मिर्जा गालिब। मिर्जा असदुल्लाह खान गालिब। उर्दू र फारसी सायरीमा सबैभन्दा ठूलो नाममध्ये एक। गालिबका सायरी र गजलका आधारमा भन्नुपर्दा उनको व्यक्तित्व विरोधाभासपूर्ण देखिन्छ। भारतमा मुगल साम्राज्यको अन्तिम शासक बहादुर शाह जफरको दरबारको सबैभन्दा चम्किला रत्न मिर्जा गालिबको सायरीमा एकातिर प्रेम, मानवीयता, आध्यात्मिकता र स्वाभिमान पाइन्छ भने अर्कोतिर उनको स्वभावको काव्यिक अहंकार पनि सहजै देख्न सकिन्छ। आफ्नैबारे उनको एउटा प्रसिद्ध शेर छ:
हैं और भी दुनियाँ मे सुखनवर बहुत अच्छे
कहते हैं गालिब का है अन्दाजे बयां और।
अर्थात्– उसो त दुनियाँमा अरू पनि राम्रा कविहरू छन् तर भनिन्छ गालिबको प्रस्तुति नै फरक हुन्छ।
यसरी नै उनको एउटा गजलमा अभिव्यक्त स्वाभिमानका चार पंक्ति हेरौँ:
हर बात पे कहते हो तुम कि तू क्या है
तुम्हीं कहो कि ये अन्दाज ए गुफ्तगू क्या है
रगों मे दौडते फिरने के हम नहीं कायल
जो आंख ही से न टपका तो फिर लहू क्या है
अर्थात्– हरेक कुरामा तिमी ‘तँ को होस्’ भन्छौ। तिमी नै भन कुराकानीको यो कस्तो तरिका हो? नसाहरूमा दौडी रहनुको म कायल होइन, आँखाबाट झरेन भने त्यो रगत नै के हो?
उनको यो 'अक्कडपन' प्रसिद्ध विचारक कार्ल मार्क्सको पत्रको जवाफमा यिनैले लेखेको पत्रमा पनि देखिन्छ। यो धेरैको निम्ति अचम्मलाग्दो हुनसक्छ कि कार्ल मार्क्सले गालिबलाई लेखनसम्बन्धमा केही सुझाव दिँदै पत्र लेखेका थिए।
मिर्जा गालिब र कार्ल मार्क्स समकालीन थिए। गालिबको जन्म १७९७ सेप्टेम्बर २७ मा र मार्क्सको जन्म १८१८ मे ५ मा भएको थियो। एउटा दिल्ली र अर्को युरोपको फरक भूगोलमा बस्ने, आ–आफ्नो क्षेत्रका यी दुई महारथीबीच सामान्य परिचय थियो भन्ने तथ्य धेरैको निम्ति नौलो हुनसक्छ। मार्क्सले गालिबलाई पत्र लेख्नु र गालिबले प्रत्युत्तर दिनु प्रत्यक्षमा सामान्य घटना भए पनि सन् १८६७ को अप्रिल र सेप्टेम्बरमा लेखिएका यी दुई पत्रमा उन्नाइसौँ शताब्दीका दुई महान् बौद्धिक व्यक्तित्वको व्यक्तित्व, चिन्तन र तत्कालीन ऐतिहासिक परिवेशको झलक दिन्छ।
उल्लेखनीय के छ भने यस पत्र व्यवहारभन्दा १० वर्षपहिले सन् १८५७ मा भारतमा अंग्रेजी साम्राज्यवादविरुद्ध अन्तिम मुगल शासक बहादुर शाह जफरलाई नेतृत्व मानेर देशव्यापी असफल सशस्त्र विद्रोह भएको थियो। ब्रिटिस साम्राज्यवादीको सेनामा रहेका भारतीय सिपाहीहरूबाट शुरू भएको विद्रोहमा असन्तुष्ट जमिनदारहरूले भाग लिएका थिए।
