Monday, May 06, 2024

-->

कलेजमा भेटिएका ‘क्रान्तिकारी’ महेश्वरमान सर

धनकुटामा माले राजनीति शुरू भएपछि जिल्ला हेडक्वाटर महेश्वरमान सरको घर नै हुन पुग्यो। घरबेटी उहाँकै भतिजा चिरञ्जीवीमान श्रेष्ठ थिए। यो गुप्त कार्यालयमा मदन भण्डारीलगायत नेताहरूले पनि आश्रय लिएका थिए।

कलेजमा भेटिएका ‘क्रान्तिकारी’ महेश्वरमान सर

म संस्कृत भाषाको विद्यार्थी तर अंग्रेजी पढ्ने धुनमा २०२७ सालमा तत्कालीन धनकुटा डिग्री कलेज भर्ना भएँ। मलाई लाग्छ, त्यो मेरो बेमौसमी निर्णय थियो। जहाँ पुगे पनि मेरो घ्राण इन्द्रीयले राजनीतिक बास्ना लिने गर्थ्यो। धरानको पिण्डेश्वरमा पढ्दैदेखि म राजनीतिमा लागिसकेको थिएँ। संसार बदल्ने मेरो व्यग्रताले मलाई नियन्त्रणमा लिइरहन्थ्यो।

मैले सुनिसकेको थिएँ, तत्कालीन नेकपा पूर्वकोशी प्रान्तीय कमिटीका एक नेता त्यस कलेजमा प्राध्यापन गर्छन्। धनकुटा कलेज पस्दै गर्दा ‘माओकोट’ लगाएका, कडा पावरवाला चस्मा भिरेका, होचोहोचो कदका र गहुँगोरो वर्णका प्राध्यापक देखेको थिएँ। अरू प्राध्यापकभन्दा फरक पहिरनका कारण मैले ख्याल गरिरहेका प्राध्यापक नै वामपन्थी नेता महेश्वरमान श्रेष्ठ रहेछन्।

त्यतिबेला नेपाल कम्युनिष्ट पार्टी टुटफुटको अवस्थामा थियो। महेश्वरमान सर संलग्न नेकपाका नेता मनमोहन अधिकारी थिए। तर नेकपाको धनकुटा जिल्ला कमिटी थिएन। २०१७ सालसम्म रहेको जिल्ला कमिटी पञ्चायती व्यवस्थाको शुरूआतसँगै तितरवितर भएको थियो। पूर्वमा नेकपाको पूर्वकोशी प्रान्तीय कमिटी सक्रिय थियो।

धनकुटामा जिल्ला कमिटी नभए पनि छिन्ताङ आसपासको क्षेत्र समेटेर खाल्सा इलाका कमिटी बनाइएको थियो। २०२७ सालमा गठन भएको इलाका कमिटी सचिव ज्वाला रेग्मी थिए। सदस्यहरूमा माणिक राई, गोविन्द विकल, आनन्दसन्तोषी राईलगायत थिए। महेश्वरमान सर इलाका कमिटीमा थिएनन्। तर उनी पूर्वकोशी प्रान्तीय कमिटीको नेता थिए। प्रान्तीय कमिटीले धनकुटा हेर्ने जिम्मेवारी उनैलाई दिएको थियो।

त्यही कलेजमा अध्ययनरत केशव पहाडी, पूर्णकृष्ण श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, उदयबहादुर बस्नेत, कमल लिङ्थेप, चिरञ्जीवीमान श्रेष्ठ, कृष्ण ब्लोनलगायत प्रगतिशील विद्यार्थी साथीहरू गुप्त भेटघाट र राजनीतिक छलफल गथ्र्यौं। चिरञ्जीवीमान चाहिँ महेश्वर सरकै भतिजा थिए। वामपन्थी झुकाव भएका विद्यार्थी साथीहरू महेश्वरमान सरलाई नेता मान्न थालेका थियौँ। हामीले सरसँग नियमित भेटघाट गर्ने र राजनीतिक छलफल पनि गर्न थाल्यौँ।

त्यो समय राजाको नेतृत्वमा लादिएको पञ्चायती तानाशाही व्यवस्थाको दबदबा थियो। पञ्चायती व्यवस्थाका प्रवर्तक राजा महेन्द्र शासन सत्तामा थिए। प्रधानमन्त्री, मन्त्री राजदरबारकै गोटी थिए। दरबारको तजबिजमा प्रधानमन्त्री र मन्त्री नियुक्त हुन्थे। हरेक मन्त्री र दरबारियाका आआफ्ना जासुस हुन्थे समेत भनिन्थ्यो।

