Saturday, May 04, 2024

-->

मंसिरमा हुनुपर्ने रास्वपाको महाधिवेशन, नेताहरूमै छैन हुने विश्वास

रास्वपाको विधानअनुसार राष्ट्रिय महाधिवेशन अगाडि वडा, पालिका र प्रदेशको अधिवेशन गरिसक्नु पर्छ। तर अहिलेसम्म उसले पालिकास्तरमै संगठन विस्तारको काम सकेको छैन।

मंसिरमा हुनुपर्ने रास्वपाको महाधिवेशन नेताहरूमै छैन हुने विश्वास

काठमाडौँ– “संघीय निर्वाचन सम्पन्न भएको एक वर्षभित्र पार्टीले राष्ट्रिय महाधिवेशन गर्नेछ। यदि प्रतिनिधिसभाले आफ्नो पाँचवर्षे कार्यकाल पूरा नगरी राष्ट्रमा मध्यावधि चुनाव भएमा राष्ट्रिय महाधिवेशन सो चुनावको एक वर्षभित्र गरिसक्नुपर्नेछ,” राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विधानको भाग ११ को धारा ४७ मा यस्तो लेखिएको छ। तर संघीय निर्वाचनको एक वर्ष बितिसक्दा पनि रास्वपामा महाधिवेशनको चर्चा खासै चलेको छैन।

गएको शुक्रबार जाजरकोटमा भूकम्प गएपछि पछिल्ला केही दिनयता रास्वपाका नेता र सांसदहरू भूकम्प प्रभावित क्षेत्रमै व्यस्त देखिन्छन्। पार्टी सभापति रवि लामिछाने चार दिन बसेर मंगलबार दिउँसो मात्रै काठमाडौँ फर्केका छन्। अन्य केही नेताहरू भूकम्प प्रभावित क्षेत्रमै छन् भने बाँकी काठमाडौँबाटै सरकारलाई ध्यानकर्षण गराउने कार्यमा संलग्न छन्। यसबीचमा रास्वपाले कात्तिकको २१ र २२ गते मधेश प्रदेशमा केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बोलाएको थियो। तर अचानक भूकम्प गएपछि त्यो बैठक अब छठसम्मको लागि स्थगित गरिएको छ।

रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार महाधिवेशनका लागि पार्टीभित्र अहिलेसम्म कुनै तयारी देखिएको छैन। पार्टीका अन्य महत्वपूर्ण कामहरूका कारण महाधिवेशन समयमा हुनसक्ने सम्भावना कम देखिएको उनी बताउँछन्। “समयमै महाधिवेशन गर्नुपर्छ भन्ने जोड केही साथीहरूले गरिरहनुभएको छ। तर पार्टीको संगठन विस्तारको काम नसकिएको हुनाले केही ढिला हुनसक्छ,” उनी भन्छन्, “हामीले पनि अरू पार्टीजस्तै समयमा महाधिवेशन गर्न नसक्ने भयौँ भने यसले गलत सन्देश जान सक्छ भन्नेतर्फ पनि साथीहरूले ध्यान दिनुपर्छ।”

रास्वपाको विधानअनुसार महाधिवेशनको ६ महिनाअगाडि नै पार्टीले निर्वाचन समितिको सिफारिसमा महाधिवेशनको मिति र स्थान तोकिसक्नु पर्ने छ। तर अहिलेसम्म पार्टीले महिधिवेशनको लागि न मिति तोकेको छ न त महाधिवेशनस्थल नै।

“तोक्नु पर्ने मिति र स्थान नै समयमा तोकिएको छैन। यसले समयमा महाधिवेशन हुन नसक्ने संकेत गर्छ,” कार्की भन्छन्, “समयमा महाधिवेशन होस् भन्ने चाहनाले थप मेहनतका साथ तयारी अगाडि बढाउनु पर्ने देखिन्छ।”

‘मंसिरभित्रै महाधिवेशन प्रक्रियामा गइसक्छौँ’
रास्वपाको विधानमा केन्द्रीय समिति १२१ सदस्यीय हुने व्यवस्था छ। तर पार्टी स्थापना भएको एक वर्ष बितिसक्दा पनि उसले केन्द्रीय समितिमा त्यसको एकतिहाई सदस्य पनि पुर्‍याएको छैन। अहिले रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय छ।

रास्वपाका २१ जना प्रतिनिधिसभा सदस्यमध्ये ६ जना मात्र केन्द्रीय सदस्य छन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र स्वास्थ्य राज्यमन्त्री भइसकेकी तोसिमा कार्कीलाई समेत केन्द्रीय सदस्य बनाइएको छैन। संसद्‍मा प्रभावशाली देखिएका स्वर्णिम वाग्ले, मनिष झालगायत सांसद पनि केन्द्रीय सदस्य छैनन्।

