Saturday, April 27, 2024

-->

बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा ‘प्लटिङ’, स्थानीय सरकार नै सहयोगी

ललितपुरको गोदावरीमा व्यापारिक लाभका निम्ति भइरहेको जग्गा ‘प्लटिङ’लाई सघाउन बगिरहेको खोला पुरेर बाटो बनाइएको छ। खोला मास्ने यो कामको अगुवाइ स्थानीय सरकारले नै गरेको छ।

बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा ‘प्लटिङ’ स्थानीय सरकार नै सहयोगी
तस्वीर सौजन्य : दयासागर केसी

ललितपुर– कंक्रिटको शहर बनेको काठमाडौँ उपत्यकाभित्र शहरी सुविधासँगै केही हरियाली, केही कलकल बग्ने खोला हेर्न पाइने ठाउँ हो ललितपुरको गोदावरी क्षेत्र। गोदावरी नगरपालिका वडा नम्बर १०, ११ र १३ को सिमाना छुट्याउने एउटा खोला छ। स्थानीयमाझ ‘फन्टे खोला’ भनेर चिनिने यसलाई कसैले चिसापानी पनि भन्छन्। यी वडाको सीमाक्षेत्रलाई फन्टाटार भनिने हुँदा यो फन्टे खोलाकै रूपमा ज्यादा परिचित छ।

यो सिँचाइमा समेत प्रयोग हुँदै आएको खोला हो। गोदावरीको प्याङगाउँबाट सांग्रिला इन्टरनेसनल स्कुलको डोल क्षेत्र हुँदै डाँडागाउँसम्म पुग्ने क्रममा यो खोला पछिल्लो समयमा भने करिब ३०० मिटर हराएको छ। 

बगिरहेको खोला बीचमै कसरी हरायो भनेर खोज्दै जाँदा त्यहाँ भइरहेको एउटा ठूलो जग्गा प्लटिङ सामुन्ने आयो। त्यो प्लटिङलाई सजिलो पार्न स्थानीय सरकार नै खोला पुर्न लागिपरेको र खोला बगिरहेको ठाउँमा प्लटिङका लागि फराकिलो बाटो बनाइएको भेटिएको छ। 

प्लटिङले खाएको खोलाको कथा
प्याङगाउँस्थित सांग्रिला इन्टरनेसनल स्कुल रहेको क्षेत्र नै डोल क्षेत्रका रूपमा चिनिन्छ। खोला या नदी किनारको, खेतीपातीका लागि मलिलो माटो हुने क्षेत्र नै काठमाडौँ उपत्यकाभित्र डोल क्षेत्र भनेर चिनिन्छ। प्याङगाउँको त्यही डोल क्षेत्रको पूर्वतर्फ मूलपानी पर्छ। स्थानीय संस्कृतिका अध्येतासमेत रहेका प्याङगाउँ निवासी ७१ वर्षीय माइला महर्जनका अनुसार प्याङगाउँको खानेपानीको स्रोत त्यही मूलपानी हो। 

मूलपानीको सांग्रिला इन्टरनेसनल स्कुलतर्फको डोल क्षेत्रमा करिब ४० रोपनी जग्गामा रसाएको मूलको पानीकै एक भाग बगेर ‘फन्टे खोला’ बनेको महर्जन बताउँछन्। कतिपय स्थानीय भने उक्त खोलाको स्रोत टाखेल भएको बताउँछन्।


स्कुलको डोल क्षेत्र हुँदै केही तलसम्म यो खोला आफ्नै गतिमा बगेको छ। तर न्यौपानेगाउँ जाने बाटोको डोलदेखि डाँडागाउँसम्म पुग्दा करिब ३०० मिटर भूभागमा खोला नै ‘गायब’ छ। जहाँ खोला हराएको छ, त्यहाँ अहिले ठूलो परिमाणमा जग्गा ‘प्लटिङ’ भएको देखिन्छ। पहिले खोलाको दक्षिणतर्फ डीपी थापा र ‘राजन टक्रे’ भनिने टक्रप्रसाद तिमल्सिनाले प्लटिङ शुरू गरेको यो ठाउँमा त्यसपछि उत्तरतर्फ ‘कन्टिनेन्टल डेभलपर्स’ले करिब ११५ रोपनी जग्गामा बृहत् प्लटिङ गरेको छ। यही प्लटिङ क्षेत्रमा बगिरहेको खोला हराउँछ। एकातिर कन्टिनेन्टलको प्लटिङ छ, अर्कोतर्फ थापा र तिमल्सिनाले ‘शुभकामना ल्यान्ड एन्ड हाउजिङ प्रालि’ नामको कम्पनीबाट प्लटिङ गरिरहेका छन्। प्लटिङ क्षेत्र सकिएपछि भने खोला पुनः देखापर्छ। त्यहाँ यो खोला बज्रबाराही मन्दिरको पछाडिबाट बग्ने नर्केट (स्थानीय बोलीचालीको भाषामा भनिने) खोलासँग मिसिन्छ। 

