Saturday, April 27, 2024

-->

उकालो साप्ताहिक ब्रिफिङ: न्यून पूर्वतयारीबीच भूकम्पले थलिएको जाजरकोट, नेताहरूको ‘प्रकोप–पर्यटन’ मोह

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेताहरूको संकटग्रस्त क्षेत्रमा 'झुल्किने' असीम चाहले लथालिङ बनेको स्थितिका बाबजुद सुरक्षाकर्मी, स्थानीय, स्वास्थ्यकर्मी, स्वयंसेवकले देखाएको तदारुकता सह्रानीय थियो।

उकालो साप्ताहिक ब्रिफिङ न्यून पूर्वतयारीबीच भूकम्पले थलिएको जाजरकोट नेताहरूको ‘प्रकोप–पर्यटन’ मोह

गएको शुक्रबार कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको ६.४ म्याग्निट्युडको भूकम्पले उक्त जिल्लासहित रूकुमपश्चिममा ठूलो परिमाणमा जनधनको क्षति पुर्‍यो। देशका विभिन्न भू–भागलगायत भारतसम्म धक्का महसुस भएको जाजरकोट भूकम्पमा १५३ को मृत्‍यु भयो भने ३०० जनाभन्दा बढी घाइते भएका थिए। यस्तै, ठूलो मात्रामा भौतिक क्षति भएको छ र कैयौँ मानिस घरबारविहीन भएका छन्। सो क्षेत्रमा अहिले पनि लगातार परकम्प गइरहेका छन्

भूकम्पविद्हरूले लामो समयदेखि नेपालको पश्चिमी भू–भाग अति शक्तिशाली भूकम्पको जोखिममा रहेको औँल्याउँदै सम्बन्धित निकायहरूलाई आवश्यक पूर्वतयारीमा लाग्न सुसूचित गराइरहेका थिए। भूकम्पविद् र अन्य विज्ञहरूको बारम्बारको सचेतनाका बाबजुद राज्यले यसबारे आवश्यक तयारी गरेको देखिएन। भूकम्पलगायत प्राकृतिक प्रकोपमा परी घाइते भएकाको उपचारको पूर्वतयारीमा सरकार नजुट्दा जाजरकोटमा भूकम्प गएको ९ घण्टा बितिसक्दा पनि घाइतेहरूको कहाँ कसरी र कसले उपचार गर्ने भन्ने अन्योल उत्पन्न भएको थियो।

भूकम्पलगत्तै विश्वको ध्यान एकछिनका लागि भए पनि जाजरकोटतिर मोडियो भने भारत, चाइना, रुसलगायत मुलुकले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको आश्वासन दिए।

यस्तो विपद्को बेला पनि राहत र उद्धारकार्य प्रभावित गर्नेगरी राजनीतिक नेताहरूमा देखिएको ‘प्रकोप पर्यटन’को भोक निकै उराठलाग्दो थियो। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्को आलोचनापछि युरोप भ्रमण स्थगन गरी भूकम्प प्रभावित क्षेत्र पुगेका राष्ट्रपति रामचन्द्र पौडेल जाजरकोट भूकम्पमा घाइते भएका एक जनालाई भेटेर फर्किएका थिए। राष्ट्रपति, प्रधानमन्त्री, सरकारका विभिन्न मन्त्री, दलका नेतालगायतको संकटग्रस्त क्षेत्रमा 'झुल्किने' असीम चाह यस्तो समय चाहिने परिपक्व सुझबुझभन्दा बढी भएको देखियो।

संकटग्रस्त क्षेत्रमा ‘भीआईपी मुभमेन्ट’ले उद्धार र उपचार प्रभावित बनाएको हेर्नुहोस् यी दुई उदाहरण: 

भूकम्पले तहसनहस क्षेत्रमा प्रधानमन्त्री र नेताहरूको दौडाहा: घाइतेको उद्धार र उपचार प्रभावितशुक्रबार रातिको भूकम्पले तहसनहस जाजरकोट र रूकुमपश्चिम पुगेर प्रधानमन्त्रीदेखि नेताहरूले के योगदान गरे भन्ने त प्रष्ट छैन, सुरक्षा र स्वास्थ्य अधिकारीहरूले भने उद्धार, उपचार प्रभावित भएको गुनासो गरेका थिए।

