Monday, April 29, 2024

-->

भूकम्पले तहसनहस क्षेत्रमा प्रधानमन्त्री र नेताहरूको दौडाहा: घाइतेको उद्धार र उपचार प्रभावित

शुक्रबार रातिको भूकम्पले तहसनहस जाजरकोट र रुकुमपश्चिम पुगेर प्रधानमन्त्रीदेखि नेताहरूले के योगदान भन्ने त प्रष्ट छैन, सुरक्षा र स्वास्थ्य अधिकारीहरूले भने उद्धार, उपचार प्रभावित भएको गुनासो गरेका छन्।

भूकम्पले तहसनहस क्षेत्रमा प्रधानमन्त्री र नेताहरूको दौडाहा घाइतेको उद्धार र उपचार प्रभावित
भूकम्प प्रभावित क्षेत्रमा वस्तुस्थितिबारे जानकारी लिँदै प्रधानमन्त्री । तस्वीर : रासस

काठमाडौँ– शुक्रबार मध्यरातमा बारेकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट, रूकुमपश्चिम र आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। भूकम्पले जाजरकोटको नलगाड नगरपालिकाका चार वटा वडा, बारेकोट र कुशे गाउँपालिकामा सबैभन्दा धेरै क्षति पुर्‍यायो। यो क्षेत्रमा मात्र अहिलेसम्म १०५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

भूकम्पका कारण जाजरकोटका यी क्षेत्र मात्र तहसनहस भएका छैनन्, रूकुमपश्चिमको आठबिसकोट नगरपालिका र सानी भेरी गाउँपालिकामा पनि ठूलो क्षति पुगेको छ। भूकम्पका कारण यो क्षेत्रमा ५२ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा अधिकांश बालबालिका रहेको प्रहरीले जनाएको छ। ३७५ जना घाइते भएका छन्। घाइतेहरूको हाल जाजरकोट, सुर्खेत, बाँके तथा काठमाडौँका अस्पतालमा उपचार भइरहेको छ।

भूकम्पविद्ले स्थानीय बासिन्दा सुतिरहेका बेला भूकम्प गएका कारण बढी मानवीय क्षति भएको बताएका छन्। रातको समय, विकट ठाउँ र पहिरोले सडक अवरुद्ध हुँदा र केही स्थानमा पुललगायतका संरचना भत्किँदा सुरक्षाकर्मीलाई खोज तथा उद्धारमा कठिनाइ भएको थियो।

भूकम्प गएको करिब १ घण्टापछि मात्र नेपाली सेनासहित सुरक्षाकर्मीको टोली खोज तथा उद्धार कार्यमा खटिएको थियो। कर्णाली प्रदेश प्रहरी प्रवक्ता, एसएसपी गोपालचन्द्र भट्टराईले राति भएकाले र भूगोल पनि विकट हुँदा खोज र उद्धार तत्कालै हुन नसकेको स्वीकारे।


उज्यालो हुन थालेपछि उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएका घाइतेको उपचारमा थप समस्या आइपर्‍यो। जिल्ला अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र बेडलगायत पूर्वाधारको कमी हुँदा घाइतेको उपचारमा समस्या आइरहेको अस्पतालका स्वास्थ्यकर्मीले बिहानसम्म पनि गुनासो गर्दै थिए।

बिहान पौने ६ बजे सम्पर्कमा आएका नलगाडका नगरप्रमुख डम्बरबहादुर रावत जतिसक्दो प्रदेश सदरमुकाम तथा केन्द्रबाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली पठाइदिन प्रदेश र केन्द्र सरकारसँग याचना गर्दै थिए।

रूकुम, आठबिसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले पनि घाइतेहरूलाई जिल्लाका स्वास्थ्यकर्मीले मात्रै उपचार गर्न असम्भव भएको भन्दै चाँडोभन्दा चाँडो प्रदेश र केन्द्रबाट मेडिकल टिम आउनु राम्रो हुने बताइरहेकी थिइन्।

