Sunday, April 28, 2024

-->

उकालो साप्ताहिक ब्रिफिङ : मरुभूमिको बाटोमा मधेश, पोखरी ब्युँताउँदै स्थानीय सरकार

यो साताको उकालो न्युजलेटरमा मरुभूमि बन्ने बाटोमा मधेश, व्यापारिक घरानाको जग्गा प्लटिङमा नगरपालिकालाई अख्तियारको पत्र, बाँसबारीको जग्गा प्रकरणका फलोअप सहितका खबर समावेश छन्।

उकालो साप्ताहिक ब्रिफिङ  मरुभूमिको बाटोमा मधेश पोखरी ब्युँताउँदै स्थानीय सरकार

यो सप्ताहको न्युजलेटरको शुरूआत गरौँ मरुभूमि बन्ने बाटोमा रहेको मधेशबाट। फागुन १४ गते प्रकाशित यस रिपोर्टले पछिल्लो १९ वर्षमा मधेश प्रदेशमा कसरी नदी आसपासको साढे २७ हजार बिघा खेत बगरमा परिणत भएको छ भन्नेबारे विस्तृत अध्ययन पाठकसामु पेस गरेको छ।

मधेशका आठ वटा नदीमा गरिएको अध्ययनले १९ वर्षबीचमा २७ हजार ५९२ बिघा खेतीयोग्य जग्गा बगरमा बदलिएको देखाएको छ। यति धेरै उर्वर जग्गा मरुभूमीकरण हुनुलाई विज्ञहरूले ‘डरलाग्दो’ भनेका छन् भने यस स्टोरीले मधेशको पर्यावरण, कृषि र प्राकृतिक संशाधनसँग जोडिएको जनजीविकाको गम्भीर चिन्ता उजागर गरिदिएको छ।

यसपछि पालो उकालो समाचार प्रभावको। बितेका हप्तामा उकालोले उजागार गरेका केही केसका आधारमा सम्बन्धित निकायले कानूनी प्रक्रिया अगाडि बढाएका केही दृष्टान्त हामीले साझा गरेका थियौँ। यसै क्रममा ललितपुरको गोदावरी नगरपालिकाले खोला पुरेर निजी जग्गा प्लटिङलाई सघाउन बाटो निकालेको रिपोर्ट उकालोले उजागर गरेपछि यो हप्ता अख्तियारले यस प्रकारणमा चासो देखाउँदै नगरपालिकालाई पत्र काटेको छ।

विस्तृत: बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा प्लटिङ प्रकरणः अख्तियारले नगरपालिकालाई काट्यो पत्र

यसैगरी, राष्ट्रिय संग्रहालयबाट ५६ वर्षअघि चोरिएका लगभग १०० वर्ष पुराना सम्पदा बेल्जियमका एक संग्रहकर्ताबाट फिर्ता लिन सफल एआरआईका संस्थापक क्रिस्टोफर ए. मारिलेनोले शुक्रबार ब्रसेल्सस्थित नेपाली दूतावासमार्फत नेपाललाई जिम्मा लगाउँदैछन्।

अभिलेखालयमा २०२६ सालको अन्त्यसम्म सुरक्षित रहेका र त्यसपछि चोरिएका शिवधर्म, विष्णुधर्म र भागवत पुराणका हस्तलिखित काठका गाताचित्रमध्ये ब्रसेल्समा फेला परेको ‘शिवधर्मशास्त्रम्’ कृतिका दुई थान गाताचित्र घर फिर्ता हुन लागेको हो। २०२४ सालमा स्थापित राष्ट्रिय अभिलेखालयमा वीर पुस्तकालयबाट ल्याइएका राजदरबारका २५ हजार हस्तलिखित ग्रन्थमध्ये यी धार्मिक कृतिहरू पनि संकलित थिए।

अन्तर्राष्टिय रूपमा प्रचलित आर्ट रिकभरी इन्टरनेशनल (एआरआई) को पहलमा यो साता ब्रसेल्सस्थित नेपाली दूतावासमा बुझाइन लागेको गाताचित्रसहित इटुम्बहालको पुरातात्विक कलात्मक टुँडाल पनि फिर्ता आउने भएको छ। यी सम्पदा फर्काउन ‘लस्ट आर्टस् अफ नेपाल’ र सम्पदा पुनर्स्थापना अभियानले सोध–अनुसन्धान, पत्राचार तथा कानूनी प्रकृयामार्फत अभियान चलाउँदै आएका थिए।

