Sunday, April 28, 2024

-->

सुन्न नसक्नेका लागि ‘वरदान’ बनेको उपचार प्रविधिः कक्लिअर इम्प्लान्ट

जन्मजात श्रवण क्षमता नभएका बालबालिका र कुनै रोग वा दुर्घटनाका कारण नसुन्ने भएका मानिसले चिकित्सकसँग सल्लाह गरेर समयमै कक्लिअर इम्प्लान्ट गरेमा सुन्न सक्छन्।

सुन्न नसक्नेका लागि ‘वरदान’ बनेको उपचार प्रविधिः कक्लिअर इम्प्लान्ट

काठमाडौँ– गोँगबुका ३० वर्षीय रवि बानियाँ दुई वर्षअघि पुतलीसडकको एक कन्सल्टेन्सीमा काम गर्थे। एक दिन अचानक उनको दुवैतिरका गालामुनिको भाग दुख्न थाल्यो। दुखाइ सहन नसकेपछि उनी छटपटाउँदै चिकित्सककहाँ पुगे। जाँच गराउँदा हाडे (गल्फुलो) भएको पत्ता लाग्यो। 

चिकित्सकको सुझावअनुसार औषधि खाएपछि दुखाइ निको भयो। तर दुई हप्तापछि अर्को समस्याले पिरोल्न थाल्यो। उनले कन्सल्टेन्सीमा निरन्तर विद्यार्थी लगायतका सहकर्मीसँग अन्तर्क्रिया गर्नुपर्थ्यो। तर दुवै कानले पहिलेभन्दा निकै कम मात्र सुन्न थालेपछि सुन्ने क्षमता गुम्ने डरले फेरि अस्पतालतिर हानिए। 

रविका अनुसार पुनः विस्तृत परीक्षणपछि गल्फुलोका कारण श्रवणशक्ति कम हुँदै गएको र असर बढ्दै जाँदा पूरै नसुन्नेसमेत हुन सकिन्छ भन्ने उनले थाहा पाए। त्यसबाट थप चिन्तित उनले चिकित्सकसँग परामर्श गरेर ‘श्रवण यन्त्र’ प्रयोग गरे। तर त्यसले पनि सुन्न सकेनन्। त्यसपछि ‘कक्लिअर इम्प्लान्टेसन’ बाहेक अन्य विकल्प नभएको सल्लाह चिकित्सकबाट पाए। 

सुन्नमा समस्या हुँदाहुँदै उनले मुस्किलसँग एक महिना काम गरे। त्यसपछि उपचारमा केन्द्रित भए। जागिरबाट राजीनामा दिएको दुई दिनपछि दाहिने र त्यसको तीन हप्तापछि देब्रे कानको शल्यक्रिया भयो। केही समयपछि उनका दुवै कानको बाहिरी भागमा ‘प्रोसेसर’ लगाइयो। लगत्तै तीन महिना ‘स्पिच थेरापी’ गरेपछि उनी पहिलेजस्तै सुन्न सक्ने भए। 

कक्लिअर इम्प्लान्टेसनपछि आवाज प्रष्ट सुन्न र बुझ्न सक्ने भए पनि शुरूमा भने यसले काम गर्छ कि गर्दैन भनेर शंका लागेको रविले बताए। “श्रवण यन्त्रले काम नगरेपछि कक्लिअर इम्प्लान्टेसनले पनि काम गर्ने हो कि होइन भन्ने लागेको थियो। तर यसले सुनाइ एकदमै प्रष्ट भएको छ,” उनले भने, “म अहिले तीन वटा शैक्षिक संस्थाका विद्यार्थीलाई विभिन्न पाठ्यक्रममाथि अन्तरक्रिया गर्दै पढाउँछु। प्रोसेसरबाट सुनिने आवाजसँग परिचित भएपछि ध्वनि स्पष्ट रूपमा बुझिन्छ।”

बानेश्वरका ४८ वर्षीय राम लिम्बू एउटा बैंकमा सुरक्षा गार्डको रूपमा कार्यरत छन्। उनका अनुसार केही वर्षअघि गाडी दुर्घटनामा परेर उनको देब्रे कानको श्रवण क्षमता गुमेको थियो। चिकित्सकको सिफारिसमा उनले पनि शल्यक्रियाबाट कक्लिअर इम्प्लान्टेसन गरे। त्यसलगतै स्पिच थेरापी गरेपछि बिनाकुनै समस्या दुवै कानबाट स्पष्ट सुन्न सक्ने भएको उनको अनुभव छ। 

