Thursday, May 09, 2024

-->

कस्तो हो जाजरकोट भूकम्प, पश्चिम पहाडमा कति छ ठूलो भूकम्पको जोखिम?

पछिल्लो एक वर्षयता पश्चिम नेपालका पहाडी जिल्लामा पटक–पटक भूकम्प गइरहे पनि विनाशकारी भूकम्प, त्यसमा पनि महाभूकम्पकै खतरा यथावत् छ।

कस्तो हो जाजरकोट भूकम्प पश्चिम पहाडमा कति छ ठूलो भूकम्पको जोखिम

काठमाडौँ– शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ। अहिलेसम्म दुई जिल्लामा १३८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने खोज र उद्धार जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ। भूकम्पमा घर भत्केर घाइते भएकाहरूलाई उद्धार गरेर जाजरकोट, रुकुम, सुर्खेत र बाँकेका अस्पतालमा उपचार गरिँदैछ।

भूकम्पमा घाइते भएकाहरूको उद्धार र मृतकको शव निकाल्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली खटिएका छन्। काठमाडौँबाट गएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका टोलीसमेत भूकम्पप्रभावित क्षेत्रमा पुगेका छन्।

राति धेरैजना सुतिसकेको समयमा भूकम्प गएको र त्यहाँ धेरैजसो ढुंगा र माटोबाट बनेका कच्ची घर भएकाले ती घर भत्कँदा ठूलो क्षति भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको पहिलो भूकम्पपछि ४ म्याग्निच्युडभन्दा ठूला थप तीन वटा परकम्प गएका छन्। त्यसभन्दा साना अरू ३० भन्दा बढी परकम्प केन्द्रमा रेकर्ड गरिएको छ।

कस्तो हो जाजरकोट भूकम्प?
सुदूरपश्चिम र कर्णाली प्रदेशमा पछिल्लो एक वर्षमा ६ पटकभन्दा धेरै मझौला खालका (६ म्याग्निच्युड आसपास वा त्यसभन्दा ठूला) भूकम्प गएका छन्। त्यसमध्ये २०७९ कात्तिक २२ गते राति र २३ गते विहान डोटीलाई केन्द्र बनाएर ५.७ र ६.६ म्याग्निच्युडका भूकम्प गएका थिए।

त्यो भूकम्पमा डोटीमा ६ जनाको मृत्यु भएको थियो।

त्यसयता बझाङ, बाजुरा लगायतका जिल्लालाई केन्द्र बनाएर पटक–पटक भूकम्प गइरहेका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार शुक्रबार राति जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्प मध्यम खालको भूकम्प हो।

अधिकारीका अनुसार ५ म्याग्निच्युडभन्दा साना भूकम्पलाई सूक्ष्म भूकम्प भनिन्छ। ६ देखि ७ म्याग्निच्युडसम्मको भूकम्पलाई मध्यम खालको भूकम्प मानिन्छ। ७ देखि ८ म्याग्निच्युडको भूकम्पलाई शक्तिशाली भूकम्प भनिन्छ। २०७२ वैशाख १२ गते गोरखालाई केन्द्र बनाएर गएको, करिब ९ हजारको ज्यान गएको भूकम्प यही खालको हो।

८ म्याग्निच्युड वा त्योभन्दा माथिको भूकम्पलाई भने महाभूकम्प भनिन्छ। नेपाल महाभूकम्पको जोखिममा रहेकाले आवश्यक तयारीमा जुट्नुपर्ने चर्चा २०७२ सालको भूकम्प जानुभन्दा अघिदेखि नै हुँदै आएको हो।

जाजरकोटलाई केन्द्र बनाएर गएको शुक्रबार रातिको भूकम्पले धेरै घरहरू चर्किएको, ती घरहरू कमजोर भएकाले अब जाने स–साना परकम्पका कारण पनि ती घरहरू जोखिममा रहेको अधिकारी बताउँछन्। “जति ठूलो क्षति हुने हो, मुख्य भूकम्पले गरिसक्यो। क्षति नभएका कमजोर संरचना परकम्पहरूले क्षति गर्न सक्ने सम्भावना रहिरहन्छ,” अधिकारी भन्छन्।

के ठूलो भूकम्पको सम्भावना कम भएको हो?
ठूलो भूकम्पको खतरा टर्न मध्यम खालका भूकम्पहरू गइरहनुपर्छ। अधिकारीका अनुसार मध्यम खालका भूकम्पहरू गइरहे भने ठूलो भूकम्प जानका लागि जम्मा भएको शक्ति बाहिर निस्कन्छ र त्यसले ठूलो भूकम्पको खतरालाई घटाउँछ। तर नेपालमा अहिलेसम्म सञ्चित भएको शक्तिले निकास पाउनेगरी मध्यमखालका भूकम्प गएका छैनन्।