माइला महर्जनका अनुसार फन्टे खोलाको पानी कुनै बेला सिँचाइमा प्रयोग हुन्थ्यो। डोलबाट तल्लो भागमा प्लटिङ शुरू भएसँगै यो सिँचाइ प्रणाली बिथोलियो। “प्लटिङले सिँचाइ हुन छाडेपछि यहाँको अन्नखेतीमै समस्या भएको छ,” उनले भने।

अर्का स्थानीय तरेबाबु देशारले वर्षामा बाढी आउँदा खोला तर्नै नसक्ने हुन थालेको सुनाउँदै भने, “डोलबाट पानी आउँथ्यो। मूलको पानी सिँचाइमा गए पनि बाँकी पानी बग्ने खोलाको आफ्नै बाटो थियो।”

जग्गा प्लटिङसँगै बिस्तारै खोलाको साँधसिमाना पुरिन थालेको, जग्गा किनबेच सामान्य बनेको र खोलामै सिमाना जोडिएपछि कसैले पनि खोला छाड्न नमानेको महर्जन सुनाउँछन्। 

त्यतिञ्जेल खोला मिचिएको मात्र थियो। शुभकामना हाउजिङसँगै डाँडागाउँमा ‘कन्टिनेन्टल डेभलपर्स’ नामको कम्पनीले बृहत् प्लटिङ शुरू गरेपछि भने खोला नै हरायो। कन्टिनेन्टल डेभलपर्स व्यवसायी सुहृद घिमिरे प्रमुख रहेको कम्पनी हो। उनले नेतृत्व गर्ने व्यापारिक घराना पछिल्लो समय ‘कन्टिनेन्टल ग्रुप’का रूपमा चिनिन्छ।

यो कम्पनीले रियल इस्टेटदेखि अटोमोबाइल, निर्माण व्यवसायदेखि निर्माणक्षेत्रका उपकरण सप्लायर्स र वित्तीय क्षेत्रदेखि कृषि तथा विभिन्न ब्रान्डको थोक बिक्रेतासम्म आफ्नो व्यवसाय विस्तार गरेको छ। यो समूहले नेपालमा किया कम्पनीका मोटर तथा इसुजु कम्पनीका कमर्सियल गाडी आयात गरेर बिक्री गर्छ। कम्पनीको वेबसाइटमा उल्लेख भएअनुसार यसले कोमात्सु कन्स्ट्रक्सन एन्ड माइनिङ उपकरण, ओटीआईएस इलिभेटर्स पनि आयात गर्दै आएको छ। 

यही समूहले करिब डेढ दशकअघि झन्डै ११५ रोपनी जग्गा किनेर डाँडागाउँमा प्लटिङ शुरू गरेको थियो। जहाँ यो प्लटिङ भइरहेको छ, त्यसकै अर्को किनारमा शुभकामना हाउजिङको प्लटिङ क्षेत्र छ। यी दुवै प्लटिङका बीचमा पर्ने फन्टे खोला मेटिएर बाटोमा परिणत भएको हो। 

यसरी खोला पुरेर बाटो किन बनाइयो? हामीले गोदावरी नगरपालिका–१० का वडाध्यक्ष शेखर न्यौपानेलाई सोध्यौँ। उनले ‘खोलामा ह्युमपाइप बिछ्याएर त्यसको माथि बाटो निकालिएको’ बताए। 

वातावरण तथा प्राकृतिक स्रोतबारे दखल राख्ने अधिवक्ता पदमबहादुर श्रेष्ठ भने खोलाको प्राकृतिक बहाव नै रोकेर ह्युमपाइपमा सीमित गरिदिने यो कार्य सोझै गैरकानूनी भएको बताउँछन्। स्थानीय सरकारकै संलग्नतामा खोला नै पुरेर दीर्घकालसम्म असर पार्ने गलत कार्य भएकाले केही स्थानीय यसको विरोधमा उभिएका छन्। 


रिपोर्टिङको शुरूमा यसबारे सूचना दिएर सघाउन उत्साही देखिएका एक स्थानीय केही समयपछि सम्पर्कमै आउन छाडे। पुन: सम्पर्कको प्रयत्न भइरहँदा फोनमा समेत ‘ब्लक’ गरे। धेरै प्रयासपछि अन्तमा उनीसँग कुराकानी भयाे, तर उनले पहिले भएका कुराकानीकाे आधारमा आफ्नो नाम समाचारमा कतै उल्लेख नगर्न आग्रह गरे। बाटो मासिएको विरोधमा शुरूदेखि नै आवाज उठाइरहेका ती स्थानीयको एक रोपनीभन्दा बढी जग्गा प्लटिङमा परेको छ। खोला पुरेर बाटो बनाइएपछि उनको जग्गाको मूल्य ह्वात्तै बढेको छ, तर उनी खुशी छैनन्। आफ्नो जग्गाको मूल्य बढे पनि आफ्ना सन्ततिलाई समेत आवश्यक पर्ने खोला नै पुरिनु गलत भएकाले विरोध गरेको उनले बताउँदै आएका छन्। 

