Sunday, April 28, 2024

-->

अयोध्यामा ‘उन्माद’, नेपालमा उत्सव

अयोध्याको राम मन्दिर प्राणप्रतिष्ठाको बाछिटा जनकपुरसम्म आएको छ। ‘विशेष दिन’ भन्दै नगरमा माछा, मासु, मदिरा बिक्री वितरण निषेध गरिएको छ। वीरगन्जमा घरघरमा ‘जय श्रीराम’ लेखिएका गेरुवा झण्डा राखिएका छन्।

अयोध्यामा ‘उन्माद’ नेपालमा उत्सव

काठमाडौँ– अयोध्यामा निर्मित राम मन्दिरमा प्राणप्रतिष्ठा हुँदैगर्दा ५८८ किलोमिटर यता जनकपुर पनि झकिझकाउ छ। राम मन्दिरहरू फूलमाला र झिलीमिली बत्तीले सजाइएका छन् नै आज (माघ ८)को दिनलाई विशेष उत्सवका रूपमा मनाउन अपिल गरिएको छ। सनातनी हिन्दू धर्मावलम्बीका लागि विशेष दिन भन्दै नगरभित्र माछा, मासु, मदिरा बिक्री वितरण निषेध गरिएको छ। घरघरमा दीपावली गरी खुसियाली मनाउन मेयर मनोज साहले नगरवासीलाई आह्वान गरेका छन्। जानकी मन्दिरको प्रांगणमा सवा लाख दीप बालेर राम मन्दिरको प्रतिमा बनाउने तयारी गरिएको छ।  

अयोध्यामा भएको प्राणप्रतिष्ठाको बाछिटा जनकपुरसम्म आएको स्थानीय अमित साह बताउँछन्। “जनकपुरमा अहिले केही नजर आइरहेको छ भने त्यो जय श्रीराम मात्रै हो,” उनी भन्छन्,  ‘प्रत्येक घर, चोक र मन्दिरहरूमा जय श्री राम लेखिएका झण्डाहरू छन्।”

जनकपुरमा हिन्दू संघ/संस्थाले र्‍याली निकालिरहेका छन्। प्राणप्रतिष्ठा उत्सवमा विशेष आमन्त्रण पाएका जानकी मन्दिरका दुई महन्थ (रामतपेश्वर दास र रामरोशन दास) त अयोध्या पुगेका छन् नै हजारौँको संख्यामा शहरबासी अयोध्या पुगेका छन्।  

वीरगन्जमा पनि सडकछेउका साथसाथै घरघरमा ‘जय श्रीराम’ लेखिएका गेरुवा झण्डा देखिएको छ। त्यहाँ पनि दीपावली गर्ने तयारी छ। घडीअर्वास्थित रामजानकी मन्दिरमा विशेष उत्सवका साथ प्राणप्रतिष्ठा आयोजना गर्न मेयर राजेशमान सिंहले सार्वजनिक आह्वान गरेका छन्। प्राणप्रतिष्ठाको सबै विधि अपनाई सवालाख बत्ती बालिने तथा साँझ महाआरती आयोजना गरेर प्रसाद वितरण गरिने कार्यक्रम छ। 

वीरगन्ज मात्रै नभएर पूरै पर्सा जिल्ला राममय भएको स्थानीय पन्नालाल गुप्ता बताउँछन्। एक सातादेखि वीरगन्जमा प्राणप्रतिष्ठाको तयारी शुरू भइसकेको थियो। “यहाँबाट केही त अयोध्या नै पुगेका छन्,” उनी सुनाउँछन्, “नगएकाहरूले यही उत्सव मनाइरहेका छन्।” 

काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा पनि सोमबार बिहानैदेखि भक्तजनको भिड देखियो। दर्शनार्थीलाई प्रसाद वितरण गर्नुका साथै राति दीपावालीमा उपस्थित हुन आमन्त्रण गरिएको छ।

