Saturday, May 04, 2024

-->

‘भूकम्पपछि सम्पदा पुनर्निर्माणमा कालिगडको अभाव भयो’

‘काठ, ढुंगा, फलाम, छाना लगाउने लगायत परम्परागत पेसामा कालिगड थरअनुसार छुट्याइएका थिए। औपचारिक शिक्षामा पहुँच नहुँदासम्म सोही प्रणालीले कला, सीप हस्तान्तरण हुँदै आयो।’

‘भूकम्पपछि सम्पदा पुनर्निर्माणमा कालिगडको अभाव भयो’

काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी)ले ३३ वर्षदेखि काठमाडौँ उपत्यकाका सम्पदाको संरक्षण गर्दै आएको छ। यो अवधिमा यहाँका ८५ वटा ऐतिहासिक सम्पदा, स्मारक, धारा, पाटीपौवाको मर्मत तथा संरक्षण गरेको छ। २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनाएका पाटन तथा काठमाडाैँका विभिन्न सम्पदाको पनि यो संस्थाले पुनर्निर्माण गरेको छ। केभीपीटीको नेतृत्वमा रही क्षतिग्रस्त सम्पदालाई पुनः सबल बनाउन भूमिका खेलेका रोहित रञ्जितकारसँग उकालोका लागि प्रबिता श्रेष्ठले गरेको कुराकानीः 

सम्पदा संरक्षणमा २०७२ वैशाख १२ गतेको भूकम्पले कस्ता चुनौती ल्यायो?
हामी १९९० सालको भूकम्पको कथन सुनेको तर प्रत्यक्ष अनुभव नगरेको पुस्ता हौँ। २०७२ सालको भूकम्प हाम्रा लागि बिर्सन नसकिने घटना भयो। यसबाट जनधनसँगै सम्पदामा पनि गम्भीर क्षति पुग्यो। कतिपय सम्पदा ध्वस्त भए भने कतिपय क्षतिग्रस्त भए। सम्पदालाई पुराना मन्दिर, दरबार, स्मारकलगायत प्राचिन संरचनामा मात्र सीमित गर्न मिल्दैन। पुराना घर, निजी सम्पत्ति पनि सम्पदा हुन्। सम्पदाहरूको उचित स्याहार र संरक्षण भइरहन नसकेको समयमा भूकम्पले अर्को भार थपिदियो।

भूकम्प आउँदा म भक्तपुरमा थिए। केभीपीटीको अफिस पाटन आइपुग्दा साँझ भइसकेको थियो। शुरूमा दरबार क्षेत्र गएँ। दरबार क्षेत्रमा रहेका सुन्दर संरचना खण्डहर भएको दृश्य हृदयविदारक थियो। दरबार क्षेत्रका स्मारकहरू भग्नावशेष अवस्थामा थिए। चार नारायण र हरिशंकर मन्दिर ध्वस्त थिए। पटकपटकको परकम्पले अझ बढी क्षति हुन्छ कि भन्ने भय पलायो। सबल देखिएका सम्पदाको त्यस्तो हालत हुँदा जोगाउनका लागि स्थानीय आफैँ लागे। सम्पदाप्रति मानिसहरूको चेत र लगाव खस्किरहेको समयमा स्थानीयलाई एकजुट हुन सिकायो। अझै पनि सबै सम्पदाको पुनर्निर्माण हुन सकेको छैन।

मनिमण्डप। तस्वीरहरू : केभीपीटी

पाटन क्षेत्रमा भग्नावशेष भएका संरचनामा छोपिएका सामग्रीको सुरक्षा कसरी भयो?
भूकम्प गएको पहिलो दिन मानिसहरू साँझमा घरबाहिर खुला स्थान खोजेर बसे। पाटन संग्रहालयभित्रको भण्डारखाल बगैँचामा धेरैले शरण लिए। ललितपुर नगरपालिकाले पनि घरबाहिर बस्न माइकिङ गरिरहेको थियो। मैले सुने अनुसार भूकम्प गएपछि नै हनुमानढोकामा सेना र पुलिसले पहरा दिएका थिए। धरहरा र काष्ठमण्डप आसपास बढी मानवक्षति पनि भएको हुनाले राज्य संयन्त्र पनि सक्रिय भए। यता पाटनमा त्यस्तो वातावरण थिएन। पाटनमा मणिमण्डप (फल्चा) भत्किएर फल्चासँगै रहेको मंगा हिटीमा एक जना घाइते थिए, उनको उद्धार भएको थियो। यता सुरक्षाका लागि प्रहरी प्रभाग थियो तर उनीहरू उद्धारमा व्यस्त थिए। त्यसैले सम्पदा क्षेत्रमा रहेका कलाकृति सुरक्षित राख्नु पर्ने चुनौती हामीमाथि नै आयो। यसका लागि हामीले स्थानीयलाई अनुरोध गर्‍यौँ। यस्तो अनुरोध सुरक्षा सम्पदा क्षेत्रका कलाकृतिका लागि मात्र नभएर पटकपटक गइरहेको परकम्पका कारण भग्नावशेष क्षेत्रमा मानिस फस्न नदिन आवतजावत रोक्न पनि थियो। स्थानीयले पालैपालो दुई दिन–दुई रात सम्पदा क्षेत्रमा पहरा दिए। 

