Wednesday, October 16, 2024

-->

बर्बादी मात्र देख्दादेख्दै ‘म्याच फिक्सिङ’मा किन लाग्छन् खेलाडी

फुटबल र क्रिकेटको सबभन्दा ठूलो अपराध मानिने ‘फिक्सिङ’मा नेपाली खेलाडीको एकपछि अर्को संलग्नता आर्थिक कारणसित मात्र जोडिएको छैन, खेल संघ र तिनका पदाधिकारीको संदिग्ध भूमिका यसमा झन् बढी जिम्मेवार छ।

बर्बादी मात्र देख्दादेख्दै ‘म्याच फिक्सिङ’मा किन लाग्छन् खेलाडी

काठमाडौँ– फुटबल खेलेर नाम र दाम दुबै कमाउने वातावरण बनिरहँदा ‘छिटो पैसा कमाउने’ लोभले करिअर र जीवन एकसाथ तहसनहस पारेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहितका खेलाडीबारे उकालोमा २०८० असोज ९ गते विस्तृत रिपोर्ट प्रकाशन भएको थियो। 

२०७२ सालमा उजागर भएको फुटबलको चर्चित यो ‘म्याच फिक्सिङ’को घटनामा सागरसँगै राष्ट्रिय टोलीका रक्षक सन्दीप राई, गोलरक्षक रितेश थापा, राष्ट्रिय टोलीका पूर्वखेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसी पक्राउ परेका थिए। पछि उनीहरूमाथि फुटबल गतिविधिमै सहभागी हुन नपाउनेगरी प्रतिबन्ध लाग्यो। यो प्रकरणले पाँचै जनाको फुटबल करिअर तहसनहस भयो। जीवन अनिश्चयतर्फ मोडियो। 

नेपाली फुटबलमा सम्भवतः पहिलोपटक उजागर भएको यो प्रकरण, म्याच फिक्सिङले खेल करिअरसँगै व्यक्तिगत जीवनसमेत कसरी तहसनहस बन्छ भन्ने दृष्टान्त बनेको थियो। तर यो नेपाली खेलकुदको पहिलो वा अन्तिम ‘फिक्सिङ’ प्रकरण बन्न सकेन।

कलिलैमा ‘करिअर’ सिध्याएका दीपेश
पाँच खेलाडीको फिक्सिङ प्रकरणले ल्याएको तरंग साम्य भइसकेको थिएन। २०७५ सालमा ‘ए’ डिभिजन लिग चलिरहँदा विभागीय टिम एपीएफ र सरस्वती युवा क्लब ‘रेलिगेसन’बाट बच्न संघर्षरत थिए। त्यहीक्रममा सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठलाई एन्फाले ‘म्याच फिक्सिङ’मा दोषी करार गरेर दुई वर्ष प्रतिबन्ध लगायो, ५० हजार रूपैयाँ जरिबानासमेत गर्‍यो।

हल्का आकाशे रंगको जर्सी लगाएका दिपेश

फुटबलमा भविष्य खोजिरहेका काठमाडौँ, बौद्धका फरवार्ड दीपेश ‘सी’ डिभिजनको चारुमती, ‘बी’ डिभिजनको टुसाल क्लब हुँदै ‘ए’ डिभिजनको सरस्वतीसम्म आइपुगेका थिए। बल्ल २५ वर्षमा टेकेका उनको सरस्वतीलाई ‘ए’ डिभिजनमा ल्याएर नकआउट प्रतियोगितामा उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका थियो। त्यहीकारण उनले तीन वर्षदेखि सरस्वतीको कप्तानी गर्ने मौका पाएका थिए।

त्यसबीचमा एक वर्ष संकटाबाट खेलेका दीपेशले मैदानमा गरेको प्रदर्शनकै कारण विभागीय टोली, नेपाल पुलिसले पनि अनुबन्ध गर्ने प्रयास गरेको थियो। दीपेशको नजर भने राष्ट्रिय टोलीमै थियो। तर त्यो सबै एकाएक भताभुंग भयो।

लिगअन्तर्गत ५९औँ खेलमा प्रतिस्पर्धी क्लब हिमालयन शेर्पाका गोलरक्षक मीन बस्नेतलाई फिक्सिङको प्रस्ताव राखेपछि उनको खेल जीवनमा फिक्सिङको धब्बा मात्र लागेन, घरेलु फुटबलमा त्यसबापत सजाय पाउने उनी पहिलो खेलाडी बने। 

त्यसअघि घरेलु लिगमा खेल मिलेमतोका विषय आएका, एन्फामै कैयौँ उजुरी परेका भए पनि आरोप पुष्टि भएका थिएनन्। एन्फाले नै फिक्सिङ पुष्टि गरेर सजाय पाउने पहिलो खेलाडी दीपेश भए। त्यसबेला एन्फा प्रवक्ता रहेका, हाल कोशी प्रदेश अध्यक्ष किशोर राईका अनुसार रेलिगेसनबाट बच्न संघर्षरत सरस्वतीलाई जित निकाल्नैपर्ने दबाब थियो।

हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नुअघि सरस्वती लिगमा जितविहीन थियो। तीन वर्षअघि मात्र शीर्ष डिभिजनमा उक्लिएको सरस्वतीको उपस्थिति नै विपक्षी टोलीसामु कमजोर थियो। उसले विपक्षीको पोस्टमा एक गोल मात्र गरेको थियो। तर त्यो खेलमा सरस्वती नाटकीय हिसाबले लयमा फर्कियो। हिमालयन शेर्पामाथि ४–३ गोलअन्तरको रोमाञ्चक जित दर्ता गर्दै उसले लिगमा महत्त्वपूर्ण तीन अंक बटुल्यो।