उनीलगायत अन्य स्थानीयले आफूहरूलाई प्लटिङ कम्पनीले अनेक प्रलोभन देखाएको समेत बताएका छन्। हामीले कुरा गर्न खोज्दा उनले यसबारे थप बताउन चाहेनन्। उनले यति मात्र भने, “नक्सामा खोला प्रष्ट छ। तर अहिले खोला छैन। खोलामाथि बाटो छ।”

आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै अर्का एक स्थानीयले थपे, “मुख्य कुरा खोला नै खाइदिने गरी बाटोको प्रोजेक्ट कसरी बन्यो भन्ने हो। यसमा ठूलो खेल भएको छ।”

उनका अनुसार कन्टिनेन्टल डेभलपर्सको प्लटिङ जहाँ छ, त्यसको माथिल्लो भागमा गोरेटो बाटो थियो। “त्यही ठाउँबाट बाटो निकालिनुपर्थ्यो, त्यसो गर्दा डेभलपर्सले केही जग्गा बाटोलाई छाड्नुपर्ने हुन्थ्यो,” उनले भने, “त्यही जग्गा जोगाउन, गोरेटो बाटो पनि प्लटिङको जग्गामा मिलाउन खोला बगिरहेको ठाउँ पुरेर बाटो बनाइयो। हेर्दाहेर्दै हाम्रो खोला भू–माफियाले खाए।”

ह्युमपाइप बिच्छ्याएर खोला पुरिँदै।


त्यहाँ बाटो निकाल्न शुरू गरिँदा नै स्थानीयले खोला जस्तो छ त्यस्तै बग्न दिन आग्रह गरेका थिए। त्यसबेला खोला बगेको क्षेत्र ८ फिट जति थियो, त्यसबाहेक दुवैतर्फ वर्षात्मा खोला हिँड्ने क्षेत्र १३–१३ फिट जति (बगर क्षेत्र) थियो। बाटो नै बनाउनुपर्ने भए कुल ३४ फिट जति खोलालाई छाडेर बनाउन सल्लाह दिँदा पनि कसैले नसुनेको स्थानीयहरू बताउँछन्।

फन्टे खोला पुरेर बाटो बनाउन थालिएपछि वडा नम्बर १० का राजन श्रेष्ठ, दयासागर केसीलगायत २० जनाले प्राकृतिक स्रोतमाथि भएको अतिक्रमण हटाउन र दोषीमाथि कारबाही गर्न माग गर्दै २०८० वैशाख ५ गते गोदावरी नगरपालिकामा निवेदन दिएका थिए।

नगरपालिकाले त्यसमाथि सुनुवाइ नगरेपछि जेठ ७ गते राजन, दयासागर र बाबुलाल लोप्चन समेतले ‘सरकारी तथा प्राकृतिक सम्पदा संरक्षण गरी अतिक्रमणमा संलग्नलाई सजाय दिलाइपाऊँ’ भनेर जिल्ला प्रशासन कार्यालय ललितपुरमा निवेदन दिए। निवेदनमा ‘गैरकानूनी कार्यको मौखिक तथा लिखित जानकारी पटक–पटक गोदावरी नगर कार्यपालिका र सम्बन्धित वडा कार्यालयमा दिँदा पनि खोलाको संरक्षण र रेखदेख गर्न कुनै चासो तथा तत्परता नदेखाई कानूनी दायित्वप्रति नै उदासीन बनेको’ उल्लेख छ।

जिल्ला प्रशासनले जेठ ७ गते नगरपालिकाको न्यायिक समितिलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको कागजातले देखाउँछन्। त्यसपछि मात्र न्यायिक समितिले डेभलपर्सलाई पत्र काटेको थियो।

“जेठ ८ गते नै मैले किया (कन्टिनेन्टल डेभलपर्स) र शुभकामना हाउजिङलाई पत्र काटेको थिएँ,” न्यायिक समिति प्रमुखका रूपमा काम गरिरहेका गोदावरी नगरपालिकाका अधिकृत सन्त देशारले भने, “जेठ १२ गते कियाले खोला पुर्ने विषयमा आफ्नो कुनै संलग्नता नभएको जवाफ पठायो। शुभकामनाका टक्रप्रसादले भने चिठी बुझ्नै मान्नु भएन। आफैँ आउँछु भन्नुभएको थियो, आउनुभएन।”

राजन, दयासागर र बाबुलालले जेठ १० गते सरकारी जग्गामा बनेका अवैध संरचना हटाउन माग गर्दै जिल्ला प्रशासनमा अर्को निवेदन दिए।

