Sunday, April 28, 2024

-->

फलोअप
बालमन्दिर प्रकरणमा अख्तियारको प्रवेश, सीआईबी पनि छुट्टै अनुसन्धानमा

नेपाल बाल संगठनको नक्सालस्थित बालमन्दिर परिसरको २९ रोपनी जग्गा संगठनका पदाधिकारीको मिलीभगतमा व्यापारिक घरानाले कब्जा गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ।

बालमन्दिर प्रकरणमा अख्तियारको प्रवेश सीआईबी पनि छुट्टै अनुसन्धानमा 

काठमाडौँ– अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिन स्थापित नेपाल बाल संगठनको नक्साल, काठमाडौँस्थित बालमन्दिरका लागि जोहो गरिएको २८ रोपनी जग्गा अहिले व्यापारिक घराना विशाल ग्रुपको कब्जामा छ। बाल संगठनका तत्कालीन पदाधिकारीहरूको मिलीभगतमा व्यापारीले कब्जा गरेको यो जग्गाबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ।  

नक्सालमा रहेको निजी विद्यालय, बृहस्पति विद्या सदन सञ्चालनका लागि विशाल ग्रुपले बाल संगठनको २८ रोपनी ५ आना १ पैसा जग्गा कसरी कब्जा गर्‍यो भन्ने फेहरिस्त उकालोले २०७९ माघ ६ गते विस्तृत खोज रिपोर्टमार्फत उजागर गरेको थियो। अहिले विशाल ग्रुपका सदस्यहरू नै बहुसंख्यक लगानीकर्ता रहेको बृहस्पति स्कुलले यो जग्गा २०४९ सालयता बाल संगठनका पदाधिकारीसँग पटक–पटक गैरकानूनी सम्झौता गरेर कब्जा गरिरहेको छ। 

बाल संगठनबाट लामो समयका लागि लिजमा हात पारेको जग्गामध्ये विशाल ग्रुपले ९ रोपनी जग्गा ‘सब–लिज’मा दिएको देखाएको छ। जबकि त्यो सब लिजमा दिइएको भनिएको जग्गामा पनि अधिकांश लगानी विशाल ग्रुपकै रहेको राय स्कुल सञ्चालन भइरहेको छ। राय स्कुल भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट मान्यताप्राप्त विद्यालय हो। लगानीकर्ता तिनै भए पनि ‘सब लिज’ देखाउनलाई हुनसक्छ, राय स्कुलले बृहस्पतिलाई ९ रोपनी जग्गा र त्यसमा बनेको ५ तले भवनको मासिक एक लाख रुपैयाँ भाडा बुझाउने गरेको छ। 

नेपाल बाल संगठनबाट लिजमा लिइएको जग्गा सब-लिजमा लिएर सञ्चालित राय स्कुल।


उकालोले २०७९ माघ ६ गते बालमन्दिरको जग्गा प्रकरण उजागर गरेयता यस विषयमा निरन्तर फलोअप समाचार प्रकाशन गर्दै आएको छ। त्यसयता बाल अधिकारको संरक्षण र भ्रष्टाचारविरुद्धको अभियानमा संलग्न विभिन्न व्यक्तिदेखि सांसद र संघसंस्थाले समेत यो विषयमा अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन्।  

संसद्मा समेत पटक–पटक उठेको यो विषयमा सरकारले पहल नगरे पनि चौतर्फी दबाबपछि संवैधानिक निकाय, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ। अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बालमन्दिर प्रकरणमा आयोगले अनुसन्धान शुरू गरिसकेको बताए। 

“बाल संगठनको जग्गा बृहस्पति विद्या सदन स्कुलले कसरी भाडामा लिएको हो भन्नेबारे आयोगले अनुसन्धान शुरू गरिसकेको छ,” घिमिरेले उकालोसँग भने, “अनुसन्धान भइरहेको छ, बाँकी कुरा अहिल्यै भन्न मिल्दैन।” 

बालमन्दिर जग्गा प्रकरणमा अख्तियारले यसभन्दा पहिले पनि अनुसन्धान गरेको थियो। त्यसबेला बाल संगठनबाट बृहस्पति स्कुलले १३ रोपनी १२ आना १ पैसा जग्गा लिजमा लिँदा भाडा रकम नमिलेको भन्दै लिज सम्झौता नै रद्द गर्न अख्तियारले बाल संगठनलाई निर्देशन दिएको थियो। संगठनले आयोगको निर्देशनअनुसार लिज सम्झौता खारेज गर्ने निर्णय गरेपछि त्यसविरुद्ध बृहस्पति स्कुल अदालत गएको थियो। तर अदालतमा मुद्दा छिनोफानो हुन विलम्ब भएपछि संगठनका तत्कालीन पदाधिकारीसँग ‘मेलमिलाप गरेर’ बृहस्पतिले पुनः त्यो जग्गा हात पारेको थियो। 

