Thursday, May 02, 2024

-->

ओरेण्टल सहकारीबाट ठगिएका ३८२ साना बचतकर्ताको रकम एक दशकपछि फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक लाखभन्दा कम बचत गरेकाहरूको मागदाबी अनुसारको रकम साउनभित्र दिने जनाएको थियो। तर त्यसको साढे दुई महिनापछि साना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।

ओरेण्टल सहकारीबाट ठगिएका ३८२ साना बचतकर्ताको रकम एक दशकपछि फिर्ता 

काठमाडौँ– ओरेण्टल सहकारी बन्द भएको एक दशक पुगिसक्दा इटहरीका दिलिप कोइरालाको खातामा चार दिनअघि २७ हजार रुपैयाँ आयो। २०६५ सालमा त्यो रकम जम्मा गर्दा उनी ३० वर्षका थिए। दैनिक ज्यालादारीमा साइनबोर्डहरू लेख्ने र आर्ट गर्ने कामबाट त्यतिबेला उनी दैनिक २०० देखि ४०० सम्म कमाउँथे। दुःख गरेर जम्मा गरेको रकम १५ वर्षपछि फिर्ता आउँदा खुशी लागेको उनले सुनाए। 

“मैले जम्मा गरेको पैसा २८ हजार ६०० रुपैयाँ थियो। बचत गर्दा हिसाब राखेको पासबुकको एउटा पना हराउँदा प्रमाण नपुगेर २६ हजार ९०० रुपैयाँ मात्र पाए। ब्याज नपाए पनि १००–२०० गरेर जम्मा गरेको रकम फिर्ता पाउँदा खुशी त लाग्ने नै भयो,” कोइरालाले सुनाए। ओरन्टलकै अफिसका साइनबोर्ड लेखेबापतको पारिश्रमिक भने अझै पाउन बाँकी रहेको उनको गुनासो छ।

यो पनि – सहकारी नियमनको जिम्मा राष्ट्र बैंकलाई दिइँदै, विज्ञ भन्छन्– ‘घातक काम’

यस्तै, भक्तपुरका प्रदीप शाक्यले पनि २०६०/६२ सालतिर राखेको १२ हजार रुपैयाँ झन्डै दुई दशकपछि फिर्ता पाए। उनका अनुसार पहिले सहकारीको कार्यालयमा कैयौँ पटक धाउँदा पनि नपाएको पैसा फर्किने आशा भने मरिसकेको थियो। 

“पासबुकमा लेखेर दैनिक बचत गरेको १२ हजार २२० रुपैयाँ थियो, त्यति नै आयो। यतिका वर्ष भइसकेको थियो। पाउँलाजस्तो लागेको थिएन,” उनले सुनाए, “सोह्रखुट्टेमा घडी पसल गरेर निकै दुःखले जम्मा गरेको पैसा थियो। अहिले पाउँदा खुशी लाग्यो।”

त्यसो त शाक्यका बुवाले पनि ओरेण्टलमा त्यतिबेला नै करिब चार लाख रुपैयाँ राखेका थिए। अहिले बुवाको मृत्यु भइसक्यो। उक्त रकम फिर्ता पाउन पहिला बुवा र पछि प्रदीप आफैँ कैयौँ पटक धाइसकेका थिए। “मेरो बुवा जीवित छँदा कति धाउनुभयो, तर पैसा नपाई बित्नुभयो। एक लाखभन्दा माथि बचत गर्नेहरूलाई पछि फोन आउँछ भनेका छन। बुवाको लागि पनि मेरोजस्तै पैसा खातामा फिर्ता भएको मेसेज आउँछ भन्ने आस गरेको छु,” शाक्यले भने।

मैतिदेवीकी गंगादेवी सेढाईंले पनि १७ वर्षअघि जम्मा गरेको ६५ हजार अहिले फिर्ता पाएको बताइन्। विदेश जाँदा आफ्नी छोरी र भदाको नाममा आठ बचत गरेको लाख रुपैयाँ भने पाउन बाँकी छ। “१७/१८ वर्षअघि राखेको ६५ हजार लिन धाउँदा धाउँदा अस्ति बल्ल आयो। सहकारीले साउनमै दिन्छु भनेको थियो, तर ढिलो भयो। छोरीको नाममा दुई लाख र भदाको नाममा राखेको ६ लाखसमेत आठ लाख अझै बाँकी छ। त्यो पनि पाइन्छ भन्ने आशा छ,” उनले भनिन्। 

काभ्रेकी फुलमाया तामाङले ५५ हजार रुपैयाँ बचतको दाबी गरे पनि ४६ हजार रुपैयाँ मात्र फिर्ता पाएको उनका श्रीमान् भीमबहादुर तामाङले गुनासो गरे। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भने सफ्टवेयरमा इन्ट्री भएको रकम सबै फिर्ता दिइएको जनाएको छ। 

यो पनि ~ ओरेण्टल सहकारीका बचतकर्ताले रकम फिर्ता पाउने सम्भावना कति छ?

