Monday, April 29, 2024

-->

भूकम्पका घाइतेको उपचारमा सरकारकै विभेद, ‘पहुँचवाला’का आफन्त रूकुमबाट सिधै काठमाडौँ

जाजरकोट र रूकुमपश्चिमको भूकम्पका घाइतेहरूको सम्बन्धित जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत र भेरी अस्पताल नेपालगन्जमा उपचार हुँदै गर्दा ‘पहुँचवाला’ सामान्य घाइतेलाई काठमाडौँ ल्याइएको छ।

भूकम्पका घाइतेको उपचारमा सरकारकै विभेद ‘पहुँचवाला’का आफन्त रूकुमबाट सिधै काठमाडौँ

काठमाडौँ– शुक्रबार मध्यरातमा गएको भूकम्पले जाजरकोट र रूकुमपश्चिममा ठूलो मानवीय क्षति भएका खबर शनिबार अपराह्नसम्म निरन्तर आइरहेका थिए। भूकम्पमा मृत्यु हुनेको संख्या बढ्न सक्ने आकलनमा सरकारी अधिकारीहरू थिए। उपचारका लागि सामान्य घाइतेलाई स्थानीय अस्पताल र गम्भीर घाइतेलाई सुर्खेतस्थित प्रादेशिक अस्पताल तथा नेपालगन्जस्थित भेरी अस्पतालमा पुर्‍याउने क्रम जारी थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै यी दुवैलाई भूकम्पका घाइतेको उपचारका लागि ‘डेडिकेडेड’ अस्पताल घोषणा गरेको थियो।

सुर्खेत र नेपालगन्जका अस्पतालका प्रमुखहरूले भूकम्प प्रभावित क्षेत्रबाट थप गम्भीर घाइतेहरू ल्याइए उनीहरूको उपचार गर्न अस्पताल सक्षम रहेको भन्दै चिकित्सकहरूको टोली ‘स्ट्यान्डबाइ’ बसिरहेको बताइरहेका थिए। तर अपराह्न करिब ४ बजे नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजमा ’जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौँ ल्याइएको, घाइतेहरूको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जतर्फ लैजान सहयोग गर्दै सुरक्षाकर्मीहरू’ भनेर तस्वीरहरू सार्वजनिक गरियो।     

यो सूचना पाएलगत्तै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्दा  आकस्मिक कक्ष बिरामीले खचाखच देखिन्थ्यो। बिरामीको उपचारमा चिकित्सकलाई भ्याइनभ्याइ थियो। त्यो भीडमा शरीरका केही भागमा चोटपटक लागेका ८ जना व्यक्ति पनि बेडमा थिए। उनीहरूमध्ये दुई बालिका, एक बालक, चार महिला र एक पुरुष थिए। पेट, निधार, टाउको, घाँटी, गाला, ढाडमा चोट लागेको अवस्थामा कोही बेडमा पल्टिइरहेका थिए भने कोहीचाहिँ बेडमा बसेर आफन्तसँग कुराकानी गरिरहेका थिए। 

सरसरती हेर्दा उनीहरू सामान्य घाइते थिए। उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले पनि आवश्यक जाँच गरेपछि उनीहरूको अवस्था सामान्य रहेको पुष्टि गरे। अस्पतालको आकस्मिक विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार उनीहरूमध्ये एक जनाको घाँटीमा (सबलक्सेन) केही समस्या छ कि भनेर थप जाँच भइरहेको र बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

“भूकम्पमा घाइते भएकाहरूमध्ये आठ जनालाई हाम्रो अस्पताल ल्याइएको थियो। आवश्यक जाँच गर्दा उनीहरूमध्ये एक जनाको गर्धनमा सब्लक्सेन भएको हो कि भन्ने शंका लागेकाले थप जाँच गरिएको छ। बाँकी सबै घाइतेको अवस्था सामान्य छ,” डा. महर्जनले भने। 

सामान्य घाइतेहरूलाई नै उपचारका लागि भनेर राजधानी नै किन ल्याइयो? 