त्यसबीच जेठ १२ गते कन्टिनेन्टल डेभलपर्सले गोदावरी नगरपालिकाको न्यायिक समितिलाई पठाएको लिखित जवाफमा ‘नगरपालिकाभित्र पर्ने कुनै सार्वजनिक सम्पत्तिलाई असर नपुर्‍याएको र ह्युमपाइप बिछ्याउने कार्यमा पनि संलग्न नरहेको’ दाबी गरेको थियो। उसको यस्तो दाबीपछि न्यायिक समितिले थप पहल गरेन।

पछिल्लो निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय ललितपुरले गत असार ३ गते नगरपालिकालाई अर्को पत्र पठायो। त्यसपछि पुस १७ गते जिल्ला प्रशासनले पुनः पत्राचार गर्‍यो। यसपालि प्रशासनले गोदावरी नगरपालिकासहित ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, महांकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकालाई समेत सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी उजुरी एवं गुनासो आएकाले फर्छ्योट गर्न भनेको थियो। तर यो पत्राचारपछि पनि केही भएन।


आफ्नो गुनासोको कतै सुनुवाइ नभए पनि स्थानीयले दबाब दिन छाडेका थिएनन्। उनीहरूले नगरपालिका र त्यहाँको न्यायिक समितिलाई मौखिक रूपमा दबाब दिइरहेका थिए। जिल्ला प्रशासनले पछिल्लो पत्राचार गर्नुअघि, गत असार १५ गते न्यायिक समिति संयोजक (गोदावरी नगरपालिका उपप्रमुख) मुना अधिकारी र अधिकृत देशारको रोहबरमा समितिमा छलफल भएको थियो। त्यो छलफलमा खोला पुरिएको ठाउँको अनुगमन तथा निरीक्षण गर्ने र खोला पुर्न नदिने निर्णय गरेको देशारले दाबी गरे। यद्यपि नगरपालिकाबाट त्यसपछि कुनै टोली अध्ययन वा अनुगमनमै गएन।

“किनभने यसमा मेयरदेखि वडाध्यक्ष सबैको मिलीभगत छ,” नाम उल्लेख गर्न नचाहने एक स्थानीयले भने, “शुरूमा वडाध्यक्ष पनि खोला पुर्न नदिने पक्षमा थिए, पछि उनी त्यतै मिसिए। वडाको स्वीकृति नभई त यो काम कसरी भयो होला र!”

देशारले भने नगरपालिकाको बचाउमा यस्तो तर्क गरे, “असार १५ मा हाम्रो निर्णय भयो, तर त्यसपछि पालिकाको परिषद् बैठक बस्नुपर्‍यो। त्यसपछि पानी पनि नपरेकाले खासै समस्या भएन। निरीक्षणका लागि प्राविधिक टोलीदेखि समितिका पदाधिकारीहरूको एकै पटक समय नमिल्दा जान सकिएन। अझै पनि समय मिल्न सकेको छैन।”

उनको यो भनाइले नगरपालिका नै खोला पुरिएको विषयलाई पन्छाउन कसरी लागिरहेको छ भन्ने छर्लंग पार्छ। कतिसम्म भने देशारले त्यो खोला नै नभएको दाबी गरे। “त्यो खोला नभई खोल्सा, खहरे हो। वर्षामा पानी आउँछ, अहिले त पानी नै हुँदैन। टाखेल हुँदै आउने मूलपानीको बढी भएर बगेको सानो अंश मात्र हो त्यो,” उनले भने।

तर त्यहाँ अहिले होइन, २०२२ सालभन्दा अगाडिदेखि खोला बगिरहेको सरकारी कागजातले नै देखाउँछन्। सरकारी कागजात हेरेपछि नापी कार्यालय ललितपुरका सूचना अधिकारी सुरेशकुमार यादवले हामीलाई उपलब्ध गराएको विवरणमा ‘२०२२ सालको नक्साअनुसार १४ फिट चौडाइ सहितको खोल्सा (खोला) रहेको’ उल्लेख छ। यद्यपि सबै ठाउँमा खोलाको चौडाइ समान नरहेको उनले बताए।

अहिले स्थानीय सरकारकै मिलेमतोमा खोला मासिएको कागजात र घटनाक्रमले प्रस्ट्याउँछन्। 

२०७९ वैशाखको निर्वाचनबाट गोदावरी नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि धेरै कुरा देखिने गरी अघि बढे। तर यसको शुरूआत त्यसभन्दा पहिल्यै भएको थियो। शुरूमा कन्टिनेन्टल डेभलपर्स तथा शुभकामना हाउजिङका डीपी थापा–टक्रप्रसाद तिमल्सिनाको स्वामित्वमा रहेको जग्गाबाट करिब ५०० मिटर पूर्वतर्फ रहेको आरएम भट्टामा माटो पठाउने भन्दै थापा–तिमल्सिनाले डाँडागाउँको आफ्नो जग्गामा माटो कटान गर्न थालेका थिए। त्यो माटो तार्ने भन्दै खोलाको तल्लो भागमा १०–१५ वटा ह्युमपाइप हालिएको थियो। 

