Wednesday, May 08, 2024

-->

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ

स्थानीयले निकुञ्जबाट वन्यजन्तु बस्तीमा पस्ने स्थानका खेतमा माछापोखरी बनाएपछि वन्यजन्तु निकुञ्ज बाहिर आउन पनि कम भएको छ। साथै पाहुनाका लागि माछापोखरीमा पालेका माछा खपत हुँदा आम्दानीमा थप वृद्धि भएको छ।

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ

माडी– चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेकी सञ्चालक पम्फा श्रेष्ठ आयआर्जनमा वृद्धि भएकामा खुशी छिन्। होमस्टे सञ्चालन अघि चितवन राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुले बालीनाली क्षति गरेर वर्षभरी खानसमेत नपुग्ने अवस्थाको स्मरण गर्दै उहाँ भन्छिन्, “अहिले होमस्टेबाट आम्दानी बढेको छ, खेतबारीका अन्न र सागतरकारी समेत गाउँमै खपत भएका छन्।”

स्थानीयले निकुञ्जबाट वन्यजन्तु बस्तीमा पस्ने स्थानका खेतमा माछापोखरी बनाएपछि वन्यजन्तु निकुञ्ज बाहिर आउन पनि कम भएको छ। साथै पाहुनाका लागि माछापोखरीमा पालेका माछा खपत हुँदा आम्दानीमा थप वृद्धि भएको छ। 

“पहिले वर्षायामभरी दुःख गरेर खेती गर्‍यो, हिउँद लागेपछि हात्ती, गैँडा, चित्तल, बँदेल, मजुरलगायत वन्यजन्तुले खाइदिन्थ्यो,” श्रेष्ठ भन्छिन्, “अहिले होमस्टेबाट भएको आम्दानीले घरखर्च चलेको छ, वन्यजन्तुको आक्रमण नियन्त्रण भएको छ, गाउँमै बत्ती, सडक, ग्यास र यातायातको सुविधा पुगेको छ, घाँस दाउराका लागि जंगल जानुपर्दैन।”

२०७२ सालमा १० घरधुरीबाट शुरू गरिएको यहाँ हाल १४ घरमा होमस्टे सञ्चालन गरिएका छन्। अयोध्यापुरी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगरका अनुसार होमस्टेमा ८८ पाहुना राख्न सक्ने क्षमता छ। समितिले छिट्टै २५ घरधुरीमा होमस्टे पुर्‍याउने लक्ष्य रहेको जनाएको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बस्तीमा वन्यजन्तुबाट पीडित भएपछि होमस्टे बनाउनुपरेको अध्यक्ष पुनमगरको भनाइ छ। पर्यापर्यटनको अवधारणाअनुसार वन्यजन्तुलाई नै देखाएर आयआर्जन गर्न होमस्टे शुरू गरिएको हो। कुनै बेला जीविकोपार्जनका लागि आफै पनि विदेश जाने गरेको सुनाउँदै उनी हाल गाउँमै बसेर घरखर्च चलाउन सहज भएको बताउँछन्। 

होमस्टेमा स्वदेशी तथा विदेशी पाहुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा जंगली जनावर अध्ययन अवलोकन गर्न, स्थानीय मगर संस्कृति र धार्मिकस्थल हेर्न, सामुदायिक पोखरी, साइकिलिङ, पर्यटकस्थलको भ्रमण गर्न यहाँ आउने गरेका छन्। समितिले आम्दानीको १० प्रतिशत रकम जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धनमा छुट्ट्याउने गरेको छ। चितवन राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा फैलिएको छ। 

निकुञ्जकै मध्यवर्ती क्षेत्रमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनिया थारु होमस्टे सञ्चालनपछि स्थानीय जनता र संघ संस्थाको पहलमा वनको संरक्षण र वन्यजन्तुको बासस्थान राम्रो भएको बताउँछन्।  

“संरक्षणका लागि स्थानीय नै लाग्नुपर्ने अभियान चलाएपछि थोरै रकमबाट व्यवसाय गरेर तिनै वन्यजन्तु देखाएर आयआर्जन गर्नुपर्छ भन्ने उद्देश्यले नै होमस्टे शुरू गरेका हौँ,” उनले भने, “अहिले स्थानीयमा वन, वन्यजन्तु र प्राकृतिक स्रोत हाम्रै सम्पत्ति हो भन्ने अपनत्व बढेको छ। घर आगन सरसफाइ, बोलीचाली, व्यवहार, बसाइ तथा जीवनशैली, जिउने कला सबैमा सकारात्मक परिवर्तन भएको छ।”

पहिले वन्यजन्तुले गर्ने क्षतिका कारण स्थानीय बसाइँसराइ गरेर गाउँ नै खाली हुने अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष थारु अहिले सबै आफ्नो थातथलोमा खुशी साथ बसेको बताउँछन्। अहिले वन्यजन्तु आउने स्थानमा तारजाली र पीसीसी पर्खाल लगाएका कारण मानव–वन्यजन्तु द्वन्द्वसमेत न्यूनीकरण भएको छ। यस होमस्टेमा थारु र बोटे समुदायको संस्कृति अवलोकन, स्थानीय परिकार, खानपिन, सूर्यास्तको दृश्य, थारु संग्रहालय, वन्यजन्तु अवलोकलन, हात्ती सफारी, नारायणी नदी डुंगामा बोटिङ, गिद्ध रेस्टुराँ अवलोकन आदि पर्यटकका आकर्षक गन्तव्य हुन्।

होमस्टे महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका थारुका अनुसार यहाँ हाल ३१ घरधुरीमा १२४ बढी पाहुना राख्ने क्षमता छ। पहिला वन्यजन्तु देखेपछि लखेट्ने यहाँका स्थानीय अहिले संरक्षण गर्न अग्रसर भएका छन्।

अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेकै अर्का सञ्चालक धनमाया महतो होमस्टे सञ्चलनपछि आर्थिक अवस्थामा धेरै सुधार आएको बताउँछिन्। “पहिला परिवार पाल्न अधिकांश पुरुष कि विदेश जान्थे, नसक्ने भारत जानुपर्ने अवस्था थियो। घाँसदाउरा र काठको बढ्दो प्रयोगले वन विनाश भएको थियो,” उनले भनिन्, “अहिले होमस्टेको आम्दानीबाट घरखर्च चलेको छ, हाल वन्यजन्तु बढ्यो भने अवलोकन गर्न पाहुना आउँछन् र आयआर्जनमा थप टेवा पुग्छ भन्ने सोचको विकास भएको छ।”

महिला समूहमार्फत शिक्षा र चेतनाको स्तर बढेको र सहकारी खोलेर आर्थिक व्यवस्थापन गर्न सिकेको महतोको भनाइ छ। कुनै बेला दुर्गम अवस्थामा रहेको आफ्नो गाउँ हाल सडक, यातायात, बिजुलीलगायत अन्य सुविधायुक्त भएको उनको भनाइ छ। 


सम्बन्धित सामग्री