धेरै कुरा अस्वाभाविक देखिएकाले यो खेल नसकिँदै फिक्सिङको चर्चा चलिसकेको थियो। पछि एन्फा अनुशासन समितिले सरस्वती र हिमालयन शेर्पाबीचको खेलमा मिलेमतो भएको ठहर गर्‍यो। त्यसको १२ दिनपछि दीपेशलाई एन्फाले आयोजना गर्ने वा एन्फाको स्वीकृति लिएर संचालन हुने प्रतियोगितामा दुई वर्षसम्म प्रतिबन्ध लगाइयो।

एन्फाले घटनाको सूचना लुकाएको आरोपमा हिमालयन शेर्पाका तत्कालीन टिम म्यानेजर बीजेन्द्र पुडासैनीलाई तीन महिना प्रतिबन्ध लगाउँदै ३० हजार रूपैयाँ जरिबाना गरेको थियो। हिमालयन शेर्पाका गोलरक्षक मीन बस्नेतले भने दीपेशको प्रस्ताव तत्कालै अस्वीकार गरेको निर्क्योल निकाल्दै कारबाही गरिएन।

“हामीले बस्नेतलाई कारबाही नगर्नुको कारण उनले प्रस्ताव सिधै अस्वीकार गरेका थिए,” राई भन्छन्, “पुडासैनीलाई यो घटनाबारे जानकारी थियो, तर उनले हामीलाई धेरै पछि मात्र यसबारे सूचना दिए। सूचना लुकाएकाले उनी कारबाहीमा परे।”

मिलेमतोबाट जित हासिल भए पनि सरस्वतीको रेलिगेसन यात्रा टरेन। लिगमा १४औँ स्थानमा रहँदै सरस्वती ‘बी’ डिभिजनमा घटुवा भयो। यो घटनापछि रातारात धनी हुने मोह जागेको भन्दै दीपेशलाई आफ्नै क्लब र सहकर्मीले छिछि दूरदूर गरे। उनी चर्चाबाटै हराए। दुई वर्षको प्रतिबन्ध फुकुवापछि गत सिजन उनले सरस्वतीबाटै फुटबलमा पुनरागमन प्रयास त गरे, तर ‘बी’ डिभिजनको सरस्वती छैटौँ स्थानबाट माथि उक्लिन सकेन।

राष्ट्रिय टिमको सपना देखिरहेका दीपेशसामु त्यसलाई सपनाकै रूपमा स्वीकार गर्नुको विकल्प रहेन। अहिले उनी काठमाडौँको बौद्धमा फुटसल केन्द्र खोलेर त्यसमै समय दिइरहेका छन्। फुटबलबाट अलग नभएको तर्क गर्दै उनी भन्छन्, “फिक्सिङको कुराले पनि असर गर्‍यो, उमेर पनि भयो। अब फुटबलमा नफर्किने भनेर फुटसल खोलेर बसेको छु,” उनले भने।

एन्फाले प्रतिबन्ध लगाउँदा धनगढीमा फुटबल खलिरहेका दीपेशले प्रतिबन्धलाई कानूनी चुनौती दिने तयारी गर्दा कोरोना महामारी बाधक बनिदिएको थियो। कोरोनासँगै खेल गतिविधि ठप्प भएका थिए। महामारी रोकिँदासम्म उनको प्रतिबन्ध सकिइसकेको थियो। 

त्यसपछि फुटबलमै फर्कने उनको योजना भने सहज भएन। “अरु क्लबले पनि अफर गरेका थिए, तर केहीले यो त फिक्सर हो भन्न थालेपछि खेल्ने मन मर्‍यो। सरस्वतीबाट खेल्न त खेलेँ, तर फिक्सिङको आरोप लागेपछि पहिले जस्तो जोश र जाँगरले खेल्नै सकिनँ,” उनी भन्छन्, “अहिले पनि यो आरोपले लज्जित पार्छ, केही गर्नै मन लाग्दैन।”

दीपेश आफूले पैसा लिएर फिक्सिङ नगरेको र ख्यालख्यालमै गरेको कुरा पासो बनेको दाबी गर्छन्। “त्यतिखेर मैले चिनजानको भाइ भनेर जिस्किँदै आजको खेल त छाड्दिनपर्छ है, मागेको पैसा दिन्छु भनेको थिएँ। त्यसरी अफर गर्नु फिक्सिङ हो भन्ने थाहा थिएन। उसले पनि हाहा.... दाइ भइहाल्छ नि भनेको थियो,” उनले भने, “पैसाको कारोबार भएको थिएन, तर गेम मैले सोचे झैँ भइदियो। एपीएफ रेलिगेसनमा पर्ने भएपछि छानबिन गर्दा मेरो मेसेज हेरियो। अहिले मलाई त्यस्तो मेसेज नगरेको भए हुन्थ्यो जस्तो लाग्छ।”

खेलाँची ठानिएको क्रिकेटको ‘स्पट फिक्सिङ’ 
पहिल्यै तय गरिएको परिणामअनुसार खेल्नु, कानून र खेलसम्बन्धी नियम उल्लघंन गरेर नियोजित लाभका निम्ति खेल्नु खेल मिलेमतो हो। फुटबल र क्रिकेटमा खेल मिलेमतो अर्थात् फिक्सिङलाई ठूलो अपराध मानिन्छ।

