्ने संवैधानिक अधिकार होस् वा महिलालाई भान्साबाट बाहिर ल्याएर सामाजिक उत्पादन र सार्वजनिक जीवनमा सक्रिय हुने स्वतन्त्रता र मतदानको अधिकार होस्, अथवा जनताको भोक, रोग र वासप्रति जिम्मेवार राज्य तथा जनवादी वा लोकतान्त्रिक अधिकारका सबै क्षेत्रमा समाजवादको अग्रणी इतिहास छ। 

यसैकारण वैचारिक रूपमा मार्क्सवादको विरोध गरे पनि जनअधिकार, समानता र सत्तामा जनसहभागिताको उच्चतम मापदण्ड र विधिलाई गैरमार्क्सवादीहरू समेत अवलम्बन गर्न बाध्य भए र समाजवादको हम्मेसि विरोध गर्न सकेनन्। विशेष गरेर गरीबी, बेरोजगारी, अशिक्षा, लैंगिक दमन, विभेद र पछौटेपनविरुद्ध सोभियत समाजवादी नीतिको प्रयोगले शानदार सफलता प्राप्त गरेको तथ्य कुनै न कुनै रूपमा पुँजीवादी विचारकहरूले समेत स्वीकार गर्दै आएका हुन्। तर सोभियत समाजवादको प्रारम्भिक कालमा अल्पसंख्यक पुँजीपतिहरूको कष्ट बाँकी विश्वका पुँजीपतिहरूको निम्ति यस्तो भयानक दुःस्वप्न जस्तो थियो।

त्यसो हुँदा पूजीपतिहरूले सोभियत समाजवाद मात्र होइन, सम्पूर्ण मार्क्सवादी वैचारिकता र व्यवहारलाई नकारात्मक रूपमा प्रचारित गर्न सम्पूर्ण शक्ति निरन्तर प्रयोग गरिरहेका छन्। सोभियत समाजवादका चम्किला उपलब्धिलाई ओझेल पार्दै उनीहरू समाजवाद स्थापनाकालमा रुसी जनताले भोगेका गरिबी, भोकमरी र अटेर पुँजीपतिमाथि गरिएका निषेधात्मक कारबाही र सोभियत संघको विघटनको  उदाहरण दिँदै कम्युनिस्ट विचार र पद्धतिलाई गरिबी र तानाशाहीको राजनीतिक अर्थशास्त्र र व्यवस्थाका रूपमा व्याख्या गर्छन्। जबकि सोभियत संघ ढलेपछिको विगत ३३ वर्षको एकाधिकारी साम्राज्यवादी पुँजीवादले वर्तमान विश्वमा थोपरेको गरिबी, बेरोजगारी, भ्रष्टाचार, भोक, रोग, युद्ध र मानवीय त्रासदको दोषी पुँजीवादीहरू नै हुन् भन्ने तथ्यलाई घनघोर प्रचारभित्र लुकाउन चाहन्छन्।     

...
सोभियतसंघको विघटनपछि राजनीतिक रूपमा सबैभन्दा बढी गिजोलिएको समाजवाद नै हो। सबैका आ–आफ्ना समाजवाद छन्। तर यी थरीथरीका समाजवादी मोडेलहरू कतिसम्म हास्यास्पद छन् भने कयौँमा मार्क्सवादी समाजवादको मूल अन्तर्वस्तु सर्वहारा अधिनायकत्व र श्रमजीवि वर्गीय राज्यसत्ताको नेतृत्वमा साम्यवादी संक्रमणको लक्ष्य गायब छ।

मार्क्सवादले समाजवादलाई पनि अन्य राज्यजस्तै शोषणयुक्त  र संक्रमणकालीन व्यवस्था नै भन्छ। फरक कति हुन्छ भने यसमा ९० प्रतिशतभन्दा बढी बहुसंख्यक श्रमजीवि वर्गले अधिकतम् १० प्रतिशत पुँजीपति वर्गमाथि शोषण थोपर्छ र राजनीतिक, आर्थिक र सामाजिक रूपमा पूर्णतः वर्गहीन विवेकपूर्ण तथा मानवीय प्रज्ञाबाट सञ्चालित संघबद्ध शोषणविहीन साम्यवादमा संक्रमण गर्ने लक्ष्य लिएको हुन्छ। पुँजीवादी र लोकतान्त्रिक समाजवादीहरू यस उचाइबाट सोच्न सक्दैनन्। समाजवाद र कल्याणकारी राज्यको जतिसुकै नारा दिए पनि उनीहरूको निम्ति राज्य, राज्यको उपकरण, विचारहरू र मानिस सबै बजार, खरिद बिक्री र नाफाको उपकरणभन्दा बढी हुँदैनन्। 