तर ब्रिटिस शासन यस विद्रोहलाई निर्ममतापूर्वक दमन गर्न सफल भयो। यो असफल विद्रोह भारतीय इतिहासमा ‘सिपाही विद्रोह’का नामले प्रसिद्ध छ। वृद्ध मुगल बादशाह बहादुर शाह जफर बन्दी बनाएर म्यानमार (तत्कालीन बर्मा) पठाइए, जहाँ उनको मृत्यु भयो। सो असफल विद्रोहपछि ब्रिटिस साम्राज्यवादीहरू समस्त भारतमा आफ्नो औपनिवेशिक शासन पूर्ण रूपमा स्थापित गर्न सफल भए। बहादुर शाह जफरको पतनपछि मिर्जा गालिब आश्रयहीन भए। यस्तै बेला कार्ल मार्क्सले उनलाई पत्र लेखेका थिए।
यी ऐतिहासिक महत्त्वका पत्रहरूको खोजीको प्रसंग पनि रोचक छ। सन् १९९५ भन्दा पूर्व गालिब र मार्क्सबीच आपसी परिचय होला भन्ने कल्पना गर्न पनि गाह्रो थियो। यसको खोजीको श्रेय अमेरिकाको ‘भ्वाइस अफ अमेरिका’ नामक समाचार संस्थाका एक पत्रकार आबिदा रिप्लेलाई जान्छ। उनी लन्डनको प्रसिद्ध पुस्तकालय इन्डिया अफिसमा पुराना दस्ताबेजहरू हेर्दै थिइन्। यसै क्रममा उर्दूको एउटा पुरानो पुस्तकबाट एउटा पाना भुइँमा झर्यो। भुइँबाट सो पाना टिपेर हेर्दा उनी आश्चर्यचकित भइन्। उर्दूका महान् शायर गालिबले हस्ताक्षर गरेको तथा उनको सिलमोहर भएको एउटा पत्र थियो यो।
आबिदाले गालिबको सो पत्रलाई तारिक इकबाल नामक उर्दूको विद्वानबाट अनुवाद गराइन्। त्यसपछि कार्ल मार्क्सले गालिबलाई लेखेको अर्को पत्र खोज्न निरन्तर १५ वर्ष कठिन मिहिनेत गर्नुपर्यो। यी दुई पत्रको खोजीबारे आबिदाको परिश्रमसाध्य विस्तृत विवरण मेरिन्युज डटकममा ‘लिटरेरी इनकाउन्टर बिटविन गालिब एन्ड मार्क्स’ शीर्षकमा प्रकाशित छ। यी दुई पत्रको रोचक पक्ष के छ भने प्रेमलाई केन्द्रमा राखेर गालिबले लेखेका शेरहरूलाई मार्क्सले भारतीय स्वतन्त्रताको क्रान्तिकारी चाहनाको रूपमा बुझेर उनलाई छन्दमुक्त कविता लेख्ने सल्लाह दिए। तर नयाँ आश्रयको खोजीमा रहेका गालिबले लन्डनमा बस्ने मार्क्सलाई प्रभावशाली अंग्रेज व्यक्तित्व ठानेर आफ्नो निम्ति आर्थिक वृत्तिका लागि वायसराय (भारतमा ब्रिटिस शासनको मुख्य प्रतिनिधि)लाई सिफारिस गरिदिन अनुरोध गरे।
यी दुई भिन्न प्रवृत्तिका पत्रहरूको विशिष्टता के पनि छ भने यसमा एकातिर मार्क्सभित्र रहेको विश्व सर्वहारा क्रान्तिको चिन्ता र मानवीय प्रेम, र अर्को गालिबमा सामन्तवादी पारम्परिक दरबारिया चेतनासहितको बौद्धिक ज्ञान र प्रवृत्ति प्रस्ट देख्न सकिन्छ।
कार्ल मार्क्सले गालिबलाई लेखेको पत्र:
आइतबार, अप्रिल २१, १८६७
लन्डन, इंग्ल्यान्ड
प्रिय गालिब,
दुई दिन पहिले मेरो मित्र एङ्गेल्सको पत्र प्राप्त भयो। यस पत्रको अन्तमा लेखिएको दुई पंक्ति (कप्लेट, शेर)ले म अति नै प्रभावित भएँ। यी पंक्तिहरू मिर्जा असदुल्लाह खान गालिब नामक एक जना भारतीय कविले लेखेका हुन् भन्ने कुरा अनेक प्रयत्नपछि मैले थाहा पाएँ। मित्र, तपाईंले यो अद्भुत लेख्नुभएको छ। भारतजस्तो देशमा दासताबाट मुक्तिको भावना यति छिटो आउनेछ भन्ने मैले परिकल्पना गरेको थिइनँ। हिजो, लर्डको व्यक्तिगत पुस्तकालयबाट तपाईंका केही अरू काव्यमय सिर्जना हेर्न पाएँ। यो शेर अति नै सराहनीय छ:
हमको मालूम है जन्नत की हकीकत लेकिन,
दिल को बहलाने को गालिब ए खयाल अच्छा है।
अर्थात्–मलाई स्वर्गको वास्तविकता थाहा छ तर, मनलाई सान्त्वना दिन यो उपाय राम्रो छ।
आफ्ना नयाँ संस्करणका कवितामा श्रमजीवीहरूलाई विस्तृत रूपमा सम्बोधन गर्दै लेख्नुहोला: जमिनदार, प्रशासन र धार्मिक नेता (गुरु) हरूले तिमीहरूलाई स्वर्गको काल्पनिक दुनियाँमा लगेर तिम्रो परिश्रमको फल लुट्ने गर्छन्। बरु तपाईंले यसबारे केही पंक्तिहरू लेख्नुभयो भने झन् राम्रो हुनेछ: दुनियाँभरका मजदुरहरू एकजुट (मुत्ताहिद) होऊ।”
म भारतीय शैलीको काव्यात्मक व्यवहारसँग राम्ररी परिचित छैन। तपाईं कवि हुनुहुन्छ, काव्यात्मक अनुशासन (छन्द)मा रहेर केही सारगर्भित लेख्नुहुन्छ। जे होस, यसको एक मात्र उद्देश्य आफ्नो सन्देशबाट जनतालाई उत्साहित गर्नु छ। यस अतिरिक्त, तपाईंले गजल वा कता (चतुष्पदी) जस्तो फुर्सदको लेखन (लिजर राइटिङ्स) छाडेर छोटो समयमा धेरै लेख्न सकिने छन्दमुक्त शैलीमा लेख्न म सल्लाह दिन चाहन्छु। र, तपाईंले जति धेरै लेख्नु हुन्छ, त्यति नै धेरै दुःखी जनताले पढ्न र विचार गर्न पाउनेछन्।
म कम्युनिस्ट घोषणापत्रको हिन्दुस्तानी संस्करणको पहिलो खण्ड पठाउँदै छु। दुर्भाग्यवश, यसको पहिलो संस्करणको अनुवाद उपलब्ध छैन। तपाईंलाई मन पर्यो भने अर्को पटक केही अरू साहित्य (सामग्री) पनि पठाउनेछु। वर्तमान समयमा भारत अंग्रेजी साम्राज्यवादीहरूको अड्डा बनेको छ। शोषित र दलित जनता वा श्रमिकहरूको सामूहिक प्रयासले मात्र उनीहरूलाई अपराधीहरूको चंगुलबाट मुक्त गराउन सक्छ।
एसियाली विद्वानहरूको पुराना र अव्यवहारिक विचारहरूको तुलनामा तपाईंले पश्चिमको आधुनिक दर्शनको अध्ययन गर्नुपर्छ ; र (तपाईंले) मुगल राजाहरू र नवाबहरूको लागि झुटो प्रशंसा लेख्नु हुँदैन र जनताका क्रान्तिकारी मुद्दाहरूलाई सम्बोधन गर्ने साहित्यको सिर्जना गर्नुपर्छ। क्रान्ति अपरिहार्य छ। संसारको कुनै तागतले यसलाई रोक्न सक्दैन। गुरु र शिष्यको परम्परा समाप्त हुने समय छिट्टै आउनेवाला छ।
भारत क्रान्तिको अविचल बाटोमा अघि बढ्ने छ भन्ने कामना म गर्छु।
तपाईंको,
कार्ल मार्क्स
मिर्जा गालिबले जवाफमा मार्क्सलाई लेखेको पत्र:
९ सेप्टेम्बर १८६७
दिल्ली, हिन्दुस्तान
मेरो अपरिचित मित्र मार्क्स,