आठ वर्षअघि राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित पाँच जना पक्राउ परेपछि नेपालमा पनि फिक्सिङबारे बहस शुरू भयो। त्यसपछि नै यसलाई सम्बोधन गर्ने कानून बन्यो। कानून बनाउनुको उद्देश्य सम्भावित खेल मिलेमतोका घटना रोक्नु थियो। तर घटनाक्रमहरूले नेपालमा अहिले पनि फिक्सिङलाई गम्भीर रूपमा नलिइएको देखाउँछन्। त्यसको दृष्टान्त बनेको छ क्रिकेट।

फाइल तस्वीर: नेपाल टी–२० लिगको घोषणा गर्दै क्यान

नेपाली क्रिकेटको नियमनकारी निकाय, नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको घरेलु प्रतियोगिता, नेपाल टी–२० लिगमा ‘फिक्सिङ’ गरेको आरोपमा राष्ट्रिय टोलीका पूर्वसदस्य महबुब आलम र राष्ट्रिय टोलीका नियमित अलराउन्डर आदिल अन्सारी २०७९ माघ ९ गते पक्राउ परे।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले क्रिकेटको यो ‘स्पट फिक्सिङ’ प्रकरण अनुसन्धान गरेको थियो।

सीआईबीको अनुसन्धानकै आधारमा क्रिकेट सिक्दै गरेका १८ वर्षीय नितेश गुप्ता पनि माघ २४ गते पक्राउ परे। पछि काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई जनही ३ लाख रूपैयाँ धरौटीमा रिहा गरेको पनि एक वर्ष पुग्न लागेको छ। तर क्यानले अहिलेसम्म महबुब, आदिल र नितेशलाई कारबाही गरेको छैन।

फिक्सिङमा पक्राउ परेका, अदालतले धरौटी मागेका क्रिकेटरलाई कारबाही किन भएन? 

“उहाँहरूलाई अदालतले धरौटीमा छाडेको हो, अपराध नै गरेको भनिहाल्ने अवस्था छैन। त्यसमाथि महबुब आलम क्रिकेटमै सक्रिय छैनन्, यो घटनापश्चात् आदिललाई हामीले क्याम्पमा बोलाएका छैनौँ,” क्यानका तत्कालीन कार्यबाहक सचिव दुर्गा पाठकले भनेका थिए।

क्यानले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई जोगाउन गरिरहेको जोडबल हेर्दा फिक्सिङमा देखाएको यो उदासीनता अनौठो लाग्दैन। 

‘फिक्सर’हरूले प्रायः समातिने जोखिम कम भएका खेलहरूलाई ‘टार्गेट’ गर्छन्। मिडिया कभरेज कम र दर्शक थोरै हुने तल्लोस्तरका प्रतिस्पर्धा उनीहरूको प्राथमिकतामा हुन्छन्। प्रतिस्पर्धी कसैको फाइदाका लागि मात्र नभई अन्तर्राष्ट्रियस्तरमा हुने सट्टेबाजीमा अनुकूल नतिजा निकाल्ने ‘वार्म–अप’का लागि पनि आयोजक, प्रशिक्षक, खेलाडी, म्याच अफिसियलदेखि खेल पदाधिकारीलाई समेत फिक्सिङमा लगाइएका अन्तर्राष्ट्रिय उदाहरण थुप्रै छन्।

अर्को, ‘फिक्सर’हरूको नजर कम पारिश्रमिक पाउनेहरूमा हुन्छ। महबुब र आदिलको कथा यस्तै थियो। महबुब राष्ट्रिय टोलीमा पर्न छाडेको पाँच वर्ष नाघिसकेको थियो। सँगै राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका विनोद दास कप्तान हुँदै युवा टोलीको प्रशिक्षक र क्यानको म्यानेजर भइसक्दा कुनै बेला १० विकेट लिएर विश्व कीर्तिमान बनाएका महबुब खेल करिअरमा सफल भएनन्। घर चलाउन उनी रोजगारीको सिलसिलामा भारत र नेपाल ओहोरदोहोर गरिरहन्थे, गरिरहन्छन्।

यता, कमजोर आर्थिक अवस्थाले पढाइ छाडेका आदिलको कमाउने मेलोमेसो क्रिकेट नै थियो। तर पाँच एकदिवसीय अन्तर्राष्ट्रिय र आठ टी–२० अन्तर्राष्ट्रिय मात्र खेलेका उनले ‘म्याच फी’बाहेक क्यानबाट केही पाइरहेका थिएनन्।

राष्ट्रिय टोलीबाट १३ अन्तर्राष्ट्रिय खेलमा गरेको प्रदर्शनका आधारमा उनी नेपाल टी–२० लिगको पहिलो संस्करणमा जनकपुर रोयल्समा १० लाख रुपैयाँ पारिश्रमिक पाउनेगरी आबद्ध भएका थिए।

सीआईबीको अनुसन्धान प्रतिवेदनमा सागर थापालगायत फुटबलरहरूलाई कुख्यात ‘फिक्सर’ विल्सनराजले भेटे झैँ क्रिकेटर आदिललाई पनि लिग टूअन्तर्गत नामिबियाको भ्रमणमा जानूअघि नेपाली टोलीले दिल्ली भ्रमण गर्दा त्यहाँ लिगको साझेदार ‘सेभेन थ्री स्पोर्ट्सका संचालक जतिन अहुवालिया र सीईओ अभिषेक सक्लानीलगायतले भेटेर फिक्सिङको प्रस्ताव राखेको उल्लेख छ।

बायाँबाट महबुब आलम र आदिल अन्सारी

उनीहरूबाहेक लिग साझेदार सेभेन थ्री स्पोर्टस्, प्रशिक्षक, अफिसियल र पदाधिकारी नै यो फिक्सिङमा संलग्न रहेको सीआईबीको निष्कर्ष छ। सेभेन थ्री स्पोर्ट्सका मालिक अहुवालियालाई ‘स्पट फिक्सिङ’को मुख्य अभियुक्त बनाइयो। 