त्यसबेला अदालतमा मुद्दा विचाराधीन रहेकै बेला संगठनका अध्यक्ष रीता सिंहले यो जग्गा ठेकेदार–व्यापारी मनोजकुमार मिश्रलाई लिजमा दिने सम्झौता गरेकी थिइन्। पछि त्यो सम्झौता त अघि बढ्न पाएन, अख्तियारको अनुसन्धान पनि त्यसै सामसुम भएको थियो। 

यसपालि आयोगले शुरू गरेको अनुसन्धान पनि कहिले र कसरी टुंगिएला भन्ने निश्चित नभएको आयोगकै एक उच्च अधिकारीले बताए। “बाल संगठनका पदाधिकारीहरूले अख्तियारको दुरूपयोग गरेको स्पष्ट नै छ। तर, पहिले पनि लिज सम्झौता खारेज गर्न मात्र निर्देशन दिने काम भयो,” उनले भने, “अहिले पनि त्यस्तै हुने हो कि भन्ने डर छ। माथि माथि कुरा मिलाइन्छ, हामीले अनुसन्धान बीचमै रोक्नुपर्ने अवस्था आउँछ।” 

बालमन्दिर प्रकरणमा अनुसन्धान अघि बढ्दा राजनीतिक कनेक्सन भेटिने र बीचमै अनुसन्धान सामसुम हुने गरेकाले यसपालि पनि खासै आशावादी नरहेको बाल संगठनका अधिकारीहरू नै बताउँछन्। हुन पनि बालमन्दिर प्रकरणको केन्द्रमा तत्कालीन अध्यक्ष रीता सिंह छन् जो नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी छोरी हुन्। गणेशमानकै ‘इच्छा’मा उनलाई बाल संगठनको अध्यक्ष बनाइएको थियो। 

उनी अध्यक्ष बनेपछि बाल संगठनको जग्गा लिज प्रकरणमा सिंह परिवारकै भूमिका रहेको बाल संगठनका तत्कालीन कर्मचारीहरू बताउँछन्। त्यसमा पनि रीताका भाइ, कांग्रेस सांसद प्रकाशमान सिंह जोडिने उनीहरूको भनाइ छ। “रीता सिंहले भाइ प्रकाशमानसँग सरसल्लाह गरेर नै बाल संगठनको सम्पत्ति हिनामिना गरेको देखिन्छ,” सिंह बाल संगठनमा रहँदाका एक पदाधिकारीले उकालोसँग भने।

तर बालमन्दिर प्रकरणमा अनुसन्धान शुरू गरेको अख्तियारले यसको केन्द्रमा रहेकी तत्कालीन अध्यक्ष रीता सिंहसँग सोधपुछ गर्न पाएको छैन। आयोगका एक अधिकारीले सिंह गम्भीर बिरामी परेकाले उनीसँग बयान लिन नपाएको बताए। “अनुसन्धानका क्रममा कागजात अध्ययनसँगै बयान पनि लिन शुरू गरिहाल्ने योजना थियो। तर यो प्रकरणका मुख्य पात्र (रीता सिंह) नै बिरामी परेकाले बयान लिन कठिन भइरहेको छ,” उनले भने। 

टहरामा सीमित नेपाल बाल संगठनको नक्सालस्थित बालगृह।


सीआईबीको छुट्टै अनुसन्धान
नेपाल बाल संगठनको २८ रोपनी ५ आना १ पैसा जग्गा विशाल ग्रुपका सदस्यहरूले अधिकांश हिस्सा ओगट्ने बृहस्पति विद्या सदनले कब्जा गरेको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि अनुसन्धान शुरू गरेको छ। तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो विषयमा अनुसन्धान शुरू गर्न निर्देशन दिएपछि सीआईबीका अधिकारीहरूले बाल संगठनबाट आवश्यक कागजात झिकाएर अध्ययन शुरू गरेका थिए। 

सीआईबीका प्रवक्ता, एसपी होविन्द्र बोगटी अहिले आफूहरू कागजात अध्ययनमै रहेको, यसलाई प्रारम्भिक अनुसन्धान मान्न सकिने बताउँछन्। “हामी केही महिनादेखि यो विषयमा अध्ययन गरिरहेका छौँ। यसलाई प्रारम्भिक अनुसन्धान मान्न सकिन्छ। थप अनुसन्धान कसरी अघि बढ्छ, अहिले नै भन्ने अवस्था छैन,” उनले भने। 