तर, केन्द्रमा भने पहिले उद्धार र उपचार टोली पठाउनुको सट्टा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत जाजरकोट पुगे। प्रधानमन्त्री दाहालसँग ऊर्जामन्त्री शक्ति बस्नेत र पूर्वगृहमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनादर्शन शर्मा पनि जाजरकोट पुगेका थिए। उनीहरू बिहान ८ बजेर २० मिनेट जाँदा जाजरकोट सदरमुकाम खलंगा पुगेका थिए। विशिष्ट टोली सदरमुकाम पुगेपछि उद्धारमा खटिरहेका सुरक्षाकर्मीमाथि थप जिम्मेवारी आइलाग्यो। 

प्रधानमन्त्री दाहालका लागि सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने जिम्मेवारी उनीहरूमा थपिएको थियो। “जिल्लामा विपद् आइलागेको थियो। यो बेला सकेसम्म चाँडो खोज, उद्धार र उपचारका लागि केन्द्रबाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँगै आवश्यक औषधि उपकरण पठाउनुपर्ने हो। तर पहिले प्रधानमन्त्री, मन्त्रीसहित आउने खबर आयो,” कर्णाली प्रदेश प्रहरीका एक उच्च अधिकारीले भने, “हामीलाई  खोज तथा उद्धारमा सुरक्षाकर्मी खटाउने कि प्रधानमन्त्रीको सुरक्षामा खटाउने भन्ने तनाव भयो। प्रधानमन्त्रीको सवारीले हामीलाई अलमल्याउने काम गर्‍यो। जबकि प्रधानमन्त्री र मन्त्री अहिले नै यहाँ आउन आवश्यक थिएन।”

हुन त, प्रधानमन्त्री दाहालसँग छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालका ३ चिकित्सकसहित १६ स्वास्थ्यकर्मी पनि गएका थिए। तर जिल्ला अस्पताल जाजरकोटमा प्रधानमन्त्रीको टोली पुगेपछि घाइतेको उपचारमा व्यस्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसमेत अलमलिन पुगेको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए। अस्पतालमा घाइतेको उपचारमा व्यस्त एक स्वास्थ्यकर्मीले भने, “यो बेला हामीलाई जतिसक्दो धेरै औषधि, उपकरण र चिकित्सकीय टोलीको आवश्यकता छ। तर प्रधानमन्त्री आउँदा अस्पतालमा अनावश्यक राजनीतिक दलका नेता तथा कार्यकर्ताको मात्रै भीड लाग्यो। त्यसले घाइतेको उपचारमा सहयोग पुगेन।” 

प्रधानमन्त्री दाहालले जिल्लाका सुरक्षा अधिकारीसँग भेट गरेका थिए। त्योबेला प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित नेपाली सेनाका प्रमुख, नेपाल प्रहरीका प्रमुखलगायत व्यस्त हुनुपरेको थियो। प्रधानमन्त्रीले जिल्ला अस्पताल जाजरकोटमा उपचारार्थ केही घाइतेसँग भेट गरेका थिए। त्योबेला नेकपा माओवादी केन्द्रका स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो भीड लागेको थियो। ती स्वास्थ्यकर्मीका अनुसार पीडाले छटपटाइरहेका घाइतेसँग दाहालले लामो कुरा गरेका थिए जसले घाइतेले थप पीडा महसुस गरेको ती स्वास्थ्यकर्मीले बताए।


जाजरकोट सदरमुकामपछि घाइतेको अवस्था बुझ्न प्रधानमन्त्रीको टोली हेलिकप्टरबाटै रूकुमको सानी भेरी अस्पतालमा पुगेको थियो। 

त्यसपछि 'भूकम्पमा परी घाइते भएकाको प्रधानमन्त्री दाहालबाट उद्धार' भनेर उनकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर पोस्ट गरेकी थिइन्। तर उक्त हेलिकप्टरमा सात जना मात्रै घाइते थिए। ती घाइतेलाई नेपाली सेनाले हेलिकप्टरमार्फत नेपालगन्जस्थित डेडिकेडेट भेरी अस्पतालमा उपचारका लागि पठाउँदै थियो। ती घाइतेसँग नेपालगन्ज ओर्लिएका दाहालले केहीबेर आराम गरेपछि पुनः तामझामका साथ भेरी अस्पतालमा उपचारार्थ घाइतेको अवस्था बुझेका थिए।