क्यानले भारतको गुडगाँव (हरियाना गुरूग्राम) मा रहेको जतिनको सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेर लिग संचालन गरेको थियो। यसको मुख्य प्रायोजक रहेको बेटिङ कम्पनी ‘वान एक्स बेट’बाट संचालन हुने ‘वान एक्स ब्याट’ थियो। त्यहीकारण पनि लिगमा ‘बेटिङ’ र ‘स्पट फिक्सिङ’को शंका गरिएको थियो।

यसबारे उत्खनन् गर्दै जाँदा जतिन, महबुब र आदिलसँगै अभिषेक सकलानी (सीईओ), नितेश (बिचौलिया), राहुल शर्मा (जनकपुरका म्यानेजर), एन्ड्रयु म्याकार्थी (जनकपुरका कप्तान), रवि माझी, समीर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेल (बिचौलिया)सहित १२ जनाको संलग्नता देखिएको सीआईबीको निष्कर्ष छ। 

करिब एक महिनाको अनुसन्धानपश्चात महबुब र आदिलसँगै क्रिकेट सिक्दै गरेका नितेशलाई मात्र पक्राउ गरेपछि सीआईबीले अन्य ९ जनालाई समेत प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिए पनि सरकारी वकिलको कार्यालयले महबुब, आदिल, नितेश तथा फरार रहेका नवीन र रविविरुद्ध मात्र मुद्दा दायर गर्‍यो।

अदालतमा थुनछेक बहसका क्रममा महबुबले राष्ट्रिय टोलीका अलराउन्डर तथा पोखरा एभेन्जर्सका आरिफ शेख र जनकपुरका आदिललाई ६ खेलको ३६ लाख दिने ‘अप्रोच’ गरेको स्वीकारेका थिए। आरिफले त्यो ‘अप्रोच’ तत्काल अस्वीकार गरे पनि आदिलले भने ‘पछि जवाफ दिन्छु भनेको, तर नदिएको’ उनको भनाइ थियो। त्यसपछि न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पक्राउ परेका तीनै जनालाई धरौटीमा रिहा गरेको थियो।

विश्व खेलकुदमा फिक्सिङमा शून्य सहनशीलताको नीति लिइए झैँ नेपालमा पनि एन्फा र क्यानको यही नीति छ। तर आफैँँले आयोजना गरेको प्रतियोगितामै फिक्सिङ भएको तथ्य बाहिरिँदा पनि क्यान मुखामुखमै अल्झियो। क्यानका तत्कालीन कार्यवाहक सचिव पाठकले ‘सीआईबीले अनुसन्धान सम्पन्न नगरेको, क्यानको एन्टी करप्सन युनिटले आईसीसीलाई रिपोर्ट बुझाइसके पनि उताबाट कुनै निर्णय नआउँदासम्म कारबाही नगर्ने कि भन्ने रहेको’ बताएका थिए।

हामीले यसबारे बुझ्न आइतबार क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सम्पर्क गर्‍याैँ। चन्दले भने, “हामीले आईसीसीसँग सीआईबीले बुझाएको प्रतिवेदन पनि माग गर्‍याैँ, तर आजसम्म प्राप्त भएको छैन। त्यो प्राप्त नभएसम्म हामीले के आधारमा कारबाही गर्ने?”

यो प्रकरणमा नितेशले आरिफलाई ‘अफर’ गरेपछि आरिफले क्यान र एन्टी करप्सन युनिटलाई खबर गरेको, आदिलले भने अफरअनुसार दुई खेलमै ‘स्पट फिक्सिङ’ गरेको सीआईबीको दाबी छ। आदिलले जनकपुर रोयल्सबाट २०७९ पुस १२ गते काठमाडौँ नाइट्सविरूद्ध र पुस १४ गते फारवेस्ट युनाइटेडविरूद्ध खेलेको खेलमा फिक्सिङ भएको सीआईबीको निष्कर्ष छ।

नेपालमा फुटबलको फिक्सिङमा अहिलेसम्म शून्य सहनशीलताकै नीति लागू भएको देखिए पनि क्रिकेटमा त्यस्तो देखिँदैन। क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगबाहेक नेपालमा प्रधानमन्त्री कप, एभरेस्ट प्रिमियर लिग (ईपीएल) र थप केही क्रिकेट प्रतियोगिता संचालन हुन्छन्। फुटबलमा एन्फाले आयोजना गर्ने ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगबाहेक करिब डेढ दर्जन सानाठूला प्रतियोगिता हुँदै आएका छन्। नेपाली फूटबल टोलीका पूर्वसहायक प्रशिक्षक मेघराज केसी तीमध्ये अधिकांशमा फिक्सिङ हुने दाबी गर्छन्। 

‘प्रमाण दिँदा पनि केही गर्दैनन्, उल्टै दबाउन लाग्छन्’
करिब तीन दशकदेखि फुटबलमा सक्रिय केसी केही अघिसम्म ‘स्पोर्टिङ इलाम एफसी डी मेची क्लब’का प्रशिक्षक थिए। यो अवधिमा आफूले देखेका फिक्सिङका केही घटना मोबाइलबाट खिचेर सम्बन्धित निकायमा बुझाएको, तर कैयौँपटक फिक्सिङ भएको प्रमाण दिँदा पनि बुझाएकै ठाउँबाट प्रमाण गायब बनाएर फिक्सरलाई जोगाइएको उनको दाबी छ।