अयोध्याको विवादितस्थल बाबरी मस्जिदको ढाँचा ध्वस्त पारिएको ३२ वर्षपछि राम मन्दिर ठडिएको छ, जसको प्राणप्रतिष्ठा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन्। प्राणप्रतिष्ठा कार्यक्रमको ११ दिनदेखि उनी विशेष अनुष्ठानमा थिए। अनुष्ठानका लागि आफूलाई कठोर धार्मिक आचरणमा बाँध्ने प्रतिबद्धता गरेका थिए। अन्न त्यागेर, फलहार मात्रै गरी दुई दिनअघि निराहार र जाग्राम बस्ने भनिएको थियो।

समारोहमा विभिन्न क्षेत्रका करिब सात हजार ‘सेलेब्रिटी’लाई निम्तो पठाइएको थियो। प्राणप्रतिष्ठामा मोदीलाई उत्तरप्रदेश (यूपी)का मुख्यमन्त्री योगी आदित्यनाथ, राष्ट्रिय स्वंमसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवत, यूपीका राज्यपाल आनन्दीबेन पटेल र मन्दिरका अध्यक्ष महन्थ नृत्यगोपाल दासले सघाएका थिए।

प्राणप्रतिष्ठा अयोध्याका लागि कोसेढुंगा सावित भए पनि यसले हिन्दूत्वलाई राजनीतिक धर्मको रूपमा परिभाषित गरिदिएको भारतीय बुद्धिजीवी प्रतापभानु मेहताले ‘इन्डियन एक्सप्रेस’मा लेखेका छन्। “यो राज्यले सारा शक्ति प्रयोग गरी धर्म निरपेक्षता समाप्त गरेको क्षण मात्र हैन,” उनी लेख्छन्, “यो हिन्दूत्वले धर्मलाई बन्दी बनाएको क्षण पनि हो।”

विश्लेषक हरि शर्मा भारतको मन्दिरमा भएको कार्यक्रमलाई नेपालमा उल्लास मात्र गरिएको बताउँछन्। “भारतमा राममन्दिरको प्राणप्रतिष्ठा कार्यक्रम उन्मादको हदमा देखिए पनि नेपालमा भएका गतिविधि उल्लास र उत्सव मात्रै हुन्,” शर्मा भन्छन्। हिन्दूका लागि अयोध्या र राम अविभाज्य छ, तर त्यही अयोध्यामा रामको सानो मूर्ति पालमुनि राखिएको थियो। “त्यहाँ भव्य मन्दिर निर्माण भई प्राणप्रतिष्ठा हुँदा यहाँ उत्सव हुनुलाई नै अस्वभाविक मान्नुपर्दैन,” उनी भन्छन्। 

यहाँको उत्सवमा भारतको जस्तै राजनीतिक रङ नघोलिएको शर्मा बताउँछन्। “तर संविधान नमान्नेहरूले यस्ता गतिविधिमा पनि राजनीतिक  लाभहानि हेरी पानी धमिल्याउने प्रयत्न गर्न सक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन,” उनी भन्छन्।  

मन्दिर–मस्जिद सदियौँदेखि विवाद 
‘जय जय सियाराम’, ‘सियावर रामचन्द्र भगवानकी जय’ नारा गुञ्जिरहेको थियो। अयोध्यास्थित बाबरी मस्जिदनेर लाखौँ कारसेवक (स्वयमसेवक) भेला भइसकेका थिए। स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको उपस्थिति सामान्य थियो। कसैलाई त्यहाँको अवस्थाको अन्दाज थिएन। सन् १९९२ डिसेम्बर ६ बिहान करिब साढे १० बजे मस्जिदउपर अचानक हमला भयो। 

आक्रोशित भिडले मस्जिदको पर्खाल र भवन भत्काइदियो। त्यहाँ रहेका सुरक्षाकर्मीले प्रतिक्रिया जनाउने आँट गरेनन्। केही युवा मस्जिदमा चढेर गुम्बजमाथि गेरुवा झण्डा फहराइदिए। साँझसम्म मस्जिद ध्वस्त भइसकेको थियो। भोलिपल्ट उक्त ठाउँमा एउटा सानो टहरा, टहराभित्र रामको मूर्ति र झण्डा फरफराइरहेको दृश्य देखियो।