“दुर्घटनापछि देब्रे कानबाट सुन्न नसक्दा दाहिनेको भरमा मात्र गाह्रो भइरहेको थियो। तर कक्लिअर इम्प्लान्टेसनपछि दुवै कानले सुन्न सक्छु भन्ने आशा जगाइदियो। शल्यक्रिया गरेको केही समयपछि थेरापी गरेँ। अहिले गार्डको रूपमा काम गरिरहेको छु,” लिम्बूले भने।

नाक, कान, घाँटीको उपचार गरिने विभिन्न अस्पतालमा कानको उपचार गराउन आएका बिरामीहरूसँग कक्लिअर इम्प्लान्टेसनको बारेमा सोधपुछ गर्दा धेरैले यसबारे थाहा नपाएको बताए। जानकारी पाएकाहरूमा पनि बच्चामा नभई वयस्क भएपछि मात्र गर्न मिल्छ भन्ने धारणा रहेको पाइयो, जुन सही होइन। बरु त्यसको ठीक उल्टो चाहिँ सत्य हो।  

जोन्स हप्किन्स स्कुल अफ मेडिसिनमा प्रकाशित एक विशेषज्ञको आलेखअनुसार श्रवणशक्तिमा गम्भीर कमजोरी भएका बालबालिकाहरूमा नौ महिनाको उमेरपछि जुनसुकै बेला पनि कक्लिअर इम्प्लान्टेसन गर्न सकिन्छ। जति चाँडो कक्लिअर इम्प्लान्ट राखिन्छ त्यति नै बढी फाइदा हुने उक्त आलेखको निष्कर्ष छ।

त्यसलाई पुष्टि गर्ने दृश्य त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको गणेशमानसिंह भवनभित्र रहेको नाक, कान, घाँटी (ईएनटी) वार्डमा देखिन्छ। श्रवणशक्ति कम भएका बालबालिकाको बहिरोपन पत्ता लाग्नेबित्तिकै अभिभावकले शल्यक्रियाका लागि यहाँ ल्याउने गरेका छन्। उनीहरूलाई सुन्न सक्ने बनाई सोहीअनुसार बोल्ने क्षमताको पनि सँगसँगै विकास गर्न यो उपचार पद्धति प्रभावकारी भएको अनुभव यहाँ भेटिएका अभिभावकहरूले सुनाए।

ईएनटी वार्डको एउटा बेडमा भेटिएका साढे दुई वर्षीय बालक आफ्नी आमाको मोबाइलमा भिडियो हेरेर रमाउँदै थिए। उनको दाहिने कान शल्यक्रियापछि लगाइएको सेतो पट्टीले ढाकिएको थियो। तर भिडियो हेर्दै र सुन्दै हाँसिरहेका उनी पीडामुक्त देखिन्थे। उनमा जन्मजात नै दुवै कानबाट स्पष्ट सुन्न नसक्ने समस्या रहेको आमा देविका रायले बताइन्। 

पहिलो पटक श्रवणशक्ति जँचाउँदा छोराले कुनै प्रतिक्रिया नदिई आत्तिएको उनलाई याद छ। छोरालाई सुन्न सक्ने बनाउन सफल हुने आशामा भक्तपुरको लोकन्थलीबाट आएको उनी बताउँछिन्। एकातिरको कानमा कक्लिअर इम्प्लान्टेसन गर्दा बच्चाका लागि फाइदा हुने चिकित्सकको सल्लाहपछि माघ २२ गते शल्यक्रिया गरेको देविकाले बताइन्। शल्यक्रियाको एक महिनापछि प्रोसेसर राखिने र त्यसपछि छोराले प्रष्ट सुन्ने र बोल्न सक्नेमा उनी आशावादी छिन्।

“दुवै कानको सुन्ने क्षमता निकै कम भएर शुरूमा श्रवणयन्त्र राखिएको थियो। तर त्यसले काम नगरेर कक्लिअर इम्प्लान्टेसनको विकल्पमा गयौँ। प्रोसेसर राखेपछि हामीले बोलेको पनि उसले सुन्न सक्छ र बिस्तारै बोल्न पनि सिक्छ भन्ने ठूलो आशा छ,” उनले भनिन्।