खोलाको पुरानो स्वरूप र ह्युमपाइप हालिँदै गर्दाको अवस्था।


“हामीले ह्युमपाइप किन राखेको भनेर सोध्दा टक्रप्रसादले माटो निकाल्नलाई मात्र राखिएको भने,” यसको निरन्तर विरोधमा रहेका एक स्थानीयले भने, “त्यसबेला १८–२० ह्युमपाइप हालेका थिए, वर्षा लागेसँगै ढलमा मंगाल पनि थपे। हाम्रा कुरा वास्ता गर्न छाडे।” 

भटाभट ह्युमपाइप हाल्न थालेका टक्रप्रसादले त्यो काम कन्टिनेन्टल डेभलपर्सले गर्न लागेको बताएका थिए। त्यहीक्रममा गत वैशाखदेखि ह्युमपाइप डाँडागाउँपट्टि मात्र नभई खोलाको माथिल्लो भागमा पनि हाल्ने सुरसार भएपछि केही स्थानीय वडा कार्यालय पुगे। 

“हामीले निवेदन दिएपछि वडाले नगरपालिका देखायो, नगरपालिका जाँदा मेयरकै सहमति छ भन्ने कुरा आयो,” उनी भन्छन्, “यो क्रम बढ्दै गएपछि हामीले चिसापानी पुगेर ह्युमपाइप बोकेको गाडी नै रोकिदियौँ।” 

त्यहीबेला वडाध्यक्ष सहितको भेला बोलाइयो। वडाध्यक्ष न्यौपानेले काम नरोक्न मात्र भनेनन्, रोकेमा आउन लागेको बाटो रद्द हुने र अर्कोतर्फ (रातोमाटेमा) बाटो बन्ने भनेर धम्क्याए। त्यसपछि रातारात ह्युमपाइप राख्ने काम भएको ती स्थानीयले बताए।

खोज्दै जाँदा राजन श्रेष्ठ, दयासागर केसी र बाबु लोप्चनले पहिलो पटक दिएको उजुरीअघि नै नगरपालिकाले चलाखीपूर्ण रूपमा यो समस्या ‘सल्टाइसकेको’ देखियो। त्यसको नालीबेली थप रोचक छ। 

२०७९ भदौ १० गते गोदावरी नगरपालिकाको नगर कार्यपालिकाले झरुवाराशी–डाँडागाउँ–न्यौपाने गाउँसम्मको सडक स्तरोन्नति गर्न सूचना जारी गरेको रहेछ। त्यही सूचनाका आधारमा कात्तिक ६ गते अद्रिया कन्स्ट्रक्सनको बोलपत्र स्वीकृत भएको नगरपालिकाका कागजातले देखाउँछन्। 

दोस्रो चरणमा कात्तिक २१ गते धापाखेल–झरुवाराशी–डाँडागाउँ सडक स्तरोन्नतिकै लागि अभियान्ता नेपाल प्रालिले पेश गरेको बोलपत्र स्वीकृत भयो भने मंसिर २२ मा नागदह–झरुवाराशी–डाँडागाउँ सडक स्तरोन्नतिका लागि कालीकोट कन्स्ट्रक्सन कम्पनी एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिको बोलपत्र स्वीकृत भयो। यी तीन बोलपत्र स्वीकृत भएपछि सडक निर्माण–मर्मत अघि बढ्यो, त्यही क्रममा फन्टे खोला फन्दामा पर्न थाल्यो। 

खोला पुर्न थालिएसँगै त्यसमा कन्टिनेन्टल डेभलपर्स र शुभकामना हाउजिङ योजनाबद्ध रूपमा लागेको भन्दै निवेदन लिएर वडा कार्यालय, नगरपालिका र प्रशासन कार्यालय पुगेका स्थानीयले कतैबाट सहयोग पाएनन्। शुभकामना हाउजिङका तिमल्सिनालाई भन्दा कन्टिनेन्टललाई देखाउने गरियो। कन्टिनेन्टल त आफूले गर्दै नगरेको भन्दै तर्कियो। 

यो क्रम चलिरहँदा खोला पुरिँदै गयो, गत साउनमा कन्टिनेन्टलसँगै जोडिएको ८ आना जग्गा भएका राजीव श्रेष्ठको घर डुब्यो। त्यो जग्गा दिनेश वैद्य र उनकी श्रीमतीको नाममा छ। राजीव, वैद्यका जेठान हुन्। 