‘बीबीसी हिन्दी’को रिपोर्ट अनुसार त्योदिन बिहानैदेखि हिन्दू संगठनसम्बद्ध कारसेवकहरू मस्जिदको ठाउँमा मन्दिर निर्माण गर्नुपर्ने मागका साथ भेला भएका थिए। ४५० वर्षदेखि चलिरहेको मन्दिर–मस्जिद विवाद त्यही दिन उत्कर्षमा पुगेको थियो। अयोध्याको स्थानीय प्रशासनका अनुसार दुई दिनअघि नै अयोध्यामा करिब डेढ लाख कारसेवक भेला भइसकेका थिए। घटनामा विश्व हिन्दू परिषद्, शिवसेना र भारतीय जनता पार्टी (भाजपा) का केही नेताहरू प्रत्यक्ष संलग्न थिए।

मस्जिद भत्काइएको भोलिपल्ट पाकिस्तान र बंगलादेशमा कैयन हिन्दू मन्दिरहरू भत्काइए। भारतकै कयौँ राज्यमा साम्प्रदायिक दंगा भड्कियो र करिब दुई हजार मान्छे मारिए।

सन् १९४७ मा भारत स्वतन्त्र भएको दुई वर्षपछि मस्जिदभित्र रामको मूर्ति अचानक प्रकट भएको हल्लासँगै पछिल्लो विवाद शुरू भएको थियो। त्यसपश्चात विवादित क्षेत्र घोषणा गरी ताला लगाएर मस्जिदभित्र नवाज पढ्न दिइएन। राम चबुतरा भनिने बाहिरी हिस्सामा पूजाअर्चना चलिरहेको थियो। 

लेखक/पत्रकार हेमन्त शर्माको पुस्तक ‘अयोध्याका चस्मदिद’ अनुसार १९४९ डिसेम्बर २२ को दिन विवादित स्थानको सुरक्षाका लागि राति १२ बजेसम्मको ‘ड्यूटी’ राम जन्मभूमि थानाका कन्सटेबल फेद सिंहको थियो भने १२ बजेपछि कन्सटेबल वर्कत अलिको। त्यो दिन वर्कत अलि ढिलागरी करिब १ बजे ड्युटीमा पुगेका थिए। तबसम्म रामको मूर्ति राखेर आफँै प्रकट भएको हल्ला फैलाइसकिएको थियो।

वर्कत अलीले आफ्नो नोकरी बचाउन त्यहाँ उपस्थित मान्छेले जे सुनाए त्यही बयान दिए। “म जब १२ बजे त्यहाँ पुगेँ तब जोडतोडले हावा चल्यो र एउटा रोशनी देखियो। मेरो आँखा तिर्मिरायो। जब आँखा देख्ने भएँ, त्यहाँ भगवान राम आफ्ना तीन भाइसँग विराजमान थिए।”

यही बयान पछि अदालती दस्तावेजको हिस्सासमेत बन्यो। सन् १९५० मा मस्जिद– मन्दिर विवाद फिरोजावाद (फैजावाद) अदालतमा पुगेको थियो। मस्जिदभित्रै रामको मूर्ति स्थापना गरी पूर्जाअर्चनाको इजाजत दिन गोपाल विशारद र रामचन्द्र दासले मुद्दा हाले। मस्जिद सामुन्नेको ‘निर्मोही अखाडा’ले अर्को मुद्दा दियो। सन् १९६१ मा यूपी सुन्नी बोर्डले मस्जिदमा रहेको मूर्ति तत्काल हटाई मस्जिद खोलाउने माग गर्दै मुद्दा हाल्यो। अदालतले कुनै फैसला गर्न सकेन, मुद्दामाथि मुद्दा थपिँदै गए।

त्यसपछि सन् १९८० को दशकमा भारतीय राजनीतिमा मन्दिर– मस्जिद विवाद ठूलो राजनीतिक मुद्दा बन्न थाल्यो। तत्कालीन जनसंघ पार्टी र जनता पार्टी मिलेर भारतीय जनता पार्टी (भाजपा) स्थापना भयो। स्थापनादेखि नै पार्टीले राम जन्मभूमिलाई आफ्नो मुख्य अजेन्डा बनाएको थियो।  

