Thursday, May 02, 2024

-->

बाँसबारी जग्गा प्रकरण: विनोद चौधरीमाथि भइरहेको अनुसन्धानबारे सभामुखलाई सीआईबीको पत्र

सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको छ। यो पत्रसँगै सीआईबीले सांसद चौधरीलाई पक्राउ गरेर बयान लिन सहज हुने भएको छ।

बाँसबारी जग्गा प्रकरण विनोद चौधरीमाथि भइरहेको अनुसन्धानबारे सभामुखलाई सीआईबीको पत्र

काठमाडाैँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारीको सरकारी जग्गा किर्ते गरी ठगी गरेको सम्बन्धमा सांसद तथा चाैधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको संलग्नताबारे अनुसन्धान भइरहेको पत्र सभामुखलाई पठाएको छ। 

सीआईबीका अनुसन्धान अधिकृत एसपी होविन्द्र बोगटीले सभामुख देवराज घिमिरेलाई पत्र पठाएर सांसद चौधरीका विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका हुन्। “बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको कामनपा ३ को १० रोपनी जग्गा गैरकानूनी तबरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयरधनी तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसदका सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी गराइन्छ,” सभामुखलाई सीआईबीले पठाएको पत्रमा भनिएको छ।

मुख्यतः चौधरीकै अगुवाइमा २०४३–२०४४ सालमा यो सरकारी जग्गा उनको परिवारले हात पारेको र पछि यसलाई निजी सम्पत्ति बनाइएको प्रकरण उकालोले उजागर गरेको थियो। चौधरी अहिले प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन्।

सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको छ। यो पत्रसँगै सीआईबीले सांसद चौधरीलाई पक्राउ गरेर बयान लिन सहज हुने भएको छ। संसद चलेका बेला कुनै पनि सांसदलाई पक्राउ गर्नुपर्ने वा बयानका लागि ल्याउनुपर्ने अवस्थामा प्रहरीले सभामुखलाई जानकारी दिनुपर्ने हुन्छ। सोहीअनुसार सीआईबीले सभामुखलाई पत्र पठाएको हो। 

यसअघि सीआईबीले सांसदलाई पक्राउ गरिसकेपछि सभामुखलाई जानकारी पत्र दिने गर्थ्यो। तर, बाँसबारीको अनुसन्धानका लागि भने सीआईबीले पहिले नै सभामुखलाई पत्र पठाएको हो। बाँसबारीमा सांसद चौधरीको बयान लिने सीआईबीले तयारी गरेको छ। 

आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिएका थिए। यो प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीले विनोदका भाई बसन्त चौधरी र भिनाजुसँग बयान लिइसकेको छ। माघ १८ गते अरुणचौधरी, अजितनारायणसिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको थियो।

प्रतिनिधिसभाका सभामुखसहितको प्रतिनिधिमण्डलको टोली बिहीबार विदेश भ्रमणमा जानुअघि नै सीआईबीले सभामुखलाई पत्र पठाएको हो। सीआईबीका एक अधिकृतले बताएअनुसार सम्भवत: बिहीबार नै विनोद चौधरीको बयान लिने तयारी भइरहेको छ।

–––– यो पनि ––––––


सम्बन्धित सामग्री