Saturday, April 27, 2024

-->

पाँच वर्ष कैद सजाय सुनाइएका एन्फा उपाध्यक्ष लामा पदमै, साधारणसभामा भएन विषय प्रवेश

लागुऔषध कारोबार मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका एन्फा उपाध्यक्ष दावा लामा अहिले पनि फरार छन् तर उनलाई पदमुक्त गर्न अध्यक्ष र महासचिवले चासो नदिँदा साधारणसभामा कारबाहीको विषयले प्रवेश नै पाएन।

पाँच वर्ष कैद सजाय सुनाइएका एन्फा उपाध्यक्ष लामा पदमै साधारणसभामा भएन विषय प्रवेश

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारणसभा फागुन १४ गते शंखमूलस्थित एक पार्टी प्यालेसमा शुरू हुँदा उपाध्यक्ष दावा लामा कतै देखिएनन्। न त उनलाई आसनग्रहणका लागि नै बोलाइयो। उनी एन्फा बैठकमा पनि उपस्थित हुन छाडेका छन्। तर उनको अनुपस्थिति र निष्क्रियताबारे एन्फाले न चासो राखेको छ न त उनीबारे औपचारिक सूचना नै दिएको छ।

एन्फा उपाध्यक्ष दावा लागुऔषध कारोबारमा अदालतबाट दोषी ठहर व्यक्ति हुन्। उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए।

अदालतबाट दोषी ठहर भएको र कैद भुक्तान नगरेको बारे उकालोले समाचार लेख्दै गर्दा दावा फरार भएका थिए। त्यसअघि भने प्रतिक्रियाका लागि उनी उकालोको सम्पर्कमा आएका थिए।

एन्फा कार्यसमितिका पदाधिकारी दावालाई हटाउनेबारे अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई मौन रहेको एक केन्द्रीय सदस्य बताउँछन्। “उकालोमा समाचार देखेपछि उहाँहरू (अध्यक्ष र महासचिव)सँग 'दावाजी खै? अपराधी हो भने संस्थाबाट हटाएर निर्वाचनमा जनुपर्‍यो' भनेका थियौँ,” ती सदस्य भन्छन्, “तर अध्यक्ष र महासचिवज्यू यतिका दिनसम्म पनि दावाजी कहाँ हुनुहुन्छ भनेर बोल्नुहुन्न। चुप बसेर अपराधी जोगाउन लागिपरिरहनु भएको छ भन्ने शंकाको सुई उहाँहरूतिरै घुम्नु होइन र?”

यो पनि : १६ वर्षदेखि ‘फरार अभियुक्त’ एन्फाको उपाध्यक्ष, लागुऔषध कारोबारमा तोकिएको थियो ५ वर्ष कैद

तत्कालीन अध्यक्ष गणेश थापाले २०७२ सालतिर दावालाई ‘सी’ डिभिजन क्लबको संयोजक बनाएर एन्फा छिराएका थिए। त्यसभन्दा ११ वर्षअघि नै २०६१ साउन ८ गते प्रहरीले उनलाई काठमाडौँको बालाजुस्थित वनस्थली चोक नजिकबाट पाँच ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। सर्लाही घर भई काठमाडौँ बस्दै आएका उनले पक्राउपछि बिक्री वितरणकै लागि लागुऔषध राखेको बयान दिएका थिए।

उनलाई २०६१ भदौ २५ गते काठमाडौँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएको थियो। पछि २०६२ जेठ १० मा जिल्ला अदालतका न्यायाधीश मोहनरमण भट्टराईको इजलासले ६ महिना मात्र कैद सजायको फैसला गरेपछि १० महिना दुई दिन कैद बसेर मुक्त भएका थिए। 

जिल्ला अदालतको फैसला चित्तबुझ्दो नदेखिएपछि सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गएको थियो। जिल्ला अदालतको फैसलामा दावा लागुऔषध प्रयोगकर्ता मात्र रहेको र कारोबारी नभएको उल्लेख थियो। तर जिल्ला अदालतको उक्त फैसला पुनरावेदन अदालतले उल्ट्याएर सजाय सुनाएको थियो।

