Saturday, April 27, 2024

-->

आफैँले छापेको ढुंगाको छानोले परिवार पुर्‍यो, बाँचेकालाई परकम्पले तर्साइरहन्छ

चिउरीगाउँमा अधिकांश घर ढुंगामाटोले बनेका छन्। पटकपटक गइरहेको परकम्पले ठाडै रहेका घर पनि भत्काइरहेको छ। सोमबारको परकम्पले गाउँका थप चार घर मात्र भत्काएन, बाँचेकालाई पनि त्रसित बनायो।

आफैँले छापेको ढुंगाको छानोले परिवार पुर्‍यो बाँचेकालाई परकम्पले तर्साइरहन्छ
तस्वीरहरू: लोकेन्द्र/उकालो

नलगाड (जाजरकोट)– नलगाड–१ चिउरीस्थित कुमाई टोलका भीमसेन कुमाई भारतको कार्गिलमा ज्याला मजदुरी गरेर फर्किएको एक महिना मात्र भएको थियो। अब उनी भारत नजाने सोचमा थिए। परिवारसँगै बस्ने योजना थियो। बाबुआमालाई उनले चाडबाड सकिएपछि स्काभेटर चलाउन रुकुमतिर जाने बताएका थिए।

उनी भारत त फर्किएनन् नै, परिवारसँग घर बस्न पनि पाएनन्। कात्तिक १७ गते आएको भूकम्पमा भीमसेनसहित छोरा सन्दीप र श्रीमती कमलाले ज्यान गुमाए। उनीहरू तल्लो तलामा सुतेका थिए। आमा पवित्रा र बाबु हस्तबहादुर माथिल्लो तलामा सुतेका हुनाले बाँचे। उनीहरू पनि घाइते छन्।

पटकपटक जाने परकम्पले अहिले पनि पवित्रा र हस्तबहादुरलाई तर्सारहन्छ। घर भत्किएपछि खुला ठाउँमा बास बनाएका छन्। तर परकम्पको झड्काले ज्यान गुमाएका आफन्तको झल्को दिलाउँछ र पीडा दिएर जान्छ।

भूकम्पले भत्काएको घरअघि पवित्रा।


उनीहरूको छोरा भीमसेनले आर्थिक अवस्था बलियो नभएपछि सानैमा पढाइ छाडेका थिए। पछिल्लो समय स्काभेटर चलाएरै घरको गर्जो टार्ने गरेका थिए। आमा पवित्राका अनुसार भीमसेनले १४ वर्षको उमेरमा स्काभेटर चलाउन थालेका थिए। १५ वर्षअघि आफ्नो घरको छानामा ढुंगा पनि आफैँले छापेका थिए। तर त्यही ढुंगाको छानाले उनको ज्यान लियो।

भूकम्पमा बितेका छोरा, बुहारी र नाति सम्झिएर पवित्रा बेलाबेला भक्कानिन्छिन्। भूकम्प गएदेखि नै उनका आँखा ओभाना छैनन्। थकित् अनुहारमा पवित्राले पीडा पोखिन्, “एउटा मात्र हो र बाबु! तिनैजना दैवका प्यारा भए। सुत्नुभन्दा अघि त छोराले ‘आमै तेल ल्याउँ त? खुट्टामा लगाउँछु’ भनेको थियो। बाबु अब त्यो तेल कसले लगाइदिने हो... मेरो छोरालाई दैवले लैगो।”

बाबु हस्तबहादुरका आँखा पनि आँसुमा डुबेका छन्। भारतबाट फर्किएको छोराले गाउँमै बस्ने योजना सुनाएपछि उनी खुशी भएका थिए। “अब रुकुममा स्काभेटर चलाउने भन्थ्यो। यसरी भाग्यले ठग्ला भन्ने कल्पना नै थिएन। विपतले दिनबार भन्दो रहेनछ,” उनले भने।


कुमाई परिवारले सन्तान त गुमाए नै, बस्ने बास पनि छैन। न खानाको ठेगान छ। आमाबाबुले अझै मन बुझाउन सकेका छैनन्। कुरा गर्न आउनेसँग भक्कानिने गरेका छन्। आमा पवित्राले भनिन्, “तीन छोरामध्ये प्यारो उही थियो। माछामासु अलि बढी मन पराउँथ्यो। बिनाबादलको चिर्को (चट्याङ) मैमाथि पर्‍यो। यी कालारात कसरी बिताउने होला... बाबु भीम...।”

भीमसेन आफूले पढ्न नपाए पनि छोरोलाई बोर्डिङ (अंग्रजी) स्कुल पढाउने सपना बुनेका थिए। बाबु हस्तबहादुर भन्छन्, “बेलाबेला भनिरहन्थ्यो– बुवा छोरालाई जसोतसो बोर्डिङ नै पढाउनुपर्ला, मैले पढ्न पाइनँ, छोरोलाई त पढाउँछु पढाउँछु। अब त बाँकी के रह्यो र? जहानपरिवार सँगै लिएर गयो।”