पुँजीपतिले अधिकतम नाफा आर्जन गर्न विश्वभर पुँजी निर्यात गरेर आफ्नो वर्चस्व विस्तार गर्दै जान्छ। यसै क्रममा सम्पन्न र शक्तिशाली देशको पारम्परिक राष्ट्रीय पुँजी बजारका विविध चरण पार गरेर साम्राज्यवादमा विकसित हुन्छ, जसको मूलमा वित्तीय पुँजीको व्यवसाय मुख्य हुन्छ। साम्राज्यवादी पुँजीको यस एकाधिकारी प्रवृत्तिका कारण विश्व बजारमा शक्तिशाली देशहरूबीच तीव्र अन्तर्विरोध, युद्ध र विश्वयुद्ध जन्मने गर्छ र अन्ततः साम्राज्यवादी पुँजीवाद आफ्नै भारले थिचिएर आफैँले खनेको खाडलमा जाकिन्छ। अनि विश्वमा समाजवादी परिवर्तनका सम्भावनाहरू विकसित हुँदै जान्छन्।

तत्कालीन अर्थराजनीतिक तथ्यहरू र विगतदेखि पुँजीवादको विकसित प्रवृत्तिको आधारमा गरिएका साम्राज्यवादबारे लेनिनका यी विश्लेषणहरू सय वर्ष पहिलेको भए पनि वर्तमान विश्वमा सटिक ठहरिन्छन्। यसरी नै समाजको सबैभन्दा तल्लो श्रेणीमा बसेको वर्गीय समूह सर्वहारावर्ग शोषणमुक्त नभएसम्म समाज विश्व साम्यवादमा संक्रमण गर्न नसक्ने, न त विश्वमा वर्ग संघर्ष र क्रान्तिको औचित्य र सम्भावना समाप्त हुने भनेर उनले सामाजिक रूपान्तरणको निम्ति क्रान्तिको अपरिहार्यता तथा यसमा राजनीतिक वर्गको सचेत भूमिका अर्थात् सर्वहारावर्गको पक्षधर संगठनको औचित्यता सिद्ध गरेका छन्।

...
मार्क्सवादी वैचारिकताको क्षेत्रमा मूख्यतः पार्टी, साम्राज्यवादको विश्लेषण, राज्य र क्रान्तिको विविध पक्षको विकासमा लेनिनको योगदान महत्वपूर्ण छ। मार्क्सवादको विकासमा लेनिनवादको रूपमा संश्लेषित लेनिनका सार्वभौमिक चरित्रको वैचारिक योगदानले मार्क्सवादी कम्युनिस्ट आन्दोलनको विश्वव्यापी विस्तारमा निरन्तर मार्गदर्शन र प्रेरित गर्दै आइरहेको छ। सन् १९४९ मा चीनमा माओत्सेतुङको नेतृत्वमा भएको नयाँ जनवादी क्रान्तिले मार्क्सवाद र लेनिनवादको विकासमा माओवादको रूपमा नयाँ विचारधारात्मक आयाम थपेको हो। विश्व कम्युनिस्ट आन्दोलनमा माओको विचारहरूलाई विचारधारा वा वाद मान्ने विवाद रहे पनि, नेपालमा कम्युनिस्टहरूको एउटा घटक तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले माओको वैचारिकतालाई मार्क्सवाद र लेनिनवादमा नयाँ चरणको विकासको रूपमा माओवाद मानेर दशवर्षे जनयुद्धको संचालन गरिसकेको छ। 

नेपाली भौगोलिक र सांस्कृतिक सबै हिस्साबाट सहभागिता रहेको एउटा सीमासम्म सफलता आर्जन गरेको सो जनयुद्ध सम्झौतामा नै थान्को लागेको भए पनि नेपालमा संघीय चरित्रको लोकतान्त्रिक गणतन्त्र स्थापनाको मुख्य कारक बन्यो। परिस्थिति जोखिमपूर्ण रहे पनि वैचारिक दृढता कायम गर्न सके माओवादीहरूले वर्तमान गणतन्त्रलाई वास्तविक अर्थमा श्रमजीवि वर्ग र उत्पीडित समुदायको वर्चस्वको समाजवादी दिशामा अग्रगामी चरित्रको जनगणतन्त्रमा परिणत गर्न सक्थे। 

