Thursday, May 09, 2024

-->

भूकम्पपछि चिउरीको चेहरा: न बास, न गाँस

गाउँमा अझै आशाको किरण झुल्केको छैन। बरु बादलले आकाश मडारिएको छ। चिसो खेतमा पाल टाँगेर बसेका उनीहरू जाडो र भोकले मर्छौँ कि भन्ने चिन्तामा छन्।

भूकम्पपछि चिउरीको चेहरा न बास न गाँस

जाजरकाेट: शुक्रबार राति गएको भूकप्पपछि नलगाड नगरपालिका–१ मा रहेको चिउरीगाउँको रङ उत्रेको छ। पूरै गाउँ भग्नावशेषमा रूपान्तर भएसँगै चिउरीगाउँबासी खेतमा पालमुनि समेटिएका छन्।

भूकम्पका झट्का सहन नसकेर यहाँका घरहरू गर्ल्यामगुर्लुम ढल्दा १३ जनाले ज्यान गुमाए। १५ जना घाइते भए। घाइतेमध्ये एक जनाको ज्यान गइसकेको छ। यस टोलका १७५ घरधुरीका सबै विस्थापित भएका छन्। सबै घरमा पूर्ण क्षति पुगेको छ।

भूकम्पले थिलथिलो भएको यस बस्तीमा तीन दिन बितिसक्दा पनि पर्याप्त राहत तथा पुनर्स्थापना नहुँदा भूकम्पपीडित थप समस्यामा परेका छन्। एउटै पालमुनि कोचाकोच गरेर ३० जना बस्नुपर्ने बाध्यता छ। 

राहतको कामना गरेर पालमुनि बसेका उनीहरू राहत बोकेर कोही आए कि भनेर बाटो हेरिरहन्छन् तर अझै पर्याप्त राहत पुगेको छैन। गाउँमा अझै आशाको किरण झुल्केको छैन। बरु बादलले आकाश मडारिएको छ। चिसो खेतमा पाल टाँगेर बसेका उनीहरू जाडो र भोकले मर्छौँ कि भन्ने चिन्तामा छन्। पानी परे के गर्ने भन्ने अर्को चिन्ता थपिएको छ।

स्थानीय कमला बिक भन्छिन्, "पानी नपरे, हुन्थ्यो। नत्र त हामीहरू मर्छौँ।"

यहाँ जाडो बढेको छ। शितले चिस्यो बनाएको भुइँमा एकसरो पनि ओछ्याउन नपाएरै रात कटाइरहेका छन् भूकम्पपीडितहरू। यसले गर्दा वृद्धवृद्धा तथा बालबालिकालाई बढी समस्या भएको छ। पानीमा भिज्यो भने के ओढ्ने, कहाँ ओत लाग्ने कुनै उपाय छैन। राहत गर्ने घोषणा भएका खबर पटकपटक सुनिरहन्छन् उनीहरू। तर राहत कहिले पाउँछौ भन्ने अत्तोपत्तो छैन।

नलगाड नगरपालिका–१ का वडाध्यक्ष धनबहादुर महर राहतको व्यवस्थापन भइरहेको बताउँछन्। पाल व्यवस्थापन हुन नसक्दा एउटै पालमुनि यति धेरै कोचिएर बस्नुपरेको उनको भनाइ छ। 

"पहिलो दिन उद्धार गर्नमै ठिक्क भयो। अर्को दिन शव जलाउनमै बित्यो। पाल व्यवस्थापन पूर्णरूपमा भएको छैन। त्यसैले यसरी बस्नुपर्ने अवस्था छ," उनले भने "३० जना एउटै पालमुनि बसेका छन्, खानेकुराको पनि अभाव छ।" राहतको लागि प्रयास भइरहेको उनले बताए।


सम्बन्धित सामग्री