धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए।
काठमाडौँ– काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्युरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन्। महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ।
राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमा असर पर्ने भन्दै व्यापारी आन्दोलनमा उत्रिएका छन्। महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पको रूपमा नयाँ सडक वरपरका विभिन्न स्थानमा पार्किङका लागि व्यवस्था गर्न लागिएको जानकारी दिए।
“बन्दै गरेको धरहरा, पिपल्स प्लाजा, आरबी कम्प्लेक्स, ताम्राकार हाउस, रञ्जना कम्प्लेक्स, विशालबजार, वीर अस्पताल, आर्मी भवन र सुन्धाराको सञ्चय कोष भवन विकल्पका रूपमा छन्। यी स्थानमा पार्किङका लागि महानगरले छलफल गरिरहेको छ,” प्रवक्ता अधिकारीले भने।
धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।
“तत्कालका लागि नयाँ सडक जान खोजेका सवारीसाधनका धनीलाई काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) ठाउँमा तीन सय चारपांग्रे सवारीसाधन र सात सय दुईपांग्रे सवारीसाधनलाई निःशुल्क पार्किङको सुविधा उपलब्ध गराएका छौँ। सञ्चय कोष भवनको पार्किङ खोल्न व्यवसायीसँग छलफल गरिरहेका छौँ,” उनले भने।
सहायक प्रवक्ता अधिकारीले नयाँ सडकमा पार्किङको व्यवस्था गर्न ‘ह्वील टुल्स प्रालि’ नामक कम्पनीसँग पाँच वर्षका लागि भएको सम्झौताको समय सकिएपछि अब नवीकरण नगर्ने निर्णय भएको जानकारी दिए।
महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कर्मचारी सञ्चय कोषले पार्किङ भनेर नक्सा पास गराएर व्यापारिक प्रयोजनका लागि सटर भाडामा दिएको आरोप लगाए।
“सरकारी निकायले महानगरको काममा सहयोग गर्नुपर्ने हो। आफ्नो भवन आफैँले खाली गर्नुपर्ने हो। तर कोषले पार्किङ प्रयोजन भनेर नक्सा पास गराउने अनि व्यापारीलाई भाडामा दिने काम गरिरहेको छ,” उनले भने।
एक वर्ष पहिले महानगरले कर्मचारी सञ्चय कोष भवनका व्यापारीलाई पसलको अन्य स्थानमा विकल्प खोज्न समय दिए पनि व्यापारीले सुनवाइ नगरेको महानगर प्रहरी प्रमुख पाण्डेले गुनासो गरे। अदालतले पार्किङ बनाउनुपर्छ भन्ने निर्णय गरे पनि पसल हटाउन कर्मचारी सञ्चय कोषले सहयोग नगरेको उनको आरोप छ।
महानगरपालिकाले मंगलबारदेखि लागू हुने गरी धर्मपथ, जुद्ध सालिकबाट इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो।
उक्त क्षेत्रका व्यवसायीले महानगरले व्यवसायीसँग समन्वय र पार्किङको विकल्पबिना एकतर्फी रूपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरिरहेका छन्। व्यवसायीले स्थानीय सामाजिक, व्यावसायिक संघसंस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन गरिरहेका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले महानगरले सरोकारवालासँग परामर्श नगरी एकोहोरो रूपमा पार्किङ निषेधको निर्णय गरेको बताए।
“पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेका छन्। अहिले न्युरोडको व्यावसायिक भविष्य संकटमा देखियो। विकल्प नदिई पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीलाई धराशायी र विदेश पलायन गराउनु हो,” उनले भने।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले देशभरको व्यापारिक मुटु न्युरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए। उनले व्यापारीले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकलाई के जवाफ दिने भन्ने समस्या भएको बताए। पार्किङको व्यवस्था गरेर मात्रै निषेधित क्षेत्र घोषणा गर्नुपर्ने उनको भनाइ छ।
“तीन–चार सय सवारीसाधनका लागि पार्किङ व्यवस्था गरेर हुँदैन। न्युरोडमा दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्छन्। त्यसको दीर्घकालीन व्यवस्था गरेर मात्रै महानगरले ‘नो पार्किङ’को निर्णय गर्नुपर्ने हो,” अध्यक्ष श्रेष्ठले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
