Sunday, April 28, 2024

-->

फलोअप
सरकारी जग्गा हडपेका ल्हारक्यालले अटेर गरेपछि नगरपालिकाले काट्यो ७ दिने ताकेता पत्र

माओवादी नेता ल्हारक्याल लामाले निजी निवास बनाउन हडपेको २ रोपनी १ आना सरकारी जग्गा फिर्ता ल्याउन बुढानीलकण्ठ नगरपालिकाले बुधबार ७ दिने म्याद तोकेरै ताकेता पत्र काटेको छ।

सरकारी जग्गा हडपेका ल्हारक्यालले अटेर गरेपछि नगरपालिकाले काट्यो ७ दिने ताकेता पत्र

काठमाडौँ– सत्तारूढ नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाले हडपेको सरकारी (सार्वजनिक) जग्गा फिर्ता ल्याउन प्रक्रिया अघि बढाएको बुढानीलकण्ठ नगरपालिकाले लामालाई पुनः ताकेता पत्र काटेको छ। लामाले बुढानीलकण्ठ नगरपालिका–२ मा २ रोपनी १ आना सार्वजनिक जग्गा हडपेर निजी निवास बनाएकोबारे उकालोले विस्तृत विवरण उजागर गरेको थियो।

त्यसकै आधारमा सार्वजनिक जग्गा हडपेकोबारे यथार्थ विवरणसहित उपस्थित हुन लामालाई पत्र काटेको नगरपालिकाले उनले कुनै ‘रेस्पोन्स’ नगरेपछि समय किटान गरेरै ताकेता पत्र पठाएको हो।

गत माघ १४ गते बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले लामालाई पत्र पठाउँदै यथार्थ विवरण माग गरेका थिए। त्यो पत्रको कुनै जवाफ प्राप्त नभएपछि मेयर अधिकारीले नै बुधबार सात दिनको समय तोकेर लामालाई ताकेता पत्र पठाएका छन्। बुधबार पठाइएको पत्रमा उल्लेख छ, “प्रस्तुत विषयमा यस नगरपालिकाको च.नं. १९५१, मिति २०८०/१०/१४ को पत्र प्राप्त गरी व्यहोरा अवगत भएकै होला। तत् सम्बन्धमा वडा नम्बर २ स्थित सिट नं. १०२०९०७–१० (साविक चपली–८‘क’ सिट नं. १९८) को किता नम्बर २६ को जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध गराइदिनू।”

यसअघि नगरपालिकाले माघ १४ गते समय नतोकेरै लामालाई पत्र काटेको थियो। तर पत्राचार गरेको २४ दिनसम्म पनि सम्पर्कमा नआएपछि चेतावनीस्वरूप प्रथम ताकेता पत्र काटिएको मेयर अधिकारीले उकालोलाई बताए। 

यो पनि : बुढानीलकण्ठको २ रोपनी सरकारी जग्गा हडपेर ल्हारक्याल लामाले बनाए निजी महल

यसअघि नगरपालिकाले काटेको पत्र त्यहाँका कर्मचारीले ल्हारक्याल लामाकै निवासमा पुगेर बुझाएका थिए। उनको निवासमा काम गर्नेहरूले त्यो पत्र बुझेका थिए। तर पत्र प्राप्त भइसकेपछि पनि लामा यकिन विवरणसहित नगरपालिकामा उपस्थित नभएपछि उनलाई ताकेता पत्र काटिएको हो। 

मेयर अधिकारीले अबको ७ दिनभित्र सम्बन्धित व्यक्ति (लामा) सम्पर्कमा नआए कानूनी प्रक्रिया अघि बढाइने बताए। “पहिलो पत्रको रेस्पोन्स नगरेपछि ताकेता पत्र पठाएका हौँ,” उनले भने, “निर्धारित मितिमा जवाफ आए ठिक छ, आएन भने आवश्यक प्रमाण संकलन गरेर कानूनी प्रक्रिया अघि बढाउँछौँ।”

नगरपालिकाले बुधबार पठाइएको ताकेता पत्रको बोधार्थ वडा नम्बर २ को वडा कार्यालयलाई पनि पठाएको छ र यसमा ‘आवश्यक काम गर्न’ भनेको छ। 

बुढानीलकण्ठ नगरपालिका–२ मा २ रोपनी १ आना सार्वजनिक जग्गा हडपेर लामाले ठूलो कम्पाउन्डसहितको निजी निवास बनाएको तथ्य गत असोज ३० गते उकालोले उजागर गरेको थियो। यो प्रकरण सार्वजनिक भएपछि बुढानीलकण्ठ–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले लामाले हडपेको सार्वजनिक जग्गा फिर्ता ल्याउने पहल शुरू गरेका थिए। २ नम्बर वडा कार्यालयले लामाले हडपेको जग्गा फिर्ता ल्याउन प्रक्रिया अघि बढाउनुपर्ने भन्दै वडास्तरीय बैठकबाट निर्णय गरेर नगरपालिकालाई पत्र लेखेको थियो।

संविधानतः अधिकारप्राप्त स्थानीय तहले सार्वजनिक जग्गा लगायतका सार्वजनिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १४ मा पनि स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था गरिएको छ। जसअन्तर्गत् ऐनको दफा ९७ (१) ले गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानूनी अधिकार दिएको छ। यो अधिकारअनुसार स्थानीय तहले सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक निर्णय गर्न सक्छन् जसमा व्यक्तिले हडपेका सार्वजनिक जग्गा फिर्ता ल्याउने जिम्मेवारी स्वतः समेटिन्छन्।