“७ म्याग्निच्युडको भूकम्पभन्दा ८ म्याग्निच्युडको भूकम्प ३२ गुणा शक्तिशाली हुन्छ। उदाहरणका लागि महाभूकम्प अर्थात् ८ म्याग्निच्युड वा त्योभन्दा ठूलो भूकम्पको शक्ति निकास गर्नका लागि ३२ वटा ७ म्याग्निच्युडका भूकम्प जानुपर्छ,” उनी भन्छन्, “६ म्याग्निच्युडका भूकम्प गएर ८ म्याग्निच्युडको भूकम्पको शक्ति रिलिज हुने हो भने १ हजार वटा ६ म्याग्निच्युडका भूकम्प जानुपर्छ। दुई चार वटा भूकम्पले महाभूकम्प र शक्तिशाली भूकम्पको खतरा टर्दैन।”

भूगर्भविद् एवं त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक वसन्तराज अधिकारीका अनुसार हिमालय पर्वत शृंखला बन्ने क्रममा इन्डियन प्लेट यूरेसियन प्लेटमा हरेक वर्ष करिब २ सेन्टिमिटरका दरले भित्र दबिरहेको छ। यसरी दुइटा प्लेटबीच एकापसमा घर्षण उत्पन्न हुँदा शक्ति उत्पन्न हुन्छ र निश्चित समयपछि उक्त सञ्चित शक्ति बाहिर निस्कन्छ। त्यो शक्ति तरङ्गका रूपमा यात्रा गर्छ जसले पृथ्वीलाई कम्पन गराउँछ। भूकम्प त्यही कम्पनकै रूप हो।

भूकम्प तथा भूगर्भविद्हरूका अनुसार सन् १५०५ अर्थात ५१८ वर्षयता नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको ७.८ म्याग्निच्युडको भूकम्प छुट्टै ‘टेक्टोनिक प्लेट’मा गएको थियो। त्यसकारण पनि पोखराभन्दा पश्चिम, भारतको देहरादूनसम्मको भू–भागमा कुनै पनि समय ठूलो भूकम्प जान सक्ने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउँछन्।

“भूकम्प कहिले जान्छ भन्नेबारे पूर्वानुमान गरेर भन्न सकिन्न। तर पोखरादेखि पश्चिम भारतको देहरादुनसम्मको भू–भागमा ठूलो भूकम्प नगएको लामो समय भएकाले कुनै पनि समय ठूलो भूकम्प जानसक्छ,” उनी भन्छन्, “हामीले थाहा नपाउने खालका सयौँ भूकम्पहरू दिनहुँ गइराखेका हुन्छन्। त्यो भनेको हामी भूकम्पको जोखिमपूर्ण क्षेत्रमा छौँ भन्ने संकेत हो।”

नेपालको भूकम्पीय इतिहासमा ७५ देखि एक सय वर्षमा एक महाभूकम्प र प्रत्येक ५० वर्षमा शक्तिशाली भूकम्प गएको देखिन्छ। भूकम्पविद्हरूका अनुसार नेपाल भूकम्पीय क्षतिको जोखिममा हुनुका मुख्य कारणहरूमा चाहिँ नेपालको भौगर्भिक अवस्था र मानवनिर्मित जोखिमपूर्ण भौतिक संरचना मुख्य जिम्मेवार छन्।

पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमारसम्म फैलिएको हिन्द–कुश हिमालय पर्वत शृंखलाको अति संवेदनशील मानिने तीन हजार पाँच सय किलोमिटर भूकम्पीय क्षेत्रको आठ सय किलोमिटर नेपालमै पर्छ। नेपाल यसको मध्यखण्डमा पर्छ। यसकारण पनि नेपाल उच्च भूकम्पीय जोखिममा छ। भूगर्भविद्हरूका अनुसार भूकम्प निम्त्याउन सक्ने ९२ वटा ‘फल्टलाइन’ नेपालकै भू–भागमुनि छन्। 

पहिले पनि गएका थिए मध्यम भूकम्प
२०३७ साउन १४ गते बझाङलाई केन्द्र बनाएर भूकम्प गएयता सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडमा शुक्रबार राति गएको भूकम्प अहिलेसम्मको ठूलो भूकम्प हो। “२०३७ सालको भूकम्प मापन फरक थियो, त्यो भूकम्प गत वर्ष डोटी र गएराति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भन्दा ठूलो भूकम्प हो,” अधिकारी भन्छन्।

बझाङ केन्द्रबिन्दु रहेको २०३७ सालको भूकम्प ६.५ म्याग्निच्युडको थियो। शुक्रबार राति जाजरकोटलाई केन्द्र बनाएर गएको ६.४ र गत वर्ष डोटीलाई केन्द्र बनाएर गएको भूकम्प ६. म्याग्निच्युडका हुन्।

२०३७ सालको भूकम्पमा १७० जनाको मृत्यु भएको थियो। एक हजारभन्दा धेरै घर भत्केका थिए। त्यसपछि २०५३ पुस २१ गते बैतडीलाई केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।


सम्बन्धित सामग्री