“फिक्सिङ नहुने सानाठूला प्रतियोगिता नै छैनन् भन्दा हुन्छ। यस्ता प्रतियोगितामा फिक्सिङ गर्न आयोजकदेखि खेलाडीसम्म सक्रिय हुन्छन्। हामीले कतिपटक फिक्सिङको प्रमाण खिचेर मोबाइल नै एन्फामा बुझायौँ। तर सबै प्रमाण गायब पारियो,” उनले भने।

फिक्सिङका घटना प्रायः बाहिर आउँदैनन्, आए पनि निकै ढिलो आउँछन्। पाँच जना फुटबलरको फिक्सिङ प्रकरण उजागर हुनै केही वर्ष लागेको थियो। कतिपय खेलाडीले खेल्न छाडेपछि या केही मनमुटाव पैदा भएपछि मात्र आफू फिक्सिङमा लागेको स्वीकार गर्नेगरेको तीतो अनुभव केसीसँग छ। तर प्रमाण पुर्‍याउन नसक्दा फिक्सरहरू भने सजिलै उम्किने गरेको उनले सुनाए।

“धेरै पछि मैले यो–यो खेलमा यसो गरेँ त भन्छन्, तर त्यसलाई पुष्टि गर्ने प्रमाण हुँदैन। प्रमाण नपुर्‍याइ दोष लगाउन पनि मिलेन। यसकारण पनि धेरै जना उम्किने गरेका छन्,” केसीले भने।

कतिपय प्रकरण भने उजागर हुँदा पनि लुकाउने प्रयत्न हुन्छन्। नेपाल टी–२० लिगमा भएको फिक्सिङ उजागर भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दले सार्वजनिक रूपमै दिएको अभिव्यक्तिको ‘रेकर्ड’ सुन्ने हो भने यो प्रकरणबारे अरुले सुइँको नपाएको भए यसरी नै दबेर जाने निश्चित थियो।

चन्दले २०७९ माघ १२ गतेको पत्रकार सम्मेलनमा ‘स्पट फिक्सिङ’बारे थाहा पाएर पनि कसैलाई जानकारी नदिएको स्वीकारेका थिए। “एन्टी करप्सन युनिटले आईसीसीलाई रिपोर्ट दिइरहेको थियो। यस्तो अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र मिडियामा कुरा चुहाएको भए लिग नै समाप्त हुन्थ्यो, खेलाडीलाई असुरक्षा हुन्थ्यो,” उनले भनेका थिए, “लिग बचाउनका लागि हामीले त्यसो गर्‍याैँ।”

चन्दले एन्टी करप्सन युनिटमा उजुरी पर्नासाथ प्रशिक्षक, कप्तान, व्यवस्थापक र केही खेलाडीबारे सम्बन्धित टिमलाई जानकारी दिएर जिम्मेवारीबाट हटाइएको, तर लिग जोगाउन आफूहरूले विज्ञप्ति निकालेर शंका लागे गोप्यरूपमा जानकारी दिन आग्रह गरेको दाबी गर्दै भनेका थिए, “लिगलाई फाइनलसम्म पुर्‍याउन क्यान र एन्टी करप्सन युनिटलाई गोप्यरूपमा जानकारी दिन आग्रह गरेका थियौँ। लिग सकिएपछि सबै जानकारी बाहिर ल्याउँथ्यौँ।”

क्यान अध्यक्ष चतुरबहादुर चन्द

त्यो प्रकरणका प्रत्यक्षदर्शी, क्रिकेट कमेन्टेटर सचिन तिमल्सिनाले लिग नसक्किँदै यसलाई बाहिर ल्याइदिए। उनले फेसबुकमार्फत् सम्पूर्ण घटनाको बेलिबिस्तार सार्वजनिक गरिदिएपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेले छानबिन गर्न सीआईबीलाई निर्देशन दिएका थिए।

सचिन भन्छन्, “आँखै अगाडि देख्दादेख्दै फिक्सिङ भएको थियो। पछि सीआईबीको अनुसन्धानले पनि मैले भनेको कुरा प्रमाणित गर्‍यो। मलाई गर्व के छ भने मैले त्यो विषय नउठाएको भए फिक्सरहरू नेपाली राष्ट्रिय टोलीमै हुने थिए। सायद यतिञ्जेल हाम्रो ओडीआई मान्यता पनि खोसिइसकेको हुने थियो।”

यो प्रकरण उजागर गरेको भन्दै सचिनको क्रिकेट कमेन्टेटरको जिम्मेवारी खोसियो। “मैले त्यसबेला ह्वीसलब्लोइङ गर्नुको कारण मेरो कमेन्ट्री करिअरलाई ठूलो प्रहार भयो,” सचिनले भने, “तर यसमा मलाई दुःख छैन। किनभने मलाई नेपालमा सत्य बोल्दाको मूल्य राम्ररी थाहा छ।” 

क्यान जस्तै एन्फाले आयोजना गर्ने फुटबलको शीर्ष डिभिजनमै पनि फिक्सिङका घटना भएको, तर एन्फाले नै तिनलाई दबाएको एन्फाकै एक पदाधिकारी बताउँछन्। उनका अनुसार गणेश थापा अध्यक्ष हुँदा २०६१ सालमा अहिलेको ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्र क्लबलाई एन्फाले खेल मिलेमतोमै उन्मुक्ति दिएको थियो।

मछिन्द्र त्यसबेला ‘बी’ डिभिजनमा थियो। २०२९ सालदेखि ‘बी’ डिभिजन खेलिरहेको मछिन्द्रले ३१ वर्षसम्म ‘ए’ डिभिजनमा उक्लिन नसकेको नियति बदल्न त्यस वर्ष (२०६१) को ‘बी’ डिभिजन प्रतियोगितामा बौद्ध फुटबल क्लबसँग अन्तिम खेलमा मिलेमतो गरेको थियो।

