Sunday, April 28, 2024

-->

बाँसबारी प्रकरणमा शुरूदेखि संलग्न विनोद चौधरीको बयान– ‘बुवाले गर्नुभएको हो, मलाई थाहा छैन’

सरकारी वकिल कार्यालय र सीआईबीको रोहबरमा लिइएको तीन घण्टा लामो बयानमा व्यवसायी एवं सांसद विनोद चौधरीले आफ्नो बचाउ गरेका छन्।

बाँसबारी प्रकरणमा शुरूदेखि संलग्न विनोद चौधरीको बयान– ‘बुवाले गर्नुभएको हो मलाई थाहा छैन’ 
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा लिने प्रक्रियामा आफू नभई आफ्नो बुवा संलग्न भएको भन्दै त्यसबारे आफूलाई कुनै पनि जानकारी नभएको दाबी गरेका छन्। 

उनले बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसन्धान अधिकृत र सरकारी वकिलको रोहबरमा लिइएको बयानमा व्यवसायी चौधरीले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा तत्कालीन च्याम्पियन फुटवेयरले लिने प्रक्रियामा आफू संलग्न नभएको दाबी गरेका हुन्। 

जबकि चौधरीले नै कारखानाको नाममा रहेको १८ रोपनी सरकारी जग्गा प्रस्तावित कम्पनी फुटवेयरलाई दिने सम्बन्धमा गरिएको प्रवर्द्धन सम्झौताबाट कार्यान्वयनको सर्वाधिकार पाएका थिए। त्यसपछि उद्योग विभागमा दर्ता भएको कम्पनीको २०० कित्ता शेयरधनी पनि चौधरी नै थिए। स्थानीय तथा कारखानाका तत्कालीन कर्मचारीको विरोधका कारण चौधरी परिवारको अधिकांश लगानी रहेको कम्पनीको नाममा कारखानाको नाममा रहेको १० रोपनी मात्रै मालपोतबाट रजिस्ट्रेसन पास गरिएको थियो। 

चौधरीले भने कम्पनीलाई कारखानाको जग्गा लिनेदिने प्रक्रियामा आफ्नो कुनै भूमिका नभएको भन्दै आफ्नो बचाउ गरेका हुन्। सरकारी वकिल कार्यालयका एक न्यायाधिवक्ताका अनुसार चौधरीले बयानमा भनेका छन्, “त्यो बेला मेरो बुवाले व्यापार व्यवसायको नेतृत्व गर्नु भएको थियो। उहाँकै जोडबलमा कारखानासँग हाम्रो कम्पनीले सहकार्य गरेको थियो। बुवाले हात हालेको सबै काम मलाई जानकारी हुने कुरा भएन।” 

कारखानाको नाममा रहेको सरकारी जग्गा कम्पनीको नाममा रजिस्ट्रेसन पास गर्दा सरकारको अनुमति किन नलिएको भन्ने प्रश्नमा चौधरीले सरकारका उच्च अधिकारीहरू संलग्न कारखानाको सञ्चालक समितिले गरेको निर्णय आफूहरूले अविश्वास गर्ने कुरा नभएको बताएका छन्। 

उनले भनेका छन्, “त्यो बेला हामीसँग सहकार्य गर्ने निर्णय सानोतिनो मानिसले गरेका होइनन्। सरकारी अधिकारीहरू नै संलग्न भएर निर्णय गरिएको थियो। उहाँहरूले गरेको निर्णयलाई हामीले अविश्वास गर्ने कुरा हुँदैन थियो।” 

कम्पनी किन लिमिटेडबाट प्राइभेट बनाइयो भन्ने प्रश्नमा उनले २०४६ सालबाट आफू तीन भाइ भिन्नाभिन्नै भएको भन्दै त्यसपछिको घटनाक्रमबारे जानकार नभएको बताएका छन्। 

सीआईबीले उनको तीन घण्टा लामो बयान लिएको थियो।

–––– यो पनि ––––––


सम्बन्धित सामग्री