रास्वपा उपसभापति डीपी अर्याल भने महाधिवेशनपछि मात्रै १२१ सदस्यीय केन्द्रीय समिति बनाइने बताउँछन्। अहिले जति पनि केन्द्रीय सदस्य बनाउन सकिने सुविधाका कारण १२१ सदस्य नै पुर्‍याउने कुनै बाध्यता नभएको उनको भनाइ थियो।

पार्टी स्थापनाको एक वर्षमा पनि केन्द्रीय समितिलाई पूर्णता नदिएको रास्वपाले महाधिवेशनबाट नै समितिलाई पूर्ण बनाउने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल बताउँछन्। विधानबमोजिम नै मंसिरभित्रै महाधिवेशन प्रक्रियामा गइसक्ने उनको दाबी छ।

“हाम्रो पूर्वनिर्धारित बैठक भूकम्पले गर्दा स्थगित गर्नुपर्‍यो। नभए हामी महाधिवेशनको मिति तोकेर प्रक्रियामा गइसकेका हुन्थ्यौँ,” ढकाल भन्छन्, “तर केही छैन। अब हामी छठ सकिनेबित्तिकै बैठक बसेर मिति तोक्ने र प्रक्रिया अगाडि बढाउने काम गर्छौँ। महाधिवेशन प्रक्रिया विधानअनुसार मंसिरमै शुरू हुन्छ।”

रास्वपाको विधानअनुसार राष्ट्रिय महाधिवेशनभन्दा अगाडि पार्टीले वडा, पालिका र प्रदेशको अधिवेशन गरिसक्नु पर्ने व्यवस्था छ। तर पार्टीले हालसम्म पालिकास्तरमा संगठन विस्तारको काम नै सकेको छैन। महामन्त्री ढकाल भने संगठन विस्तारको काम बाँकी भए पनि महाधिवेशन प्रक्रिया र संगठन विस्तारको काम सँगसँगै अगाडि बढाइने बताउँछन्।

“हाम्रो पार्टीको कतिपय ठाउँमा संगठन विस्तारको काम बाँकी छ। तर त्यसले महाधिवेशन प्रक्रियामा केही फरक पार्दैन। हामी नयाँ पार्टी भएकाले केही समस्याहरू छन् तर संगठन निर्माण र महाधिवेशनको काम सँगसँगै लान्छौँ,” उनी भन्छन्, “हामीले अनलाइन प्रक्रियाबाटै वडा-वडामा समितिहरू गठन गरिरहेको हुनाले यसमा धेरै समय लाग्दैन र महाधिवेशनलाई पनि यसले खासै फरक पार्दैन।”

देशैभरका ७५३ पालिकामध्ये जम्मा ३०० पालिकामा मात्रै रास्वपाको संगठन विस्तार भएको छ। ४५३ पालिकामा पार्टीको संगठन बनाउने काम मंसिरभित्रै सक्ने तयारी रहेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी बताउँछन्।      

‘दोस्रो महाधिवेशन समयमै हुन्छ’ 
विधानअनुसार पहिले वडा, पालिका र प्रदेशको अधिवेशन गर्नुपर्ने प्रक्रियाले राष्ट्रिय महाधिवेशन मंसिरमा नहुने निश्चित छ। महामन्त्री ढकाल पनि मंसिरमै राष्ट्रिय महाधिवेशन गर्न नसकिने बताउँछन्।

“तलबाट अधिवेशन गर्दै आउनुपर्ने भएकाले पक्कै पनि राष्ट्रिय महाधिवेशनसम्म आउँदा त समय लाग्छ होला,” उनी भन्छन्, “कति समय लाग्छ ठ्याक्कै भन्ने स्थिति त छैन, तर समय चाहिँ लाग्छ।” पहिलो महाधिवेशन भएका कारण नै स्थिति अलिक असहज भएको महामन्त्री ढकाल बताउँछन्। दोस्रो महाधिवेशन समयमै हुने उनको दाबी छ।

सहमहामन्त्री बुर्लाकोटी पनि पहिलो महाधिवेशनसम्म आउँदा संगठन विस्तारकै काम नसकिएकाले राष्ट्रिय महाधिवेशनमा केही ढिलाइ हुने बताउँछन्। “हामी चरणबद्ध रूपमा महाधिवेशन गर्छौँ। मुलुकमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएजस्तै हामी पार्टीको गर्छौँ,” उनी भन्छन्, “राष्ट्रिय महाधिवेशनसम्म आउँदा केही ढिला होला, तर प्रक्रिया त समयमै शुरू हुन्छ र दोस्रो महाधिवेशन चाहिँ तोकिएको समयमै सकिन्छ।”


सम्बन्धित सामग्री