“बौद्ध पहिल्यै ‘ए’ डिभिजनमा बढुवा हुने निश्चित भइसकेको थियो, मिलेमतोपछि दुबै क्लब पहिलो, दोस्रो हुँदै ए डिभिजनमा उक्लिए,” एन्फाका ती पदाधिकारीले भने, “त्यसबेला दुई क्लबबीच पैसाकै लेनदेन भएको खुलेको थियो, तर एन्फा नेतृत्व नै लाचार भइदियो। अहिलेसम्म त्यसकै नजीरले पिरोलेको छ।” 

१२ वर्षपछि, २०७३ सालमा यस्तै घटना भयो। त्यसबेला न्यूरोड टिम (एनआरटी) र च्यासल युथ क्लब ‘ए’ डिभिजनमा बढुवा हुँदा पनि आर्थिक लेनदेनसहित खेल मिलेमतो भएको आरोप लागेको थियो। च्यासल एक खेल बाँकी छँदै शीर्ष डिभिजनमा उक्लेको थियो। एनआरटीले भने अन्तिम खेलमा सातदोबाटो युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको थियो। त्यसबेला एन्फाले नै ‘बी’ डिभिजन लिगमा च्यासलले खेल मिलेमतो गरेको निष्कर्ष निकालेको थियो। 

बर्बादी मात्र, र पनि किन लाग्छन् ‘फिक्सिङ’मा?
खेल मिलेमतोबारे अध्ययन–विश्लेषण गर्ने कम्पनी ‘स्पोर्टराडार इन्टिग्रिटी सर्भिसेज’ले पछिल्लो पटक सार्वजनिक गरेको २८ पेजको एक प्रतिवेदनमा सन् २०२२ मा विश्वभर ‘फिक्सिङ’ र यसमार्फत् हुने भ्रष्टाचार ३४ प्रतिशतले बढेको उल्लेख छ। ‘२०२२ मा सट्टेबाजी, भ्रष्टाचार र म्याच फिक्सिङ’ शीर्षकको प्रतिवेदनमा फुटबल र बास्केटबलमा सर्वाधिक भ्रष्टाचार र ‘फिक्सिङ’ भएको उल्लेख छ। प्रतिवेदनअनुसार फुटबलमा ७७५ खेलमा मिलेमतो भएको उल्लेख छ।

बास्केटबलका २२० खेलमा फिक्सिङ भएको उल्लेख गरेको ‘स्पोर्टराडार इन्टिग्रिटी सर्भिसेज’ले लनटेनिसका ७५ खेल र टेबलटेनिसका ६२ खेलमा ‘फिक्सिङ’ भएको सूची निकालेको छ। त्यस्तै, क्रिकेटका १३ खेलमा ‘फिक्सिङ’ र भ्रष्टाचार भएको प्रतिवेदनको आँकडा छ।

वर्षभरि विभिन्न खेलमा हुने सट्टेबाजी, ‘फिक्सिङ’ र भ्रष्टाचारको विश्लेषण गर्ने ‘स्पोर्टराडार इन्टिग्रिटी सर्भिसेज’सँग खेलका दौरान हुने संदिग्ध गतिविधि पत्ता लगाउने छुट्टै युनिट छ। युनिभर्सल फ्रड डिटेक्सन सिस्टम (यूएफडीएस) एप्लिकेसन युनिटले खेलहरूको तथ्यांक संकलन गर्छ। स्पोर्टराडारले सन् २०२२ मा ९२ देशमा आयोजित १२ प्रतियोगिताका एक हजार २१२ खेलको अध्ययन गरेको थियो जसमा भएका सट्टेबाजी, भ्रष्टाचार र फिक्सिङको फेहरिस्त उसले प्रतिवेदनमार्फत् सार्वजनिक गरेको हो। त्यसमा यूरोप सबभन्दा धेरै ‘फिक्सिङ’को चपेटामा परेको देखिन्छ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्री क्रिकेट संघ शक्तिशाली नहुँदा नेपाली क्रिकेट फिक्सिङको दलदलमा परेको बताउँछन्। छिमेकी मुलुक भारतमा जस्तो खेल गतिविधि फस्टाउन नसक्दा र खेलाडीले खेलेर पेट पाल्ने अवस्था सिर्जना नहुँदा फिक्सिङले ठाउँ पाइरहेको उनको बुझाइ छ।

“भारतमा आईपीएलजस्तो मजबुत लिग छ, दुई महिना आईपीएल खेलेपछि राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई पनि वर्षभरि जीवन निर्वाहको समस्या हुन्न। रणजी ट्रफी र अन्य प्रतियोगिता पनि भइरहेका हुन्छन्,” उनले भने, “नेपालमा क्रिकेट गतिविधि फस्टाउन सकेनन्। केहीले विदेशी लिगमा खेलेर राम्रो आम्दानी गरे पनि सबैलाई त्यो अवसर छैन। क्रिकेट मात्र नभई अन्य खेललाई पनि व्यवस्थित गर्नुपर्ने छ।”

सन् २००० मा भारतीय क्रिकेटमा ‘फिक्सिङ’को मुद्दा उजागर हुँदा खैलाबैला नै मच्चिएको थियो। भारतीय टोलीका ब्याट्सम्यान मात्र होइन, सफल कप्तानमध्ये मानिने मोहम्मद अजहरूद्दीन, अजय जडेजा, अजय शर्मा र नेपालका पूर्वप्रशिक्षक रहिसकेका मनोज प्रभाकरमाथि ‘फिक्सिङ’ आरोपमा प्रतिबन्ध लाग्यो। उनीहरूमाथि सट्टेबाजसँग सम्बन्ध स्थापित गरेको र खेलको रणनीति चुहाएको भन्दै प्रतिबन्ध लगाइएको थियो। खेल जीवनले उचाई लिइरहेका बेला प्रतिबन्ध लागेपछि उनीहरू त्यसपछि खेलाडीका रूपमा मैदान फर्किनै पाएनन्।