थप बुझ्दै जाँदा काठमाडौँ ल्याइएका आठ जना घाइतेहरू रूकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १, ४ र ७ का बासिन्दा रहेछन्। यो माओवादी केन्द्रका उपमहासचिव, पूर्वगृहमन्त्री एवं रूकुमपश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको क्षेत्र हो। उनीहरूलाई रूकुमपश्चिमको सदरमुकाम सल्लेस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको अवस्थामा सिधै नेपाल एयरलाइन्सको जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको रहेछ। त्यहाँबाट सुरक्षाकर्मीले एम्बुलेन्समा शिक्षण अस्पताल पुर्‍याएका रहेछन्।  

चौरजहारीबाट काठमाडौँ ल्याइएकाहरूलाई अस्पताल लगिँदै। तस्वीर : नेपाल प्रहरी


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई सबभन्दा पहिले स्थानीय अस्पताल, त्यहाँ उपचार सम्भव नभए प्रदेश अस्पताल सुर्खेत र भेरी अस्पताल पुर्‍याउनु पर्थ्यो। सरकारले नै भूकम्पका घाइतेको उपचारका लागि यी अस्पताललाई डेडिकेडेड अस्पताल घोषणा गरेको थियो। तर उनीहरूलाई स्थानीय अस्पतालबाट उठाएर सोझै काठमाडौँ ल्याइयो।

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षका प्रमुख डा. महर्जनले आफूकहाँ जहाँबाट आए पनि सबै बिरामीको शतप्रतिशत उपचार गर्ने आफूहरूको कर्तव्य भएको बताए। तर सरकारी नियमअनुसार उनीहरूलाई उपचारका लागि शिक्षण अस्पताल नपठाइएको डा. महर्जनले बताए। “हाम्रो अस्पतालमा जोकोही र जहाँबाट आए पनि बिरामीको उपचार गर्ने हाम्रो दायित्व हो। यसबाट हामी पछि हट्न मिल्दैन,” डा. महर्जनले भने, “तर जो घाइतेहरू यहाँ आउनुभएको छ, उहाँहरूलाई रूुकमपश्चिमका अस्पताल या प्रदेश अस्पताल सुर्खेतले रेफर गरेको होइन। हामीलाई यसबारे मौखिक खबर पनि गरिएको थिएन। हामीले सुरक्षाकर्मीबाट उहाँहरूलाई यहाँ ल्याउन लागिएको जानकारी पाएका थियौँ।”

पछिल्लो विवरणअनुसार जाजरकोट र रूकुमपश्चिममा भूकम्पबाट गम्भीर घाइते भएका ३० जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। अस्पतालका प्रमुख डा. डम्बर खड्काले प्रदेश भूकम्प या अन्य प्राकृतिक प्रकोपमा परी गम्भीर घाइते भएकाको उपचार गर्न सक्षम भएकाले नै सरकारले डेडिकेडेड अस्पताल तोकेको बताए। “भूकम्पमा घाइते भएकाको घर काठमाडौँ भएर हो या आफन्त काठमाडौँमा भएर हो, उहाँहरूलाई उपचारका लागि सरकारले सिधै काठमाडौँ लगेको हो भने त्यो मानवताका हिसाबले ठिकै हो। आखिर रित्तो जहाज जानुभन्दा असहजता खेपिरहेका घाइतेहरूको उद्धार गरेको राम्रै हो,” डा. खड्काले उकालोसँग भने, “तर गम्भीर घाइते या जटिल किसिमका बिरामीको उपचार गर्न हामी सक्षम भइसकेका छौँ। कुनै कारणवश यहाँ उपचार हुन नसकेको अवस्थामा मात्र बिरामीलाई काठमाडौँका अस्पतालमा लैजानु राम्रो हो जस्तो मलाई लाग्छ।” 