सँगैको बेडमा दुवै कानको कक्लिअर इम्प्लान्टेसन शल्यक्रियापछि अवलोकनका लागि एक हप्तादेखि राखिएका साढे दुई वर्षकै अर्का बालक थिए। उनकी आमा पुनम केसी छोराको स्याहार गर्नमा व्यस्त थिइन्। उनका अनुसार आफ्नो बच्चाले कुनै पनि आवाज/ध्वनिमा प्रतिक्रिया नदिएपछि ‘अटिजम’को शंका लागेर जँचाउन पाटन अस्पताल लगिएको थियो। श्रवणशक्ति परीक्षणबाट छोराले कान सुन्दैन भन्ने थाहा पाएपछि साह्रौ चिन्तित हुनु परेको उनले सम्झिइन्। 

तर अस्पतालका एक चिकित्सकले उपचारका लागि शिक्षण अस्पताल जान सल्लाह दिएपछि बसोबास नै लगनखेलबाट महाराजगन्ज सारेको पुनम बताउँछिन्। छोराको कक्लिअर इम्प्लान्टेसन शल्यक्रिया भएर प्रोसेसर राख्न मात्र बाँकी रहँदा उनले भनिन्, “सुन्न नसकेकै कारण उसलाई अरूले नानाथरी नामहरू देलान् भन्ने डर थियो। अब चाहिँ बाबुले यो सब भोग्नु नपर्ने भयो। उसले हामीले बोलेको कुरा र बाहिरी आवाजमा कहिले प्रतिक्रिया दिन्छ भनेर पर्खिइरहेका छौँ।”

के हो कक्लिअर इम्प्लान्ट?
मायो क्लिनिकमा प्रकाशित एक जानकारीमूलक लेखअनुसार कक्लिअर इम्प्लान्ट श्रवण सुधार गर्ने एक विद्युतीय उपकरण हो। कानको भित्री भाग क्षति भएर श्रवण यन्त्रले पनि सुन्न सहायता नपुगेका व्यक्तिहरूका लागि यो विकल्प उत्तम हुन सक्छ। श्रवण यन्त्र र कक्लिअर इम्प्लान्ट दुवैले पछि श्रवणशक्ति गुमाएका मानिसलाई सुन्नमा मद्दत गरे पनि एक वा दुवै कानको श्रवण क्षमतामा गम्भीर रूपले हानि भएका र बोलेको कम बुझ्नेहरूका लागि कक्लिअर इम्प्लान्ट सबैभन्दा उपयुक्त मानिन्छ। 

कक्लिअर इम्प्लान्ट गर्दा कानको छालाबाहिर रहने स्पिच प्रोसेसर र शल्यक्रियाबाट भित्रको कक्लियामा जडान गरिने इलेक्ट्रोडको ठूलो भूमिका हुने त्रिवि शिक्षण अस्पतालको ईएनटी विभागका सहप्राध्यापक डा. रविन्द्रभक्त प्रधानांगले बताए। उनका अनुसार स्पिच प्रोसेसर र इलेक्ट्रोड चुम्बकद्वारा एक अर्कासँग जोडिन्छन्। बाहिर जडान गरिएको भागमा माइक्रोफोन हुन्छ, जसबाट वातावरणको आवाज/ध्वनि स्पिच प्रोसेसरसम्म पुग्छ। 

“स्पिच प्रोसेसरले ती ध्वनि शक्तिलाई भित्र जडान गरिएको इम्प्लान्टमा रेडियो फ्रिक्वेन्सी सिग्नल बनाएर पठाउँछ। ध्वनि शक्तिभित्र जडान गरिएको इम्प्लान्टले रेडियो फ्रिक्वेन्सीलाई विद्युतीय शक्तिमा परिणत गरी कक्लियामा राखिएको इलेक्ट्रोडसम्म पुर्‍याउँछ,” उनले भने, “इलेक्ट्रोडबाट विद्युतीय सूचना कक्लिअर नर्भ नामक नशामार्फत दिमागसम्म पुग्छ र आवाज सुनिन्छ। यसरी कक्लिअर इम्प्लान्टले कानको खराब भइसकेको भित्री कक्लियालाई बाइपास गरी आवाजलाई दिमागसम्म पुर्‍याउने काम गर्छ।”

कक्लिअर इम्प्लान्टले कसलाई काम गर्छ? 
डा. प्रधानांगका अनुसार जन्मजात सुन्न नसक्ने बालबालिका बोल्न पनि नसक्ने हुन्छन्। समयमै कक्लिअर इम्प्लान्ट गरेर स्पिच थेरापीपश्चात् उनीहरू सुन्न र बिस्तारै बोल्न पनि सक्छन्। राम्ररी सुन्न र बोल्न सक्ने व्यक्तिमा कुनै पनि रोग (हाडे, टाइफाइड ज्वरो, मेनिन्जाइटिस, दादुरा, ल्यावेरिनथाइटिस) का कारण पूर्णरूपमा गुमेको श्रवण शक्ति कक्लिअर इम्प्लान्टबाट फर्काउन सकिन्छ। 

