Saturday, April 27, 2024

-->

राष्ट्रपतिसँग भूकम्प पीडितको प्रश्न– गाँस र बासको व्यवस्था पहुँचवालालाई मात्रै हो?

दुई वर्षको छोरा च्यापेर सडक छेउमा बसिरहेका भूकम्पपीडित विष्णु थापाले भने, “राष्ट्रपति आएर पनि के भयो र? हामीलाई हेलिकप्टरको धूलो होइन चामल चाहिएको हो। न्यानो कपडा चाहिएको हो।”

राष्ट्रपतिसँग भूकम्प पीडितको प्रश्न– गाँस र बासको व्यवस्था पहुँचवालालाई मात्रै हो

खलंगा– चार दिनदेखि जिल्ला अस्पताल जाजरकोटमा उपचाररत शितली विकले अस्पतालको शय्याबाट राष्ट्रपति रामचन्द्र पौडेललाई बिन्ती बिसाइन्, “गाँस पनि छैन। बस्ने बास पनि छैन।” राष्ट्रपति पौडेलले उनलाई ‘खाने कुराको व्यवस्था हुन्छ। घरको व्यवस्था हुन्छ’ भन्दै सान्त्वना दिए।

राष्ट्रपति पौडेल भूकम्पप्रभावितहरुको ‘पीडा सुन्न’ मंगलबार जाजरकोट पुगेका थिए। तर यसअघि पनि यस्ता धेरै आश्वासन पाइसकेकी उनले राष्ट्रपतिलाई जवाफ दिइन्, “हामीलाई के व्यवस्था हुनु? यहाँ पहुँचवालालाई मात्रै व्यवस्था हुन्छ।” विभिन्न दलका नेता, मन्त्री, जनप्रतिनिधि र उच्चपदस्थ सरकारी अधिकारीसँगै रहेका राष्ट्रपतिलाई उनले यस्तो भनेपछि एक अर्कामा हेराहेर भयो।

शितली रोकिइनन्, राष्ट्रपतिलाई दुई हात जोड्दै आफ्नो र परिवारको गाँस, बास र कपासको व्यवस्था गरिदिन आग्रह गरिन्। राष्ट्रपति उनको कुरा बेवास्ता गर्दै अर्कोतर्फ लागे।

भेरी नगरपालिका–३ की शितली गत शुक्रबार रातिको भूकम्पबाट घाइते भएकी थिइन्। उनलाई गाउँलेले उद्धार गरेर उपचारका लागि ल्याएका थिए। मंगलबार भूकम्प प्रभावितको अवस्था बुझ्न भन्दै जाजरकोट आएका राष्ट्रपतिले उनलाई भेटेका थिए। जाजरकोट पुगेर राष्ट्रपतिले भेटेका भूकम्पका घाइते तिनै शितली एकजना हुन्। 

तामझामसहित राष्ट्रपति खलंगास्थित त्रिभुवन माविको मैदानमा उत्रिँदा त्यसैको छेउमा पीडितहरू गाँस र बासका लागि हारगुहार मागिरहेका थिए। दुई वर्षको छोरा च्यापेर सडक छेउमा बसिरहेका विष्णु थापाले भने, “राष्ट्रपति आएर पनि के भयो र? हामीलाई हेलिकप्टरको धूलो होइन चामल चाहिएको हो। दाल चाहिएको हो। छोरा चिसोले थलिँदैछ। न्यानो कपडा चाहिएको छ। खाना नखाएको तीन दिन भइसक्यो अब त भोकै मरिएला जस्तो भइसक्यो।”

तर राष्ट्रपति भने उनको छेउबाट दर्जन गाडी अघिपछि लगाएर माथिल्लो थाप्ले र तल्लो थाप्ले गरिरहे। सरोकारवाला, उपचार गर्ने डाक्टर सबै उनका पछाडि थिए। अर्कातर्फ पीडितले भने राहत पाउन सकेका थिएनन्। यसरी बेवास्ता गरिएपछि भेरी नगरपालिकाका पीडितले विरोध जनाए। जिल्ला विपत् व्यवस्थापन समिति नै पीडितको गुनासोभन्दा राष्ट्रपतिको पछि दौडिएको भन्दै सदरमुकामस्थित भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले विरोध जनाए। सञ्चारकर्मीसँग उनले भने, “तीन तहको सरकार छ। हामी आफैँ त्यसको राहत तथा उद्धारमा खटिन सक्छौँ। यसरी शक्तिकेन्द्रको पछि लागेपछि पीडितले राहत कसरी पाउने? उनीहरूको व्यवस्थापन कसरी गर्ने?” 

नगरप्रमुख घर्तीकै जस्तो प्रश्न त्रिपालमुनि रात बिताइरहेका हरेक भूकम्पप्रभावितले गरिरहेका छन्। भेरी नगरपालिका– २, पुरानो रिसाङका आमोश परियार आफ्नो टोलका लागि केही हुन्छ कि भनेर सदरमुकाम आएका थिए। तर राष्ट्रपतिको आगमनले सम्बन्धित ठाउँमा पुगेर उनले आफ्नो कुरा राख्न पाएका छैनन्।

राहत पुग्दैन, नेता मात्र पुग्छन् 
“राष्ट्रपति आउनुभयो त्यो ठिक हो। तर उहाँले पनि पीडितलाई बेवास्ता गर्नुभएन। पीडितले राहत भएका छैनन्,” भेरी–३, थाप्लेस्थित वडा कार्यालय नजिकै भेटिएका परियारले भने, “हामी पीडित छटपटाइरहने, नेताहरू हेलिकप्टरमा आउने जाने, यसले झन् पीडा दियो।” राष्ट्रपति आएको नेपाली सेनाको एनए–०५७ हेलिकप्टरले तल्लो थाप्ले चौर आसपास धुलाम्मे बनाएको थियो। त्यसको असर त्रिपालमुनिका भूकम्प पीडितलाई नै बढी परेको थियो। 

पीडितलाई राहत तथा उद्धारभन्दा जाजरकोटमा नेताहरू हेलिकप्टरमा आउने र अनुगमन गरेर जाने गरिरहेका छन्। प्रभावित क्षेत्रमा नेता मात्रै देखिने, राहत नदेखिने बारेकोट गाउँपालिका– ४ मैनाका भूकम्पपीडित धनबहादुर बोहराले सुनाए। “नेताहरू दिनदिनै हेलिकप्टरमा आउँछन् तर, न खानाका लागि गाँस आउँछ, ओत लाग्नलाई त्रिपाल। केही आएको छैन,” उनले भने।

भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिकामा राहतका कुनै सामग्री पुगेका छैनन्। बारेकोट गाउँपालिका– ५, करुवाका पीडित धनबहादुर बस्नेत भन्छन्, “हेलिकप्टरमा नेता मात्रै आए, राहत ल्याएनन्।”


सम्बन्धित सामग्री