डा. खड्काका अनुसार अहिले प्रदेश अस्पतालमा न्युरो सर्जन मात्र तीन जना छन्। अर्थोपेडिक सर्जन आठ जना छन्। जनरल सर्जन पनि उत्तिकै संख्यामा छन्। केन्द्रका अस्पतालसरह १२ वटा अप्रेसन थिएटर पनि छन्। सीटी स्क्यान, एमआरआइलगायत अत्यावश्यक उपकरण पनि अस्पतालमा छन्। “जब भूकम्पलगायत प्राकृतिक प्रकोप हुन्छ, त्यति बेला हाम्रो अस्पतालको सेवाको पनि परीक्षण हुने हो। जो कसैले हामीलाई सेवा गर्ने अवसर पनि दिनुपर्‍यो। विश्वास पनि गरिदिनु पर्‍यो,” उनले भने। 

नेपालगन्जको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले पनि आफ्नो अस्पताल भूकम्पका गम्भीर घाइतेको उपचार गर्न सक्षम रहेको र शुक्रबार रातिदेखि नै अस्पताललाई तयारी हालतमा राखिएको बताए। तर रूकुमपश्चिमबाट केही घाइतेहरूलाई सोझै काठमाडौँ किन र कसरी लगियो भन्नेबारे भने उनले आफूलाई थाहा नभएको बताए।

शुक्रबार राति गएको भूकम्पका कारण भग्नावशेषमा परिणत घरहरू।


“हामीले यसअघिका प्राकृतिक प्रकोप र महामारीमा कस्तो र कतिलाई उपचार गर्न सक्छौँ भन्ने प्रमाणित गरिसकेका छौँ,” थापाले उकालोसँग भने, “यसपटक पनि हामीले भूकम्पमा घाइते भएका ३२ जनाको उपचार गरिरहेका छौँ। थप घाइते उपचारका लागि आउन सक्छन् भनेर हामी तयारी अवस्थामा छौँ। रूकुमपश्चिमबाट सिधै कसरी काठमाडौँमा घाइते पुर्‍याइयो भन्नेबारे म अनभिज्ञ छु।” 

रूकुमपश्चिमको स्थानीय अस्पतालबाट उनीहरूलाई सिधै काठमाडौँ किन लगियो त? खोज्दै जाँदा पूर्वगृहमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको जोडबलमा उनीहरूलाई काठमाडौँ ल्याइएको भेटियो। शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँगै नेपाली सेनाको हेलिकप्टरमा भूकम्प प्रभावित क्षेत्र जाजरकोट हुँदै रूकुमपश्चिम पुगेका शर्माले सामान्य घाइते अवस्थामा सल्लेको अस्पतालमा उपचार गरिरहेका आफूनिकट कार्यकर्ताका परिवारका सदस्यलाई उद्धार गरेर काठमाडौँ लैजान प्रधानमन्त्रीमार्फत नेपाल एयरलाइन्सलाई निर्देशन दिएको नेपाल वायुसेवा निगमका एक अधिकारीले बताए। त्यसपछि नेपाल एयरलाइन्सको सानो जहाज सल्ले पुगेर भूकम्पबाट चोटपटक लागेका आठ जना र हेरचाहका लागि भन्दै उनीहरूका आफन्तलाई काठमाडौँ ल्याएको थियो। 

यो विषयमा हामीले त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पाँच जना घाइतेका आफन्तहरूसँग कुरा गरेका थियौँ। उनीहरू सबैले प्रधानमन्त्री दाहाल र पूर्वगृहमन्त्री शर्माले सहयोग गरेकाले आफूहरूले आफ्ना परिवारका सदस्यलाई काठमाडौँ ल्याउन पाएको बताए। 

“हाम्रो सल्लेमा उपचार भइरहेको थियो। हाम्रा नेता (जनार्दन शर्मा) का कारण काठमाडौँ आउन पायौँ,” उनीहरूको भनाइ थियो। अस्पताल भर्ना भएका घाइतेका थप आफन्तसँग भने हामीले कुरा गर्न पाएनौँ। उनीहरूसँग कुरा गर्न खोज्दा अस्पताल पुगेका माओवादीका कार्यकर्ताहरूले मिडियासँग घाइते र आफन्तले कुरा गर्न आवश्यक छैन भनेर रोके। त्यसपछि तिनै कार्यकर्ता उनीहरूसँग बसेर तस्वीर र भिडियो खिच्न व्यस्त देखिए।


सम्बन्धित सामग्री