Sunday, April 28, 2024

-->

जब नौ वर्षीय बालकले हजुरबुवालाई भने– ‘मेरो कान हालिदेऊ’

तीन वर्षअघि आगोमा परेर शरीरको दाहिने भाग जलेको थियो। जलनको घाउ निको हुँदै गर्दा ज्यानको खत हेरेर समाजले अनेक लाञ्छना लगायो। त्यसबाट झन् बढी जलेको मन बिस्तारै बलियो हुँदैछ।

जब नौ वर्षीय बालकले हजुरबुवालाई भने– ‘मेरो कान हालिदेऊ’
पछिल्लो पटक कीर्तिपुर अस्पतालबाट घर फर्किनुअघि हजुरबुवा मंगलसँग हँसिलो मुद्रामा देखिएका दिल्ल। तस्वीर: सजिता/उकालो

काठमाडौँ– “मलाई देख्नेबित्तिकै स्कुलका साथीहरू परपर भाग्छन्। कोही मसँग खेल्दैनन्। पोलेको, डढेको, कान नभएको भन्दै जिस्क्याउँछन्। मलाई नराम्रो लाग्छ,” जलनको उपचारपछि हुर्किंदै गरेका नौ वर्षीय बालकले अस्पतालमा भने। यति बोल्नुअघि रसाएका उनका आँखा केहीबेरसम्म भुइँतिर एकोहोरिएका थिए।

२०७७ माघको जाडो बिहान। मुगु जिल्लाको सोरु गाउँपालिका–२, नार्थपुका ६६ वर्षीय मंगल बुढाले घरमुनिको बारीमा आगो बालेका थिए। कठ्यांग्रिने जाडोमा केहीबेर आगो तापेर सबै ठूला मानिसहरू आ–आफ्नो घरायसी कामतिर लागे। जेठी छोरी गोरु चराउन र आफू पालिकामा नुन लिन गएको उनलाई सम्झना छ। आगोे निभाउनुपर्छ भन्ने सोच कसैको मनमा पनि आएन। 

मंगल बुढा पालिका कार्यालयमै छँदा एक जनाले गाउँमा आगलागी भएर उनको घर जलेको खबर दिए। उनी हतारिँदै नुन पनि नबोकी घरतर्फ दौडिए। आत्तिँदै फर्केका मंगलले आफ्नो जल्दै गरेको घरमा गाउँलेले पानी हालेर आगो निभाउँदै गरेको देखे। आफू पनि एउटा भाँडामा पानी बोकेर घरमा छ्याप्न थाले। एकैछिनमा आगो निभ्यो। 

एक्कासि एक जना छिमेकीले तानेर बारीतिर पुर्‍याएपछि उनले आँखाअगाडि जे देखे त्यो दृश्यले मुटु चिसो भयो। हातखुट्टा लुला भए। पूरै शरीर थरथर काम्न थाल्यो। आँखाबाट आँसु बरर्र झरेको पत्तै पाएनन्। घर जलेको भन्दा कैयौँ गुणा बढी पीडाले छोप्दा उनी स्तब्ध भए। 

नौ वर्षका नाति (जेठी छोरीको छोरो) दिल्ल र छिमेकका पाँच वर्षीय बालक रामु आगोमा परेका रहेछन्। उनीहरू दुवैलाई त्यहाँ बेहोश हालतमा पल्टिइरहेको देख्दा बिहान आगो ननिभाई पालिकातिर गएकोमा पछुतोले भित्रभित्रै खाएको उनी बताउँछन्। “घर जलेकोमा भन्दा पनि आगोमा परेका बच्चाहरूलाई देख्दा हंशले ठाउँ छोड्यो,” उनले भने।

घटनाका प्रत्यक्षदर्शीले अरू चार जना बच्चा जल्नबाट जोगिएको बताए। बलिरहेको आगोनजिक हातमा सोत्तर लिएका ६ जना बालक खेल्दै थिए। अचानक आगो फैलिएपछि चार जना त्यहाँबाट भागे। मंगलका नाति दिल्ल र रामु भने आगो निभाउने प्रयासमा लागे। 

नजिकैको सोत्तरको कुन्युमा आगो सल्किसकेको थियो। बल्दै गएपछि आगोले कमजोर भएको कुन्यु तिनै दुई कलिला शरीरमाथि ढल्यो। उठेर भाग्न नसक्दा दनदनी बलिरहेको कुन्युले उनीहरूलाई झनै थिच्यो। त्यो थाहा पाएर तुरुन्तै पुगेका गाउँलेहरूले उद्धार गर्दा उनीहरू बेहोश अवस्थामा थिए। 

