काठमाडौँ– बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुणकुमार चौधरीसहित तीन जना हाजिर जमानीमा छुटेका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको आदेशपछि उनीहरूलाई छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
सोमबार आचार्यको इजलासले बाँसबारी छाला ताथ जुत्ता कम्पनीको जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छाड्न आदेश गरेको थियो। “जिल्ला अदालत काठमाडौँको आदेशअनुसार हाजिरी जमानीमा आज तीनै जनालाई छाडिएको छ, यद्यपि सो प्रकरणको अनुसन्धान भने जारी छ,” एपी अधिकारीले भने।
सीआईबीले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा सीजी होल्डिंग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरी, तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।
अदालतको आदेशपछि थापा र ठाकुर पनि छुटेका छन्।