‘बिरामी हेर्न नेता मात्र आउँछन्, डाक्टर आउँदैनन्’ – कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएका जाजरकोट भूकम्पका घाइतेहरूले शनिबार रातिसम्म पनि उपचार गर्ने डाक्टर भेट्न नपाएको, नेताहरू भने छिनछिनमा आइरहेको गुनासो गरेका थिए।

अर्कोतिर, प्राकृतिक आपद्को यस्तो विषम घडीमा पनि केही राजनीतिज्ञले न्यूनतम मानवीय संवेदना देखाउन सकेनन्। उद्धार र उपचार कुरिरहेका पीडितले 'ठाउँ'मा उपयुक्त पहुँच नहुँदा समयमा सही उपचार गर्न पाउने मौका गुमाएका परेको थियो। जाजरकोट र रूकुमपश्चिमको भूकम्पका घाइतेहरूको सम्बन्धित जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत र भेरी अस्पताल नेपालगन्जमा उपचार हुँदै गर्दा ‘पहुँचवाला’ सामान्य घाइतेलाई काठमाडौँ ल्याइएको थियो। विस्तृत– भूकम्पका घाइतेको उपचारमा सरकारकै विभेद, ‘पहुँचवाला’का आफन्त रूकुमबाट सिधै काठमाडौँ 

यसैगरी विद्यमान सरकारी संयन्त्रलाई चुस्त र सबल बनाएर पुनर्निर्माण गर्नुपर्ने सुझाव विज्ञहरूले दिइरहँदा पनि प्रधानमन्त्री दाहाल भने अर्को छुट्टै संयन्त्र बनाउन जोडबल गरिरहेका छन्। पुनर्निर्माणका विद्यमान् संयन्त्र प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री दाहालले नयाँ शक्तिशाली संयन्त्र बनाउनु पर्नेमा जोडबल गरिरहेका बेला सचिवहरू भने यसको नेतृत्व स्थानीय तहलाई दिनुपर्ने बताउँछन्। 

यो सब लथालिङका बाबजुद सुरक्षाकर्मी, स्थानीय, स्वास्थ्यकर्मी, स्वयंसेवक लगायतको उद्धार कार्यका क्रममा देखिएको तदारुकता सह्रानीय थियो। 

स्थलगत

शुक्रबारको विनाशकारी भूकम्पपश्चात् उकालोका संवाददाता लोकेन्द्र विश्वकर्माद्वारा संकलित स्थलगत रिपोर्टिङको विवरण: 

जाजरकोट भूकम्पको दोस्रो दिन, प्रभावितहरूलाई न ओत न ओछ्यान – भूकम्पबाट आवासविहीन भएकाहरूलाई केही संघसंस्थाहरूको सहयोगमा आइतबार राहत बाँडिएको भए पनि सबैलाई पर्याप्त हुन सकेको छैन। विस्थापितहरू चिसो भुइँमा पराल ओछ्याएर पुरानो पालमुनि सुत्न बाध्य छन्।

पुरिएकाले गुहार माग्दामाग्दै ज्यान गुमाए, बाँचेकाको गाँस न बास – हिरे विकको घर पुरिएपछि भाइ भद्रवीर र भतिजा हतारहतार पुगेर भग्नावशेष पन्छाउन थाले। उनीहरूले दुई छोरीको त उद्धार गरे, बाँकी चार जनाको शव मात्र निकाल्न सके। अहिले बाँचेकाको पनि गाँस र बासको टुंगो छैन।

भूकम्पपछि चिउरीको चेहरा – गाउँमा अझै आशाको किरण झुल्केको छैन। बरु बादलले आकाश मडारिएको छ। चिसो खेतमा पाल टाँगेर बसेका उनीहरू जाडो र भोकले मर्छौँ कि भन्ने चिन्तामा छन्।=