फागुन २३ गते गृहमन्त्री बनेपछि रवि लामिछानेले पनि बालमन्दिर प्रकरणमा अनुसन्धानअघि बढाउन सीआईबीलाई निर्देशन दिएका छन्। लामिछानेले बाल संगठनको जग्गा कब्जा गरिएको विषयलाई आफूले गम्भीर रूपमा लिएको बताए। “पहिले नै पनि मैले यसलाई गम्भीर रूपमा लिएको थिएँ, अहिले त झन् कानून कार्यान्वयन गर्ने जिम्मेवारीमा छु,” गृहमन्त्री लामिछानेले उकालोसँग भने, “बाल संगठनको जग्गा कसरी विशाल ग्रुपले कब्जा गर्‍यो भन्नेबारे गहिरो अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको छु। अब यो सीआईबीले अनुसन्धान गर्ने विषय हो।” 

सीआईबीका एक अनुसन्धान अधिकृतले भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हात हालिसकेको विषयमा आफूहरूले औपचारिक अनुसन्धान शुरू गरिहाल्ने या कागजात अध्ययनका लागि केही समय प्रतीक्षा गर्ने भन्ने अन्योलमा आफूहरू रहेको बताए। “यो विषयमा आयोगले अनुसन्धान शुरू गरिसकेकाले सकेसम्म आयोगले नै गम्भीरतापूर्वक यो विषय अनुसन्धान गर्नु राम्रो हुन्छ,” उनले भने, “तर आयोगले अनुसन्धानका नाममा समय खेर मात्र फाल्ने गरेको छ। आयोगको कामकारबाहीले गर्दा पनि हामी के गर्ने भन्ने अन्योलमा छौँ।” 

अख्तियारको अनुसन्धान नियाल्ने अर्को विषय पनि छ। २०७९ कात्तिक ५ गते उकालोले उजागर गरेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा देशकै ठूलोमध्येको व्यापारिक घराना चौधरी ग्रुपले हडपेको विषयमा पनि अख्तियारले अनुसन्धान शुरू गरेको थियो। 

तर अख्तियारले अनुसन्धान थालेको करिब १५ महिना बित्दासम्म पनि त्यसमा कुनै प्रगति भएन। यस्तो अन्योलबीच सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान शुरू गरेको थियो। सीआईबीको अनुसन्धानकै आधारमा भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी जग्गा गत चैत ९ गते सरकारकै नाममा दर्ता कायम गरिसकेको छ। 


बालमन्दिरमा विशाल ग्रुपको कब्जाको कथा
अनाथ र सहाराविहीन बालबालिकाको संरक्षण गर्ने उद्देश्यसहित रानी रत्नको पहलमा राष्ट्रिय निर्देशन ऐन २०१८ आएपछि २०२१ सालमा नेपाल बाल संगठन स्थापना भएको थियो। त्यसको केही वर्षमै काठमाडौँलगायत विभिन्न जिल्लामा संगठनले आफ्नो सेवा र सञ्जाल विस्तार गर्दै सम्पत्तिसमेत जोडेको थियो। 

संगठनका तत्कालीन अध्यक्ष, पूर्वअधिराजकुमारी प्रेक्षा शाहले २०४० सालमा संगठनको केन्द्रीय सभाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै भनेकी थिइन्, “नेपाल बाल संगठन अबोध शिशुहरूको अभिभावक तथा संरक्षकत्वहरूको सतत् प्रयासबाट सञ्चालन हुने भएकाले यस संगठनको सफल सञ्चालनको लागि स्वार्थरहित भई इमानदारीसाथ कार्य सञ्चालन गर्ने समाजसेवीहरूको सदा खाँचो रहन्छ।” 

२०४६ सालको राजनीतिक परिवर्तनपछि बाल संगठनको सम्पत्तिमा पहुँचवाला व्यापारीहरूले आँखा लगाउन शुरू गरे। त्यहीक्रममा बालबालिकाको क्षेत्रमा लामो समय काम गरेका बाल संगठनका तत्कालीन अध्यक्ष ठाकुरप्रसाद मैनालीलाई हटाएर उनको ठाउँमा गणेशमान सिंहकी छोरी रीता सिंहलाई ल्याइएको थियो। सिंह नेतृत्वमा आएपछि नै व्यापारीको हितमा हुने गरी बाल संगठनको नयाँ विधान बनाइयो। 

विधान बनेलगत्तै डिल्लीबजारमा स्कुल चलाइरहेका तत्कालीन बृहस्पति स्कुलका संस्थापक पुरुषोत्तमलाल जोशीले बाल संगठनको जग्गा आफूलाई लिजमा दिन रीताका बुबा गणेशमानलाई सिधै आग्रह गरेका थिए। 

