Saturday, April 27, 2024

-->

मैदानमा ९० मिनेट बिताउन १६० किलोमिटर यात्रा गर्ने ‘सिन्धु एफसी’को संघर्ष

खुमलटार एफसीबाट यू१६ लिग खेलिरहेको सिन्धुपाल्चोक एफसीका खेलाडी खेल हुने दिन लामोसाँघुबाट ८० किमि टाढाको काठमाडौँ आउँछन् र त्यही दिन फर्किन्छन्। फुटबलमा भविष्य खोजिरहेका यी खेलाडीहरूको कथाः

मैदानमा ९० मिनेट बिताउन १६० किलोमिटर यात्रा गर्ने ‘सिन्धु एफसी’को संघर्ष

काठमाडौँ– सिन्धुपाल्चोकस्थित बाह्रबिसे पुरानो बजारका एलिक श्रेष्ठ (१५) कलिलै उमेरदेखि फुटबल खेल्न रुचाउँथे। फुटबलप्रति उनको लगन र सीप देखेर मौका पाए राम्रो गर्न सक्ने छिमेकीहरूको अनुमान हुन्थ्यो। काठमाडौँका ठूला क्लबमा प्रशिक्षण गर्ने र खेल्ने उनको सपना थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू१६ लिग गर्ने भएपछि उनले त्यसमा खेल्ने अवसर खोज्न थाले। मनाङले यू१६ टिम बनाउन खेलाडीको खुला छनोट थालेको थियो। छनोटमा प्रतिस्पर्धा गर्न गत असारमा उनी काठमाडौँ ओर्लिए। सिन्धुपाल्चोकका विभिन्न प्रतियोगितामा अब्बल ठहरिएका उनी छनोटकर्ताको आँखामा नपरेपछि पहिलो चरणबाटै बाहिरिए।

एलिक भन्छन्, “छनोट खेल्न लास्टतिर दुई तीन दिन गएको थिएँ। राम्रो गरेको पनि थिएँ। तर खै प्रशिक्षकले ममा के देख्नुभएन, अर्को मौका नै नदिइ फ्याँकिदिनु भयो।” 

एलिकका दुई दाजुहरू एन्जल र एटिभ व्यवसायिक फुटबलर नै हुन्। दुवै जना गोलरक्षक हुन्। जेठो एन्जलले ब्रिगेड बोइज क्लब र एफसी खुमलटारबाट ‘बी’ तथा विभागीय टोली एपीएफबाट ‘ए’ डिभिजन लिग खेलिसकेका छन्। उनी हालै सम्पन्न दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौँ रेजर्समा अनुबन्ध थिए।

कप्तान एलिक


अर्का दाइ एटिभ सिन्धुपाल्चोक फुटबल क्लबका अनुभवी खेलाडी हुन्। गत वर्ष क्लबले ‘सी’ डिभिजन छनोट खेल्दा उनी पनि सहभागी थिए। कान्छो एलिक जारी यू१६ लिगमा खुमलटार एफसीको कप्तान छन्। उनले १२ खेलमा ६ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा चौँथो स्थानमा छन्।

दाइहरूको बाटो पछ्याएर काठमाडौँ आएका एलिकलाई पहिलो गाँसमा नै ढुंगा लागेको थियो। उनी मात्र होइन, सिन्धुपाल्चोकबाट विभिन्न क्लबका लागि छनोट खेल्न आएका काठमाडौँ आएका साथीहरू सम्राट पहरी, जंगे रायमाझी, डेभिड लामा, हरि न्यौपाने (सुवोध)लगायत साथीहरूले पनि अवसर पाएनन्।

“मसँगै काठमाडौँ गएका एक जना विवेक श्रेष्ठले मात्र मनाङबाट अवसर पाए, अन्य कोही छनोट भएनन्। त्यसपछि हामीले दाइ (खुमलटारका प्रशिक्षक सन्दीप खड्का)लाई यो कुरा सुनायौँ। दाइले नै हामीलाई खेल्ने वातावरण मिलाइदिनु भएको हो,” एलिक भन्छन्। 

