Saturday, May 11, 2024

-->

अरुण चौधरीको पक्राउप्रति निजी क्षेत्रको आपत्ति, शंकाकै भरमा वैयक्तिक स्वतन्त्रता हनन गरेको जिकिर

नेपाल उद्योग परिसंघले सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको आरोप लगाएको छ।

अरुण चौधरीको पक्राउप्रति निजी क्षेत्रको आपत्ति शंकाकै भरमा वैयक्तिक स्वतन्त्रता हनन गरेको जिकिर

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उद्योगी–व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेकोप्रति उद्योगी–व्यवसायीहरूले आपत्ति जनाएका छन्।

नेपाल उद्योग परिसंघले बिहीबार साँझ काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा उद्योगी–व्यावसायीहरूले सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको आरोप लगाएको छ।  

चौधरी ‘देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी’ रहेको र देश छोडेर कतै जाने अवस्था नरहेको उल्लेख गर्दै परिसंघले सार्वजनिक गरेको लिखित धारणामा भनिएको छ, “तर आज राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा पक्राउ गरेको छ। यसप्रति निजी क्षेत्रको घोर आपत्ति छ। यसले सम्पूर्ण उद्योगी–व्यवसायीको मानमर्दन भएको हामीले महसुस गरेका छौँ।”

पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीलाई शंकाकै भरमा पक्राउ गर्नु न्यायसंगत नभएको बताए। उनले चौधरीलाई बोलाएर सोधपुछ गर्न सकिने अवस्थामा प्रहरीले कुनै सूचनाबिना पक्राउ गरेको भन्दै यो प्रक्रियामा नै परिसंघको आपत्ति रहेको धारणा राखे। उनले चौधरीलाई पक्राउ गरेर सरकार प्रतिष्ठित व्यवसायीको मानमर्दन गरेको जिकिर गरे। 

परिसंघले सार्वजनिक गरेको लिखित धारणामा चौधरीलाई शंकाकै भरमा वैयक्तिक स्वतन्त्रताको हनन हुने गरी पक्राउ गरिएको र यस्तो कार्य कुनै पनि दृष्टिकोणले न्यायसंगत नहुने जिकिर गरिएको छ।  

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रमाथि सबैतिरबाट आक्रमण भइरहेको गुनासो गरे। उनले व्यवसायीलाई धरपकड गर्दै गए निजी क्षेत्रले राम्रोसँग काम गर्न नसक्ने उल्लेख गर्दै सरकारको यस्तो कदमबाट आफूहरू दुःखी भएको सुनाए।

नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले दोषी प्रमाणित नभएसम्म उद्योगी–व्यवसायीलाई थुनामा राख्न नहुने जिकिर गरे। उनले उद्योगी–व्यवसायीलाई प्रहरीले बोलाएर सोधपुछ गर्दा जवाफ दिन तयार रहे पनि सरकारले आशंकाकै भरमा थुन्ने काम गर्दा निजी क्षेत्र हतोत्साहित हुने उनले दाबी गरे। 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघले पनि चौधरीलाई पक्राउ गरिकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। “पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ,” महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका चौधरीलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धान गर्ने क्रममा सीआईबीको टोलीले बिहीबार पक्राउ गरेको थियो। प्रहरीले बिहीबार दिउँसो चौधरीसहित तीन जनालाई पक्राउ गरेको हो। 

पक्राउ परेकामा बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पनि छन्। उनीहरूलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिइसकेको छ। 

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएकोबारे उकालोले विस्तृत खोजमूलक रिपोर्ट प्रकाशन गरेको थियो। त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।


सम्बन्धित सामग्री