कम्युनिस्ट घोषणापत्रसहित तपाईंको पत्र प्राप्त भयो। म कसरी उत्तर दिऊँ? सबैभन्दा पहिले, तपाईंले जो भन्दै हुनुहुन्छ, (मेरो निम्ति) त्यो बुझ्नै गाह्रो छ। दोस्रो, म लेख्नुसँगै बोल्न पनि अशक्त भइसकेको छु। आज एक जना मित्रलाई पत्र लेखिरहँदा तपाईंलाई पनि पत्र लेख्ने विचार आयो। फरहाद (गालिबको एउटा कथाको सन्दर्भ, अरबी लोककथामा प्रचलित सिरिँ फरहाद नामक प्रेमकथाको नायक पात्र)का बारेमा तपाईंको दृष्टिकोण त्रुटिपूर्ण छ। तपाईंले बुझेझैँ त्यो कुनै मजदुर होइन। बरु त्यो एउटा प्रेमी थियो, तर प्रेमप्रति उसको दृष्टिकोणले मलाई प्रभावित गरेन। ऊ प्रेममा बौलाएको थियो र आफ्नो प्रेमिकाको निम्ति सधैँ आत्महत्या गर्ने सोचिरहन्थ्यो। र तपाईं कुन इन्कलाब (क्रान्ति)को कुरा गर्नु हुन्छ? त्यो अतीत भइसकेको छ, दस वर्ष पहिले (१८५७ को सिपाही विद्रोह) त्यो समाप्त भयो। आजकाल (यहाँ) अंग्रेजहरू छाती चौडा गरेर डुल्छन् र यहाँका सबैले तिनको गुणगान गर्छन्। मुगलको राजसी ठाँटबाँट र विलासिता अतीत भइसकेको छ ; र उस्ताद-शागिर्द (गुरुशिष्य) को परम्परा आफ्नो आकर्षण गुमाउँदै गइरहेको छ।
तपाईंलाई विश्वास छैन भने दिल्लीको भ्रमण गर्नुस् र सबै साक्षात् हेर्नुस् ...र, यो दिल्लीमा मात्रै होइन, लखनउको खुबी पनि हराउँदै छ...कहाँ गए ती शिष्टाचारहरू...कहाँ छन् ती सज्जनहरू ! अब तपाईं कुन क्रान्तिको भविष्यवाणी गर्नुहुन्छ? र, तपाईंको पत्रका माझमा कविता लेखनको शैली बदल्ने कुरा लेखिएको मैले पाएँ। ध्यान दिनुस्, कविता सृजना गरिँदैन, यो स्वाभाविक रूपमा तपाईंमा कहिलेकाहीँ आउँछ (जन्मन्छ)। र, मेरो मामिला फरक छ। जब विचारहरू प्रवाहित हुन्छन्, कुनै पनि रूप, गजल वा कता (चतुष्पदी) मा आउन सक्छ।
सायरीको दुनियाँमा गालिबको अन्दाज (शैली) अनुपम (बेमिसाल) छ भन्ने मेरो मान्यता छ, र त्यसै कारण, बादशाह, नवाबहरूले मलाई आश्रय दिएका थिए। तपाईं भन्दै हुनुहुन्छ कि म तिनीहरूविरुद्ध कलम चलाऊँ? मैले उनीहरूको प्रशंसामा केही पंक्ति लेखेमा के नै बिगार हुन्छ?
दर्शनशास्त्र के हो र जीवनसँग यसको सम्बन्ध के छ भन्नेबारे मभन्दा राम्रो कसले बुझेको छ? मेरो प्रिय, तपाईं कुन आधुनिक सोचको कुरा गर्दै हुनुहुन्छ? तपाईंको रुचि यसमा छ भने वेदान्त र वहदत उल वजूद (एकेश्वरवादको सुफी दर्शन) को अध्ययन गर्नुस्। र, केवल विचारमाथि विचारको राग अलाप्न बन्द गर्नुस्, सक्नुहुन्छ भने यस दिशामा केही काम गर्नुस्।
....तपाईं अंग्रेज हुनुहुन्छ, ममाथि एउटा उपकार गर्नुस्। मेरो पेन्सन फेरि जारी गरियोस् भनेर वायसरायको नाममा सिफारिसपत्र लेख्ने कृपा गरिदिनूस्...। अब म धेरै थाकिसकेको जस्तो महसुस गरिरहेको छु। त्यसैले अब म यसलाई यहीँ अन्त गर्छु।
नम्रतापूर्वक तपाईंको
गालिब।
(जनकपुरी मार्क्सवादी/वामपन्थी धारका लेखक हुन्।)