Thursday, May 09, 2024

-->

इजरायल–हमास युद्धको १ महिनाः दशौँ हजार प्यालेस्टिनीको मृत्यु, झन् आक्रामक बन्दै इजरायल

युद्धविरामका लागि कतार, अमेरिका लगायत देश मध्यस्थता निभाउन लागिरहेका छन्। तर, हमासविरुद्ध बदलाभावमा उत्रिएको इजरायल भने युद्धविराम गर्ने लयमा देखिँदैन।

इजरायल–हमास युद्धको १ महिनाः दशौँ हजार प्यालेस्टिनीको मृत्यु झन् आक्रामक बन्दै इजरायल
तस्वीर: एपी

इजरायल हमास युद्ध शुरू भएको एक महिना पूरा भएको छ। अक्टोबर ७ मा प्यालेस्टिनी विद्रोही समूह हमासले अचानक इजरायली भूमि किबुत्जमा आक्रमण गरेपछि प्रतिआक्रमणमा उत्रिएको इजरायल अहिलेसम्म रोकिएको छैन।

इजरायली सेनाको लगातारको हमलामा परेर गाजामा १० हजार भन्दा धेरै प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। यस्तै २५ हजार भन्दा धेरै घाइते भएको गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमध्ये ४ हजार १०० बालबालिका रहेका छन्।

यस्तै इजरायली सेनाको हमालाबाट प्यालेस्टायनकै भूमि वेस्ट बैंकमा ज्यान गुमाउनेको संख्या १६३ पुगेको छ भने यो क्षेत्रमा अहिलेसम्म दुई हजार भन्दा धेरै घाइते भएका छन्।

हमासको पहिलो दिनको आक्रमणमा इजरायलमा १० जना नेपाली विद्यार्थीसहित एक हजार ४०० जनाको मृत्यु भएको थियो। जसमा ५ हजार ६०० जना घाइते भएका छन्। दुई सय जना जतिलाई हमासका लडाकुले बन्धक बनाएर लगेको बताइएको छ। उक्त आक्रमणमा नेपालका विद्यार्थी कञ्चनपुरका विपिन जोशी अझै बेपत्ता छन्। उनलाई पनि हमासले नै बन्धक बनाएर लगेको बताइएको छ।

योबीचमा हमासले चार जना बन्धकलाई रिहा गरेको छ। स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै गत हप्ता मात्रै दुई जना इजरायली महिलालाई रिहा गरेको थियो। त्यसअघि अमेरिकी नागरिक आमा छोरीलाई मुक्त गरेको थियो। आतंकवादी संगठन मानिएको हमासले युद्धकाबीच थौरै भए पनि मानवीयता प्रकट गरिरहँदा इजरायल भने उल्टै गाजाका अस्पताल र शरणार्थी शिविरमै हमला गरेर मानवताकै धज्जी उडाउने गरी क्रूरता दर्साइरहेको छ।

अक्टोबर १७ मा गाजाको अल अहली अस्पतालमा भएको हवाई आक्रमणमा परेर पाँच सयभन्दा धेरैको मृत्यु भएको थियो। इजरायलले उक्त आक्रमण आफूले नगरेको दाबी गरिरहँदा अन्तर्राष्ट्रियस्तरबाट भने उक्त आक्रमणको जिम्मेवार इजरायल नै भएको आरोप लागेको छ।

उक्त आक्रमणपछि यो युद्धमा इजरायलले मानवियता बिर्सेको र युद्ध नियम विपरीत आक्रमण गरेको आरोप लाग्न थाल्यो। त्यसपछि पनि इजरायल रोकिएन। उल्टै क्रूर बन्दै गएको इजरायलले गाजाका शरणार्थी शिविरमै हमला गर्न थाल्यो। गएको हप्ता मात्रै गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा इजरायली सेनाले आक्रमण गरेको थियो। अघिल्लो मंगलबार राति जबलिया शिविरमा भएको आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भयो। हमासले उक्त आक्रमणमा ४०० जना जतिको मृत्यु भएको बताएको छ।

यसरी इजरायलले अस्पताल र शरणार्थी शिविरलाई नै लक्षित गरेर आक्रमण गरिरहँदा विश्वका विभन्न देशमा देशमा इजरायलको आक्रमणविरुद्ध प्रदर्शन भइरहेका छन्। ती प्रदर्शनमा प्यालेस्टिनी नागरिकमाथिको हमला अन्त्य गर्न आवाज उठिरहेका छन्।