मनमा अनेकौँ कुरा खेल्दै गर्दा मंगल बुढाले गाउँलेहरूसँग सहयोग मागेर जलेका बच्चाहरूलाई अस्पताल पुर्‍याउने तयारी गरे। उनीसँग नातिलाई लिएर अस्पतालसम्म पुग्ने पैसा पनि थिएन। आफ्नो नाममा भएको एक टुक्रा घडेरी हतारहतार दुई लाखमा बेचेर खर्चको जोहो गरेपछि उनी काठमाडौँ पुग्ने बाटो र जलनको उपचार पाइने अस्पताल देखेका मानिस खोज्नतिर लागे। तर भरपर्दो व्यक्ति कोही फेला परेनन्।  

जुन नाति जलेका थिए उनकी आमालाई राम्ररी बोल्न नसक्ने अपांगता थियो। त्यसमाथि बाँकी तीन बच्चाहरूको हेरचाह गर्नुपथ्र्यो। कान्छी छोरी जन्मिएपछि ऋण तिर्न नसकेर भारततर्फ लागेका ज्वाइँ (दिल्लका बुवा) को वर्षौंदेखि अत्तोपत्तो थिएन।

केही सीप नलागेपछि मनभरि अन्योल बोकेर जलेको नातिलाई लिई अस्पताल जाने आँट गरेको मंगलले बताए। तीन जना छिमेकीको साथमा जलेका दुई बालकलाई लिएर उनी गाउँबाट मुगुको ताल्चा विमानस्थलतिर लागे। छिमेकी बालक रामुको बाटैमा मृत्यु भयो। मृत बालकलाई लिएर सँगै गएका एक जना गाउँ फर्किए। 

जलनको पीडाले बेहोश नातिलाई बचाउन हतारिएका मंगलले अन्य दुई जनालाई भने आफ्नो साथ नछाड्न अनुरोध गरे। उनीहरूसहित घरबाट हिँडेको तीन दिनपछि उनी नेपालगन्ज अस्पताल पुगे। बिरामीको अवस्था देखेपछि डाक्टरले त्यहाँ उपचार नहुने भन्दै तत्काल काठमाडौँको कीर्तिपुर अस्पताल लैजान सुझाए। 

कहिल्यै काठमाडौँ नटेकेका मंगल अन्योलग्रस्त थिए। सँगै गएका दुई छिमेकीलाई काठमाडौँसम्म गएर अस्पताल देखाइदिन आग्रह गरे। त्यसपछि नाति र आफूसमेत चार जनाका लागि टिकट काटे र विमानमा चढेर काठमाडौँ उत्रिए। कीर्तिपुर अस्पताल पुग्नेबित्तिकै सँगै आएका दुवै साथीले घर फर्कने खर्च मागे। उपचारका लागि जग्गा बेचेर ल्याएको पैसाबाट मुगु फर्कन पुग्ने रकम दिएर उनीहरूलाई बिदा गरे। 

अस्पतालमा कता जाने, कसलाई के भन्ने केही थाहा नपाएर अलमलिएका मंगल नातिलाई च्यापेर भोकभोकै कुर्सीमा बसिरहेका थिए। त्यति नै बेला बसेकै ठाउँमा आइपुगेका एक जना नौला मानिसले काँधमा हात राखेर उनलाई समस्याबारे सोधे। अन्जान शहरमा कोही आफूसामु आएर कुरा गरेको देख्दा निकै भावविह्वल भएको मंगल सम्झन्छन्। 

उनले भने, “केही मेसो नपाउँदा जलेको नातिलाई समातेर एक्लै बसिरहेको थिएँ। कसैलाई चिनेको थिइनँ, कहाँ जानु! नातिलाई तलमाथि केही भयो भने छोरीको अगाडि कसरी मुख देखाउने होला भन्ने सोचिरहेको थिएँ।”

उनलाई मद्दत गर्न पुगेका ती सहयोगी थिए– जलनपीडितहरूको उपचारमा निरन्तर खटिइरहेका काठमाडौँका अभियन्ता उज्ज्वलविक्रम थापा। उनीसँगको भेट मंगलका लागि ‘वरदान’ साबित भयो। थापाले अस्पताल प्रशासनसँगको समन्वयमा तत्कालै उपचार प्रक्रिया अघि बढाए। साथै म‌ंगललाई नातिको पोलेको घाउ निको हुने आशा जगाइदिए। उपचारको क्रममा काठमाडौँमा रहुन्जेल अस्पतालनजिकै खान र बस्नको सुविधा पनि मिलाइदिए। त्यति मात्र नभई अस्पतालमा तिर्नुपर्ने उपचारखर्च समेत उनैले जुटाइदिए।