तर यस दिशामा पस्रिएको देशी विदेशी पुँजीवादी शक्ति र दलाल तथा नोकरशाही पुँजीपति वर्गको दबाब र अन्तर्विरोधहरूलाई ठिकसँग संचालन गर्न नसकेर अन्ततः उनीहरू एउटा छद्म गणतन्त्रको पासोमा फस्न पुगेका देखिन्छन्। छद्म यस अर्थमा भनियो कि एकातिर गणतन्त्रको संविधानले आफूलाई समाजवादोन्मुख भनिरहेको छ, तर यसका राजनीतिक अर्थनीतिहरू निजी पुँजी र बजारलाई प्रोत्साहित गर्ने खालका छन्। त्यसरी नै संविधान र राज्य सत्ताका घोषणाहरूमा भनिएको धर्मनिरपेक्षता, राष्ट्रिय, जातीय र सांस्कृतिक समानताको ठाउँमा धार्मिकता, एकल जातीय सांस्कृतिक वर्चस्व र धनी वर्गको वर्चस्व प्रोत्साहनमा छ भने उत्पीडित समुदाय, सांस्कृतिक, जनवादी अधिकार र जनसरोकारका विषय उपेक्षित भइरहेका छन्। 

गणतन्त्रको स्थापनापछि जनयुद्धकारी माओवादीको ठूलो हिस्सा सधैँजसो सत्तामा हिस्सेदार रहँदै आएकोले वर्तमानका जनवादी आन्दोलनमा कम्युनिस्ट र वामपन्थी-जनवादी शक्तिहरूको सक्रियता बढदै जानुपर्ने हो। तर सडक आन्दोलनको अधिकांश हिस्सा सुनसान देखिन्छ। यदाकदा जो सडकमा देखिएका छन्, त्यसमा अधिकांश संकीर्ण पहिचानवादी र दक्षिणपन्थी नै छन्। यसले के देखिन्छ भने राजतन्त्रको समापन गरेर गणतन्त्र स्थापना एउटा अग्रगामी पाइला भए पनि यसले प्रयोग गरिरहेको लोकतन्त्र पुँजीवादी तथा पश्चगामी शक्तिहरूको निम्ति अनुकूल र श्रमजीवि वर्ग र उत्पीडित जनसमुदायको निम्ति प्रतिकूल देखिन्छ। 

आफ्नो एउटा महत्त्वपूर्ण लेख ‘संविधानसभा र अस्थायी सरकारको बारेमा’ लेनिनले समाजवादी लक्ष्यको बाटोमा अवरोध सिर्जना गर्ने तथा पुँजीवादी तत्वहरूलाई प्रोत्साहित गर्ने खालको जनवादलाई असंगत जनवाद भन्दै कम्युनिस्टहरूले यस्तो अभ्यासबाट तत्काल सम्बन्धविच्छेद गर्नुपर्ने भनेका छन्। यस अर्थमा वर्तमान गणतन्त्रको अभ्यास गरिरहेका कम्युनिस्टहरूले यस प्रतिकूल अवस्थामा सत्ताभित्रैबाट समाजवादी लक्ष्यहरूको निम्ति संसद र सडकमा प्रतिरोधी स्थितिको सिर्जना गर्न सक्नुपर्थ्यो, होइन भने यसबाट अलग्गिएर समाजवादी लक्ष्यको निम्ति नयाँ पहल र उपाय खोज्न सक्नुपर्थ्यो। 

यस अर्थमा सत्ताभित्र विद्यमान कम्युनिस्ट पार्टीहरू विशेष गरेर जनयुद्धको श्रेय बोकेको माओवादी जनयुद्ध चुकेको देखिन्छ र क्रमशः बुर्जुवा चरित्रको संसदीय लोकतन्त्रको रोगबाट क्रमशः थलिँदै गएको देखिन्छ। मार्क्सवादी क्रान्तिकारी कार्यक्रम र कार्यकौशल भन्दा पनि संसदीय चुनावमा कसरी टिक्न सकिन्छ भन्नेतर्फ नै उसको कौशल, लफ्फाजी र ऊर्जा खर्च भइरहेको देखिन्छ।

