Wednesday, May 22, 2024

-->

मे १ : सर्वहारा वर्गीय सकसमा नवजागरणको खोजी

आदिम साम्यवादी युगमा प्रकृति नै प्रमुख उत्पादक शक्ति थियो भने पुँजीवादी युगमा पुँजी नै प्रमुख उत्पादक शक्ति थियो। भूमण्डलीकृत पुँजीवादी उपयुगमा 'विज्ञान-प्रविधि' प्रमुख उत्पादक शक्ति भएर उभिएको छ।

मे १  सर्वहारा वर्गीय सकसमा नवजागरणको खोजी

-प्रेम गैरे 'क्वान्टम'-

आदिम साम्यवादी युगको घुमन्ते/फिरन्ते जीवनशैली हुँदै मानवजाति अगाडि बढ्ने क्रममा करिब नौ हजार वर्षअघि दास युगमा प्रवेश गर्दछ। त्यस आसपास पशुपालन र कृषि उत्पादन प्रारम्भ भएको थियो। यही युगबाट नै निजी सम्पत्तिको अभ्युदय भई पितृसत्ता र मानिस-मानिस बीचमा दास-मालिकको उचनिचमय सम्बन्ध शुरू भएको मानिन्छ। दास युगको असमान र शोषणयुक्त युग विभिन्न लुट मच्चाउँदै अघि बढ्ने क्रममा ईशापूर्वको ७३ देखि ७१ सम्म अर्थात् करिब २१ सय वर्षअघि रोमन साम्राज्यविरुद्ध उम्दा क्रान्तिकारी योद्धा स्पार्टाकस र उनका सहयोद्धाहरूले विद्रोह छेडे। यही घटनालाई नै औपचारिक रूपमा दासहरूले मालिकविरुद्ध चलाएको पहिलो संघठित वर्गसंघर्षका रूपमा लिइन्छ। सन् १८७१ मा पेरिसमा मजदुरहरूले राज्यविरुद्ध विद्रोह गरी 'पेरिस कम्युन'को स्थापना गरेका थिए। मजदुर वर्गले शासक वर्गबाट खोसेर स्थापना गरेको पहिलो राज्यसत्ता नै त्यही हो, जुन ७२ दिनसम्म टिक्न सफल भएको थियो।

मे दिवसको सन्दर्भ
सन् १७०० को पूर्वार्ध अर्थात् १८औँ शताब्दीको प्रारम्भदेखि १९औँ शताब्दीको उत्तरार्धसम्म औद्योगिक क्रान्तिको चरणमा युरोप तथा अमेरिकाका मजदुरहरूलाई हरेक दिन १२ देखि १८ घण्टासम्म श्रम गर्न बाध्य बनाइएको थियो। अर्धस्वचालित र स्वचालित मेसिन जडानले मजदुरहरू बेरोजगार हुँदा मेसिनलाई नै दुस्मन ठानी 'मसिन फोरुवा आन्दोलन'समेत १८औ शताब्दीको सुरुवातमै श्रमिकहरूले गरेका थिए, जुन सरासर गलत संश्लेषणमा आधारित थियो। यसै क्रममा अमेरिकाको भर्जिनियामा सन् १८७७ मा एक वर्षभित्र ३ पटकसम्म ज्याला कटौती भएको विरोधमा श्रमिकहरूले 'ग्रेट अप्हियबल' आन्दोलन चरमोत्कर्षमा पुर्‍याएका थिए। आन्दोलनमा सयौँको संख्यामा श्रमिकको सहादत भएको थियो। 

यसरी वर्ग संघर्षको सांगठनिक शक्ति निर्माण गर्ने वैचारिकी पैदा गरेको थियो जर्मनीको 'अर्बाइटर जाइटुङ' अर्थात् श्रमिकको पत्रिकाले। उक्त आन्दोलनको आधारशिलामा टेकेर सन् १८८४ मा फेडेरेसन अफ् अर्गनाइज्ड ट्रेड्स एन्ड लेबर्स युनियन (फोट्लु)को सम्मेलनले आउँदो सालको मे १ देखि '८ घण्टा काम'को नियम श्रमिक वर्ग स्वयंले लागू गर्ने निर्णय पारित गर्‍यो। सोही निर्णयअनुरूप अमेरिकी मजदुर संगठनले सन् १८८६ मे १ का दिन आम हडताल आह्वान गर्‍यो, जसमा देशभरिबाट १३ हजार कार्यस्थलका करिब तीनदेखि पाँच लाखको संख्यामा श्रमजीवी मजदुर सडकमा उत्रिएर समर्थन जनाए। 

