Sunday, May 05, 2024

-->

बाँसबारी प्रकरणमा पक्राउ परेकाको अनुसन्धान मंगलबारसम्म सक्न अदालतको आदेश- ‘नत्र हाजिरी जमानीमा छाड्नू’

बाँसबारीको जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीसहित तीनै जनाको अनुसन्धान मंगलबारसम्म सक्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

बाँसबारी प्रकरणमा पक्राउ परेकाको अनुसन्धान मंगलबारसम्म सक्न अदालतको आदेश- ‘नत्र हाजिरी जमानीमा छाड्नू’

काठमाडौँ– बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जनाको अनुसन्धान मंगलबारसम्म सक्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

म्याद थपका लागि सोमबार भएको बहसपछि जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबारदेखि लागू हुने गरी दुई दिनभित्रमा अनुसन्धान सक्न प्रहरीलाई आदेश दिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि पक्राउ परेका तीनै जनालाई सोमबार अदालतमा उपस्थित गराएको थियो। यसअघि अदालतले उनीहरूलाई चार दिन न्यायिक हिरासनमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो। 

सोमबार जिल्ला न्यायाधीश आचार्यको इजलासले दुई दिनभित्र अनुसन्धान सक्न आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। इजलासको आदेशअनुसार सीआईबीले मंगलबारसम्म अनुसन्धान सकेर सरकारी वकिल कार्यालय, काठमाडौँमा प्रतिवेदन पेस गर्नुपर्ने छ। र, सरकारी वकिल कार्यालयले बुधबार मुद्दा दायर गरिसक्नुपर्ने छ।

उनका अनुसार इजलासले बयान सम्पन्न भएको या अन्य बुझ्नुपर्ने काम मंगलबारसम्म सक्न भनेको हो। यदि, मंगलबारसम्म अनुसन्धान नसकिए हिरासतमा रहेका तीनै जनालाई हाजिरी जमानीमा छाडेर अनुसन्धान सक्न आदेश भएको छ।

सोमबार म्याद थपका लागि भएको बहसका क्रममा सरकारी वकिलहरूले हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरेका थिए। प्रतिवादीका तर्फबाट बहस गरेका कानून व्यवसायीले भने हिरासतबाहिरै राखेर पनि अनुसन्धान गर्न सकिने तर्क गरेका थिए। त्यसपछि इजलासले दुई दिनको मात्र समय दिएर अनुसन्धान सकाउन आदेश गरेको हो। 

“सोमबारदेखि दुई दिनको समय तोकिएको छ। त्यसभित्र अनुसन्धान सक्न भन्ने आदेश छ,” पन्थीले भने, “यो बीचमा बुझ्नुपर्ने कागज, अनुसन्धान गर्नुपर्ने सबै कुरा गर्नुपर्ने। योभित्र सम्पन्न हुन सकेन भने हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्न आदेश भएको छ।”

जिल्ला न्यायाधीश आचार्यले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(६) प्रयोग गरेर यो आदेश गरेका हुन्। 

दफा १४ मा अनुसन्धानका लागि हिरासतमा राख्न सकिने अवधि र त्यससम्बन्धी कार्यविधिको व्यवस्था छ। उपदफा ६ मा अनुसन्धान अधिकृतले कुनै व्यक्तिलाई उपदफा ३ बमोजिम हिरासतमा राख्ने अनुमति माग गरेकोमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजातहरू हेरी अनुसन्धान सन्तोषजनक रूपमा भएको वा नभएको विचार गरी, आवश्यक देखिए सम्बन्धित कानून व्यवसायीको बहससमेत सुनी अनुसन्धानका लागि हिरासतमा राख्न आवश्यक भएको देखिएमा एकै पटक वा पटक पटक गरी बढीमा २५ दिनसम्म हिरासतमा राख्ने आदेश दिन सक्ने भनेको छ।

जग्गा हडपेको आरोपमा सीआईबीले व्यवसायी चौधरीसहित अजितनारायणसिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उनीहरू पक्राउ परेलगत्तै सीआईबी माथि शीघ्र अनुसन्धान सक्न दबाब थियो। इजलासले नै आदेश गरेपछि सीआईबीले मंगलबारभित्र अनुसन्धान सक्नुपर्ने बाध्यता आइलागेको छ। “अनुसन्धान भइरहेको छ। इजलासले नै यस्तो आदेश गरेपछि दबाब त हुने नै भयो,” एक अनुसन्धान अधिकृतले भने।




––––– यो पनि ––––––

फलोअप –

समाचार प्रभाव – 

फलोअप –


सम्बन्धित सामग्री