अर्कोतर्फ, विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको नवमार्क्सवादी र उत्तरमार्क्सवादी विचलित तर्कहरूको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावबाट संसदीय र गैरसंसदीय दुबैतर्फका कम्युनिस्ट पार्टीहरू ग्रसित हुन थालेको देखिन्छ। लेनिनको युग पुरानो भयो, त्यसैले अब सर्वहारा होइन, श्रमिक भन्नु उपयुक्त हुने, सर्वहारा क्रान्तिको ठाउँमा नयाँ खाले (एकीकृत जनक्रान्ति आदि) क्रान्ति गर्नुपर्ने, एक्काइसौँ शताब्दीमा सूचना-संचार विज्ञान प्रविधिको क्षेत्रमा आएको अभूतपूर्व परिवर्तनका कारण वस्तु उत्पादनमा मजदुरको भूमिका न्यून हुँदै गएकाले मार्क्सले भनेको उत्पादनको मूलशक्ति मजदुर अर्थात् श्रमको स्थानमा विज्ञान र प्रविधिलाई उत्पादनको मूल साधन मान्नुपर्ने नयाँ तर्कहरू मार्क्सवादी आन्दोलनभित्र उठाइँदै छन्। 

मार्क्सवादले विज्ञान र प्रविधिलाई उत्पादनको साधनका रूपमा व्याख्या गर्छ। यसरी उत्पादक शक्तिको ठाउँबाट मानिस वा श्रमिकलाई विस्थापित गरेर विज्ञान र प्रवृधिलाई बसालिसकेपछि, यसै आधारमा साम्राज्यवादको चरित्रमा परिवर्तन आएकोले आधुनिक साम्राज्यवादलाई सर्वहारा क्रान्ति गरेर पराजित गर्न नसक्ने, त्यसैले वैज्ञानिक समाजवादी नीति लागू गर्दै जाने तर्कहरू नयाँ विचारको रूपमा सारिँदैछन्।          

...
लाग्छ, नेपाली कम्युनिस्ट आन्दोलन विचारधारात्मक स्तरमा नयाँ उथलपुथलबाट गुज्रिरहेको छ र वैचारिक अन्यौलताको स्थितिमा नयाँ विचारको फेसनमा अनुकूल-प्रतिकूल सबैखाले तर्कहरू प्रचलित भइरहेका छन्। बुर्जुवा स्वतन्त्रताको तर्कसहितको लोकतन्त्र, 'क्याडरबेस' अनुशासित संगठनको साटो 'मास बेस' खुकुलो सांगठनिक ढाँचाजस्ता नयाँ बहसहरू कम्युनिस्ट आन्दोलनमा सुनिन थालेका छन्। विचार र कार्यक्रमको स्तरमा हेर्दा अधिकांश कम्युनिस्ट पार्टीमा सर्वहारा वर्गीय चुनौती भन्दा पनि मध्यवर्गको बढ्दो आकारबाट दिग्भ्रमित भएर मध्यवर्गको विद्रोहसम्मको बहसको शुरूआत भएको देखिन्छ। 

नेपाली राजनीतिमा यी विचलित विचारहरू नौलो देखिए पनि विश्व कम्युनिस्ट आन्दोलनमा मार्क्सवादमाथि देखिएको संकट र चुनौती पुरानै हुन्। वाम वैचारिकीको नाममा नयाँ रूपमा देखिएका पुरानै सुधारवादी विचार हुन्, जसले क्रान्तिको विचारलाई उपेक्षा गर्छ र क्रमिक सुधारको बर्नस्टिनको बाटोतिर धकेल्छ। सन् २००८ पछि  विश्व कम्युनिस्ट आन्दोलनमा स्लाभोज जिजेक, एलेन बेदियु, एन्टोनियो नेग्री र माइकल हार्टजस्ता उत्तर मार्क्सवादीहरूको एउटा सुसंगठित पंक्ति छ, जसले पुराना सुधारवादी विचारहरूलाई नयाँ सन्दर्भमा नयाँ कलेबरमा प्रस्तुत गरिरहेको छ। 

मार्क्स, लेनिन र माओका रचनाहरूको सम्पादन गर्ने क्रममा प्रस्तावनामा जिजेकले बिसौँ शताब्दीमा कम्युनिजमको अन्त एउटा विपदमा भएको र त्यसैले नयाँ किसिमको कम्युनिजमको आवश्यकता रहेको औैँल्याउँछन्। बेदियु वर्तमान विश्वमा विज्ञान र प्रविधिको अभूतपूर्व विकास र विश्वव्यापी उपस्थितिको कारण क्रान्ति, राज्य र क्रान्तिकारी पार्टीको अवधारणा अप्रासंगिक भैसकेको भन्छन्। 