त्यस्तै, कानको संक्रमणको उपचार समयमा नभई भित्री भागसम्म फैलिएर नसुन्ने भएकाहरूको  सुन्ने क्षमता पनि कक्लिअर इम्प्लान्टबाट फिर्ता गर्न सकिन्छ। उमेरको कारणले सुन्ने शक्ति कम भएर श्रवण यन्त्रको प्रयोगबाट पनि सुनाइमा प्रगति नभएकाहरूलाई सुन्न सक्ने बनाउन यो विधि प्रभावकारी रहेको डा. प्रधानांगले बताए।  

त्यसबाहेक कुनै कारणले एउटा कानको श्रवण शक्ति पूर्णरूपले गुमेको अवस्थामा दुवै कानको सुनाइबाट लाभ लिन कक्लिअर इम्लान्टले मद्दत गर्छ। एउटा मात्र कानको सुन्ने क्षमता गुमेका व्यक्तिहरूले स्वस्थ कानबाट पनि आवाज कुन दिशाबाट र कति टाढाबाट आएको छ त्यो पहिचान गर्न र राम्ररी बुझ्न सक्दैनन्। त्यस्तो समस्याको समाधान कक्लिअर इम्प्लान्टबाट गर्न सकिन्छ।

शल्यक्रियाअघि र पछि जान्नुपर्ने कुरा
डा. प्रधानांगका अनुसार कक्लिअर इम्प्लान्टको शल्यक्रिया गर्नुभन्दा एक महिनाअघि हेमोफिलस इन्फ्लुएन्जा, मेनिन्गोकोकल मेनिन्जाइटिस, न्युमोकोकल मेनिन्जाइटिस र हेपाटाइटिस बीको खोप चिकित्सकको सुझावअनुसार लगाउनुपर्ने हुन्छ। यसले शल्यक्रियापछि मेनिन्जाइटिस हुनबाट जोगाउँछ।

शल्यक्रिया सकिनासाथ सुन्ने क्षमता आइहाल्ने होइन। शल्यक्रिया गरेको तीनदेखि ६ हप्तापछि अर्थात् घाउ निको भएपछि मात्र प्रोसेसर जडान गरिने हुँदा त्यसपछि मात्र सुन्न सकिन्छ। सुन्ने र बोल्ने क्षमता सुधार गर्न स्पिच थेरापी लिनुपर्ने हुन्छ। थेरापीको सेसन बिरामीले गर्ने प्रगतिअनुसार फरक हुन्छ। इम्प्लान्टपछि सुनिने आवाज/ध्वनि प्राकृतिक सुनाइजस्तो चाहिँ हुँदैन। 

उपचार कहाँ पाइन्छ?
कक्लिअर इम्लान्ट सेवा हाल काठमाडौँको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मात्र उपलब्ध छ। नेपालमा कक्लिअर इम्प्लान्टको आवश्यक पर्ने समूह धेरै भए पनि प्राविधिक ज्ञान र सीप भएका जनशक्तिको कमीका कारण यो सेवा अन्य अस्पतालमा बिस्तार हुन नसकेको डा. प्रधानांगले बताए।

नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित अनुसन्धान नतिजाअनुसार नेपालले कक्लिअर कम्पनी र भारतको प्राविधिक टोलीको सहयोगमा शिक्षण अस्पतालमा सन् २००४ मा कक्लिअर इम्लान्ट कार्यक्रम शुरू गरेको थियो। त्यसपछिका वर्षहरूमा कक्लिअर र मेड–एल जस्ता इम्लान्ट कम्पनीहरूको सहयोगमा अस्पतालको जनशक्तिलाई थप तालिम दिइयो।

ओटोलारिन्गोलोजिस्ट, अडियोलोजिस्ट, स्पिच एन्ड ल्यांग्वेज प्याथोलोजिस्ट, बाल रोग विशेषज्ञ, बाल मनोवैज्ञानिक, रेडियोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट र नर्स सम्मिलित टोलीको सामूहिक प्रयासमा सन् २०१३ मा कक्लिअर इम्प्लान्ट नेपाल ग्रुप स्थापना भएको थियो। यसले इम्प्लान्ट गर्नेहरूलाई आर्थिक सहायता पनि प्रदान गर्दै आएको छ।