वर्खाको समयमा डुवानमा परेको राजीवको घर र अहिलेको अवस्था।


यो प्रकरण सामसुम पार्न नगरपालिकाको चलाखीबाट एउटा सम्झौता गरिएको देखिन्छ। त्यो सम्झौता गर्न नगरपालिका कार्यालयमा वडाध्यक्ष र वडावासी सहितको भेला बोलाइएको थियो। त्यो भेलामा वडाध्यक्षलगायतले भनेका थिए, “अब यो बाटोको प्रोजेक्ट नै क्यान्सिल हुने भयो।”

हामीले प्राप्त गरेका कागजातले त्यो भेला गत वैशाख १२ मा भएको देखाउँछन्। त्यस दिनको भेलामा भएको सम्झौता–पत्रमा गोदावरी–१० का वडाध्यक्ष शेखर न्यौपाने, १३ का अध्यक्ष भास्कर थापासहित पाँच जना स्थानीयले हस्ताक्षर गरेका छन्। उनीहरूलाई झरुवाराशी–डाँडागाउँ उपभोक्ता समूह भनेर चिनाइएको छ। सम्झौता–पत्रमा खोलालाई व्यवस्थापन गरिने उल्लेख छ, जसलाई नगरप्रमुख गजेन्द्र महर्जनले जेठ २ गते रुजु गरेको देखिन्छ। 

गोदावरी नगरपालिकाले स्थानीयबासीसँग गरेको सम्झौता।


खोलालाई ‘व्यवस्थापन गर्ने’ सम्झौताको भाषा नै चलाखीपूर्ण छ। अर्को चलाखी, सम्झौताको २ र ३ नम्बर बुँदामा ‘शुभकामना ल्यान्ड एन्ड हाउजिङ प्रालिको जग्गा तथा कन्टिनेन्टल डेभलपर्स प्रालिको जग्गाको बीचबाट बग्ने खोल्सीको पश्चिमतर्फबाट खोल्सीको सिमानाबाहेक ४ मिटर जग्गासमेत कन्टिनेन्टल डेभलपर्स प्रालिको बुँदा १ मा उल्लेख भएको सडकबाट दक्षिणपट्टिको सार्वजनिक सडकको लागि प्रदान गर्ने’ भनेर कन्टिनेन्टल र शुभकामना डेभलपर्सले उल्टै सार्वजनिक बाटोलाई जग्गा दिएको देखाउन खोजिएको छ।

सम्झौता–पत्रमा ‘शुभकामना ल्यान्ड एन्ड हाउजिङ प्रालि र कान्टिनेन्टल डेभलपर्स प्रालिले जोडिदिएको २६ फिट सडकको बिन्दुबाट तिमल्सिनाको घरसँगको डाँडागाउँ जाने मूल सडकसम्म दुवैतर्फबाट (खोल्सीको सिमानाबाहेक) ४–५ मिटर सडक स्थलगत सिमाना छुट्याए ग्राबेल गरी सार्वजनिक प्रयोगको लागि प्रदान गरिने’ उल्लेख छ। तर खोला पुरेर सडक बनाउने कतै उल्लेख छैन। 

सम्झौता–पत्रमा सहमति जनाएका एक स्थानीयले खोला पुर्न सहमति नदिइएको र सम्झौतामा खोला पुर्ने नलेखिएको उल्लेख गर्दै भने, “तर यो सम्झौतापछि रातारात खोला पुर्न थालियो।”  

उनका अनुसार कन्टिनेन्टल डेभलपर्सको प्लटिङमा तीनतिरबाट बाटो थियो। धापाखेल–झरुवाराशी सडक स्तरोन्नतिको परियोजना आएको, एउटा बाटो बोहराटार, न्यौपानेगाउँ हुँदै टाखेलसम्म पनि पुग्ने हुँदा केही स्थानीयलाई जग्गाको मूल्य बढ्ने लोभ जाग्यो। सबभन्दा ठूलो लोभ कन्टिनेन्टललाई नै जागेको थियो जो खोलालाई बाटो बनाएपछि नक्साको बाटोजति आफ्नो कम्पाउन्डमा पार्न चाहन्थ्यो। 

खोला पुरेर बाटो बनाउन अवरोध नहोस् भनेर नगरपालिकाले अपनाएको चलाखी बुझ्न नसक्दा अन्ततः स्थानीयले खोला गुमाए। “पालिकाले त हाम्रो मन्जुरी मात्र खोजेको रहेछ, त्यसपछि त के चाहियो,” उनले भने। 

जनप्रतिनिधिकै मिलीभगत, तर भन्छन्– हामीले होइन
गोदावरी नगरपालिका प्रमुख अहिले गजेन्द्र महर्जन छन्। २०७९ को निर्वाचनबाट पुनः प्रमुखमा निर्वाचित भएका उनी २०४९–२०७९ मा पनि नगरप्रमुख नै थिए। दोस्रो कार्यकाल नगरप्रमुख रहेका उनी यो प्रकरणबारे शुरूदेखि जानकार छन्। तर हामीले बुझ्न खोज्दा महर्जनले यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए।