बुढानीलकण्ठ नगरपालिकाको २ नम्बर वडा कार्यालयले लामाले सरकारी जग्गा कब्जा गरे/नगरेको यकिन गर्न नापी कार्यालय र मालपोत कार्यालयबाट आवश्यक कागजात मगाएको थियो। ती कागजात मगाएर अध्ययन गर्दा २ रोपनीभन्दा धेरै सरकारी जग्गा लामाले ओगटेको भेटिएको थियो। 

लामा अहिले लुम्बिनी विकास कोषका उपाध्यक्ष छन्। माओवादी केन्द्र नेतृत्वको सरकारले कोषमा नियुक्त गरेका लामाले करिब १६ वर्षअघि यो जग्गा हडप्न शुरू गरेका थिए। १६ वर्षअघि त्यहीछेउको ८ आना जग्गा किनेपछि सरकारी जग्गा हडप्न थालेका उनले त्यसमै निजी निवास बनाएका छन्।

८ आना किने, २ रोपनी १ आना सार्वजनिक जग्गा हडपे
सरकारी कार्यालयमा रहेका कागजातहरूले देखाएअनुसार लामाले २०६४ असार २० गते बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा रहेको गणेश मन्दिरको आडमै अवस्थित ८ आना जग्गा खरिद गरेका थिए। उनले भुवन सिंहबाट त्यो जग्गा खरिद गरेको कागजातहरूले देखाउँछन्। उनले जतिबेला जग्गा खरिद गरे, त्यसबेला यो ठाउँ साबिकको चपली गाविस वडा नम्बर ८ मा पर्थ्यो।

सिंहबाट खरिद गरेको जग्गामा उनले केही समयपछि निजी निवास बनाउन शुरू गरेका थिए। लामाले निवास बनाइरहँदा त्यसको छेउमै सार्वजनिक जग्गा थियो। बुढानीलकण्ठवासीले त्यो जग्गा वर्षौंदेखि बस्तुभाउ चराउने ठाउँका रूपमा सार्वजनिक उपयोग गर्दै आएका थिए। त्यो ठाउँ वृद्धवृद्धाहरूका लागि बिहान बेलुका टहलिने, बालबालिका खेल्ने ठाउँका रूपमा समेत प्रयोग हुँदै आएको थियो। त्यही ठाउँलाई लामाले पर्खाल लगाएर आफ्नो कम्पाउन्डभित्र पारेका थिए।

उनले यसरी कब्जा गरेको सार्वजनिक जग्गाको कुल क्षेत्रफल २ रोपनी १ आना रहेको बुढानीलकण्ठ नगरपालिकाले गरेको पछिल्लो नापजाँचबाट प्रमाणित भएको छ। त्यसैलाई आधार मानेर नगरपालिकाले यो जग्गा फिर्ता ल्याउने पहल अघि बढाएको हो।

नापी कार्यालय चाबहिलबाट प्राप्त ‘फिल्ड बुक’ र नापी नक्साबाट लामाको निवास रहेको ठाउँ, साबिकको चपली गाविस वडा नम्बर ८ अन्तर्गत पर्ने ८ ‘क’, कित्ता नम्बर १९८ र हाल नयाँ नापी नक्साको सिट नम्बर १०२–०९०७–१० को कित्ता नम्बर २६ मा १ हजार ३१२ दशमलव ६३ वर्गमिटर (२ रोपनी ९ आना १ पैसा) जग्गा रहेको देखिन्छ। यो जग्गामध्ये भुवन सिंहबाट २०६४ सालमा खरिद गरेको ८ आना जग्गा घटाउने हो भने लामाले २ रोपनी १ आना १ पैसा सरकारी जग्गा कब्जा गरेको स्पष्ट देखिन्छ।

बुढानीलकण्ठ क्षेत्रको जग्गाको महत्त्व र मूल्य बुझेरै लामाले २ रोपनी १ आना १ पैसा सरकारी जग्गा हडप्नका लागि त्यसबेला आडमै रहेको ८ आना जग्गा किनेको देखिन्छ। घटनाक्रमले पनि त्यसलगत्तै उनले सार्वजनिक जग्गा कब्जा गरेको देखाउँछन्।

वर्षौंदेखि सार्वजनिक जग्गा कब्जा गरेका लामाले आफ्नै जग्गा अद्यावधिक गर्न हालसाबिकका लागि सरकारी निकायमा निवेदन दिएका छैनन्। हालसाबिक हुँदा आफ्नो निजी र आफूले ओगटेको सरकारी जग्गा छुट्टिने भएकाले पनि लामाले त्यसका लागि निवेदन नदिएको नापी कार्यालयका कर्मचारी बताउँछन्।

असोज ३० गते उकालोमा यसबारे विस्तृत रिपोर्ट प्रकाशित गर्दा हामीले लामालाई सोधेका थियौँ– तपाईंले सार्वजनिक जग्गा कब्जा गरेर निवास बनाउनुभएको रहेछ नि? उनले कुनै सरकारी जग्गा आफूले अतिक्रमण नगरेको दाबी गर्दै त्यसो भनिए ‘आफूमाथि अन्याय हुने’ बताएका थिए। बुढानीलकण्ठ क्षेत्रमा धेरैले सार्वजनिक जग्गा अतिक्रमण गरेकाले आफूलाई मात्र जग्गा हडपेको भन्न नमिल्ने उनको तर्क थियो।


सम्बन्धित सामग्री