सन् २०२३ को २ सेप्टेम्बरमा वीर अस्पतालले र ३ सेप्टेम्बरमा नेपाल मेडिसिटी अस्पतालले पनि आवासीय चिकित्सकहरूका लागि ‘कक्लिअर इम्प्लान्ट लाइभ सर्जिकल कार्यशाला’मा कक्लिअर इम्प्लान्टको शल्यक्रिया गरेको थियो। सोही शल्यक्रियाको तालिम दिन भारतबाट प्राध्यापक डा. जेएम हान्स नेपाल आएका थिए। वीर अस्पतालमा पनि चाडैँ नै कक्लिअर इम्प्लान्ट सेवा शुरू हुने अस्पतालकी विभागीय प्रमुख डा. अनिता जिसीले बताइन्। 

प्रोसेसर र इलेक्ट्रोडको लागत रकम गुणस्तरअनुसार फरक हुने चिकित्सकहरू बताउँछन्। “साधारण प्रकारको प्रोसेसर र इलेक्ट्रोडको लागत कम हुन सक्छ भने पानीमा भिज्दा पनि असर नपर्ने चाहिँ महँगो पर्न सक्छ। सस्तोमा १० लाख र महँगोमा २७ लाखसम्मको पाइन्छ। यो बाहेक शल्यक्रिया शुल्क, औषधि शुल्क र स्पिच थेरापीमा छुट्टै खर्च लाग्छ,” डा. प्रधानांगले भने।

कक्लिअर इम्प्लान्टप्रतिको भ्रम
धेरैजसो मानिस कक्लिअर इम्प्लान्टको लागि शल्यक्रिया गर्नेबित्तिकै सुन्न र बोल्न सकिन्छ भन्ने भ्रम बोकेर अस्पताल आउने गरेको वर्षौंदेखि वीर अस्पतालमा कार्यरत डा. प्रधानांगको अनुभव छ। कक्लिअर इम्प्लान्टले नसुन्नेलाई सुन्न सक्ने बनाउन सकिने, तर विशेष तरिकाको तालिम दिएपछि मात्र सुनेर बुझ्ने क्षमतासँगै बोली र भाषाको विकास हुने उनी बताउँछन्। 

“जन्मजात सुनाइसम्बन्धी अपांगता भएका र ३०–३५ वर्ष उमेर पुगिसकेका व्यक्तिलाई कक्लिअर इम्प्लान्टले केही फाइदा गर्दैन। मस्तिष्कको विकास पूर्ण भइसकेपछि सुन्न र बोल्न आवश्यक पर्ने यसका भागहरूको विकास सम्भव हुँदैन। त्यसकारण यस्ता व्यक्तिलाई भावनात्मक सद्भाव देखाएर कक्लिअर इम्प्लान्ट गर्न उत्साहित नगरेको राम्रो हुन्छ,” उनले भने। 

जन्मजात नसुन्ने बालबालिकाको हकमा तीन वर्षको उमेरअघि नै कक्लिअर इम्प्लान्ट गर्न सकेमा धेरै राम्रो हुने डा. प्रधानांगको सल्लाह छ। उनी भन्छन्, “६ वर्षको उमेरपछि भने कक्लिअर इम्प्लान्टमार्फत श्रवण शक्ति राम्रो बनाउन सकिए पनि बोली र भाषाको विकासमा राम्रो प्रगति नहुन सक्छ। केही कारणवश बीचमा श्रवण क्षमता गुमेकालाई भने कक्लिअर इम्प्लान्टले निकै सहयोग गर्छ।”

डा. प्रधानांगका अनुसार सरकारले कक्लिअर इम्प्लान्टका लागि योग्य व्यक्तिहरूलाई विगत सात वर्षदेखि आंशिक कोष नीतिअनुरूप आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। हालको व्यवस्थाअनुसार कक्लिअर इम्प्लान्ट प्रयोग गर्नुपर्ने व्यक्तिले जनही ६ लाख ५० हजार रुपैँया सरकारी सहयोग पाउँछन्। बर्सेनि ३० बिरामीका लागि पुग्ने सहायता आउने गरेकाले बालबालिका र वयस्कसहित त्यति नै संख्यामा मात्र कक्लिअर इम्प्लान्टको शल्यक्रिया गरिन्छ।


सम्बन्धित सामग्री