Sunday, April 28, 2024

-->

‘बिरामी हेर्न नेता मात्र आउँछन्, डाक्टर आउँदैनन्’

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएका जाजरकोट भूकम्पका घाइतेहरूले शनिबार रातिसम्म पनि उपचार गर्ने डाक्टर भेट्न नपाएको, नेताहरू भने छिनछिनमा आइरहेको गुनासो गरेका छन्।

‘बिरामी हेर्न नेता मात्र आउँछन् डाक्टर आउँदैनन्’
तस्वीर : लोकेन्द्र/उकालो

वीरेन्द्रनगर (सुर्खेत)–  शुक्रबार रातिको भूकम्पको केन्द्र बनेको जाजरकोटको बारेकोट गाउँपालिका–१, सिल्पाचौरकी दुर्गा थापा शुक्रबारसम्म सकुशल थिइन्। जब घडीले रातको ११ः४५ बजायो, उनको परिवारमाथि विपत्तिको ढ्यांग्रो बज्यो। आफ्नो वडामा केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि ढुंगाले छाएको घर बचेन, भत्कियो। चार वर्षीया छोरी शिविका थापासँगै उनी भूकम्पमा परेर बेहोस् भइन्। सुर्खेत अस्पतालमा रहेकी थापा भन्छिन्, “खानासाना खाइ सुतिसकेका थियौँ। पहिला जमिन हल्लिएजस्तो भयो। सबै बिउँझियौँ। भाग्दाभाग्दै च्यापिहाल्यो।” 

गम्भीर घाइते भएकी उनलाई शनिबार दिउँसो मात्र हेलिकोप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो। सुर्खेतमा ल्याइसकेपछि उपचारका लागि हेरविचार गर्ने डाक्टर बेडमा आउँछन् भन्ने आशा थियो उनलाई। तर थापाले सोचेको जस्तो भएन। दिनको दुई बजेबाट बेलुकीसम्म पनि आफूलाई सोध्न कोही डाक्टर नआएको उनले गुनासो गरिन्। “डाक्टर आउँदैनन्, नेता मात्र सोध्न आउँछन्। नेता आएर के हुन्छ र? उनीहरूले उपचार गर्ने होइन। यस्तो भएको भए त हामीलाई नेपालगन्ज लिए हुन्थ्यो।” 


साथमा उनकी चार वर्षीया छोरी चोटको पीडाले छटपटाइरहेकी थिइन्। थापा दुई बजेदेखि डाक्टर आउलान् र उपचार होला भन्ने आशामा छिन्। बारेकोटबाट ल्याएर उनलाई केही समय प्रदेश अस्पतालको इमर्जेन्सी वार्डमा राखिएको थियो। त्यसपछि उनलाई त्यहाँबाट अर्थो वार्डमा सारियो। वार्डमा सारेपछि उनले डाक्टर भेट्न पाएकी छैनन्। “खाली नेता मात्रै आउँछन्। डाक्टरको नाक्तीमुक्ती (नाकमुख) देखिएको नाइँ।” 

थापा मात्र होइन, त्यो वार्डमा भर्ना भएका अन्य बिरामी र कुरुवाहरूको गुनासो पनि उही हो। बारेकोट गाउँपालिका–२, लिम्साका गनेशमान सिंहले पनि डाक्टर देख्न नपाएको गुनासो गरे। देखेका छन् त केबल १३ वर्षकी छोरी सम्पदा सिंहको छटपटाहट। उनी भन्छन्, “२ बजे सुर्खेत अस्पताल पठाएको हो। तर अहिलेसम्म उपचारका लागि हेरविचार गरेको छैन। डाक्टर आएका छैनन्। यसरी लापरबाही गर्नु भएन। भोलि हाम्रो ज्यान तलमाथि हुन सक्छ।” 

उनी आफैँ पनि प्राथमिक स्वास्थ्य चौकी लिम्सामा कार्यरत स्वास्थ्यकर्मी हुन्। उनले छोरीको छटपटी देख्न नसकेर एकपटक औषधि खुवाइसकेका छन्। तर अहिलेसम्म डाक्टरहरूले आएर के कस्तो भइरहेको छ? बिरामीको अवस्था कस्तो छ? भनेर नसोधेको सिंहको भनाइ छ। 

सिंह र थापाले भोगिरहेको पीडा अन्य बिरामीले पनि भोगिरहेका छन्। उनीहरूको एउटै गुनासो छ, “मन्त्री, सांसद किन आउनुपर्‍यो? उपचार गर्ने डाक्टर पो आउने हो।”

हुन पनि प्रदेश अस्पताल सुर्खेतमा नेताहरूको भीड अचाक्ली नै लागेको छ। शनिबार बेलुकी ६ बजे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालमा पुगेका थिए भने त्यसको करिब आधा घण्टाअघि प्रदेश प्रमुख तिलक परियार पुगेका थिए। त्यसको केही समयपछि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पुगेका थिए। 

हामीले प्रदेश प्रमुख परियारलाई सोध्यौँ, यत्रो तामझामसहित आउनुभएको छ, घाइतेहरूको अवस्था कस्तो पाउनुभयो? उनले भने, “बिरामीको अवस्था अहिले केहीको सुधार देखिन्छ। केहीको जटिल देखिन्छ। हामीले उपचारका लागि अस्पताल प्रशासनलाई सुझाव दिएका छौँ।” 

तर डाक्टरहरू नै ठूला नेता, मन्त्री, सांसदलगायत आएपछि बिरामी हेर्नुभन्दा उनीहरूकै पछाडि लाग्ने गरेका छन्। 

अहिलेसम्म जाजरकोट भूकम्पमा परेर घाइते भएका ३० जनालाई प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको छ। रुकुमको चौरजहारी नगरपालिका–१, घारिगाउँका नीरज विष्टको भने अवस्था जटिल रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। विष्टलाई बिहान साढे ६ बजेदेखि नै भेन्टिलेटरमा राखिएको छ। 

सुर्खेत अस्पतालको इमर्जेन्सी सेवा प्रमुख पृथ्वी शाही भने उपचारका लागि इमर्जेन्सी हेर्नुपर्दा केही जटिलता देखिएको बताउँछन्। “हामी भरपुर खटिएका छौँ। जतिसक्दो बिरामीलाई सेवा गर्ने कुरामा कमी राख्दैनौँ,” उनले भने।


सम्बन्धित सामग्री