जोशीले हामीलाई बताएअनुसार गणेशमान उनका मित्र थिए। मित्रताका आधारमा गणेशमानले नै संगठनको जग्गा लिजमा लिएर स्कुल चलाउन आफूलाई आग्रह गरेको जोशीले उकालोलाई बताएका थिए। 

बाल संगठनका नाममा नक्सालमा कुनै बेला ११९ रोपनी जग्गा थियो। श्री ३ राणा प्रधानमन्त्री भीमशमशेरको निधनपछि पत्नी सीताले भोगचलन गर्दै आएको नक्सालस्थित ११९ रोपनी जग्गा अधिग्रहण गरेर सरकारले बाल संगठनको नाममा ल्याएको थियो। 

जोशीको गणेशमानसँगको सम्बन्धकै कारण शुरूमा बाल संगठनको ९ रोपनी  जग्गा मासिक ५० हजार रुपैयाँ तिर्ने गरी बृहस्पतिलाई लिजमा दिन २०४९ माघ २७ गते सम्झौता गरिएको थियो। यो सम्झौतामा संगठनका तर्फबाट तत्कालीन महासचिव श्यामकुमार आले र बृहस्पतिका तर्फबाट अख्तियारप्राप्त चिरञ्जीवी तिवारीले हस्ताक्षर गरेका थिए। कांग्रेस नेता तिवारीको निधन भइसकेको छ। 

यो सम्झौता २०५२ फागुन १ गतेसम्म बहाल रहने सम्झौतामै उल्लेख भए पनि त्यसपछि १० महिना अर्थात् २०५३ माघ १० गतेसम्म बृहस्पतिले सम्झौताबेगर संगठनको जग्गा भोगचलन गर्‍यो। त्यसपछि संगठनका अध्यक्ष रीता सिंहले पहिलो सम्झौताको मूल्यांकन नगरी दोस्रो पटक बृहस्पतिसँग जग्गा लिज सम्झौता गरेकी थिइन्। जसअनुसार २०५३ माघ १० गतेदेखि ८ वर्षसम्म लागू हुने गरी मासिक १ लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी लिज सम्झौता भयो।

यो सम्झौतामा संगठनका तर्फबाट तत्कालीन महासचिव प्रचण्ड प्रधान र बृहस्पतिको तर्फबाट तिवारीले नै हस्ताक्षर गरेका थिए। 

प्रधानले बृहस्पतिसँग दोस्रो पटक लिज सम्झौता गर्ने निर्णय आफ्नो नभई संगठनका तत्कालीन अध्यक्ष रीता सिंहको भएको उकालोसँग बताएका छन्। सिंहले आदेश दिएकाले आफूले हस्ताक्षर गरेको उनको भनाइ छ।

यो सम्झौता कायमै रहेका बेला बृहस्पतिले थप २ रोपनी जग्गा लिजमा दिन बाल संगठनलाई आग्रह गरेको, संगठनले भने थप ५ रोपनी जग्गा बृहस्पतिलाई जिम्मा लगाएको कागजातले देखाउँछन्। बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठले यसको जिम्मेवारी पनि सिंहले नै लिनुपर्ने बयान यसबीच सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई दिएका छन्। 

तर २०५८ जेठ ८ गते संगठनको १४ रोपनी ९ आना जग्गा वार्षिक ३० लाख रुपैयाँ भाडा बुझाउने गरी ३० वर्षका लागि लिज सम्झौता गर्दा संगठनबाट श्रेष्ठले र बृहस्पतिका तर्फबाट संस्थापक पुरुषोत्तमलाल जोशीले हस्ताक्षर गरेका छन्।

पहिले पनि अख्तियारबाट अनुसन्धान
बाल संगठन र बृहस्पति स्कुलबीच तेस्रो जग्गा लिज सम्झौता २०८८ जेठ ८ गतेसम्म लागू हुने भनिएको थियो। त्यतिञ्जेल प्रतिस्पर्धाबिनै संगठनको जग्गा बृहस्पतिले लिजमा पाइरहेको थियो। त्यही सिलसिलामा २०५९ भदौ ११ गते बाल संगठनको थप १३ रोपनी १२ आना १ पैसा जग्गा वार्षिक ६ लाख रुपैयाँ तिर्ने गरी बृहस्पतिले ३० वर्षका लागि लिजमा पायो। यो सम्झौतामा संगठनका तत्कालीन महासचिव रामकाजी कोने र बृहस्पतिका तर्फबाट संस्थापक पुरुषोत्तमलाल जोशीले हस्ताक्षर गरेका छन्। 

