Thursday, May 09, 2024

-->

पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, किन आन्दोलित छन् चिकित्सक?

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको भन्दै सुरक्षाको माग राखेर पाटन अस्पतालका चिकित्सकहरू आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।

पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द किन आन्दोलित छन् चिकित्सक

ललितपुर– मंगलबार बिहान १० बजेतिर ललितपुरस्थित पाटन अस्पताल पुग्दा बिरामीहरू गेटबाटै फर्कँदै थिए। उपत्यकासँगै दुर्गम जिल्लाबाट आएका बिरामी उपचार नपाई फर्कनु पर्दा निराश देखिन्थे।

अस्पताल प्रवेश गर्दा परिसरमा सेतो कोट र नीलो स्क्रबसहित चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित थिए। उनीहरू आफ्नो एउटा पाखुरामा कालोपट्टि बाँधेर विरोधमा उत्रिएको सन्देश पनि साथसाथै दिइरहेका थिए। बिरामीका आफन्तबाट चिकित्सकमाथि भइरहेका आक्रमणविरुद्ध लेखिएका विभिन्न नारासहितका प्लेकार्ड हातहातमा थियो।

प्लेकार्डमा ‘बिरामीको ज्यान हामीले बचाउने, हाम्रो ज्यान कसले बचाउने?’, ‘डाक्टर कुटाइ खाँदै छ, समाज कता जाँदै छ?’, ‘डाक्टर कुट्न पाइँदैन’, ‘अपराधीलाई छुटै छुट, डाक्टरलाई कुटै कुट’, ‘दोषीलाई पक्राउ गर’ र ‘सेवा गरे मेवा होइन कुटाइ मिल्छ’लगायत नारा लेखिएका थिए।

उनीहरूको यस्तो विरोध तीन दिनयता निरन्तर चलिरहेको छ। उनीहरूले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। चिकित्सकलाई सेवा नै बन्द गरेर आन्दोलनमा उत्रिनु पर्ने बाध्यता किन आइपर्‍यो?

गत शनिबार निमोनियाको उपचारका क्रममा एकै वार्डमा उपचाररत दुई बिरामी ललितपुरका ६७ वर्षीया कृष्णबहादुर नगरकोटी र ओखलढुंगाकी ९० वर्षीया जनमाया राईको ‘एन्टिबायोटिक’ दिएको पाँच मिनेटपछि मृत्यु भयो। बिरामीको मृत्यु भएको थाहा पाएपछि लापरबाहीका कारण ज्यान गएको भन्दै मृतक नगरकोटीका आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेको आन्दोलनरत चिकित्सकको आरोप छ।


उपचारका क्रममै बिरामीको मृत्यु हुँदा आफूहरूमाथि हातपात भएको भन्दै सुरक्षाको माग राखेर चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनरत आवासीय चिकित्सकमध्ये डा. विमल पाण्डेले बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सकलाई आक्रमण गरेपछि त्यसविरुद्धमा आफूहरू उत्रिएको बताए।

“हामी चिकित्सकमाथि बारम्बार हातपात भएको छ। हामीलाई हातपात गर्नेलाई नियमअनुसार कारबाही होस् भनेर आन्दोलन गरेका हौँ,” उनले भने, “चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही नभएसम्म आन्दोलन चलिरहन्छ। घटना के भएको हो भन्नेबारे छानबिन पनि हुनुपर्छ।”

आन्दोलनरत अर्का इन्टर्न चिकित्सक कृष्ण बहादुर चन्द सोडारीले छलफलका लागि जाँदा पनि मृतक पक्षबाट हातपात भएको सुनाए। “डाक्टरको सुझावअनुसार जेरियाट्रिक वार्डमा नर्सले दुई जना बिरामीलाई औषधि दिनुभएको थियो। त्यसको पाँच मिनेटपछि उहाँहरूको आकस्मिक मृत्यु भयो। सिनियर सरहरूले त्यो जानकारी पाएपछि मृतक पक्षसँग छलफल गर्न जाने क्रममा उहाँहरूमाथि गालीगलौज र कुटपिट भयो।”

आन्दोलनमा सहभागी अर्को इन्टर्न चिकित्सक सुजन रिजालले सुरक्षाबिना बिरामीको उपचार गर्न नसकिने बताए। उनले आफैँ असुरक्षित हुँदा बिरामीको उपचार कसरी गर्ने भन्दै प्रश्न गरे। “बिरामीको मृत्युपछिको पीडा हामी बुझ्छौँ। तर डाक्टरलाई कुटपिट गर्नु समाधान होइन,” उनी भन्छन्।