सिन्धुपाल्चोकबाट छनोटमा पर्न नसकेकाहरू अहिले एफसी खुमलटारबाट यू१६ लिग खेलिरहेका छन्।

खुमलटारका नाममा यू१६ लिग
सिन्धुपाल्चोक एफसी पुरानो क्लब होइन। दुई वर्षअगाडि मात्रै दर्ता भएको हो। यसअघि, सिन्धु एफसीका नामबाट करिब एक दशकदेखि ‘ग्रास रुट’मा फुटबल सञ्चालन भइरहेको थियो। सिन्धुले उत्पादन गरेका खेलाडी ‘ए’ डिभिजन क्लबसम्म पुगेका छन्। तर सिन्धुपाल्चोकले आफ्ना खेलाडी व्यवस्थापन गर्न ठूलो मञ्च निर्माण गर्न सकेको थिएन।

फुटबलका ठूला प्रतियोगिता खेल्न बजेट थिएन। त्यहीकारण करिब ८० किलोमिटर टाढाको काठमाडौँसम्म आउन समस्या थियो। दुई वर्षअघि सिन्धुपाल्चोक फुटबल क्लब खडा गरेर केही युवा अवसरको खोजीमा लागे। काठमाडौँमा फुटबल खेलिरहेको ललितपुरे क्लब एफसी खुमलटारले उनीहरूलाई साथ दियो।

सिन्धुपाल्चोकले उत्पादन गरेका खेलाडीलाई काठमाडौँका क्लबले बेवास्ता गरेपछि आफैँ ‘सी’ डिभिजन खेल्न उत्रिएको म्यानेजर श्री प्रधान बताउँछन्। खुमलटारको सहयोगमा गत वर्ष काठमाडौँ ओर्लिएको सिन्धुपाल्चोक एफसीले ‘सी’ डिभिजन छनोट खेलेको थियो। क्लबमा स्थानीयका साथै केही बाहिरका खेलाडी राखेको थियो। क्लबका म्यानेजर श्री प्रधानका अनुसार उनीहरूलाई काठमाडौँमा बस्ने व्यवस्था खुमलटारले मिलाइदिएको थियो।

तर सिन्धुपाल्चोक ‘सी’ डिभिजनका लागि छनोट हुन भने सकेन। पहिलो खेलमा मनमैजू क्लबलाई १–० गोलअन्तरले पराजित गरे पनि दोस्रो खेलमा विजय यूथ क्लबसँग २–२ को बराबरीमा रोकियो। विजयसँग गोलअन्तरले पछि पर्दै पहिलो चरणबाटै बाहिरियो।

यद्यपि, फेरि अर्को वर्ष बलियो भएर आउने प्रतिज्ञासहित सिन्धुपाल्चोक फर्किए पनि एन्फाले ‘सी’ डिभिजन छनोट समयमै खेलाउन सकेन। सम्भावना बोकेका खेलाडीलाई जोगाएर राख्न सिन्धुपाल्चोकलाई चुनौती थपियो। खेलाडीहरूलाई व्यस्त राख्न उसले सिन्धुपाल्चोकमै हुने सेभेन ‘ए’ साइड र फुटसल प्रतियोगितामा भाग लिइरहेको थियो।


एन्फाले लिग शुरू गर्ने बेला ‘ए’ डिभिजनका १४ वटै क्लबलाई अनिवार्य यू१६ लिग खेलाउने योजना बनाएको थियो। तर हिमालयन शेर्पा, खुमलटार, जावलाखेल, सातदोबाटो र थ्रीस्टारले आफ्नो एकेडेमी नभएको, खर्च गर्न नसक्ने र बच्चाको पढाइ बिग्रिनेलगायत कुरा निकाल्दै लिग खेल्न अस्वीकार गरे। लिगमा १० टोली पुग्न गाह्रो भएको अवस्थामा सिन्धुपाल्चोकले खुमलटारसँग सहकार्य गर्ने प्रस्तावअघि सार्‍यो।