उर्लँदो संगठितविरोधी शक्ति देखेर शासक वर्गको होस उडेको अवस्थामा मे ३ का दिन कुनै कारखानामा काम सकेर जम्मा भएका मजदुरहरूलाई प्रहरी प्रशासनले धरपकड गरी तितरबितर पार्ने क्रममा एक जनाको हत्या र धेरै मजदुरलाई गम्भीर घाइते बनायो। उक्त आततायी घटनाको विरोधमा भोलिपल्ट हेमार्केट स्क्वायरमा जनप्रदर्शनको आयोजना गरियो। तर भिड तितरबितर भइसकेको स्थितिमा समेत प्रहरीले प्रदर्शनकारीमाथि एक्कासि गोली बर्सायो। 

सो क्रममा धेरै आन्दोलनकारीलाई घाइते बनाइयो र चार जनाको हत्या गरियो। केही प्रहरी आफ्नै सहकर्मीको गोलीले मर्न पुगे। घटनास्थलमा उपस्थित र अनुपस्थित गरी आठ जना मजदुरलाई उक्त सम्पूर्ण घटनाको दोषी ठहर गरियो। अमेरिकी मजदुर समाजवादी पार्टीका नेता अगस्ट स्पायसलगायत केही योद्धालाई मृत्युदण्ड दिइयो। सन्  १८८९ मा पेरिसमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रियले हेमार्केटमा भएको श्रमिक पक्षधरताको त्यागपूर्ण रक्तमुछेल इतिहासको स्मरण गर्दै ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ संसारभर मनाउन गरेको निर्णय र आह्वानपश्चात् यो दिवसले वैश्विक रूपमा मान्यता पाएको हो।

श्रम शोषणको जगमा उभिएको वर्गीय सत्ता
‘संसारका मजदुर एक होऔँ’ को बलशाली नारा बोकेर १९औँ शताब्दीको मध्यतिर (सन् १८४८) उदाएको मार्क्सवादी विचारधाराले भूमण्डलीकृत रूपमा छरिएर शोषणमा परेका श्रमिक वर्गलाई संगठित हुने र वर्गीय सत्ताविरुद्ध संघर्ष गर्ने विचार र बल पैदा गर्‍यो र गर्दै छ। सत्ता टिकाउन शासक वर्गले धर्मको कवच बनाउँछ र यसकै आड भरोसामा पाप-पुण्यको अवधारणाले छोपेर भाग्यवाद, कर्मफलवाद र पुनर्जन्मको एकोहोरो रटानद्वारा आम मानिसको श्रम शोषण गर्नु वर्गीय समाजको अनिवार्य दायित्व र चरित्र बन्न जान्छ। तर उक्त धार्मिक सत्ताले थापेको महाजाल च्यात्ने संगठित बल कम्युनिस्ट मेनिफेस्टोले दियो। 

धनी या गरिब हुनु व्यक्तिको इच्छाले निर्धारण हुँदैन भन्ने जालसाजीयुक्त अवधारणालाई असमान वितरण प्रणालीको अर्थशास्त्रीय परिभाषाद्वारा मार्क्सवादले प्रस्ट्याइदिएपछि हजारौँ वर्षदेखि बलियो भएर बसेको फटाहा र लुटाहा सत्ताको भागदौड मच्चियो। पुँजीवादी राज्यसत्ताको शुरूआतसँगै उक्त गलत र अवैज्ञानिक भाष्यको विनिर्माण त हुन पुग्यो, तर त्यसको संक्रमणकाल धेरै लामो समयसम्म रहिरह्यो। सामन्तवादका नेता राजा अर्थात् भूपतिको हातबाट सत्ता पुँजीपति वर्गको साथमा आइपुग्यो। यसको कारण मुख्य उत्पादक शक्ति जमिनबाट पुँजी हुन गयो। 