नभन्दै उपचार चल्दै जाँदा नातिको स्वास्थ अवस्थामा सुधार आएको मंगलले देखे। ४७ दिनको उपचारपछि अभियन्ता थापाकै सहयोगमा उनीहरू विमान चढेर काठमाडौँबाट नेपालगन्ज गए। त्यहाँबाट गाउँसम्म पनि विमानमै फर्किए।

त्यो खबर पाएका गाउँलेले दिल्ल बाँचेर आएको खुशियालीमा उनीहरूको स्वागत गर्ने योजना बनाएका थिए। पुनर्जीवन पाएका बालक र उनका हजुरबुवाले त्यो खुशियालीसँगै गाउँलेको हातबाट फूलमाला र रातो अबिरको सत्कार पाए। बालकलाई गाउँलेहरूले काँधमा बोकेर गाउँ भित्र्याए।

त्यो खुशियालीमा रंगिएका गाउँलेको व्यवहार भोलिपल्टदेखि नै अचम्मले परिवर्तन भएको मंगलको भोगाइ छ। जलनको उपचार लिएर फर्केका दिल्ललाई उनको पोलेको घाउको खत हेरेर विभिन्न नामले बोलाउन गाउँलेहरू हिच्किचाएनन्। उनीहरूले बालकको टाउको र शरीरमा भएको दागका कारण पछि गएर विवाह गर्न गाह्रो हुने भन्दै उनैको अगाडि कुरा गर्न थालेको मंगलले बताए। 

त्यति मात्र नभई दिल्ल विद्यालय जान थालेपछि उनका साथीहरूले पहिलेभन्दा फरक व्यवहार देखाए। आगोले खाइदिएको दाहिने कान नदेखेपछि उनलाई ‘तेरो कान छैन’ भन्दै जिस्क्याउँथे। त्यसबाट चिन्तित बनेका बालकले ‘मेरो कान हाल्दिनु’ भनेर पिरोलेको मंगलले सुनाए। “नातिलाई स्कुलमा साथीहरूले जिस्क्याउँछन् भन्ने हामीलाई थाहा थिएन। एक दिन स्कुलमा सबैले जिस्क्याउँँछन् कान हालिदेऊ भन्दै रुन थाल्यो,” उनले भने।

फकाएर सम्झाउने प्रयास गरे पनि साथीहरूको शब्द र जिस्क्याइले दिल्लको मनस्थितिमा गहिरो असर पर्‍यो। उनी ‘कान हालिदेऊ’ भनेर दिनरात रुन–कराउन थाले। त्यसपछि मंगलले आफूलाई पहिले सहयोग गरेका अभियन्ता थापासँग सम्पर्क गरे। उनीसँग फोनमा भएको सल्लाहअनुसार कान बनाउनका लागि नातिलाई लिएर मंगल गत माघमा फेरि कीर्तिपुर अस्पताल आए। 

डाक्टरको सल्लाहअनुसार शरीरको अन्य भागको छाला ताछेर कानको केही स्वरूप ल्याउन सकिने भएपछि शल्यक्रिया गरियो। गुमेको कान फर्काएर गाउँ फर्किनुअघि उनलाई अन्तिम पटक परीक्षणको लागि अस्पताल बोलाइएको थियो।

त्यहाँ उकालोसँगको भेटमा मंगल र उनका नाति दिल्ल दुवै प्रशन्न देखिए। डाक्टरले बालकलाई कतै दुखेको छ कि भनेर प्रश्न गर्दा उनले आफ्नो जलेको कुम र कुहिनो देखाए। “यो दुई ठाउँमा मेरो हड्डी देखिन्छ। साथीहरूको यस्तो छैन। यो पनि हटाइदेऊ,” उनले डाक्टरहरूसँग भने।

उनलाई हेरिरहेका डाक्टरले ‘यो केही होइन, बिस्तारै आफैँ ठीक हुन्छ भनेर सम्झाएपछि उनी अभियन्ता थापासँग जिस्किँदै कुरा गर्न थाले। त्यही बेला उनका हजुरबुवाले पनि त्यसबारे सोधेपछि डाक्टरले जवाफ दिए, “बाबुको ज्यान पातलो भएर पोलेको ठाउँमा त्यस्तो देखिएको हो। अलिकति मोटाउनेबित्तिकै हड्डी देखिँदैन। पिर मान्नुपर्ने त्यस्तो केही छैन।”

डाक्टरको जवाफबाट सन्तुष्ट मंगलले मुसुक्क हाँस्दै भने, “उसका साथीहरूले कुरै नबुझी पोलेको दाग हेरेर खिसी गरेका रहेछन्, अब ढुक्कले गाउँ फर्किन्छु।” त्यसको दुई दिनपछि नातिलाई लिएर खुशी हुँदै उनी गाउँ फर्किए।


सम्बन्धित सामग्री