यस्तै इजरायली सेनाको निरन्तरको बमबारीका कारण गाजामा पानी, इन्धन लगायत अत्यावश्यक साधनको आपूर्ति रोकिएको छ। इन्धनको अभावका कारण आधाभन्दा धेरै अस्पताल सञ्चालन हुन सकेका छैनन्। मानिसहरू गाडीको सट्टा टाँगा चलाउन थालेका छन्। ग्यास नपाएर जैतुनका हरिया दाउरा जलाएरै खाना पकाउनुपर्ने बाध्यतामा प्यालेस्टिनी नागरिक पुगेका छन्। बमबारीमा पानीका पाइप, ट्यांकीमा क्षति पुग्दा पानीको हाहाकार भएको छ। खानेपानीको लागि घण्टौ लाइनमा बस्नुपर्ने अवस्था छ।

गाजामा पचास हजारभन्दा धेरै गर्भवती महिला भएको विश्व स्वास्थ्य संगठनले बताएको छ। तिमध्ये दैनिक डेढसय जति सुत्केरी हुने अवस्थामा छन्। यस्तो भयानक युद्धकाबीच न उनीहरूले सकुशल बच्चा जन्माउन सकेका छन्, न त जन्मिएका बच्चाहरूले उपचार नै पाएका छन्। 

इजरायलको नियमित आक्रमणले गाजाका ७० प्रतिशत नागरिक विस्थापित बनेका छन्। २३ लाख प्यालेस्टिनीमध्ये १६ लाख विस्थापित भएका हुन्।

इजरायल गाजामा नरसंहारमा उत्रिएको आरोप लाग्न थालेको छ। संयुक्त राष्ट्रसंघले इजरायलले गरिरहेको आक्रमण मानवतालाई नै बदनाम तुल्याउने कार्य भएको टिप्पणी गरेको छ।

"यसले मानवतालाई बदनाम गरेको छ," संयुक्त राष्ट्रसंघीय राहत निकायका प्रमुख मार्टिन ग्रिफिथले भनेका छन्।

नौ देशहरूले इजरायलमा रहेका आफ्ना राजदूतलाई स्वदेश फर्काइसकेका छन्। बहराइन, बोलिभिया, चाड, चिली, कोलम्बिया, होन्डुरस, जोर्डन, दक्षिण अफ्रिका र टर्कीले इजरायलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएका छन्। 

लेबनानकाे हिज्बुल्लाह पनि हमासको पक्षमा उभिएको छ। लेबनानबाट हिज्बुल्लाहले हमला गर्न थालेसँगै इजरायलको उत्तरी क्षेत्र पनि अशान्त बनेको छ। अरब राष्ट्रहरू प्यालेस्टायनका पक्षमा छन्। यो युद्धविरामका लागि कतार, अमेरिका लगायत देश मध्यस्थता निभाउन लागिरहेका छन्। तर इजरायलकाे हमासविरुद्ध बदलाको आगो दन्किरहँदा युद्धविराम हुने कुनै संकेत देखिएको छैन।

उल्टै, एक इजरायली मन्त्रीको भनाइलाई लिएर ठूलो हंगामा मच्चिएको छ। दक्षिणपन्थी पार्टीका सदस्य र इजरायली सरकारका सम्पदा मन्त्री अमिचाइ एलियाहुले हमासविरुद्ध गाजापट्टीमा आणविक हतियार प्रयोग गर्न आह्वान गरेका छन्। 

अरब मुलुकका धेरै देशहरूले यसप्रति कडा आपत्ति जनाएका छन् र संयुक्त राष्ट्रको आणविक हतियार अनुगमन निकायलाई इजरायलको उक्त कदममाथि हस्तक्षेप गर्न आग्रह गरेका छन्।

इजरायली प्रधानमन्त्री नेतन्याहूले ती मन्त्रीको भनाइलाई खण्डन गर्दै, उनी सुरक्षा निकायको सदस्य नभएको र आक्रमण कसरी गर्ने भन्ने निर्णय लिने अधिकार उनीसँग नभएको बताएका छन्। तर, आणविक हतियारको विवाद अझै सेलाएको छैन। विभिन्न देशका नेताहरूले इजरायली मन्त्रीको भनाइलाई सामान्यरूपमा लिन नहुने बताउँदै आएका छन्।  
 


सम्बन्धित सामग्री