यो प्रकरण दक्षिण अफ्रिकी कप्तान हान्सी क्रोनिए र भारतीय ‘सट्टेबाजी सिन्डिकेट’का प्रतिनिधि सञ्जय चावलाबीचको कुराकानीको ‘अडियो रेकर्ड’ दिल्ली प्रहरीले फेला पारेपछि खुलासा भएको थियो। त्यसमा सञ्जयले सन् १९९६ देखि नै ‘म्याच फिक्सिङ’ गर्ने गरेको सुनाएका थिए। 

त्यो वर्ष कानपुरमा भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टेस्टका दौरान अजहरूद्दिनले मुकेश गुप्ता नाम गरेका बिचौलियासँग क्रोनिएलाई परिचय गराएका थिए। क्रोनिए अब्बल कप्तान थिए। गुप्ताले टेस्टको अन्तिम दिन दक्षिण अफ्रिकाले जानाजान खेल हार्न उनलाई ३० हजार डलर दिएका थिए। त्यसबेला क्रोनिएले भनेका थिए, “म क्रिजमा नचलेपछि पैसा पाएँ। स्वदेश फिर्तीको क्रममा टोलीको रणनीति चुहाएपछि थप रकमसहित ५० हजार डलर पाएँ।”

सन् २००० मा इंग्ल्यान्डविरुद्ध सेन्चुरीमा भएको एकदिवसीय शृंखलाअघि पनि क्रोनिएलाई सञ्जयबाट एक खेल ‘फिक्सङ’ गर्न बारम्बार कल आएको थियो। दक्षिण अफ्रिकी ब्याटर हर्शेल गिब्सले २० भन्दा कम रन बनाउनुपर्ने र हेनरी विलियम्सले ५० भन्दा बढी रन बनाएर दक्षिण अफ्रिकाले लगभग २७० रन बनाएमा क्रोनिएलाई १ लाख ४० हजार डलर दिने ‘अफर’ गरिएको थियो।

यो प्रकरण उजागर भएपछि सन् २००० अगस्ट २८ मा गिब्स र विलियम्सलाई ६ महिनाको लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरियो। गिब्सलाई ६० हजार र विलियम्सलाई १० हजार डलर जरिबानासमेत तोकियो। ११ अक्टोबरमा क्रोनिएलाई आजीवन क्रिकेट खेल्न र प्रशिक्षण दिन प्रतिबन्ध लगाइयो।

उनले २०२१ सेप्टेम्बरमा आफ्नो आजीवन प्रतिबन्धलाई चुनौती दिँदै अपिल गरे। तर २००१ अक्टोबर १७ मा उनको त्यो अपिल खारेज भयो। क्रोनिए २००२ मा एक निजी विमान दुर्घटनामा मारिए।

‘म्याच फिक्सिङ’बारे छानबिन गर्दा क्रोनिएका ७० भन्दा बढी बैंक खाताहरू भेटिएका थिए। दुर्घटनामा मृत्यु हुनुअघि उनले आफूले किन फिक्सिङ गरेँ भनेर आफैँँलाई थाहा नभएको बताउँदै भनेका थिए, “मैले यो सब नगर्नुपर्ने थियो।”

फुटबल विश्लेषक सञ्जीव मिश्र ‘फिक्सिङ’का घटना बारम्बार आइरहनुमा धेरै कारण जिम्मेवार हुने बताउँछन्। लिगको अवधारणा, खेल संघ र क्लबहरू कमजोर हुनुलाई उनी यसको प्रमुख कारण मान्छन्। क्लबहरूले खेलाडीलाई उचित पारिश्रमिक नदिनु, अनुबन्धमा कडाइ गर्न नसक्नु, आफ्नै खेलाडीलाई नियन्त्रण–निरीक्षण नगर्नु, बलियो कानूनी व्यवस्था नहुनु, परेको बेला कठोर नबन्नु र प्रत्येक खेल रेकर्ड गर्न नसक्नु ‘फिक्सिङ’लाई सघाउने कारण बनेको उनको भनाइ छ।

“हामी आफैँ बलियो हुनुपर्‍यो, निरीक्षण गर्ने टोली बनाउनुपर्‍यो, हरेक खेल रेकर्ड गर्नुपर्‍यो,” उनले भने, “हामीले नै आँखा चिम्लिए अरुको मनोबल बढ्छ भन्ने सोच्नुपर्‍यो।” 

पुनरागमन असम्भव 
पाकिस्तानी क्रिकेट टोलीका कैयौँ खेलाडी फिक्सिङमा मुछिइरहन्छन्। जस्तो, आफ्नै साथी सलिम परवेजले म्याच फिक्सिङको आग्रह गरे पनि अस्वीकार गरेका पूर्वक्रिकेटर आकिब जावेदको क्रिकेट करिअर सन् १९९८ मा २५ वर्षको उमेरमै समाप्त भयो। पाकिस्तानी च्यानल ‘जियो टीभी’सँग केही समयअघि जावेदले फिक्सिङका लागि सलिमले महँगो कार र पैसा अफर गरेको उल्लेख गर्दै भनेका थिए, “म्याच फिक्सिङ नगरे मेरो करिअर समाप्त पारिदिने धम्की दिइएको थियो, तर मैले मानिनँ। फिक्सिङ स्वीकार नगरेर प्रारम्भमै करिअर अन्त्य भएकोमा म दुःखी छैन। म मेरो मूल्यमान्यतामा दृढ छु।”