त्यसरी नै नेग्रो र हार्टको जोडी पुँजीपति वर्गको साटो शासक र सर्वहाराको साटो बहुसंख्यक (मल्टिच्युड, श्रमिक) शब्द प्रयोग गर्न रुचाउँंछन् र पुँजी, उत्पादन र सम्पत्तिको श्रेणीको साटो साझा (कमन) को कुरा गर्न चाहन्छन्। एक्काइसौँ शताब्दीका यी नयाँ मार्क्सवादी व्याख्याताहरू एकातिर आफूहरू मार्क्सवादी नै भएको दावी गर्छन् र अर्कोतिर मार्क्सवादी अवधारणालाई स्वीकार्ने दावी पनि गर्दैनन्। नेपालमा देखिएको मध्यवर्गको विद्रोह र 'लेनिनको युग पुरानो भैसक्यो'जस्ता भ्रमित विचारहरू नव मार्क्सवाद र उत्तर मार्क्सवादको नाममा उदाएका मार्क्सवादका नयाँ व्याख्याताहरूको नयाँ प्याकिङमा पुराना संशोधनवादी धारणाहरूबाट जान अनजान प्रभाव हो। नेपाली वाम बुद्धिजीविहरूमा वैचारिक फेसनको रूपमा समेत प्रभावित गरिरहेको यो ‘नयाँ विचार’हरूले मार्क्सवादको मुख्य विषय सर्वहाराको अधिनायकत्व र सर्वहारा वर्गको अग्रदस्ताको रूपमा कम्युनिस्ट पार्टीको औचित्यसमेतलाई उपेक्षा गर्छ। सर्वहारावादी समाजवादको अवधारणालाई जड र पुरानो विचारको रूपमा व्याख्या गर्छ र सर्वहारा श्रमिकको दुःखलाई उपेक्षा गर्दै मध्यवर्गको दुःखमा दुःखी हुन्छ।
...
साम्राज्यवादी पुँजीवादले एकातिर विज्ञान र प्रविधिको अभूतपूर्व विकासको रथमा सवार भएर विश्वभर तीव्रभन्दा तीव्र शोषणको नयाँ नयाँ हतियार रच्दै छ भने अर्कोतिर बेरोजगार र असंगठित मजदुरको विशाल फौज तयार गर्दै छ।  समाजशास्त्री र अर्थशास्त्रीहरू उद्योगहरूबाट छँटनी भएका कारण श्रमजीवि मजदुरवर्गको संख्या घटदै गएको र मध्यमवर्गको आयतन बढदै गएको भ्रम छरिरहेका छन्। 

यथार्थ के हो भने ठूलो औद्योगिक क्षेत्रबाट छँटनी भएका मजदुरहरू साना साना उद्योग धन्दा, वित्तीय बजार र सेवाको क्षेत्रमा पलायन भई झन् सस्तो मूल्यमा बेचिन बाध्य भइरहेका छन्। विशेष गरेर नेपालजस्ता अविकसित र विकासशील देशहरूबाट कतार, दुबई र मलेसियाजस्ता सस्ता श्रमबजारमा बिक्री हुन गएका श्रमिकहरूले एक्काइसौँ शताब्दीमा साम्राज्यवादी पुँजीवादी शोषणको अमानवीय चरित्र अनुभव गर्दैछन् र नयाँ किसिमका सर्वहाराहरूको फौजको निर्माण हुँदैछ। 

उत्तर मार्क्सवादी भन्नेहरूको नयाँ व्याख्यामा यो ऐतिहासिक नयाँ परिघटना उपेक्षित हुनेगर्छ। उनीहरूले यसलाई ‘कमन’ वा सामान्य श्रमिकको अर्थमा निर्वर्गीय घटनाको रूपमा हेर्छन्। नेपाली कम्युनिस्ट आन्दोलनभित्र पनि यस खालका वैचारिक भ्रमहरू नयाँ वैचारिक बहसको रूपमा विकसित हुँदैछ। आफूलाई मार्क्सवादी नभन्नेहरूको निम्ति यी नयाँ बहसहरू सहयोगी हुनसक्छन्, तर मार्क्सवादी वैचारिकतामा मार्क्स, लेनिन र माओको अन्तर्वस्तु गुमाएर कम्युनिस्ट आन्दोलन भ्रमबाहेक अरु केही हुँदैन।

सन् २०२४ लाई लेनिनको मृत्युको शताब्दी वर्षको रूपमा वर्षभरि कार्यक्रम गरेर विश्वभरि मनाइँदैछ। दक्षिण र वाम दुबै गलत प्रवृत्तिविरुद्ध दृढ संघर्ष गरेर सर्वहारावादी समाजवादको स्थापनाको प्रक्रियामा लेनिन वर्तमान विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा पनि भ्रमित विचारहरूविरुद्ध उत्तिकै सटिक, सान्दर्भिक र उपयोगी छन्, जति उनी आफ्ना समयमा थिए।  


सम्बन्धित सामग्री