यही सत्ताले नै निरन्तर पाँच सय वर्षयता श्रमिक जनतालाई बलात् कज्याएर र श्रमको शोषणकारी अर्थशास्त्रीय नियमको तानाबाना बुनेर धनी र गरिबको फासला प्रतिपल बढाउँदै लगेको तथ्य-तथ्यांक हामी समक्ष उभिएकै छ। हालको तथ्यांक हेर्दा केही सय मानिसको हातमा विश्वको कुल ८५ प्रतिशत पुँजी केन्द्रित छ। उत्पादक र उपभोक्ता दुवै पक्षबीच गजधम्म बसेर विनिमय गरेको आधारमा नै बिचौलिया पुँजीपति वर्गले दुवै पक्षको लुट मच्चाउन सफल छन्। सिधा भाषामा बुझ्न सकिन्छ यी र यस्ता धन्दाले एक पक्षसँग अस्वाभाविक रूपमा पुँजी थुप्रिने र अर्को पक्षसँग रित्तिने क्रम जारी रहन्छ। यस्तो किसिमको लुटाहा र असमान अर्थतन्त्रलाई संरक्षण र प्रवर्द्धनको अविभावकीय जिम्मा राजनीतिक सत्ताले लिने गर्छ, किनकि यस्तो सत्ताको अभीष्ट श्रम शोषणलाई चिरस्थायी बनाउने हुन्छ।

नयाँ परिस्थिति र जागरण
विज्ञान र प्राविधिक  विकासको द्रुतगतिले मानव जीवन हाल ध्वनि गतिमा नभएर प्रकाश गतिको रफ्तारमा अगाडि बढिरहेको छ। यस्तो परिस्थितिमा १९औँ शताब्दीमा उठेको ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको एक दिवसीय समय विभाजनको माग परिपूर्तिले मात्रै वर्ग संघर्षको कार्य दिशा पूरा भएको ठहर्दैन। दास युगमा बँधुवा पशु समानको व्यवहार गर्दै मालिकले श्रम शोषण गर्थे भने विद्यमान परिस्थितिमा शोषणको चरित्र बिलकुल नौलो बन्न पुगेको छ।

१) श्रम क्षेत्रमा  बदलाव
दास र सामन्तवादी युगमा कृषि क्षेत्रमा अत्यधिक मानिसलाई कज्याइन्थ्यो भने दोस्रो विश्व युद्धसम्म हजारौँ संख्याका मजदुरलाई एउटै उद्योग कारखानामा थुपारेर काममा लाद्ने गरिन्थ्यो। हाल श्रम क्षेत्र असंगठित क्षेत्रोन्मुख भएको छ। प्राविधिक विकासको छलाङले गर्दा उत्पादन क्षेत्रमा मानवको भूमिका मेसिनले लिएको छ र तिनको काम केवल अपरेटरको छ। त्यससँगै, उत्पादनमुखी क्षेत्रबाट सेवा क्षेत्रमा धकेलिएका छन् श्रमिकहरू। जसरी जात व्यवस्था र पितृसत्ताका उत्पीडन नयाँ आयामसहित समाजमा पदार्पण भएको छ, उसैगरी श्रम शोषणको नयाँ आयाम छरपस्ट रूपमा देखिएकै छ।

२) उत्पादक शक्ति र उत्पादन सम्बन्धमा फेरबदल
उत्पादक शक्तिको विकासले नै युग परिवर्तन हुने गर्छ। आदिम साम्यवादी युगमा प्रकृति नै प्रमुख उत्पादक शक्ति थियो भने पुँजीवादी युगको प्रतिस्पर्धात्मक या औद्योगिक उपयुगसम्म पुँजी नै प्रमुख उत्पादक शक्ति थियो। हालको भूमण्डलीकृत पुँजीवादी उपयुगमा 'विज्ञान-प्रविधि' प्रमुख उत्पादक शक्ति भएर उभिएको छ। उत्पादक शक्तिको फेरबदलले नै उत्पादन सम्बन्ध निर्माण या विनाश हुन्छ भन्ने मार्क्सवादले निर्दिष्ट गरेको बाटो हो। उत्पादन सम्बन्धमा आएको फेरबदलले अब श्रमिक वर्गको असंगठित क्षेत्रको उपस्थितिलाई विज्ञान र प्रविधिको प्रयोगद्वारा संगठित र प्रशिक्षित गर्नुपर्ने भएको छ।

