Friday, May 10, 2024

-->

इलाममा शनिबार रातिबाटै मतगणना थाल्ने तयारी

शनिबार राति १०–११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ। चाँडै मतपेटिका आए शनिबार रातिबाटै मतगणना गरिने प्रमुख जिल्ला अधिकारी  इन्द्रदेव यादवले बताए।

इलाममा शनिबार रातिबाटै मतगणना थाल्ने तयारी

इलाम– इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ५९.७९ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसकेको र कुल ६९ हजार २८७ अर्थात् ५९.७९ प्रतिशत मतदान भएको जानकारी दिएको छ।

कार्यालयका अनुसार ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य दुईले मतदान गरेका छन्। सो क्षेत्रमा ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई अन्यसहित एक लाख १५ हजार ८८९ मतदाता थिए। विसं २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७.४४ प्रतिशत मत खसेको थियो। 

इलाम–२ मा ७९ मतदानस्थलमा १४९ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान भएको थियो। उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।  

शनिबार राति १०–११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ। चाँडो मतपेटिका आए सर्वदलीय बैठक बसेर शनिबार रातिबाटै मतगणना गरिने प्रमुख जिल्ला अधिकारी यादवले बताए। सदरमुकामबाट टाढाका पालिका चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिकाबाट मतपेटिका ल्याउन समय लाग्नेछ।

मतगणनाका लागि इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) तयार गरिएको छ। सिटी हलको एक कोठामा तार जाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने बनाइएको छ। 

मतपेटिका भण्डारणका लागि सभाहलको भित्री भाग तयार गरिएको छ। यस्तै, प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ। मतगणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएको छ। 

मतगणनास्थलमा भिडभाड हुन नदिन चोक बजारमा रहेको डिस्प्लेमा मतगणनाको परिणाम देखाइने भएको छ। यसका लागि प्राविधिक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने तयारी छ।

विसं २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।


सम्बन्धित सामग्री