त्यो फैसला चित्त नबुझे पूर्णपाठ सार्वजनिक भएको मितिले ७० दिनभित्र सर्वोच्चमा पुनरावेदन गर्न सकिने व्यवस्था भए पनि दावा पुनरावेदनमा गएनन्। बरु उक्त फैसलाको २०६४ कात्तिक १२ गते म्याद तामेलीसमेत भएको देखिन्छ। उच्च अदालत पाटनका अनुसार दावाका एकाघरका दाजु केशव लामाले रितपूर्वक म्याद बुझेको कागजातबाट देखिएको छ।

दावा पुनरावेदनमा नगाइ फरार १६ वर्षदेखि फरार रहेको पुष्टि सर्वोच्चले पनि गरिसकेको छ। दावाले सर्वोच्चमा पुनरावेदन गरे/नगरेको विषयमा काठमाडौँ जिल्ला अदालतले जानकारी माग गरेपछि सर्वोच्चले पुनरावेदन नभएको जनाएको थियो। 

“वादी नेपाल सरकार प्रतिवादी दावा लामा भएको लागुऔषध खैरो हिरोइन मुद्दा पुनरावेदन परे/नपरेको भनी जानकारी माग गरिएको वादी नेपाल सरकार प्रतिवादी दावा लामा भएको लागुऔषध खैरो हिरोइन मुद्दा यस अदालतमा पुनरावेदन परेको कम्प्युटर रेकर्डबाट नदेखिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,” सर्वोच्चले पठाएको पत्रमा भनिएको छ।

काम कारवाही नै प्रभावित
एन्फा साधारणसभाको अजेन्डा तय गर्न गत फागुन ३ गतेदेखि ६ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बसेको थियो। उक्त बैठकमा उपाध्यक्ष दावा अनुपस्थित हुँदा कोरम पुगेको थिएन। बैठकमा दावा र महासचिव किरण राईको राजीनामालगायत २८ अजेन्डामा छलफल हुने तय थियो। तर ६ वटा अजेन्डामा मात्रै छलफल भएको र राति ११ बजे अध्यक्ष नेम्वाङ र महासचिव उठेर हिँडेको बैठकमा सहभागी अर्का केन्द्रीय सदस्य बताउँछन्।

“बैठकका दावाजी र महासचिवको राजनीनामा माग्ने अजेन्डा ठ्याक्कै नभए पनि विभिन्न कर्मचारीको विषयमा छलफल गर्ने भन्ने उल्लेख थियो,” ती सदस्य भन्छन्। दावा एन्फाको आपत्कालीन समितिमा छन्। यो समितिमा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्य वीरबहादुर खड्का, उपाध्यक्ष दावा लामा, उपाध्यक्ष दीपक खतिवडा र केन्द्रीय सदस्य पुरुषोतम थापा छन्।

यो पनि : जेल सजाय तोकिएका उपाध्यक्ष दावाबारे मौन छ एन्फा, राखेप भन्छ– दोषी ठहरेकालाई कारबाही गर भनिरहनपर्दैन

ती सदस्यका अनुसार आपत्कालीन बैठक अध्यक्ष नेम्वाङ नहुँदा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षमा सञ्चालन गर्न मिल्छ। तर अध्यक्ष नेम्वाङबाहेक अन्य कोही एक जना सदस्य मात्रै नहुँदा पनि बैठक बस्न मिल्दैन। उनी भन्छन्, “दावाजी त संस्थाबाट लगभग बाहिरिसक्नु भयो। सोमबार (आज)को साधारणसभाबाट उहाँलाई हटाउनुपर्छ भनेर हामी भन्छौँ।”

वरिष्ठ उपाध्यक्ष खड्का कार्यसमिति बैठकमा पनि दावा उपस्थित नभएको बताउँछन्। उनी नहुँदा आपत्कालीन बैठक बस्न असहज हुने उनको भनाइ छ। एन्फाको पूर्ण बैठक वर्षमा चार पटक हुने गरेको छ। अध्यक्ष नेम्वाङले चाहे पूर्ण बैठक आपत्कालीन रूपमा बस्न सक्छ। “अस्ति नेपाल र चाइनको फ्रेन्डली गेम गराउनपर्‍यो, त्यस्तो बेलामा आपत्कालीन बैठक बस्नुपर्छ। अहिले दावाजी नहुनुभएको कारण यसरी अपर्झट बैठक बस्न मिल्दैन,” उनी भन्छन्।