राष्ट्रपतिसँग भूकम्प पीडितको प्रश्न– गाँस र बासको व्यवस्था पहुँचवालालाई मात्रै हो? – दुई वर्षको छोरा च्यापेर सडक छेउमा बसिरहेका भूकम्पपीडित विष्णु थापाले भने, “राष्ट्रपति आएर पनि के भयो र? हामीलाई हेलिकप्टरको धूलो होइन चामल चाहिएको हो। न्यानो कपडा चाहिएको हो।”

राहतमा राजनीति, घण्टौँ कुर्दा पनि पाएनन् पीडितले – भूकम्प प्रभावितलाई बाँड्नुपर्ने राहत सामग्री जाजरकोटको भेरी नगरपालिकामा थन्किएको छ। तर भेरी-३ का भूकम्पपीडितले वडा कार्यालयमा घण्टौँ कुर्दा पनि राहत पाएनन्।

आफैँले छापेको ढुंगाको छानोले परिवार पुर्‍यो, बाँचेकालाई परकम्पले तर्साइरहन्छ – चिउरीगाउँमा अधिकांश घर ढुंगामाटोले बनेका छन्। पटकपटक गइरहेको परकम्पले ठाडै रहेका घर पनि भत्काइरहेको छ। सोमबारको परकम्पले गाउँका थप चार घर मात्र भत्काएन, बाँचेकालाई पनि त्रसित बनायो।

भूकम्पपछि प्रभावित क्षेत्रमा देखिएका बेथितिहरूको बेहोरापछि अब हेरौँ यस हप्ताका प्रमुख हेडलाइन:

प्रतिस्पर्धा पन्छाएर स्वास्थ्य उपकरण खरिद गरिँदै, साढे ११ करोडमा आउने सामग्रीलाई ४८ करोड तिर्ने तयारी – स्वास्थ्य सेवा विभागले बोलपत्र आह्वान गरेका सामग्री साढे ११ करोडमै आउने व्यवसायीहरू बताउँछन्। तर बोलपत्रमा ती सामान किन्न राज्यकोषबाट तिर्ने गरी विभाग आफैँले तोकेको खरिद मूल्य जोड्दा ४८ करोड पुग्छ। 

१६ वर्षपछि फैसलाको चरणमा रौतहट बमकाण्डको मुद्दाः फैसलाअघि नै किन उत्साहित छन् आलम समर्थक?  – रौतहट बमकाण्डका मुख्य अभियुक्त मोहम्मद आफताब आलमविरुद्धको मुद्दामा जिल्ला अदालतमा मंगलबार र बुधबार बहस चलिरहँदा समर्थकले राजपुरमा उनी छुट्ने भन्दै पटका पड्काएर खुसियाली मनाएका थिए।

‘डिपफेक’ प्रविधिले निम्त्याउँदै संकट, सुविधाका नाममा बढ्दो चुनौती – आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर एक व्यक्तिको अनुहारमा अर्काको अनुहार राखी नक्कली भिडियो बनाउने प्रविधिलाई ‘डिपफेक’ भनिन्छ जुन वास्तविकजस्तै देखिन्छ, तर नक्कली हुन्छ।

सुपारी, केराउ र मरिच आयात अनुमतिको अन्तर्यः डलरमा भित्र्याएर भारत तस्करी – मन्त्रिपरिषद्ले ‘औद्योगिक कच्चा पदार्थ’का नाममा फेरि सुपारी, केराउ र मरिच आयातको अनुमति दिएको छ। जबकि, दुई वर्षअघि भएको संसदीय अध्ययनले सुपारी आयात गर्दा वैदेशिक मुद्रा अपचलन भएको ठहर गरेको थियो।

मंसिरमा हुनुपर्ने रास्वपाको महाधिवेशन, नेताहरूमै छैन हुने विश्वास – रास्वपाको विधानअनुसार राष्ट्रिय महाधिवेशन अगाडि वडा, पालिका र प्रदेशको अधिवेशन गरिसक्नु पर्छ। तर अहिलेसम्म उसले पालिकास्तरमै संगठन विस्तारको काम सकेको छैन।

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनः तीव्र कर्जा विस्तार, बहुबैंकिङ र बिग्रँदो अनुशासन लघुवित्त संकटका मुख्य कारक – एकै व्यक्तिले १७ वटा संस्थाबाट २२ खातामार्फत ५२ लाख रुपैयाँ कर्जा लिएको समेत राष्ट्र बैंकको अध्ययन समितिले फेला पारेको छ।

पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, किन आन्दोलित छन् चिकित्सक? – उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको भन्दै सुरक्षाको माग राखेर पाटन अस्पतालका चिकित्सकहरू आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।

विद्यालय शिक्षा विधेयक सदनबाट समितिमा जान ढिलाइ – विधेयकहरूमाथि गहनरूपमा छलफल अघि बढाउन संसद् सक्रिय नहुँदा प्रतिनिधिसभाले कानून बनाउन नसकेको भन्दै जनस्तरबाट असन्तुष्टि व्यक्त भइरहेको छ।

ओरेण्टल सहकारीबाट ठगिएका ३८२ साना बचतकर्ताको रकम एक दशकपछि फिर्ता – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक लाखभन्दा कम बचत गरेकाहरूको मागदाबी अनुसारको रकम साउनभित्र दिने जनाएको थियो। तर त्यसको साढे दुई महिनापछि साना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।

इजरायल–हमास युद्धको १ महिनाः दशौँ हजार प्यालेस्टिनीको मृत्यु, झन् आक्रामक बन्दै इजरायल –युद्धविरामका लागि कतार, अमेरिका लगायत देश मध्यस्थता निभाउन लागिरहेका छन्। तर, हमासविरुद्ध बदलाभावमा उत्रिएको इजरायल भने युद्धविराम गर्ने लयमा देखिँदैन।

खल्लो बित्यो दशैँ, तिहारमा उपभोक्ताले पाउलान् चिनी? – सरकारले भन्सार छुट दिएर २० हजार टन चिनी भारतबाट ल्याउने निर्णय भदौ अन्तिममा गरे पनि आयात नगरेपछि दशैँ खल्लो भयो। अब तिहारअघि नै ‘जीटुजी’मार्फत भारतबाट चिनी ल्याइसक्ने आपूर्ति मन्त्रालयको दाबी छ।

व्यवसायीले भन्ने गरेको आर्थिक ‘मन्दी’ लाई तथ्यांकले गलत साबित गर्न लागेको हो? – वस्तुको आयात र घरजग्गाको कारोबारका साथै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा बढ्दै जानुले आर्थिक क्षेत्र चलायमान भएको संकेत त मिलेको छ। यसको स्थायित्वमा भने प्रश्न उठिरहेका छन्।

भूकम्पमा अस्ताएका दिदीबहिनी – भूकम्पले घर भत्काउँदा उनीहरू भग्नावशेषमा पुरिए। समयमै उद्धार भएको भए ज्यान जोगाउन सकिने आफन्त बताउँछन्।

‘भागेर धन्न बाचेँ’ – भूकम्प गएको बेला हामी भर्खर निदाएका थियौँ। एक्कासि घर हल्लाउन थाल्यो। सबै जना उठेर कराउन थाले। करिब पाँच सेकेन्डको धक्काले सबै ध्वस्त बनायो।

चेल्सीका पूर्वस्ट्राइकर ड्रोग्बा नेपाल आउँदै – डिडियर ड्रोग्बाले आफ्नो संस्थामार्फत जाजरकोटका भूकम्पपीडितका लागि आर्थिक सहयोग गरेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।

म्याथ्युज बने ‘टाइम आउट’ हुने पहिलो क्रिकेटर – श्रीलंकाका ब्याट्सम्यान एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने पहिलो खेलाडी बनेका छन्।

यू१९ एशिया कप: नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान – नेपाल रहेको समूह ‘ए’मा पाकिस्तानसँगै अफगानिस्तान र भारत पनि छन्।

पर्वमा ‘देखासिकी’ प्रकोप: विपन्नको हुर्मत, बजारको रजाइँ – वर्षौँदेखिका पोसाक र उपहार तपाईं हामीमध्ये कैयौँका दराजमा ढुसी लागेर बसिरहेका होलान्, तर हामी ‘यस पटक फलानोलाई के उपहार दिने?’ भन्दै बजार चहारिरहेका छौँ।


सम्बन्धित सामग्री