तेस्रो, चौथो गरी दिन बित्दै जाँदा भग्नावशेषलाई कसरी व्यवथापन गर्ने सल्लाह स्थानीयसँग गर्दै थियौँ। पाँचौ दिन सेना र पुलिस बुलडोजर तथा ट्रक लिएर पाटन आइपुगे। मैले अफिसको झ्यालबाट देखेको थिएँ। स्थानीयले पनि फोन गरेर पुनः जानकारी गराउनु भएको थियो। काठमाडौँमा बुलडोजर लगाउँदा कतिपय कलाकृति नष्ट भएको हामीले सुनेका थियौँ। प्रहरी र सेनाको मुख्य ध्येय क्षतिग्रस्त क्षेत्रको भग्नावशेष हटाएर आवतजावत सहज गर्नु थियो। बाटो र सहजताको लागि अन्य माध्यम भएको कारण हामीले बुलडोजरले नभई व्यक्तिहरू मिलेर गर्नुपर्ने सल्लाह दियौँ। उहाँहरूलाई मनाउन केही बेर छलफल गर्नु परेको थियो।

भूकम्पको पाचौँ दिनदेखि सेना, सशस्त्र, नेपाल प्रहरी मात्र नभई सुमदाय नै मिलेर भग्नावशेष हटाउन शुरू भयो। शुरूमा हामीले काठ, ढुंगाका बुट्टा भएका कलाकृति निकाल्यौँ। दरबार क्षेत्रबाट ती कलाकृति पाटनको केशवनारायण चोकमा सार्‍यौँ। ८–९ दिनमा काठ तथा अन्य बुट्टाका सम्पूर्ण सामग्री सुरक्षित रूपमा सारिए। दरबार क्षेत्रका मन्दिरका टुँडाल, थामलगायत सामग्री मिसिए। यद्यपि, हाम्रो पहिलो प्राथमिकता सामग्री उद्दार गर्ने थियो। केशव नारायण चोकमा सामग्रीको डंगुर लागेपछि दक्ष कालिगडहरू बोलाएर पहिचानको काम शुरू भयो। प्रत्येक स्मारकका बुट्टा फरक हुने कारण ज्ञान भएका कालिगड चाहिन्थ्यो।

कहाँ कहाँ बढी क्षति भएको थियो?
दरबार क्षेत्रमा रहेका कृष्ण मन्दिर, भीमसेन मन्दिर, विश्वेश्वर मन्दिरको सतही अध्ययनबाट संरचनात्मक क्षति मात्र भएको थाहा भयो। यद्यपि पटकपटक गइरहेको परकम्प थप क्षति होला भन्ने त्राश थियो। सोही कारण त्यस्ता संचरनाबाट हुनसक्ने क्षति नियन्त्रणका लागि टेको लगायौँ। चार नारायण मन्दिर, हरिशंकर मन्दिर, मणिमण्डल फल्चा पूर्णरूपमा ध्वस्त थिए। मूलचोकको माथिल्लो भाग एक तला तल खसेको थियो। भग्नावशेष तलालाई स्क्याप फोल्डिङ गर्यौं। यद्यपि दोस्रो पटकको भूइँचालोले पुनर्निर्माणको काम एक हप्ताको लागि पुनः रोकियो। 

भूकम्प गएको समयदेखि नै सम्पदाका सामग्री संरक्षणमा स्थानीयबाट सह्रानीय सहयोग रह्यो। बिहान ६ बजेदेखि राति ७ बजेसम्म कामकाजमा खटिएका प्रहरी, सेनालाई विभिन्न टोलका महिलाले खानपिनको व्यवस्थाका लागि तत्परता देखाए।