अहिले सिन्धुपाल्चोक एफसीले खुमलटारसँग मिलेर यू१६ लिग खेलिरहेको छ। “सी डिभिजन खेल्न आउँदा टफ फाइट गरेका थियौँ। त्यतिखेर झापा, बेनी र मोरङबाट समेत खेलाडी ल्याएर खेलेका थियौँ। बाहिरबाट खेलाडी ल्याएर खेल्न नपरोस् भनेर खुमलटारसँगै मर्ज गरेर किन नखेल्ने भन्ने कुरा भयो, यू१६ लिग मिलेर खेल्ने निर्णय गर्‍यौँ,” उनी भन्छन्।

खुमलटारको योजना एकेडेमी बनाएर विदेशी क्लबहरूले झैँ खेलाडी बेच्ने थियो। तर ‘बी’बाट शीर्ष डिभिजनमा उक्लिएकै वर्ष रेलिगेशनमा पर्दा उसको योजना भताभुंग भयो। क्लबका सचिव बुद्धिबहादुर गुरुङका अनुसार आफू सहभागी नहुने भएपछि सिन्धुपाल्चोकसँग हात मिलाउन खुमलटार तयार भएको हो।

खुमलटारका सचिव बुद्धिबहादुर गुरुङ।


त्यति मात्र होइन, खुमलटार स्थानीय क्लबको ‘ट्याग’बाट बाहिर निस्किन चाहन्थ्यो। “डिभिजन खेल्ने क्लब भएपछि राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी यहीबाट होस् भन्ने हुन्छ। त्यो हिसाबमा खाली स्थानीय खेलाडी मात्रै हुनुपर्छ भन्ने मानसिकता त्यागेर हामीले पूर्वप्रशिक्षक महेश श्रेष्ठलाई टिम ल्याउन अनुमति दिएका हौँ,” उनी भन्छन्।

सिन्धुपाल्चोक एफसीका उपाध्यक्षसमेत रहेका महेश तिनै प्रशिक्षक हुन् जसले ६ वर्षदेखि ‘बी’ डिभिजन खेलिरहेको खुमलटारलाई शीर्ष डिभिजनमा उकालेका थिए। त्यतिखेर रानीपोखरी कर्नर टिम (आरसीटी)सँग अंक बराबरी (२२/२२) भए पनि खुमलटार गोलअन्तरको आधारमा दोस्रो भएर चर्च ब्वाइजसँगै शीर्ष डिभिजनमा उक्लिन सफल भएको थियो। शीर्ष डिभिजनमा पनि महेशले खुमलटारको सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका थिए। 

महेशकै प्रस्तावमा खुमलटार र सिन्धुपाल्चोकले एउटा टोली बनाएर यू१६ लिग खेल्ने भए। सिन्धुपाल्चोकले खुमलटारको नामबाट खेल्ने भयो भने खेलाडी आफ्ना राख्न पायो। क्लबको व्यवस्थापनामा चौतराका सरोज भुजेल, लामोसाँघुका श्री प्रधान, महेश श्रेष्ठ र बाह्रबिसेका सन्दीप खड्का सामेल भए।

जिल्लामा सबैतिर खबर गरेर सिन्धुपाल्चोकले खेलाडी जम्मा गरेको थियो। छनोट गराउँदा धेरैजसो खेलाडी बाह्रबिसे, लामोसाँघु, चौतारा र खाडीचौरका भेटिए। केही सिन्धुपाल्चोक बाहिरका पनि थिए।

असार ३० गतेबाट यू१६ लिग शुरू हुने भएपछि क्लबले लामोसाँघुमै होस्टेलको सुविधा दिएर प्रशिक्षण गरायो। उनीहरू लिग हुने दिन बिहान काठमाडौँ आउने र खेलेर बेलुका उतै फर्किने गर्थे।

काठमाडौँ आउने कतिपय खेलाडीलाई लामो यात्राको अनुभव थिएन। कसैलाई गाडी लाग्ने समस्या थियो। मछिन्द्र क्बलसँगको शुरूको दिनमा क्लबले खेल्नै सकेन। थकित शरीर लिएर खेलेको टोली ६–१ गोलअन्तरले पराजित भयो। अहिले पनि खेल हुने दिन मात्र आउँदा ७० मिनेटपछि खेलाडी गलेर खेल्नै नसक्ने हुने मिडफिल्डर सागर तामाङ बताउँछन्।