पञ्चायती जासुस र मण्डलेहरू कलेजभित्र शिक्षक र विद्यार्थीको आवरणमा हाम्रो सुराकी गर्थे। विद्यार्थी शिक्षकका नैसर्गिक हक अधिकारका कुरा गर्ने हामी सधैँ निगरानीमा हुन्थ्यौँ। त्यसको प्रतिकार गर्दै हामी पनि क्रियाशील थियौँ र गतिविधि बढाउथ्यौँ।

म कलेजमा प्रवेश गर्दैगर्दा २०२७ सालमा स्ववियू निर्वाचनको माहोल थियो। त्यहाँ दुई वटा प्यानल रहेछन्, गाउँले र बजारिया। हल्का प्रगतिशील र न्याय हकहितका पक्षधरहरू ‘गाउँले’ र तत्कालीन निरंकुश सत्ताका मण्डलीहरू र केही कांग्रेस निकट विद्यार्थीको प्यानललाई ‘बजारिया’ भनिन्थ्यो। ती दुवै प्यानलबीच द्वन्द्व थियो। बेलाबेला घम्साघम्सी र मुठभेड पनि हुन्थे। कडा प्रतिस्पर्धाबीच स्ववियू निर्वाचन भएको थियो। त्यसबेला क्याम्पस प्रमुख कुलचन्द्र श्रेष्ठ थिए। उनी गैरराजनीतिक व्यक्तिजस्तो लाग्थ्यो। त्यो साल भएको निर्वाचनमा हामीले समर्थन गरेको प्यानलबाट सौभाग्यप्रकाश श्रेष्ठ सभापति र उदयबहादुृर बस्नेतले उपसभापतिमा जित हासिल गरे।

बजारमा आइसकेको २०२८ सालको पात्रोले समय एक वर्षअघि बढेको जनाइसकेको थियो। तीन चरणमा पूरा गर्नुपर्ने कलेज सुधारको माग राखी हामी आन्दोलित थियौँ। त्यो आन्दोलनका क्रममा पनि महेश्वरमान सरसँग सल्लाह हुन्थ्यो।

‘प्रा.महेश्वरमान श्रेष्ठ स्मृति ग्रन्थ’ माघ ६ गते प्रज्ञा प्रतिष्ठानमा विमोचन हुँदैछ।

नेकपा भूमिगत पार्टी थियो। जिल्लामा यसको संगठन नभएका कारण व्यक्ति सम्पर्कका आधारमा कार्यकर्ता बन्ने र परिचालन हुने हुन्थ्यो। हामी भने महेश्वरमान सरको निर्देशन लिन्थ्यौँ र त्यहीअनुसार कार्यक्रम गर्थ्यौं। पूर्वकोशी प्रान्तीय कमिटीको सम्पर्क व्यक्ति उनै थिए।

पञ्चायतविरुद्ध आन्दोलनका अनेक रूप थिए। कलेजमा पनि विद्यार्थी अधिकारका लागि आन्दोनलहरू भइरहन्थे। हामीले कलेज हड्तालसम्म गरेका थियौँ। 

यता, स्ववियू निर्वाचनमा पराजित मण्डले समर्थक विद्यार्थीहरू हाम्राविरुद्ध थिए। उनीहरू स्वभावैले कलेज प्रशासनका निकट थिए। द्वन्द्व चर्किंदै गयो। हामीले आन्दोलन जारी राखेका थियौँ। दमनकारी पुलिस प्रशासन आक्रामक हुँदै थियो। 

आन्दोलनले उत्कर्ष लिएकै समय २०२८ सालमा विद्यार्थी नेताहरू धनकुटाको बीचबजारमा रहेको भीमसेनथानभन्दा केहीमाथि प्रशासनले साथ दिएको विद्यार्थी मण्डल समूहको आक्रमणमा परे। त्यो सांघातिक हमलामा म, कमल लिङ्थेपलगायत साथीहरू गम्भीर घाइते भयौँ। मेरो टाउको र नारीमा चोट लागेको थियो। कमल लिङ्थेप पनि सख्त घाइते थिए। महेश्वरमान, शिवकुमार श्रेष्ठहरूको पहलमा स्थानीय प्रशासनको रोहवरमा वार्ता भई त्यो घटना साम्य त पारियो, तर आक्रमणकारीहरूलाई कारबाही भएन। उनीहरूलाई सरकारले नै परिचालन गरेको कारण अपराध माफी पाए। 

महेश्वरमान सर तेह्रथुमबासी थिए। एकपटक बिदामा तेह्रथुमस्थित घर गएका थिए। त्यतिबेला २०२८ सालदेखिको झापा विद्रोह उठिसकेको थियो। वामपन्थी नेता कार्यकर्तामाथि दमन तीव्र भयो। महेश्वरमान सरलाई घरबाटै गिरफ्तार गरेर विराटनगर लगी बन्दी बनाइएको थियो।