त्यसो त, भाजपाको स्थापना हुनुअघि नै उसको मातृसंस्था आरएसएसले राम जन्मभूमिको मुद्दा उठाइरहेको थियो। हिन्दूत्वको वकालत गरे पनि सन् १९८४ को चुनावमा भाजपा उठ्न सकेन। इन्दिरा गान्धीको हत्याको कारण कांग्रेसको पक्षमा उर्लिएको सहानुभूतिको आँधीमा भाजपा चार सिटमै समेटियो। 

मुद्दा चलेको २५ वर्षपछि सन् १९८६ मा फैजावाद अदालतका न्यायाधीश कृष्णमोहन पाण्डेले मस्जिदमा लगाइएको ताला खुलाई हिन्दूलाई पूजाअर्चनाको अनुमति दिन आदेश गरे। सन् १९८९ मा इलाहाबाद उच्च अदालतले मन्दिर–मस्जिदको मुद्दा आफूअन्तर्गत सारे पनि पूजाअर्चना निरन्तर गर्न भन्यो। त्यहीबेला तत्कालीन प्रधानमन्त्री राजीव गान्धिले विवादित भूमिनजिक विश्व हिन्दू परिषद्लाई मन्दिर शिलान्यासको अनुमति दिएपछि भाजपा र हिन्दू संगठनहरू उत्साही बने   तर ८०० जनाको ज्यान जानेगरी साम्प्रदायिक दंगा भड्कियो।

सन् १९८९ को लोकसभा चुनाव पनि भाजपाले राम मन्दिरकै अजेन्डामा लड्यो, चार सिटबाट ८५ सिटमा पुग्यो। भाजपासमेतको समर्थनमा विश्वनाथ प्रताप सिंहको नेतृत्वमा सरकार बन्यो। त्यहीबेला विश्व हिन्दू परिषद्, आरएसएस र भाजपाले राम मन्दिर निर्माणका लागि आन्दोलन शुरू गरे। ठीक एक वर्षपछि भाजपाका तत्कालीन अध्यक्ष लालकृष्ण आड्वाणीले राम जन्मभूमि आन्दोलनको पक्षमा सोमनाथदेखि अयोध्यासम्मको ‘श्रीराम रथ यात्रा’को आयोजना गरे। लालुप्रसाद यादवको नेतृत्वमा रहेको बिहार सरकारले समस्तीपुर आइपुगेको रथ यात्रा रोकेर आडवाणीलाई नजरबन्द गरिदियो। भाजपाले केन्द्रीय सरकारलाई गरेको समर्थन फिर्ता लियो, सिंह नेतृत्वको सरकार ढल्यो।

आडवाणी सोमनाथबाट अयोध्याको लागि रवाना भएको केही समयपछि नै भारतको खुफिया अधिकारीहरूले अर्का नेता अटलविहारी वाजपेयीलाई भेटेर रथ यात्राले हिन्दू–मुस्लिम दंगा भड्किएको देखाएर यात्रा रोक्न अनुरोध गरेको विनय सीतापतिले आफ्नो पुस्तक ‘जुगलबन्दी’मा उल्लेख गरेका छन्। “वाजपेयीले तुरून्तै फोन गरेर आडवानीलाई अनुरोध गर्दै भने– तपाईं रथ यात्रा छोडिदिनुस्, तपाईं रथ होइन शेरको सवारी गरिरहनुभएको छ। आडवाणीले उनको कुरा मानेनन्,” पुस्तकमा लेखिएको छ, “यात्रा जारी राख्ने निर्णय गरे।”

त्यतिखेर यूपीका मुख्यमन्त्री मुलायमसिंह यादवले रथयात्रा असफल पार्न अयोध्या आउने सबै बस र रेलमा रोक लगाइदिए। तैपनि लाखौँ मान्छे अयोध्या पुगिसकेका थिए। यात्रामा सहभागीहरू मस्जिदतिर अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गर्दा पाँच जनाको मृत्यु भयो। त्यतिखेर मुख्यमन्त्री यादवले ‘गोली चलेको घटना दर्दनाक भए पनि आवश्यक भएर चलाएको’ जवाफ दिएका थिए।  