गाडी र बाटोको अवस्थाअनुसार काठमाडौँ आइपुग्न तीनदेखि चार घण्टा लाग्छ। एन्फाले चार राउन्डसम्म हप्तामा एक खेल गर्दै आएको थियो। साउनदेखि करिब चार महिना लिग रोकियो। पुस दोस्रो हप्तादेखि पुनः शुरू लिग छिटो सकाउन हप्तामा दुई खेल राखिएको छ।

“बिहान खेल हुँदा त समयमै घर पुगिन्छ। तर बेलुका ३ बजेतिर खेल हुँदा राति मात्रै पुगिन्छ,” सागर भन्छन्, “कतिलाई त पुर्‍याउन जानुपर्छ। पढाइ हुन्छ, सबै छाडेर काठमाडौँ आउनुपर्छ। खेल्यो अनि राति घर पुग्दा परिवारले गाली गर्नुहुन्छ।”

लिगको चौँथो खेल सकिएपछि एन्फाले साफ यू–१६ च्याम्पियनसिपको तयारी गरेको थियो। त्यतिखेर लामो समय लिग रोकिएपछि सिन्धुपाल्चोकले आफ्ना खेलाडी रिलिज गरेको थियो। अहिले कतिपय खेलाडीहरूले पढाइकै कारण क्लब छाडिसकेका छन्। भएकाहरू ‘सेल्फ ट्रेनिङ’ गरेर काठमाडौँ आउने गरेका छन्। त्यसैले नतिजा पनि आशालाग्दो नभएको सागर बताउँछन्।

खुमलटारले १२ खेल खेलिसक्दा जम्मा तीन खेल मात्रै जितेको छ। उनी भन्छन्, “अहिलेसम्म दुईचार जनाबाहेक सिन्धुपाल्चोकका खेलाडीहरू निस्किएका छैनन्। यही लिगले गर्दा केही खेलाडीहरू निस्किने सम्भावना छ। तर हामीलाई समस्या छ, युनिटीमा खेल्न पाएका छैनौँ। फुल टाइम फुटबलमै समय दिने खेलाडी पनि छैनन्।”

‘ए’ डिभिजन खेल्ने लक्ष्य
‘सी’ डिभिजन छनोट खेल्दा क्लबले लामोसाँघुमा दुई महिना बन्द प्रशिक्षण राखेको थियो। खेलाडीमाथि खर्च नगरे पनि फुटबल खेल्दा क्लबलाई ७ लाख रुपैयाँभन्दा बढी ऋण लाग्यो। क्लबले आतेजाते खर्चमै साढे २ लाखभन्दा बढी खर्चेको प्रशिक्षक सन्दीप खड्का बताउँछन्। अहिले यू१६ खेल्दा पनि क्बललाई ६ लाखभन्दा बढी ऋण लागेको छ। क्लबसँग प्रायोजक छैन। 

यू१६ लिग करिब चार महिना रोकिएपछि क्लबले आर्थिक भार थाम्न सक्ने सामर्थ्य देखेन। एन्फाले लिग समयमै नगर्दा एसईई र अन्य कक्षाको अन्तिम परीक्षा भएका कारण अविभावकहरूले खेलाडी पठाउनै छाडे। जेनतेन उपलब्ध भइरहेका खेलाडीलाई पनि आफैँ प्रशिक्षण गर्न भनेर होस्टेलबाट फर्काएको सन्दीप बताउँछन्।

“एक त खर्च बढी भयो। त्यसमाथि स्कुल छ। कतिपय खेलाडी एसईई र अन्तिम परीक्षा दिने छन्। स्कुल छुट्टी भएर खेल्न पनि सम्भाव देख्दिनँ, जाडोमा छिटो साँझ पर्छ। त्यसैले प्रशिक्षण गर्न पाएको छैन, तालमेल नै मिल्दैन,” उनी भन्छन्।