त्यसभन्दा पहिले नै लिजमा दिइसकिएको १४ रोपनी ९ आना जग्गाको लिज अवधि २०८८ जेठ ८ गतेसम्म लागू हुने गरी सम्झौता भइसकेको अवस्थामा ‘नेगोसियसन’ बाट त्यसलाई बढाएर २०८९ वैशाख १ गतेसम्म पुर्‍याउने निर्णयसमेत त्यही बेला गरियो। 

बाल संगठनको नेतृत्वले यसरी मनोमानी रूपमा बृहस्पतिलाई जग्गा दिन थालेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उजुरीका आधारमा आयोगले २०६६ भदौ १९ गते संगठनबाट बृहस्पतिले पछिल्लो पटक लिजमा लिएको १३ रोपनी १२ आना १ पैसा जग्गाको भाडा रकम नमिलेको भन्दै त्यो सम्झौता रद्द गर्न निर्देशन दिएको थियो। 

आयोगको निर्देशनका आधारमा बाल संगठनले त्यो सम्झौता रद्द गर्‍यो। तर त्यसविरुद्ध बृहस्पति स्कुल सर्वोच्च अदालत पुग्यो। सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै बेला २०६६ माघ १३ गते बाल संगठन अध्यक्ष रीता सिंहले त्यो जग्गा आफ्ना भाइ प्रकाशनमान सिंहसँग निकट गरेका व्यापारी मनोज मिश्रलाई लिजमा दिने सम्झौता गरेकी थिइन्। 

उता मुद्दामामिला गर्दागर्दै दुवैतर्फ नोक्सानी मात्र भएको भन्दै दुवै पक्षले मिलापत्र गर्ने निर्णय गरे। अनि बृहस्पतिले संगठनसँग मिलापत्र गरी पुनः उक्त जग्गा आफूले लिजमा लिन सफल भयो। मिलापत्रका आधारमा २०७२ साउन ३ गते गरिएको पूरक सम्झौताबाट पहिलेको १४ रोपनी ९ आना र पछिल्लो पटकको १३ रोपनी १२ आना १ पैसा गरी २८ रोपनी ५ आना १ पैसा जग्गा २१३२ सालसम्म लिजमा भोगचलन गर्न पाउने अधिकार बृहस्पतिले पाएको छ। 

योलगायत अन्य जग्गा लिज सम्झौता, संगठनभित्र भएका अनियमितता र अपराधबारे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन। 


बालमन्दिर प्रकरण : सम्बन्धित समाचार

२ वर्षमा सकिनुपर्ने बालमन्दिर प्रबलीकरण ४ वर्षसम्म अधुरै, टहरामा उकुसमुकुस छन् बालबालिका
बालमन्दिरको जग्गामा व्यापारीको कब्जा: गैरकानूनी सम्झौता रद्द गर्न सरकारकै असहयोग
बाल संगठनको घरजग्गामा आँखा : नमूना नगर भक्तपुरमा बालगृहलाई नै ‘बारबन्देज’
बालमन्दिरको जग्गामा १० तले कम्प्लेक्स बनाउने विशाल ग्रुपको योजनामा ‘अंकुश’
बाल संगठनबाटै बालक 'बेपत्ता' प्रकरण अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, मानव बेचबिखन ब्यूरोले थाल्यो अनुसन्धान
बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा
बाल संगठनले ५ वर्षको हुँदा बेपत्ता पारेका टुहुरा बालकलाई १७ वर्षदेखि खोजिरहेका मामा
बालमन्दिरको २९ रोपनी जग्गा हडप्ने योजनामा अंकुश, रीता सिंह र मनोज मिश्रबीचको सम्झौता खारेज
बालमन्दिरको बर्बादीमा जोडिएका महासचिव गणेशभक्त : टेकुको जग्गा आफैँले हडपेर व्यापार
बाल संगठनको जग्गा हडप्न गरिएको सम्झौतालाई सरकारकै टेको!
बाल संगठनका पदाधिकारीहरूले गुहारे सरकार– बृहस्पतिलाई जग्गा दिने सम्झौता खारेज गरिदेऊ
बाल संगठनका पदाधिकारी–कर्मचारीबाट बर्बाद अनाथ बालकको जीवन–कथा
लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्‍याएको आयोग प्रतिवेदन
बालमन्दिर प्रकरण : पर्साको जग्गामा पनि व्यापारीको कब्जा, बाबुले निर्णय गरेर छोरालाई दिए
‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’
बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ


सम्बन्धित सामग्री