भीमसेनले धेरै समय रुकुम, बागलुङ, गोरखातिर बिताए। पछिल्लो एक वर्ष भारतको कार्गिलमा मजदुरी गरेर दशैँ मनाउन असोज १८ गते मात्रै घर फर्किएका थिए।
कुमाई परिवारको पीडा यतिमा मात्र सीमित छैन। त्यही गाउँका अमृत कुमाई अहिले पनि छोरा फर्किएला कि भनेर बाटो हेरिरहेका छन्। एक वर्षकै बीचमा उनले परिवारका तेस्रो सदस्य गुमाएका हुन्।

एक वर्षअघि अमृतले आमा लीलालाई गुमाएका थिए। गत साउन ११ गते भिरबाट लडेर भाइ हरिबहादुरको मृत्यु भएको थियो। अहिले भूकम्पमा परी छोरा सुजल (भमिलाल)लाई गुमाए। “अब केही रहेन। न समाउने डालो रह्यो, न टेक्ने लौरो,” भत्किएको घरअघि उभिएका अमृत भन्छन्, “त्यही एउटा छोरो थियो, भूकम्पले राखेन।”

उनको घर ढुंगाले छाएको दुई तलाको थियो। भूकम्प आएको दिन क्रियापुत्री भेट्न डुग्रिगार गएका थिए। राति २ बजे उनलाई फोनबाट घर भत्किएको जानकारी दिइयो। आधा घण्टापछि घर पुग्दा छोराको सास गइसकेको थियो। श्रीमती र छोरीलाई भने जोगाउन सफल भए। अमृतले भने, “छोरी र परिवारलाई बचाउन सक्यौँ। छोरालाई धुरीले च्यापेको रहेछ। च्याम्या (चालचुल) गर्न पाएन।”

आफ्नो भत्किएको घरअघि अमृत।


सुजलले ट्रयाक्टर चलाएरै परिवार पालेका थिए। चिउरी गाउँका धेरै युवा कमाउन बिदेसिने गरेका थिए। तर सुजल भने घरगाउँमै मिहिनेत गर्ने पक्षमा थिए। सात जनाको परिवार उनकै जिम्मामा थियो। “छोरो विदेश जाने केही कुरा गर्दैनथ्यो। गाउँमै केही गर्छु, भनेर ड्राइभिङ सिकेर यतै चलाउँथ्यो। घरको खर्च पानी उसैले हेरिरहेको थियो। मेरो जिलो (सन्तान) सारा गुम्यो।” 

चिउरीस्तर कुमाई टोलमा भूकम्पबाट पाँच जनाले ज्यान गुमाएका छन्। दत्तबहादुर कुमाई (५८), भीमसेन कुमाई (२४) सन्दीप कुमाइ (४), कमला कुमाई (२१) सुजल (२३)ले ज्यान गुमाएका हुन्। अहिले उनीहरुको परिवार पालमुनि बसेको छ।

भूकम्पमा ज्यान गुमाएका आफन्तको शोक त छँदैछ, बाँचेका चिउरी गाउँबासीलाई अहिले गाँस र बासको समस्यासमेत छ। यो गाउँमा मात्रै २५ जनाले ज्यान गुमाएका छन्।
 


सोमबारको परकम्पले नलगाड–१ का वडाध्यक्ष धनबहादुर महरसहित चार घरहरू भत्काएको छ। “घर चिराचिरा परेका छन्। मान्छेको बास खेतमै छ। हाम्रो वडामा बस्नयोग्य कुनै घर छैन। एकपटक हल्लियो भने चिरा परेकाहरू पनि भत्किने अवस्थामा छन्,” वडाध्यक्ष महरले भने, “हाम्रो वडाले सक्ने जति गरिरहेका छौँ। राज्यको ठूलो संयन्त्र आएर यहाँका घरहरूको पनि जाँचबुझ गर्नुपर्‍यो।”

चार दिनअघिको कहालीलाग्दो विपत्ति बिर्सिन नसकिरहेकै बेला सोमबार दिउँसो ४ः३४ बजे अर्को परकम्प गयो। ५‍.८ म्याग्निच्युडको परकम्पले स्थानीयमा झन् त्रास बढेको छ।

बारेकोटकै रामडाँडा केन्द्रबिन्दु बनाएर गएको परकम्मले थप घर भत्काएको छ। केही मानिस घाइते पनि भएका छन्। चिउरी गाउँमा ढुंगामाटाले बनेका घर थिए। ती अधिकांश क्षतिग्रस्त छन्।


सम्बन्धित सामग्री