Friday, May 17, 2024

-->

पोहोर शतक, यसपालि सस्तैमा आउट– के होला मिशन ०८४?

‘फ्रन्टफुट’मा ‘स्ट्रेट ड्राइभ’ मार्न खप्पिस कप्तान अहिले ‘ब्याकफुट’मा टुकुरटुकुर छेक्न संघर्षरत छन्। पार्टी उपकप्तानसहित स्थापनाकालीन ‘प्लेइङ सेट’का खेलाडीले पनि सहकारीका ‘बाउन्सर’ सामना गर्नुपरेको छ।

पोहोर शतक यसपालि सस्तैमा आउट– के होला मिशन ०८४

पोहोर यति बेलाको माहोल सम्झिऔँ। सामाजिक सञ्जालमा एकथरी जश्न मनाइरहेका थिए। अर्काथरी शोकमग्न सुनिन्थे। राष्ट्रिय स्वतन्त्र पार्टीसम्बद्ध शुभेच्छुकले त जश्न मनाउने नै भए, पुराना दलहरूबाट वाक्क–दिक्क भएका पनि गद्गद् थिए। नयाँ दलको ‘थ्रेट’ले सुध्रिन्थे कि भनेर पुरानै दलका कतिपय शुभचिन्तकहरू नतिजालाई सहर्ष स्वीकार गरिरहेका थिए।   

चितवन–२ र तनहुँ–१ मा रास्वपाले शानदार जित हासिल गरेको थियो। चुनावी ‘इनिङ’मा रवि लामिछाने र स्वर्णिम वाग्लेले छक्कै–छक्का उडाएर खडा गरेको उच्च स्कोर छेउछाउ पनि पुग्न सकेनन् कांग्रेस–एमालेका खेलाडी। बरा, सस्तैमा ‘क्लिन बोल्ड’ भएका थिए। बारा–२ मा रमेश खरेलको जमानतै जफत भए पनि शानदार जितेको टिमलाई को ‘डकआउट’ भयो भन्ने वास्ता नभएजस्तै भएको थियो। 

गत वर्ष वैशाख १० को दिन सम्पन्न त्यो उपचुनावको नतिजाले रास्वपालाई उचालेर आसमानमा पुर्‍याइदिएको थियो। नपुर्‍याओस् पनि किन! नागरिकता काण्डको कारण दुई महिनामै संसद्‍बाट ‘रिटायर्ड हर्ट’ भई छैटौँ महिनामै पुनः चुनावी मैदानमा उत्रिदा अझ उत्कृष्ट प्रदर्शन गरी अघिल्लो इनिङभन्दा बढी स्कोर खडा गर्न सफल भएका थिए। उपचुनावमा खडा गरेको ५४ हजार १७६ को स्कोर मात्र होइन, आमचुनावकै ४९ हजार ३०० को स्कोरको कीर्तिमान तोडिन मुस्किल छ। 

नवप्रवेशी डा. वाग्लेले पनि ‘डेब्यु’मै उच्च स्कोर खडा गरेर महत्त्वपूर्ण खेलाडीका रूपमा ‘प्लेइङ सेट’ मा स्थान सुनिश्चित गरिहाले। क्याप्टेनसँग उनको साझेदारी शानदार रहेको थियो।   

तर १२ महिनामै खोला फर्कियो, अवस्था उल्टियो। वैशाख १५ को यो उपचुनावले रास्वपालाई शोकमग्न बनाइदिएको छ। कांग्रेसका लागि नतिजा निराशाजनक नै रह्यो, अनपेक्षित थिएन। पार्टी सभापति शेरबहादुर देउवाले उत्कृष्टभन्दा पनि आफ्नो गुटका सदस्यलाई मैदानमा उतारेपछि गठबन्धन गर्दाधरी हारेको ठाउँमा जितिने आकलन थिएन। तैपनि रास्वपा उम्मेदवारको जमानत जफत हुँदा तिनलाई जश्न मनाउने बहाना मिलेको छ। 

हुन त, रास्वपा समर्थकले पनि इलाम–२ अनि बझाङको प्रदेशसभामा कांग्रेसको पराजयलाई जश्नको बहाना बनाउन सक्नेछन्। भारतले जुनसुकै देशसँग क्रिकेट म्याच हार्दा पाकिस्तानमा अनि पाकिस्तानले जुनै देशसँग हार्दा भारतमा जश्नको माहोल हुने अवस्था यहाँ देखिएको छ। कांग्रेस–रास्वपा सम्बन्ध पछिल्ला दिनमा भारत–पाकिस्तानकै झल्को दिने दिशाउन्मुख जो छ। 

चुनाव प्रचारमा संघीय सरकारका मन्त्री, सांसद, नेताको लावालस्कर अनि सभापति रविले डेराडण्डै जमाउँदा पनि टिम रास्वपाका मिलन लिम्बुको जमानत जोगिएन, बडा सस्तैमा क्लिन बोल्ड भए। त्यो उपचुनावमा चितवन–२, बारा–२, तनहुँ–१ सबैतिर तेस्रो हुँदै लुरुलुरु ‘पेभेलियन’ फर्किएको एमालेले यो उपचुनावी प्रतिस्पर्धाको कप उचालेको छ। डिफेन्डिङ च्याम्पियनले इलाम–२ मा उपाधि रक्षा गर्‍यो नै, बझाङको प्रदेशसभामा पनि पुनरागमन जित हासिल गरेको छ।