“कियाको (कन्टिनेन्टल डेभलपर्सको) प्लटिङ स्थानीय तह आउनुअघि नै शुरू भएको हो। जनप्रतिनिधि नहुँदाको समयमा यी काम भएको हुनसक्छ, हामी आएपछि त्यस्तो केही भएको छैन,” उनले भने, “म अब त्यस क्षेत्रमा अनुगमन गराउँछु, न्यायिक समितिलाई पनि भन्छु।”

गोदावरी–१० का वडाध्यक्ष शेखर न्यौपाने र पूर्ववडाध्यक्ष दर्शनकुमार विष्टले खोला पुरेर बाटो बनाउने स्वीकृति आफ्नो कार्यकालमा नदिइएको दाबी गरे। “मेरो कार्यकालभन्दा पहिल्यै भएको हुनसक्छ, साढे एक वर्षको कार्यकालमा मैले कुनै नयाँ प्लटिङ वा जग्गा सम्म्याउने सिफारिस गरेको छैन,” न्यौपानेले भने।

पूर्ववडाध्यक्ष विष्टले पनि आफूले कुनै सिफारिस नदिएको दाबी गरे। भने, “अहिलेको वडाध्यक्ष र मेयरले स्वीकृति दिए/नदिएको उहाँहरूलाई थाहा होला। मेरो कार्यकालमा पारिपट्टिको आरएम भट्टाको लागि प्लटिङको माटो लैजाने कुरा भइरहेको थियो।”

ह्युमपाइप राखेर खोला पुरिँदै।


उनले डाँडागाउँमा ८–१० वटा ह्युमपाइप राख्ने विषय उठे पनि खोलामा ह्युमपाइप राख्ने कुरै नभएको बताए। “कियाले (कन्टिनेन्टल डेभलपर्सले) खोलाको साइडमा बाटो बनाउँछौँ, टोलवासीको लागि पनि सहज हुन्छ भन्ने कुरा ल्याएको थियो। तर हामीले त्यस्तो कुनै सिफारिस गरेनौँ,” उनले भने। 

वर्तमान वडाध्यक्ष न्यौपानेले नागदहको तल्लो भागदेखि डाँडागाउँ हुँदै फन्टे खोलाबाट न्यौपानेगाउँ निस्कने २६ फिटको बाटो बनाउने योजना शुरू भएको बताए। उनले झरुवाराशी र वडा नम्बर १० को बीचमा करिब २०० मिटर नक्सामा बाटो नरहेको, त्यहाँ ‘खोल्सा रहेको’ उल्लेख गरे। खोलामाथि बाटो बनाइनुको कारण पनि उनले प्रस्ट्याए। 

“२६ फिट वा ८ मिटरको बाटोको लागि किया मोटर्स (कन्टिनेन्टल डेभलपर्स) को जग्गा हुँदै बाटो निकाल्दा उसको पाँच रोपनी जग्गा जाने भएपछि मेयरसाबलाई पनि राखेर कन्भिन्स गर्‍यौँ, त्यसपछि स्थानीयलाई समेत रोहबर राखेर बाटो बनायौँ,” उनले भने, “खोल्साको आकार नक्सामा औसत ५ देखि ७ फिट छ, त्यसको दुवैतर्फ १३–१३ फिट हुने गरी ह्युमपाइप राखेर बाटो बनाइएको हो। भोलि खोल्सा जस्तो छ, त्यस्तै राखौँ भन्नलाई प्रोजेक्ट पूरा भएपछि ह्युमपाइप झिक्न पनि सकिन्छ नि।”

उनको यो भनाइले कन्टिनेन्टल डेभलपर्सको पाँच रोपनी जग्गा जोगाइदिन खोला पुरेर बाटो बनाउन स्थानीय तह नै अग्रसर भएको देखाउँछ।

खोला पुरेर बनिरहेको यो सडकमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीन वटैको बजेट समावेश छ। न्यौपानेले यो गोदावरी नगरपालिकाकै निम्ति वैकल्पिक सडक भएको दाबी गर्दै त्यसकारणले पनि ‘बनाउनैपर्ने भएको’ जिकिर गरे। 


वातावरण तथा प्राकृतिक स्रोतका जानकार, अधिवक्ता पदमबहादुर श्रेष्ठ भने कुनै नदी वा खोला ठूलो, सानो वा कुलोकै रूपमा भए पनि प्राकृतिक स्रोतमाथि छेडखानी गर्न नमिल्ने र त्यसलाई संरक्षण गर्नुपर्ने दायित्व स्थानीय तहकै हुने बताउँछन्। परापूर्वकालदेखि रहिआएका सम्पदा तथा नदीखोला छोप्न र बहाव परिवर्तन गर्नै नमिल्ने उनले बताए। 