केभीपीटी कस्तो संस्था हो र यसले कस्ता काम गरिरहेको छ?
सन् १९९१ देखि काठमाडौँ उपत्यकामा रहेका जोखिमयुक्त सम्पदाको सुरक्षा र संवर्धनमा केभीपीटीले काम गर्दै आएको छ। धेरैलाई केभीपीटी २०७२ सालको भूकम्पपछि शुरू भएको भन्ने परेको रहेछ। हामीले पाटन दरबार क्षेत्रमा सन् २००९ देखि काम गर्न थाल्यौँ। भूकम्पअघि मूल चोक, भण्डारखालमा काम गरिरहेको थियौँ। सुन्दरी चोकको ‘इस्ट विङ’को काम भने दातृ निकाय भेटिनसकेको कारण काम अघि बढेको थिएन। एक्कासि भूइँचालो आयो। सन् २००९ देखि भूइँचालोसम्म पाटनका भीमसेन मन्दिर, हरिशंकर मन्दिर र तलेजु मन्दिर मर्मत र जीर्णेद्धार गरिएको थियो। सोही कारण पनि मन्दिरहरू भत्कनु हाम्रो कल्पना बाहिरको कुरा थियो। भूकम्पपछि हामीले पुराना दातालाई नै अनुरोध गरेर कोष संकलन गर्‍यौँ र पुनर्निर्माणको काम अघि बढायौँ।

पूर्णरूपमा ध्वस्त भएका र संरचनात्मक रूपमा क्षति पुगेका स्मारकहरूलाई प्राथमिकता साथ मर्मतको लागि योजना बनायौँ। कृष्ण मन्दिर र विश्वेश्वर मन्दिर संरचनात्मक रूपमा क्षतिग्रस्त भएका थिए। तिनीहरू एउटा एउटा भागम बनायौँ। दरबार क्षेत्रको मन्दिर त्यसरी नै बनायौँ। दरबार स्क्वायरको भीमसेन मन्दिर छाना निकाल्दा नै तलसम्म धेरै बिग्रिएको देखिएपछि पुनर्निर्माण गर्‍यौँ। उक्त मन्दिरको लागि भने मंगल टोल सुधार संघ र ललितपुर च्याम्बर अफ कर्मसले व्यवस्थापनको पाटो हेरेका कारण केभीपीटीले प्राविधिक सहयोग मात्र गरेको थियो। त्यस्तै, हाल निर्माणको क्रममा रहेको देगु तलेजु मिन्दरमा पनि हाम्रो प्राविधिक सहयोग हुनेछ। दरबार स्क्वायरबाहेक पाटनकै सुलिमा स्क्वायर पनि बनायौँ। सुलिमा मन्दिर सन् १९९९ मा जीर्णोद्वार भएको कारण पर्खाल चर्किए पनि अन्य क्षति हुन पाएन।

काठमाडौँमा काल भैरवपछाडिको लक्ष्मीनारायण, तलेजु मन्दिरको मुख्य गेटको दायाँबायाँको महादेव मन्दिर, कागेश्वरी र दरबार स्क्वायरबाहिर इतुम बहालको पूर्वी भाग भूकम्पपछि मर्मत भएका सम्पदा हुन्। भूकम्पअघि सोही बहालको पश्चिम र दक्षिण भाग पनि केभीपीटीले नै बनाएको थियो। उत्तरी भाग बहाल आफैले मर्मत गरेको थियो।

सम्पदा पुनर्निर्माणमा के कस्ता समस्या झेल्नुभयो?
केभीपीटी ठेक्का नभई अमानकमा काम गर्छ। ठेक्कामा काम गर्दा एकमुष्ट ठेकदारलाई दिएपछि उसैले बनाइदिन्छन्। त्यहाँभित्र भ्याट बिल छ वा छैन हेरिँदैन। केभीपीटीको काम भने खरिद ऐन अनुसार चल्छ। ५ हजारभन्दा माथिको सामग्रीमा भ्याट बिल चाहिन्छ। कतिपय अवस्थामा काम गर्दागर्दै पानी पर्छ, तुरून्तै प्लास्टिक किनेर छोप्नु पर्ने हुन्छ। प्लास्टिक पाइने पसलमा भ्याट बिल नहुन सक्छ। अथवा हामीले बिल तिर्दा ‘अकाउन्ट पे चेक’ दिन्छौँ त्यो त्यस खालको पसलमा लिन हिचकिचाउँछन्। यस्तो स्थितिमा हामीलाई काम गर्दा केही असहजता भए। ठेक्कापट्टामा गुणस्तर नियन्त्रणमा शंका हुँदा त्यो पद्धतिमा हामी काम गर्दैनौँ।

सम्पदा क्षेत्रमा काम गर्न दक्ष कालिगडहरू प्रशस्त छन्?
कालिगडहरूको ज्यालामजदुरी रेटमा समस्या छ। झिँगटीको छाना लगाउने मानिस औँलामा गन्न सक्ने मात्र छन्। झिँगटीका राम्रा कालिगडले दिनको ३५ सयदेखि ४ हजार रुपैयाँ लिन्छ। हाम्रो कुनै पनि खरिद बिक्री ऐनमा त्यति ज्याला दिने व्यवस्था छैन तर त्यति रकम नदिई कोही आउँदैन। अब उनीहरूलाई के कस्तो आधारमा कसरी रकम दिने? सरकारी अडिटमा जाँदा तपाईंहरूले कसरी यति रकम दिनुभयो भनेर प्रश्न आउँछ। यी भए व्यवस्थापकीय समस्या।