उनले सुरक्षाको ग्यारेन्टी नभएसम्म काम नफर्किने सुनाए। “जानजानी बिरामीलाई हामीले जानीजानी बिरामीलाई मार्दैनौँ। हामी सक्दो प्रयास गरेर बिरामीलाई बचाउँछौँ। तर यसरी हामीलाई काम गर्न गाह्रो हुन्छ,” उनले भने।

चिकित्सकहरूको यो आन्दोलनलाई अस्पतालका सिनियर चिकित्सकको पनि समर्थन देखिन्छ। चिकित्सकमाथि पटक–पटक आक्रमण भइहरेको अवस्थामा अस्पतालका आफ्ना चिकित्सकले गरेको आन्दोलन स्वाभाविक भएको प्राध्यापक डा. युवराज शर्माले बताए। 

एन्टिबायोटिक दिएको केही समयमै अचानक दुवै बिरामीको मृत्युले डाक्टरहरूलाई स्तब्ध बनाएको र औषधि परीक्षण गर्न सम्बन्धित ठाउँमा पठाएको डा. शर्माको भनाइ छ। “यो घटना कसरी भयो भनेर हामी सबै स्तब्ध भएका छौँ,” उनले भने, “हामीले आवश्यक प्रक्रिया पूरा गरी दिइएको औषधिको केमिकल परीक्षण गर्न औषधि प्रशासनलाई अनुरोध पनि गरेका छौँ।” औषधि निमोनियाका अन्य बिरामीलाई पनि दिने गरेको डा. शर्माको भनाइ छ।

उनका अनुसार उपचारका लागि अस्पताल भर्ना भएका नगरकोटी र राईलाई निमोनियाको समस्या थियो। नगरकोटीलाई कलेजोको पनि समस्या थियो। दुवै बिरामीलाई भर्ना भएदेखि नै सेफिट्रयाक्सोन (एन्टिबायोटिक) दिइएको थियो। तर, त्यो औषधि नयाँ ब्याचको थियो। औषधि दिएको पाँच मिनेटपछि दुवैको मृत्यु भएको थियो।   


मृतकका आफन्तले चिकित्सकले लगाएको आरोप अस्वीकार गरेको छ। मृतक नगरकोटीका ज्वाइँ नीरवान महर्जनले चिकित्सकको लापरबाहीका विषयमा विवाद भए पनि चिकित्सकलाई आफूहरूले कुटपिट नगरेको बताए।

“उपचार गर्दा गर्दै बुवाको मृत्यु भयो। यो विषयलाई लिएर चिकित्सकहरूसँग हाम्रो विवाद भएको थियो। त्यतिबेला वार्डमा भीड धेरै भएकोले मानिससँग ठोक्किएको हुनसक्छ, तर हातपात भने भएको छैन,” उनले भने,

चिकित्सकमाथि हातपातको सीसीटीभी फुटेज देखाए आफूहरू कानूनअनुसार सजाय भोग्न तयार रहेको उनी बताउँछन्। पोस्टमार्टम रिपोर्ट आएपछि चिकित्सकमाथि कानूनी कारबाही अगाडि बढाउने उनको भनाइ छ। “दुई दिनपछि पोस्टमार्टम रिपोर्ट आएपछि कानूनी रूपमा कारबाही अघि बढाउनेछौँ,” उनले भने।

यसैबीच नेपाल प्रहरीले‍ पाटन अस्पतालका चिकित्सकहरूलाई सेवा प्रवाह नरोक्न अपिल गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले विज्ञप्ति जारी गरेर घटनाका सम्बन्धमा प्रहरीसमेत संलग्न भई प्रमाण संकलन गरी अनुसन्धान जारी रहेकाले स्वास्थ्य सेवाजस्तो अत्यावश्यक सेवा नरोक्न चिकित्सकहरूलाई अनुरोध गरेका छन्।

यसअघि हेटौँडा, कैलाली, पोखरा, लमजुङ लगायतका विभिन्न ठाउँमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्त र परिवारजनले चिकित्सकमाथि कुटपिट घटना बाहिरिएका थिए। देशभर चिकित्सकमाथि कुटपिट र हातपात लगायतका घटना बढेको भन्दै नेपाल चिकित्सक संघले नै आन्दोलनको घोषणा गरेको थियो। सरकारसँग भएको वार्तापछि चिकित्सक काममा फर्किएका थिए। फेरि उपचारकै क्रममा बिरामीको मृत्यु भएपछि मृतक पक्ष र चिकित्सकबीच तनाव बढेको छ।


सम्बन्धित सामग्री