सन् २०१० मा पाकिस्तानी क्रिकेट टोलीमै कम्पन जाने फिक्सिङ प्रकरण भयो। २००७ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका, समर्थकहरूले पाकिस्तानी ‘लिजेन्ड’ वसिम अक्रमसँग तुलना गर्न थालेका बायाँहाते तीव्र गतिका बलर मोहम्मद आमिर ‘फिक्सिङ’मा मुछिएको प्रकरण थियो त्यो। राष्ट्रिय टोलीमा भित्रिएको तीन वर्षमै अन्तर्राष्ट्रिय क्रिकेटमा हलचल ल्याएका उनी त्यही बेला फिक्सिङमा परे।

२०१० अगस्टमा अंग्रेजी अखबार ‘न्युज अफ द वर्ल्ड’ले आमिर र पाकिस्तानी टोलीका अर्का फास्ट बलर मोहम्मद आसिफले इंग्ल्यान्डको लर्ड्स‍्मा घरेलु टोलीसँग भएको चौथो टेस्टमा फिक्सरसँग एक लाख ५० हजार डलर लिएर फिक्सिङ गरेको खबर प्रकाशन गरेको थियो। अखबारले पोस्ट गरेको भिडियोको आधारमा स्कटल्यान्ड यार्ड (बेलायती प्रहरीको प्रधान कार्यालय)ले फिक्सर माजिदलाई पक्राउ गर्‍यो। आमिर र आसिफसँगै कप्तान सलमान बट पनि त्यसमा मुछिए।

त्यसपछि आईसीसीले आमिर, आसिफ र सलमानलाई प्रतिबन्ध लगायो। अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी हुन नपाउने भएपछि पाकिस्तान क्रिकेट बोर्डले पनि उनीहरूसँगको सम्झौता खारेज गर्‍यो। २०११ फेब्रुअरी ५ मा आईसीसीले आमिरलाई पाँच वर्ष र आसिफलाई सात वर्ष तथा सलमानलाई १० वर्षका लागि आफूले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग लिनबाट प्रतिबन्ध लगायो। यो निर्णयविरुद्ध उनीहरूले पुनरावेदन गरे पनि प्रतिबन्ध फुकुवा भएन।

पाँच वर्षपछि, २०१५ मार्च १३ मा आमिरले ‘ग्रेड २ गार्डियन्स ट्रफी’ खेल्दै घरेलु क्रिकेटमा पुनरागमन गरे। २०१५ अगस्ट १९ मा आईसीसीले आमिरमाथिको प्रतिबन्ध हटाएपछि २०१६ जनवरी १५ मा उनले न्युजिल्यान्डविरुद्धको टी–२० खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरे। त्यही वर्ष भएको टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्धको खेलमा मैदान उत्रिँदा उनलाई ‘नो–बल’ भनेर इंग्ल्यान्डका समर्थकहरूले खिल्ली उडाएका थिए।

सलमान बट

आमिरपछि सलमान घरेलु प्रतियोगितामा त फर्किए, तर उनको अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन सम्भव भएन। आसिफ पनि त्यसैगरी पुनरागमन गर्न नसकी चुपचाप ‘रिटायर्ड’ भए।

फुटबलमा पनि फिक्सिङमा मुछिएपछिको पुनरागमन सहज छैन। सन् १९९४ मा फिक्सिङको आरोप लागेपछि लिभरपुलका पूर्वगोलरक्षक ब्रुस ग्रोबेलारले सफाइका निम्ति निकै ठूलो संघर्ष गर्नुपर्‍यो। ‘द सन’ ले ग्रोबेलारलाई न्युक्यासल युनाइटेडविरुद्धको खेलमा गोल खान ४० हजार पाउन्ड स्टर्लिङ दिएको खबर प्रकाशन गरेको थियो।

यो प्रकरण सार्वजनिक भएपछि तनावमा परेका उनको फुटबल करिअरमा तत्कालका लागि ‘ब्रेक’ लाग्यो। दुई वर्षपछि भने उच्च अदालतले त्यसलाई उल्ट्यायो। ग्रोबेलारले ‘म्याच फिक्सिङ’का लागि रकम लिएको प्रमाणित भए पनि नतिजा हेरफेर नगरेको देखिएपछि उनले अदालतबाट सफाइ पाए।

नेपाली खेलकुदका पछिल्ला दुई ‘फिक्सिङ’ प्रकरणमा परेका सागर थापा, आदिल जअन्सारीलगायतका खेलाडीको पुनरागमन भने कठिन मात्र होइन, असम्भवप्रायः देखिन्छ। भलै ३७ वर्षीय सागरले राष्ट्रिय जर्सी लगाएर नेपाली समर्थकमाझ मैदानबाटै सन्यास लिने धोको अहिलेसम्म पालेका किन नहोऊन्।

क्यानको ‘अघोषित निलम्बन’मा रहेका आदिल अहिले भारतीय सीमावर्ती जिल्लामा गएर क्रिकेट खेलिरहेका छन्। राम्रो खेल्दै गर्दा आफूलाई फसाइएको, एक दिन पक्कै सफाइ पाउने दाबी गर्दै उनले भने, “मेरो कुनै संलग्नता थिएन, तर फसाइयो। क्रिकेट खेल्न छोडेको छैन, एक दिन राष्ट्रिय टोलीमा फर्किन्छु भन्नेमा विश्वास अझै छ।”


सम्बन्धित सामग्री