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक लाख रुपैयाँभन्दा कम बचत गरेकाहरूबाट साउन १५ भित्र आएको मागदाबीअनुसारको बचत रकम सोही महिनाभित्र फिर्ता गर्ने जनाएको थियो। तर त्यसको साढे दुई महिनापछि ३८२ साना बचतकर्ताले आफ्नो पैसा फिर्ता पाएका हुन।

सहकारी ऐनमै उल्लेख भएअनुसार पहिलो चरणमा साना बचतकर्ताहरूलाई प्राथमिकता दिइएको समितिका सदस्य–सचिव केशवप्रसाद पौडेलले बताए। समितिका अनुसार मंगलबारसम्म कृषि विकास बैंकबाट ३८२ जनाको खातामा एक करोड ६६ लाख सात हजार ५९३ रुपैयाँ बचत फिर्ता भएको छ। 

एक लाख रुपैयाँभन्दा कम बचत गर्ने ओरेण्टलका ५१९ बचतकर्ताले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सूचनाअनुसार गत साउन १५ गतेअघि आ–आफ्नो रकम मागदाबी गरेका थिए। केहीको खाता नम्बर नमिलेका कारण रकम फिर्ता हुन नसकेको समितिले जनाएको छ । “खाता नम्बर नमिलेको लगायतका कारण ३८ जनाको फिर्ता कारोबार बैंकले रिजेक्टेड भनेको छ। यसमा केही हदसम्म समिति र स्वयं बचतकर्ताको पनि गल्ती देखिएको छ,” समितिका एक कर्मचारीले भने। 

यो पनि – सहकारी नियमनको सकस: २ दशकदेखि योजनामै सीमित दोस्रो तहको नियामक

समतिको सफ्टवेयरमा देखिएको समस्याका कारण काठमाडौँको साँखुस्थित ग्राहक सेवाकेन्द्रका बचतकर्ताको रकम नगएको र त्यसको ‘रिकभरी’को काम भइरहेको समितिको भनाइ छ।

ओरेण्टल सहकारीबाट ऋण लिएकाहरूबाट सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षसम्ममा दुई करोड ७१ लाख रुपैयाँ उठाएको थियो। सोही रकम समितिले पहिलो चरणमा साना बचतकर्ताहरूलाई वितरण गरेको हो। 

सरकारले ओरेण्टललाई २०७४ कात्तिकमा पहिलोपटक समस्याग्रस्त घोषणा गरेको थियो। त्यसविरुद्ध सहकारीका तत्कालीन अध्यक्ष सुधिर बस्नेतले सर्वोच्च अदालतमा रिट हालेका थिए। सर्वोच्चले २०७६ साउन १५ गते सरकारको घोषणा बदर गरी ओरेण्टलको सम्पत्ति नचलाउन आदेश दिएको थियो। 

तर सहकारी विभागसहितका निकायमा बचतकर्ताको निक्षेप फिर्ता नगरेकोलगायत अनियमितताको उजुरी परेपछि सरकारले २०७९ असोजमा ओरेन्टललाई दोस्रो पटक समस्याग्रस्त घोषणा गरेको थियो। त्यसपछि समितिले बस्नेतको सम्पत्ति बेचबिखन गरी दायित्व भुक्तानीको प्रक्रिया अघि बढाउन खोजेको थियो। तर बस्नेतले सहकारी मन्त्रालय, सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयविरुद्ध २०७९ मंसिर १३ गते पुनः सर्वोच्चमा रिट हाले।

बस्नेत दोहोर्‍याएर सर्वोच्च गएका कारण समितिले बचतकर्ताको रकम फिर्ताका लागि सहकारीले रोक्का राखेको र उसको नाममा रहेको जग्गा लिलामी लगायतका प्रक्रिया पूरा गर्न सकेको थिएन। गएको असार १३ गते बस्नेतले मुद्दा फिर्ता लिएका थिए। त्यसलगत्तै बसेको समितिको बैठकले रोक्का जग्गा लिलामबिक्री गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

समितिको कार्यालयले २०७९ मंसिरमा निकालेको अद्यावधिक मागदाबी विवरणअनुसार ओरेण्टलले चार हजार २५९ बचतकर्ताको करिब तीन अर्ब १९ करोड सावाँ रकम फिर्ता गर्नुपर्ने देखिएको छ। यो रकम ओरेण्टल अपार्टमेन्टबाहेक सहकारीको मात्र हो। 

यो पनि – संकटमा सहकारी : बचतकर्ताको रकम जोखिममा, नियामक निकाय उदासीन

यसअघि २०७४ सालमा समितिले पहिलोपटक अद्यावधिक गरेको लगतअनुसार बचतकर्ताको सावाँब्याज आठ अर्ब ३८ करोड र ओरेण्टल अपार्टमेन्ट बुकिङकर्ताको चार अर्ब ९२ करोड गरी १३ अर्ब २७ करोड दायित्व भुक्तानी गर्नुपर्ने देखिएको थियो।

समितिले साना बचतकर्ताको रकम फिर्ता गरिसकेपछि मात्र एक लाख रुपैयाँभन्दा बढी बचत गर्नेको रकम वितरणको योजना बनाएको छ। त्यसका लागि ओरण्टलका सञ्चालक र ऋणीहरूको रोक्का रहेको अचल सम्पत्ति लिलाम गरिने सदस्य–सचिव पौडेलले बताए। 


सम्बन्धित सामग्री