कुनै पालिकाभित्र जग्गा प्लटिङ गरिरहेकाहरूले आफ्नो क्षेत्रका नदीनाला वा खोलालाई बाटोको रूपमा प्रयोग गर्नै नपाउने उल्लेख गर्दै उनले भने, “स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नै यसबारे स्थानीय तहलाई अधिकार दिएको छ। उनीहरूले प्लटिङ गर्नेहरूलाई त्यसो गर्नबाट रोक्ने हो।” 

अधिवक्ता सञ्जय अधिकारी ऐनको दफा ११ को उपदफा २ (ट) मा ‘अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्ने’ विषय उल्लेख भएकाले त्यस्तो कार्य भएमा नगरपालिकाले नगर प्रहरी नै खटाएर रोक्न सक्ने बताउँछन्। 

गोदावरी नगरपालिका आफैँले बनाएको भू–उपयोग, घडेरी तथा बस्ती विकास कार्यविधि २०७८ को दफा ४ (क) ले खोला, खोल्सा र कुलोको पूरा मापदण्ड छाड्नुपर्ने व्यवस्था गरेको छ। कार्यविधिको दफा ४ (ख) मा ‘खोला, खोल्सा, कुलो, पानीको मुहानको पूरा छाडिएको मापदण्डमा घडेरी तथा बस्ती विकास गर्दा कम्तीमा २० फिट बाटो कायम गरी त्यो बाटो नेपाल सरकारको नाममा कायम गर्नुपर्ने’ व्यवस्था छ।

“सार्वजनिक जग्गा अतिक्रमण गरिए त्यसको छुट्टै कानूनी व्यवस्था छ,” अधिवक्ता अधिकारी भन्छन्, “तर नदी प्रणालीको अतिक्रमणबारे छुट्टै कानूनी व्यवस्था नभएकाले समस्या छ।” बांग्लादेशमा नदीको बहावलाई क्षति पुर्‍याउने व्यक्ति–संस्थालाई कुनै बैंकले ऋण नदिने र कालोसूचीमा राख्ने अभ्यास भएकाले त्यहाँ कसैले नदीलाई छुने आँट नगर्ने सुनाउँदै उनले भने, “यहाँ जसले जे गरे पनि हुने भयो। हुँदाहुँदा त्यसो गर्न रोक्ने जिम्मेवारीमा रहेकाहरू नै सहयोगी बनिदिए।” 

खोला पुरेर प्लटिङ भइसकेपछिको अवस्था।


खोला पुर्न स्थानीय सरकारकै प्रतिनिधिले देखाएको अचाक्ली रुचि प्लटिङ गरिरहेका डेभलपर्सको भनाइबाट थप प्रष्ट हुन्छ। हामीले कन्टिनेन्टल डेभलपर्ससित यसबारे बुझ्ने प्रयास गर्दा प्रतिनिधि मदन झा प्रतिक्रिया दिन उपलब्ध भए। उनले खोला नपुरेको, बरु दुवै किनारबाट मापदण्ड पुर्‍याएर बाटोको ट्र्याक खोलिएको दाबी गरे। “पुर्नुको अर्थ पूरै बन्द गर्नु हो, त्यहाँ ह्युमपाइप राखेर खोलालाई तलबाट बग्न दिइएको छ,” उनले भने, “खोला ६–७ फिटको छ। त्यसमाथि ह्युमपाइप राखेर दुईतिरको १३–१३ फिटको बाटोसमेत ३२ फिटको बाटो बनेको छ।”

उनले त्यो बाटो बन्नेक्रममा कन्टिनेन्टलको ५–६ रोपनीका जग्गासमेत गएको दाबी गर्दै अर्कोतर्फको शुभकामना हाउजिङले के गर्‍यो भन्नेबारे भने आफूलाई जानकारी नभएको बताए। 

कन्टिनेन्टलसँगैको शुभकामना ल्यान्ड एन्ड हाउजिङका सञ्चालक टक्रप्रसाद तिमल्सिनाले ‘खोल्सा नपुरिएको र ह्युमपाइप राखेर माथिबाट बाटो निकालिएको’ दाबी गरे। खोलालाई त्यसो गर्न मिल्छ त भन्ने प्रश्नमा उनले भने, “एक त त्यो खोला होइन, खोल्सा हो। त्यो हराएको पनि छैन। यो स्थानीय तहको नियन्त्रणमा पर्छ भन्ने मात्र मैले बुझेको हो।” कन्टिनेन्टल र आफ्नो कम्पनी मिलेर ‘खोल्सा टालेको’ दाबी गर्दै उनले भने, “हाम्रो योजना नै छेउछेउमा रूख रोपेर बगैँचा बनाउने, बीचबाट बाटो चलाइदिने हो। हामीले यो गरेकै वर्षदिन भइसक्यो।”


सम्बन्धित सामग्री