बेल्जियममा रहेका कला संग्रहकर्ताले आफ्नो परिचय नखुलाई र कुनै कानूनी प्रकृयाबिनै यी सम्पदा फिर्ता गर्न तयार भएको एआरआईका संस्थापक सीईओ क्रिस्टोफर ए. मारिलेनोले जानकारी दिएका छन।

उकालो फलोअप
बाँसबारीको जग्गा फिर्ता ल्याउन सरकारले शुरू गरेको प्रक्रिया रोक्न चौधरी समूह सर्वोच्चमा
सीजी चाँदबागले मालपोतमा बुझायो फाइल, अध्ययन गरेर प्रक्रिया अघि बढाइने
जुद्धोदय स्कुल तहसनहस पारेर व्यापारीले ठड्याएको कम्प्लेक्सः छानबिन सकेको ७ महिनासम्म के कुरिरहेछन् बालेन?
पाँच वर्ष कैद सजाय सुनाइएका एन्फा उपाध्यक्ष लामा पदमै, साधारणसभामा भएन विषय प्रवेश

राजनीति/सुशासन
रास्वपा महाधिवेशनको तयारी सुस्त, संगठन विस्तार गर्न नसक्ने प्रदेश महामन्त्रीहरू धमाधम हटाइँदै
प्रदेश महामन्त्रीहरूमाथि निगरानी बढाएको रास्वपाले तीन प्रदेशका महामन्त्रीको जिम्मेवारी हेरफेर गरिसकेको छ। समय दिन र दायित्व पूरा गर्न नसकेको भन्दै अन्य दुई महामन्त्री जिम्मेवारीबाट ‘ब्याक’ भएका छन्।

टेरामक्स उपकरण खरिदमा भएको भ्रष्टाचार : को–को तानिएलान् अनुसन्धानमा?
हालसम्मको अनुसन्धानले खरिद प्रक्रियाको प्रारम्भदेखि एकपछि अर्को निर्णयमा तत्कालीन सञ्चारमन्त्री बस्नेतको सक्रियता देखाए पनि मुद्दा दायर हुँदासम्म के हुन्छ अहिल्यै भन्न नसकिने अख्तियारस्रोत बताउँछ।

समाज
जब नौ वर्षीय बालकले हजुरबुवालाई भने–मेरो कान हालिदेऊ
तीन वर्षअघि आगोमा परेर शरीरको दाहिने भाग जलेको थियो। जलनको घाउ निको हुँदै गर्दा ज्यानको खत हेरेर समाजले अनेक लाञ्छना लगायो। त्यसबाट झन् बढी जलेको मन बिस्तारै बलियो हुँदैछ।

उपत्यकाका प्राचीन पोखरी ब्युँताउन लागिपरेका स्थानीय सरकार
स्थानीय तहमा जनप्रतिनिधि आएसँगै नेपाल मण्डलका रैथाने बस्तीमा मासिएका पुराना पोखरीहरू ब्युँतिँदैछन्। पुनर्निर्मित पोखरीको दीर्घकालीन संरक्षण र सम्बर्द्धनमा भने सम्पदाप्रेमीहरू ढुक्क हुन सकेका छैनन्।

खेल
अत्यधिक गतिविधिले बिग्रियो दशरथ रंगशालाको मैदान, एन्फाले गुमाउँदैछ अन्तर्राष्ट्रिय प्रतियोगिता
खेलकुद मात्र नभई अन्य कार्यक्रमसमेत हुने दशरथ रंगशाला मैदान लगातार प्रयोगले बिग्रिँदा अन्तर्राष्ट्रिय फुटबल नै नहुने अवस्था आएको छ। जस कारण ‘१२औँ खेलाडी’ भनिने दर्शक मात्र होइन र आम्दानी पनि गुम्दैछ।

प्रविधि
एआईले निर्वाचनमा विश्वभर यसरी पार्दैछ प्रभाव, नेपालले के सिक्ने?
यो वर्षको शुरूमा पाकिस्तान र इन्डोनेसियामा भएका निर्वाचनमा एआईको भरपूर प्रयोग भयो। मार्च या अप्रिलमा भारत र नोभेम्बरमा अमेरिकामा हुने निर्वाचनमा मतदाता आकर्षित गर्न अहिलेदेखि नै कसरत शुरू भइसकेको छ। 

स्वास्थ
सुन्न नसक्नेका लागि ‘वरदान’ बनेको उपचार प्रविधिः कक्लिअर इम्प्लान्ट
जन्मजात श्रवण क्षमता नभएका बालबालिका र कुनै रोग वा दुर्घटनाका कारण नसुन्ने भएका मानिसले चिकित्सकसँग सल्लाह गरेर समयमै कक्लिअर इम्प्लान्ट गरेमा सुन्न सक्छन्।


सम्बन्धित सामग्री