काठ, ढुंगा, फलाम, छाना लगाउने लगायत परम्परागत पेसामा कालिगड परम्परागत हिसाबले थरअनुसार छुट्याइएका थिए। औपचरिक शिक्षामा पहुँच नहुँदासम्म सोही प्रणालीले कला, सीप हस्तान्तरण हुँदै आयो। आज यस्ता कामलाई इज्जतिलो मान्न छाडिएपछि जनशक्ति पनि अभाव हुन थाल्यो। भोलिका दिनमा जनशक्ति झनै घट्दै जान्छ। जुन गुणस्तरीय सीप र कौशल पुस्तान्तरणबाट हुन्छ त्यो प्रशिक्षण र तालिमबाट न्यून सम्भव छ। 

तीनै तहका सरकारकाबाट के कस्ता नीतिनियम र तत्परता चाहिन्छ?
केभीपीटीले आफूसँग सहकार्य गरेका यस्ता कालिगडलाई प्रमाणपत्र दिएर कदर गर्छ। हामीे गैरसरकारी कार्यालय हौँ। यो काम सरकारबाट हुनुपर्ने हो। परम्परागत सम्पदाका कालिगडरूलाई गौरव दिलाउने वातावरण बनाउनुपर्छ। उदाहरणको लागि जापानमा कालिगडहरूलाई सार्वजनिक स्थानमा कदर गर्छन्। परम्परालाई धान्दै आएको भनेर सम्मान स्वरूप सर्वसाधारणले समेत ढोग्ने संस्कार छ। प्राविधिक भनेको प्रशिक्षणबाट पनि आउँछ, शिल्प त पुस्तादेखि आउने हो। मूर्त सम्पदाका कालिगडहरूले काम छाड्दै जानुभयो भने भोलि कुनै पनि संरचना पुनस्र्थापना गर्न गाह्रो हुन्छ।

पुनर्निर्माणपछि हरिशंकर मन्दिर।

सम्पदा संरक्षणसँगै अभिलेखीकरण र प्रकाशन कति आवश्यक पर्छ?
पुस्तान्तरण हुँदै आउँदा ती सीपको अभिलेखीकरण भएन। २–४ सय वर्षअघि कथित जात व्यवस्थामा यो समुदायले यस्तो काम गर्ने भन्ने निश्चित थियो। उक्त व्यवस्थामा अहिले परिवर्तन हुँदै आएको छ। यसकारण कसले के काम गर्छ भन्ने थाहा छैन। ‘हिजो बनाएको त हो नि थाहा भइहाल्छ’ भनेर अभिलेखीकरण गर्दैनौँ। गत भूकम्पमा ध्वस्त भएका मन्दिरको अभिलेखीकरण भएको भए हामीलाई बनाउन कति सजिलो हुन्थ्यो। त्यस बेला अभिलेखीकरणको हल्ला पनि फैलियो र हामी फेरि त्यही स्थितिमा पुगिसक्यौँ। भूकम्प मात्र नभई आगलागीलगायत अन्य प्रकृतिका दुर्घटनाको लागि पनि अभिलेखीकरण आवश्यक पर्छ।  

प्राकृतिक प्रकोपबाट सम्पदाको न्यूनतम  क्षति र दिगोपनका लागि के गर्नुपर्छ?
सम्पदा पुनर्निर्माणमा परम्परादेखि चल्दै आएको प्रविधिलाई निरन्तरता दिनु उचित हुन्छ। हामीले देखिरहेका सम्पदा रातारात डिजाइन भएर बनेका होइनन्। नयाँ इन्जिनियरिङ प्रविधिबाट बनेका भवनहरू द्रुत समयमा बन्छन्। तर हाम्रा सम्पदा कला, सीप थपिँदै, सबल गर्दै बनेका थिए। 

निजी घर पुराना शैलीमा बनाउँदा काठ निकालेर नयाँ घरमा राख्छन् र पुराना घरको संरचना त्यतिकै छोडिन्छ। यस्ता संरचना भत्किएर जनधनको क्षति नहोस् भन्ने हाम्रो मुख्य ध्येय हो। समयसमयमा सम्पदाको हेरचाह भएको भए २०७२ सालको भूकम्पमा त्यति धेरै क्षति हुने थिएन। पहिले यस्ता स्मारक, मन्दिरका लागि गुठी जग्गा हुन्थे। आयस्रोत हुन्थ्यो। आज छैन। सम्पदा मर्मत नहुनुको कारण यो पनि हो। यसकारण अहिलेको लागि सम्पदा सुदृढीकरणमा बढी समय लगाउनु पर्छ। सुदृढीकरण प्रणालीलाई ब्युँताउनुपर्छ।


सम्बन्धित सामग्री