त्यो उपचुनावले रास्वपालाई यस्तो उत्साहित बनाइदिएको थियो– तिनका नेता, समर्थक सबका सबको थेगो बनिसकेको थियो मिशन–८४। नभनुन् पनि किन, चुनाव लगत्तै सदस्यता लिन चाहनेमा लोकसेवा सम्झाउने आकर्षण थियो। कांग्रेसकै नेताले ‘०८४ को चुनाव त नयाँले जितिहाले, हामी ०८९ को तयारी गर्ने हो’ भनेको पनि सुनियो।

इलाम–२ को नतिजाले मिसन–८४ को लड्डु मनमा फुटाइरहेका रास्वपा नेताहरूलाई राजकुमारीसँग बिहे गर्न जन्तीको लावालस्करसहित दरबार प्रवेश गरिरहेको सपना देखिरहेको मनुवालाई आमाले पानीको बाल्टी नै खन्याइदिएको अवस्थामा पुर्‍याइदिएको हुनुपर्छ। ‘टुर्नामेन्ट’ शुरू हुनु कहिले हो कहिले अहिलेदेखि ‘क्लिनस्वीप’ गरिसकेको सपनामा जो थियो।  

चुनाव र क्रिकेटको हारजितको फैसला उस्तैउस्तै हुनेगर्छ, अन्तिम चरणको माहोलले उलटफेर भइरहन्छ। चार वर्ष, अझ साढे चार वर्षअघि नै मुख मिठ्याउन थाल्नु र एउटा टुर्नामेन्ट सकिनासाथ वर्षौंपछि हुने अर्को टुर्नामेन्टको नतिजा आफ्नो पक्षमा हुन्छ भनेर आशावादी हुनु उस्तैउस्तै हो। 

हाम्रोमा बालेन शाहको लहर वर्षौं होइन कि महिनौँअघि पनि आएको थिएन। एकदम ताजा युवा (कतिपय त मतदाता पनि नभइसकेका) बीच चासो र चर्चाको विषय बनेका बालेनको पक्षमा चुनावको केही दिनअघि मात्र हरेक उमेर, जात, धर्म समुदायमा आकर्षण देखिएको थियो। असारमा रोपाईं गरेर मंसिरमै फसल काट्न पाएको रास्वपाले ०८४ सालमा फसलको उत्पादन र उत्पादकत्व धेरै गुणा बढेको सम्झेर मखलेल हुनु बचकना नै थियो।  

राजनीतिमा समयअगावैको लहर घातक पनि हुनसक्छ। अलि अघि भारतको मध्यप्रदेशमा लामो समयदेखि सत्तामा रहेको भारतीय जनता पार्टी पराजित भई कांग्रेसले चुनाव जित्ने प्रक्षेपण गरिएको थियो। चुनावको एकाध हप्ता बाँकी रहँदा भाजपाले जबर्जस्त ‘कमब्याक’ गरेको भन्दै ‘काँटे की टक्कर’ हुने अड्कल/विश्लेषण हुन थाल्यो। एक्जिट पोलले भाजपा नै सत्तामा निरन्तर रहने नतिजा निकाल्यो। भयो पनि त्यस्तै। चुनावी पण्डितहरूका अनुसार कांग्रेसको पक्षमा समयअगावै लहर आयो। लहरलाई कायम राख्ने जाँगर चलाइएन। अर्कोतिर सत्तारुढ भाजपाले काउन्टर तयारी गर्ने समय पायो, सक्दो मेहनत गर्‍यो, जित्यो पनि। चुनावको साढे चार वर्षअघि नै रास्वपाको लहर आयो, साढे तीन वर्ष बाँकी रहँदै गयो।   

अब रास्वपाको हालत किन यस्तो भयो भनेर मथिंगल खियाइरहनु नै छैन, कुरा क्लियर छ। केही महिनायता टिम रास्वपाका कप्तान रवि लामिछाने सहकारी ठगीको बाउन्सर, गुगली र योर्करको सामना गर्दागर्दै थाक्न थालेका देखिन्छन्। वर्षदिन अघिसम्म मुखैमा बज्रेलाजस्तो बाउन्सरलाई ‘अपरकट’ गरेर ‘बाउन्ड्री’ कटाउने आक्रामकता बाँकी रहेन। ‘फ्रन्टफुट’मा खेलेर ‘स्ट्रेट ड्राइभ’ गर्न खप्पिस टिम कप्तान यति बेला हरेक बललाई ‘ब्याकफुट’मा टुकुरटुकुर छेक्न संघर्षरत छन्। उनीमात्रै होइन पार्टी उपकप्तानसहित स्थापनाकालीन ‘प्लेइङ सेट’का अरू खेलाडीहरूले पनि सहकारीका बाउन्सर सामना गर्न परिरहेको छ, ‘म्याच फिक्सिङ’ले टिमै विवादमा परेजस्तै। 