३) नयाँ भेरियन्टको श्रम शोषण र अनुत्पादक देश
असंगठित क्षेत्रमा समेत 'हायर एन्ड फायर'को शोषकीय नीतिले श्रमिक वर्गलाई हर क्षण मनोवैज्ञानिक त्रासमा कज्याउने र अनवरत शोषण गर्ने रणनीति पुँजीवादी व्यवस्थाले अख्तियार गरेको देखिन्छ। अर्कोतर्फ नेपालजस्ता सापेक्षिक रूपमा गरिब र अविकसित मुलुकहरू केवल पासपोर्टधारी दासहरूको उत्पादक र निर्यातकर्ता बन्दै रेमिट्यान्सको मूल स्रोतले अर्थतन्त्र धान्नुपर्ने स्थितिमा गुज्रिएको छ। भूमण्डलीकृत पुँजीवादले बहुराष्ट्रिय कम्पनीमार्फत नाफा कुम्ल्याउने र गरिब मुलुकहरू अनुत्पादक बन्दै जाने प्रक्रिया तीव्रतापूर्वक अगाडि बढेको छ।

४) आफ्नै उत्पादन एवं वितरण प्रणाली
प्रमुख उत्पादक शक्ति विज्ञान-प्रविधिलाई अब सर्वहारा श्रमिक वर्गले स्वयंको मातहतमा ल्याई प्रारम्भिक चरणको आफ्नै उत्पादन एवं वितरण प्रणालीको विकास गर्दै जानुपर्छ। जस्तै: उत्पादक–उपभोक्ताबीच सिधा सम्पर्क हुने कुनै अनलाइन तथा 'एप्स'मार्फत वितरण प्रणालीको विकास गर्न सकिन्छ। स्वयं उत्पादक हुने क्रम बढाउँदै जाँदा श्रम शोषक वर्गलाई श्रम शक्ति अभाव हुँदै जान्छ। साथै श्रमिकको श्रमले उत्पादन गरेको वस्तुलाई मध्यस्थकर्ताको भूमिकामा रहेर खान पल्केका बिचौलियाको जग हल्लिन्छ, जसले गर्दा पुँजीवादी आर्थिक प्रणालीलाई एक स्तरको नोक्सानी या धक्का पुग्छ।

५) नव युगिन वर्ग संघर्ष
बदलिँदो परिस्थितिमा वर्गसंघर्षको कार्यभारलाई परिवर्तनकारी शक्तिहरूले मार्क्सवादको नवीनतम सिर्जनात्मक  प्रयोगद्वारा अगाडि बढाउनु पर्छ। ऐतिहासिक कमजोरीको निर्ममतापूर्वक समीक्षा गर्दै नयाँ रणनीतिक एवं कार्यनीतिक दिशा सुस्पष्ट पार्दै आवधिक कार्यक्रमको तर्जुमासहित मुर्झाएको वर्गीय मुक्तिको सपनालाई ब्युँताउने दायित्व सन्निकट आएको छ।

अन्त्यमा
समग्रमा, सतहमा देखिएका सुधारवादी आन्दोलन र अभियानका धक्काले हल्काफुल्का रूपान्तरणका बाछिटा देखिन या महसुस गर्न सकिएला, यद्यपि यी क्रियाकलापले आमूल परिवर्तनको दैलो उघार्ने ल्याकत राख्दैनन्। नयाँ 'विस्थापित वर्ग'समेत जन्मिसकेको सन्दर्भमा रूपान्तरण मात्रै नभएर आमूल रूपान्तरण आवश्यक छ। त्यसका लागि शोषण र दमनकारी सत्ताविरुद्ध सचेत प्रयत्नले निर्मित संगठित सत्ताको बलमा कष्टसाध्य संघर्ष गर्नु अपरिहार्य हुन्छ। यसर्थ, उक्त संघर्षमय यात्राका निम्ति मात्रात्मक हुँदै गुणात्मक बन्दै जाने मार्क्सवादी नियमअनुसार संसारका सर्वहारा श्रमजीवी वर्ग र परिवर्तनकामी अन्य वर्गहरूको एकत्वको प्रक्रिया अत्यावश्यक देखिन्छ, जसको शक्तिले मात्रै कहालीलाग्दो लामो श्रम शोषणको शृंखलालाई अन्त्य गर्ने वर्गविहीन समाज निर्माणको बाटो तय गर्छ।

(गैरे वैज्ञानिक समाजवादी पार्टीका पूर्वकेन्द्रीय सदस्य हुन्। यो उनको व्यक्तिगत विचार हो।)


सम्बन्धित सामग्री