बाबरी मस्जिद ध्वंशपछि सन् १९९३ मा मुम्बईमा श्रृंखलाबद्ध १३ वटा विस्फोट भए, ३५० जना मारिए भने एक हजार जना घाइते भए। त्यसयता मस्जिद–मन्दिर विवाद अदालती प्रांगणमै लडिँदै थियो। प्रमाण, ऐतिहासिक दस्तावेज, धार्मिक तथ्यहरू पेस गरिए। २००२ अप्रिलदेखि इलाहाबाद उच्च अदालतमा विवादित ठाउँको स्वमित्वका लागि सुनवाइ शुरू भयो। 

‘द इकोनोमिक टाइम्स’को रिपोर्ट अनुसार २०१० सेप्टेम्बर ३० मा इलाहाबाद उच्च अदालतले बहुमत न्यायाधीशको मतका आधारमा विवादित ठाउँलाई तीन हिस्सामा बाँड्ने आदेश सुनायो। फैसलामा राम जन्मभूमिसहित एकतिहाई हिस्सा हिन्दू समुदायलाई, एकतिहाई निर्मोही अखाडा र एकतिहाई मुसलमान समुदायलाई दिने भनिएको थियो।

भारतको सर्वोच्च अदालतले २०११ मेमा इलाहाबाद उच्च अदालतको फैसलामा रोक लगायो। सर्वोच्चले मध्यस्थको भूमिका खेलेर विवाद रफादफा गर्ने प्रयास गरे पनि सफल भएन। अन्ततः तत्कालीन प्रधानन्यायाधीश रञ्जन गोगोई नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले २० दिने ‘म्याराथन’ सुनवाइपछि २०१९ नोभेम्बर ९ मा ७० वर्षदेखि जारी विवादमा पूर्णविराम लगाउने फैसला सुनायो। विवादित जग्गा राम मन्दिर निर्माणार्थ दिने फैसलासँगै सरकारलाई तीन महिनाभित्र एउटा ट्रस्ट बनाएर मन्दिर निर्माणको काम अगाडि बढाउन आदेश गर्‍यो। 

अदालतले मुसलमान समुदायलाई पनि अयोध्यामा कुनै महत्त्वपूर्ण स्थानमा मस्जिद निर्माणका लागि ५ एकर जग्गा उपलब्द गराउन केन्द्र सरकारलाई आदेश दियो। आदेशसँगै २०२० अगस्त ५ मा अयोध्यामा भूमि पुजन गरी मन्दिर निर्माण अघि बढ्यो।

किन भत्काइएको थियो मस्जिद?
हिन्दू पौराणिक मान्यताअनुसार रामको पूर्वज वैवस्वान मनुद्वारा अयोध्या नगरी बसाइएको थियो। कालिदासद्वारा रचित रघुवंश ग्रन्थअनुसार रामले जल समाधि लिएपछि अयोध्या केही समयको लागि उजाड भएको थियो। उनका पुत्र कुशले अयोध्याको पुनर्निर्माण गराए। त्यसपछि सूर्यवंशको ४४ पिँढीसम्म यसको अस्तित्व थियो। महाभारतपछि फेरि अयोध्या केही समयको लागि उजाड भएको कहावत छ। अयोध्याको इतिहास त्रेता युगभन्दा पनि पुरानो भएको पौराणिक मान्यता छ।

भविष्य पुराणअनुसार उज्जैनका राजा विक्रमादित्यले अयोध्यालाई नयाँ रूप दिएका थिए। धार्मिक ग्रन्थअनुसार विष्णुका भक्त उनले अयोध्यास्थित सर्‍यू नदीको लक्ष्मण घाटलाई आधार मानेर ३६० मन्दिरहरूको निर्माण गराएका थिए। उनले त्यहाँ रामको विशाल मन्दिर बनाएका थिए। उनीपछिको पुस्ताले पनि त्यो मन्दिरको रेखदेख गरेका थिए।