पछिल्लो कार्यसमिति बैठकमा आगामी आर्थिक वर्षको कार्यक्रम तय गर्न बजेट निर्माण समिति गठन गर्ने निर्णय भएको थियो। उक्त समितिमा चार जना उपाध्यक्ष नै हुनुपर्ने अध्यक्ष नेम्वाङले बताएका थिए। तर अपराधमा मुछिएको व्यक्तिलाई समितिमा राख्न नहुने भनेर केन्द्रीय सदस्यहरूले विरोध गरेपछि दावाको स्थानमा केन्द्रीय सदस्य रवीन्द्र चन्दलाई राखिएको स्रोत बताउँछ। 

महासचिवबाटै गलत सूचना प्रवाह!
उपाध्यक्ष दावा गत माघ ८ गते सानेपाको हेरिटेज गार्डेनमा बसेको एन्फा विशेष साधारणसभामा उपस्थित थिए। तर करिब आधा घण्टा मात्रै बसेर बाहिरिए। माघ ११ गते बसेको ‘सी’ डिभिजनसम्बन्धी आपत्कालीन बैठकमा उनले अनलाइनमार्फत आफ्नो उपस्थिति जनाउने महासचिव राईले जानकारी दिएका थिए। त्यतिखेर राईले दावा कतार गएको कार्यसमिति सदस्यलाई जानकारी गराएका थिए।

गत माघ १५ गते राईले उकालोसँग दावा फरार नभएको र पूर्वनिर्धारित कार्यक्रमअनुसार नै एएफसी एशियन कप हेर्न कतार गएको बताएका थिए। महासचिव राईले भनेका थिए, “कहाँ फरार हुनु? उहाँ कहिले जानुभयो ठ्याक्कै मिति त याद भएन तर कतारमा भइरहेको एशियन कप हेर्न जानुभएको छ।”

दावाले पनि म्यासेन्जरमार्फत आफू कतारमा रहेको र नेपाल आएपछि सम्पर्कमा आउने उकालोसँग बताएका थिए। एन्फाका पदाधिकारीहरूका अनुसार दावा अध्यक्ष नेम्वाङ र महासचिव राईसँगै कतार जाने तय थियो। तर समाचार प्रकाशित भएपछि प्रहरीले पक्राउ गर्ने डरले उनी फरार भएको एन्फा स्रोत बताउँछ। अहिले सामाजिक सञ्जालमा समेत उनी छैनन्।

एशियन कप हेरेर फर्किएका महासचिव राईले भने उकालोसँग दावालाई कतारमा आफूहरूले नभेटेको बताए। “दावाजी अहिले सम्पर्कविहीन हुनुभएको छ,” उनले भने, “हामी एशियन कप हेर्न कतार गएका थियौँ तर उहाँ हामीलाई भेट्न आउनुभएन।”

यो पनि : खेलाडी र प्रशिक्षकलाई दिइएको विश्वकपको टिकट लिएर एन्फा पदाधिकारी विदेश सयरमा

अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार दावा अन्तिम पटक गत साउन २९ गते अस्ट्रेलियाबाट नेपाल आइपुगेका थिए। अस्ट्रेलियाबाट फर्किएपछि उनी विदेश गएका छैनन्। यद्यपि, महासचिव राई भने उनी कतार नै गएको भन्ने जानकारी आफूलाई आएको दाबी गर्छन्।

फागुन १४ गतेको साधारणसभामा दावालाई हटाउने विषयले प्रवेश नै पाएन। महासचिव राई आफूलाई कानूनी कुरा थाहा नभएको र यसबारे बुझ्नुपर्ने बताउँछन्। दावालाई सम्पर्क गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।

“अहिले मैले यही हुन्छ भनेर ठ्याक्कै भन्ने स्थिति छैन। कानूनी कुरा बुझ्नुपर्‍यो, दावासँग बुझ्नुपर्‍यो। अहिले उहाँ सम्पर्कमा हुनुहुन्न, हेर्दै जाऔँ कानूनले के भन्छ,” उनी भन्छन्, “हामीले उहाँको पद कसरी खारेज गर्ने! पहिला उहाँसँग सम्पर्क गर्नुपर्‍यो। यो सबै कुरा टुंगिएपछि नै थाहा हुन्छ।”


सम्बन्धित सामग्री