२९ जना घाइतेको उपचार गराइरहेको अस्पतालमा प्रधानमन्त्री आउन लागेको खबरपछि अस्पतालका सबै चिकित्सक र नर्स स्ट्यान्डबाइ बस्नुपर्ने अवस्था आएको त्यहाँ कार्यरत एक चिकित्सकले बताए। “घाइतेको उपचार गरिरहेको अस्पतालमा हतारमा विशिष्ट व्यक्तिले अवलोकन गर्नु जरुरी थिएन। यसले हामीलाई अनावश्यक दबाब दिइरहेको छ,” उनले भने।  

प्रधानमन्त्री दाहाल जाजरकोट पुगेपछि मात्रै नेपाली सेनाको अर्को एनए–०१६०६४ स्काइ ट्रक वीर र सशस्त्र प्रहरी बल (एपीएफ) गरी १३ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली लिएर रूकुमको चौरजहारी पुगेको थियो। तर उक्त जहाज खराब मौसमका कारण सुर्खेत पुगेर पुनः रूकुम चौरजहारी पुगेको थियो। चौरजहारीमा गम्भीर घाइते नभएकाले उक्त टोली पुनः जाजरकोट खलंगा पुगेको थियो। 

भूकम्प प्रभावित क्षेत्रमा केन्द्रबाट प्रधानमन्त्री, मन्त्री मात्रै गएका थिएनन्। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा पनि हतारिएर नेपाली सेनाको हेलिकप्टरमा रूकुमपश्चिम क्षेत्रमा पुगेका थिए।  

भूकम्प प्रभावित क्षेत्रमा केन्द्रबाट तत्कालै प्रधानमन्त्री दाहाल, मन्त्री बस्नेत र सांसद शर्मा जाजरकोट जान आवश्यक थियो? भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का अध्यक्ष आमोदमणि दीक्षितले भूकम्पबाट क्षतिग्रस्त स्थानमा पहिले विशिष्ट व्यक्तिभन्दा उद्धार र उपचार टोली परिचालित हुनुपर्ने बताए। “त्यसपछि प्रदेश र केन्द्रले उक्त क्षेत्रमा पीडितको सुरक्षित वास र राहत वितरणको व्यवस्थापनमा ध्यान दिनुपर्ने थियो। तर त्यसो भएको पाइएन,” उनले भने। 


भूकम्पलगायत राष्ट्रिय विपत्तिका समयमा सरकारको नेतृत्व गरिरहेका दल अन्य दलका नेता–कार्यकर्तालाई राहत, उद्धारका लागि खटिनेभन्दा बढी प्रचारबाजी गर्ने आरोप लाग्ने गरेको छ। शनिबार नै रास्वपाको टोली पनि जाजरकोट प्रस्थान गरेको छ। जनरल सर्जनसमेत रहेकी सांसद तोषिमा कार्कीले नेपाली सेनाको जहाजमा जाजरकोट प्रस्थान गरेको तस्वीर नै सार्वजनिक गरेकी छन्। 

अस्पतालमा घाइतेले उपचार गर्ने ठाउँ नपाइरहेका बेला, कतिपयले उद्धार अभावमा अस्पताल टेक्नै नपाएका बेला दलका नेता–कार्यकर्ता त्यहाँ पुग्दा उपचारमा त्यतिकै असर पर्छ। शनिबार जाजरकोट र रुकुममा त्यही भयो। पार्टी कामको सिलसिलामा जाजरकोट पुगेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल पनि शनिबार जिल्ला अस्पताल पुगेर दलबलसहित घाइतेसँग कुराकानी गरेका थिए। यद्यपि, प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रमा जाँदा नेपाली सेनाको हेलिकप्टर लिएर गए पनि उक्त हेलिकप्टर उद्धारका लागि छोडेर नेपालगन्जबाट नियमित उडानमा काठमाडौँ फर्किसकेको उनको सचिवालयले जनाएको छ।


सम्बन्धित सामग्री