आधुनिक इतिहासकारहरूका अनुसार ६०० इसापूर्वमा अयोध्या एक महत्त्वपूर्ण व्यापारिक केन्द्र थियो। त्यसपछि अयोध्या विस्तारै बौद्ध भूमि बन्न थाल्यो। सातौँ शताब्दीमा चिनियाँ यात्रु हुयान स्याङ अयोध्या पुगेका थिए। उनले त्यहाँ २० बौद्ध मन्दिरमा तीन हजार भिक्षुहरू बसोबास गरेको बताएसँगै राम मन्दिरको उल्लेख गरेका थिए।

इसाको ११औँ शताब्दीमा राजा जय चन्दले मन्दिरका शिलाहरूबाट बिक्रमादित्यको नाम हटाएर आफ्नो नाम लेख्न लगाएका थिए। पानीपथको युद्धपछि जयचन्दको पनि अन्त्य भयो। त्यसपछि भारतमा विदेशी हमलाहरू भए। त्यतिबेला काशी, मथुरा र अयोध्यामा लुटपाट भए। मन्दिरहरू तोडफोड गरिए, पूजारीहरूको हत्या भयो। तथापि, आयोध्यामा १४औँ शताब्दीसम्म राम मन्दिर अस्तित्वमा रहेको एकथरि इतिहासकारहरूको दाबी छ।

इतिहासकारहरूका अनुसार १४औँ शताब्दीमा मुगल साम्राज्य स्थापन भएपछि राम मन्दिरको ठाउँमा मुगल बादशाह बाबरका सिपाही मिर बाकीले सन् १५२८ मा मस्जिदको ढाँचा निर्माण गराएका थिए। हिन्दूहरूलाई पूजाअर्चना गर्न मस्जिद नजिकै एउटा चबुतरा दिइएको थियो। हिन्दूहरूले त्यसलाई ‘राम चौबुतरा’को नाम दिएका थिए। तर सन् १६६० मा फेदिया खान नामक शासकले आफ्ना पूर्वज बाबरको सम्मानमा उक्त ढाँचालाई भव्य मस्जिदको रूप दिएका थिए। त्यसपछि नै त्यहाँ समयसमयमा मन्दिर निर्माण गर्नुपर्ने आवाज उठिरह्यो।

ब्रिटिश शासनको बेला मन्दिर–मस्जिद विवादमा सन् १८५३ मा पहिलो पटक धार्मिक दंगा भड्कियो। त्यसपछि ब्रिटिश शासकले मुसलमान समुदायलाई मस्जिदको ढाँचाभित्र र हिन्दूलाई राम चबुतरामा पूजाअर्चनाको इजाजत दिएर विवादको तत्कालीन समाधान निकाले। दुवै समुदाय एकआपसमा भिड्न नपाओस् भन्दै बीचमा एउटा पर्खाल पनि खडा गरिदिए।

सन् १८८५ मा महन्थ रघुवीर दासले फैजावाद अदालतमा उक्त ठाउँमा मन्दिर निर्माण गर्न दिन मुद्दा दायर गरे। तर त्यो मुद्दालाई अदालतले खारेज गरिदियो। सन् १९३४ मा पुनः अयोध्या र शाहजहापुरमा सम्प्रदायिक दंगा भड्कियो। जसमा मस्जिदउपर थोरबहुत क्षति पनि भएको थियो। तर त्यसलाई मर्मत गराइएको थियो। 

त्यही घटनापछि सन् १९४४ मा सुन्नी वक्फका कमिशनरले उक्त ठाउँलाई बाबरी मस्जिदको सम्पत्तिलाई सुन्नी सम्पत्ति घोषणा गरिदिए। बाबर एक सुन्नी मुसलमान थिए, त्यसैले उक्त सम्पत्ति मुसलमानकै भएको उनको भनाइ थियो। सन् १९४७ मा भारत स्वतन्त्र भयो र यो विवादले विभिन्न उतारचढाव सामना गर्दै यो घडीमा आइपुगेको छ।


सम्बन्धित सामग्री