विवादको बाउन्सरले रवि झन् तेजिलो हुने क्रम पनि सहकारी ठगीकाण्डले भंग भएको छ। रवि लामिछाने र विवाद नौलो कुरा होइन, नङमासुको जस्तै सम्बन्ध छ। ‘एलबीडब्लू’, ‘स्टम्पिङ’ वा ‘कट बिहाइन्ड’मा जेजति अपिल भए पनि कहिले रेफ्री त कहिले थर्ड अम्पायरले उनलाई ‘नटआउट’ करार गरिरहे। रविले धेरैजसो चौका/छक्काबाट र कहिले दगुरेर पनि रन जोड्दै गए। आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीले आत्महत्याका लागि जिम्मेवार ठहर्‍याउदै प्राण त्याग गरे पनि उनले भिडियोमार्फत दिएको मृत्युकालीन घोषणाले रविलाई रनआउट गर्न सकेन। अदालतबाटै सफाइ पाएर क्रिजमा जमिरहे। दोहोरो पासपोर्टमा रनआउट हुने क्लियर देखिए पनि रेफ्री (सत्ता)ले नटआउट भन्दियो (तैपनि थर्ड अम्पायरले आउट भन्दिने ठाउँ चै अझै छ)। सहकारी ठगीमा चाहिँ उनी अविजित (नटआउट) भइरहन सकस पर्ने देखिँदैछ। प्रतिपक्षी कांग्रेस नै बाउन्सर फाल्दै ‘हाउजाट’ भनेर चिच्याएको चिच्यायै छ। सत्ताले अविजित भने पनि कांग्रेस संसदीय छानबिनमार्फत ‘भीएआर’ नगरी नहुने अड्डी कसेर बसेको छ।

रास्वपाका चुनौती शुरू भएका हुन, अन्त्य कहाँ हो भनिहाल्न सकिँदैन। एकातिर टिमका सचिन तेन्दुलकरले निर्वाध खेलिरहन सक्ने अवसर प्राप्त गरिरहन सजिलो छैन। स्टार खेलाडीलाई बेञ्चमा बस्न परे टिमको खेल प्रभावित भइहाल्छ।        

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा टुटुल्के नामक खातावालले पोष्ट गरेको ‘चुनाव जित्ने भएपछि एमाले उसै खुशी, आफू दोस्रो हुँदा नि घण्टी सखाप भएकोमा कांग्रेस खुशी, आफैँ सखाप हुदा नि कांग्रेस दोस्रो भएकोमा घण्टी झनै खुशी’ वास्तविकतासँग मेल खान्छ। इलाम–२ सुरक्षित गर्नुका साथै यसअघि गुमाएको बझाङको प्रदेशसभासमेत जितेको एमालेले जश्न मनाउने नै भयो। इलाम–२ मा फराकिलो अन्तरले हारका बाबजुद रास्वपाको जमानत जफत तिनका लागि जश्न मनाउने बहाना बनेकै छ।

हुन पनि ‘नाई मलाई त्यही डम्बर खड्का चाहियो’ भनेर पार्टी सभापति शेरबहादुरले अड्डी कसेपछि कांग्रेसले चुनाव हारिसकेकै थियो। यस्ता हार देउवाका लागि सबक/सन्देश हुँदा पनि हुँदैनन्। भन्नुको तुक पनि छैन। राजा र हिन्दू राष्ट्र भनेर सडक तताइरहेकै बेला चुनावी क्रिजमा पुगेको राप्रपाले शर्मनाक पराजय बेहोर्‍यो। बेथितिले वाक्कदिक्क भएका नागरिक पनि अब गणतन्त्र, धर्म निरपेक्षता, संघीयता जस्तो संविधानले टुंगो लगाइसकेको विषयलाई जनमतसंग्रहको नाममा पुनश्च म्याच खेलाएर देशैलाई बर्बादीतिर लैजान तयार छैनन्।

राप्रपाले इलाम–२ मा खडा गरेको ४०४ र बझाङको प्रदेशसभामा २४२ को स्कोरको सन्देश प्रष्ट छ। उच्च स्कोर खडा गरेर म्याच जित्न सही अभ्यास थाल्नुपर्‍यो। ०८४ को नतिजाको आकलन गर्नु टुर्नामेन्टको वर्षौंअघि कप कसले उचाल्छ, कुन खेलाडीले कति रन बनाउँछ, कति बाउन्ड्री ठोक्छ भनेर आकलन गर्नुजस्तै हुनजान्छ। टिम रास्वपाको हकमा यति भन्न सकिन्छ सहकारी ठगीको दागधब्बा पखालेर सफा/स्निग्ध पोसाकमा मैदानमा उत्रिएको नदेखिए स्टेडियमका दर्शकले ‘आउट–आउट’ चिच्याएर हत्तु पार्दिन सक्छन्।     

इब्तिदा–ए–इश्क है रोता है क्या
आगे–आगे देखिए होता है क्या  
मीर तकी ‘मीर’


सम्बन्धित सामग्री