प्रशिक्षक सन्दीप खड्का।


सिन्धुपाल्चोकको लक्ष्य उमेर समूहको लिग मात्रै नभई ‘ए’ डिभिजनसम्मको यात्रा गर्ने छ। त्यसैले खेलाडी उत्पादन गर्न आफ्नै ग्रास रुटलाई विषेश प्राथमिकतामा राखेको छ। क्लबले जाडो अगाडिसम्म ५/१० वर्षका बालबालिकालाई प्रशिक्षण गराइरहेको थियो। तर लिगको व्यस्तता र जाडो मौसमको कारण ग्रास्ट रुट प्रशिक्षण रोकेको छ। यद्यपि अर्को वर्ष ‘सी’ डिभिजन छनोट खेल्न आउने खेलाडीको अभाव नहुने किसिमले योजना बनाइसकेको सन्दीप बताउँछन्।

यसबाहेक जिल्लाभरका खेलाडी खोज्ने र उमेर समूहको लिग खेलिरहेका खेलाडीलाई पनि टोलीमा राख्ने योजना रहेको उनी सुनाउँछन्। “यिनै बच्चाहरूले १६ म्याच खेल्छन्। यी खेलाडीहरूलाई काठमाडौँ नल्याइ त्यहीँ प्रशिक्षण गराएको भए केही काम लाग्दैन थियो। उनीहरूले कमसेकम म्याचको प्रेसर, रुल्स, टर्फमा खेलेको अनुभव त बटुलेका छन्। अहिले उनीहरू म्याचुयर पनि देखिएका छन्,” सन्दीप भन्छन्।

आर्मी, पुलिस, एपीएफ, न्यूरोड टिम (एनआरटी) र संकटाबाहेक अन्य टोलीले सिन्धुपाल्चोकले झैँ विभिन्न स्थानका खेलाडी बटुलेर लिग खेलेका हुन्। लगातार खेलिरहेका यी पाँच क्लबलाई हराउन सिन्धुपाल्चोकजस्तो टोलीले निक्कै संघर्ष गर्नुपर्ने अवस्था छ। उसले काठमाडौँलाई आधार बनाएर फुटबल खेलिरहेका ठूला क्लब मनाङ मर्स्याङ्दी, फ्रेन्ड्स र एनआरटीलाई पराजित गरिसकेको छ। मछिन्द्र र आर्मीलाई पनि दबाबमा राखेको छ। 

यद्यपि, एन्फाले ‘ए’ डिभिजनका क्लबलाई मात्रै यू१६ र १८ लिग खेल्न दिने प्रावधान बनाएको छ। खुमलटार आफैँ पनि ‘बी’ डिभिजनमा झरिसकेको छ। एन्फाले खुमलटारलाई लिग खेल्न दियो भने पनि उसले आफ्नै खेलाडी मैदान उतार्ने सम्भावना छ, किनभने उसले आफ्नै एकेडेमी सञ्चालन गरिसकेको छ। यस्तो स्थितिमा सिन्धुपाल्चोक एफसी अर्को वर्ष मैदानमा देखिन्छ कि देखिँदैन भन्ने प्रश्न समर्थकले गर्ने गरेको सन्दीप सुनाउँछन्। 

तर ‘ए’ डिभिजनमा पुग्ने लक्ष्यसाथ अगाडि लम्किसकेको हुँदा पछाडि फर्केर हेर्ने स्थितिमा नरहेको उनी सुनाउँछन्। खुमलटार या एन्फाले आफ्नो क्लबलाई खेल्न नदिए अन्यसँग सहकार्य गरेर भए पनि मैदानमा उत्रिने उको भनाइ छ।

“हामीसँग राष्ट्रको प्रतिनिधित्व गर्न सक्छु भन्ने प्यासन भएका खेलाडी धेरै छन्। तर राम्रो स्टेज छैन,” उनी भन्छन्, “हाम्रो क्लबले त्यस्ता प्यासन भएका खेलाडीको जिम्मेवारी बोकेर हिँडिरहेको छ। टार्गेट नै ए डिभिजनसम्म पुग्ने भएपछि त हामीलाई पनि पछाडि फर्किने छुट नहोला नि होइन?”


सम्बन्धित सामग्री