मेरो सम्झनामा महेश्वरमान सर २०३२ सालसम्म धनकुटा बसेर सरुवा भए। धनकुटाको माथिल्लो कोप्चेभन्दा माथि राणा महल परिसरमा एउटा घर महेश्वर सरले किनेका थिए। त्यहाँ सरका भतिजा चिरञ्जीवीमान श्रेष्ठ बस्थे। उनी हामीसँगै आन्दोलनमा लागेका साथी थिए।

धनकुटाको वामपन्थी आन्दोलनमा २०३० सालको दशकबाट पुनर्गठनको अध्याय प्रारम्भ भयो। २०३१ सालमा रातो झण्डा स्थापना भयो। यो पूर्वकोशी प्रान्तीय कमिटीविरुद्ध युवाहरूले गरेको विद्रोह थियो। महेश्वरमान सर प्रान्तीय कमिटीमै रहँदा हामी पुनर्गठनतिर लाग्यौँ। प्रान्तीय कमिटीबाट छुट्टिएपछि आनन्दसन्तोषी राई सचिव रहेको रातो झण्डा समूहको अञ्चल कमिटी बन्यो।

२०३५ सालमा रातो झण्डा र झापा विद्रोहबाट संघर्षको संखनाद गर्दै उठेको कोअर्डिनेसन केन्द्र (कोके)बीच एकता भयो। त्यस एकता वार्तामा कोकेको नेतृत्व जीवन शर्माले गरेका थिए। त्यस बखत मदन भण्डारीको भूमिगत नाम जीवन शर्मा थियो। छिन्ताङस्थित कोशी नदीको किनारमा रहेको बलबहादुर खत्रीको घरमा भएको एकता वार्तामा रातो झण्डाको तर्फबाट कोशी अञ्चल कमिटी सचिव र सदस्यहरू सहभागी थियौँ। सहभागी हुनेमा आनन्दसन्तोषी राई, गोपाल गुरागाईं, वासु शाक्य, चन्द्र पुरी र जीवप्रसाद पोखरेल थियौँ। भक्त बोलोनालगायत वार्ताको व्यवस्थापनमा खटिएका थिए।

रातो झण्डा समूह कोकेमा समाहित भएको केही समयपछि नै नयाँ पार्टी नेकपा मालेको स्थापना भयो। तर रातो झण्डा कोशी अञ्चल कमिटी सचिव भने एकतामा सहभागी भएनन्। उनी पछि नेकपा (मनमोहन समूह) को धनकुटा सचिवसम्म भए। माले गठनपछि धनकुटाको बलियो वामपन्थी संगठन यही थियो। यो पार्टी स्थापनाको ६ महिना पुग्दानपुग्दै छिन्ताङमा दमन र जघन्य हत्याकाण्ड रचियो।

धनकुटामा माले राजनीति शुरू भएपछि जिल्ला हेडक्वाटर महेश्वरमान सरको घर नै हुन पुग्यो। घरबेटीको रूपमा भतिजा चिरञ्जीवीमान श्रेष्ठ थिए। यो गुप्त जिल्ला कार्यालय २०४२ सालसम्म त्यही ठाउँबाट चल्यो। यो घरमा मदन भण्डारीलगायत त्यस बेलाका सबै भूमिगत नेताहरूले आश्रय लिए। उनीहरू आएको बेला बैठक र छलफलहरू चल्थे। त्यही घरमा प्रगतिशील लेखक संघको सम्मेलन पनि भएको थियो। त्यस सम्मेलनले डम्बर सुब्बालाई प्रलेस धनकुटाको अध्यक्ष बनाएको थियो।

मैले रातो झण्डा हुँदै कम्युनिष्ट पार्टीको सदस्यता लिएको थिएँ। तर २०३६ सालमा महेश्वरमान सरको घरमा राखिएको त्यही गुफा कार्यालयमा मदन भण्डारीबाट पुनः नेकपा मालेको सदस्यता लिएर शपथ खाएँ। मैले सदस्यता लिँदा मदन भण्डारीको पार्टी नाम सागर थियो।

महेश्वरमान सर अत्यन्त सरल, सादगी, प्रस्ट वक्ता एवं आत्मीय भावको हुँदा सबैको प्रिय र आदरणीय थिए। कलेजमा विद्यार्थीको पनि उनी प्रिय थिए। हामी उनीसँग आदरपूर्वक व्यवहार गर्थ्यौँ। २०३२ सालमा धनकुटा कलेजबाट सरुवा भएर गए। त्यसपछि कताकता पुगे र राजनीतिमा आबद्ध भए भन्ने सबै जानकारी मलाई छैन। पाटन क्याम्पसमा पढाउँदा एकपटक भेटेको मलाई सम्झना छ।

उनको निधन २०७८ चैत १५ मा भएछ। यो खबर सुन्दा म अत्यन्त भाव विभोर भएको थिएँ। 

सदा सम्झना र अभिवादन महेश्वरमान सर।


सम्बन्धित सामग्री