Thursday, April 25, 2024

-->

एआईले निर्वाचनमा विश्वभर यसरी पार्दैछ प्रभाव, नेपालले के सिक्ने?

यो वर्षको शुरूमा पाकिस्तान र इन्डोनेसियामा भएका निर्वाचनमा एआईको भरपूर प्रयोग भयो। मार्च या अप्रिलमा भारत र नोभेम्बरमा अमेरिकामा हुने निर्वाचनमा मतदाता आकर्षित गर्न अहिलेदेखि नै कसरत शुरू भइसकेको छ।

एआईले निर्वाचनमा विश्वभर यसरी पार्दैछ प्रभाव नेपालले के सिक्ने
एआईको सहयोगमा तयार पारिएको तस्वीर

काठमाडौँ– सन् २०२४ लाई ‘विश्व चुनाव वर्ष’को रूपमा हेरिएको छ। विश्वका ६० भन्दा बढी देशमा राष्ट्रपति वा संसदीय निर्वाचन हुँदैछन्।

वर्षको शुरूमै विश्वमा धेरै मतदाता भएका शीर्ष पाँच देशमध्ये पाकिस्तान र इन्डोनेसियाको निर्वाचन सम्पन्न भइसक्यो। अब केही महिनामा अमेरिका, भारत, रुस, दक्षिण अफ्रिका, ताइवानलगायत देशमा निर्वाचन हुँदैछन्। 

चुनावी प्रचारका लागि सामाजिक सञ्जालको व्यापक प्रयोग त भइरहेकै छ, त्यसबाहेक चुनाव लक्षित कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को भरपुर प्रयोग भइरहेको छ। पाकिस्तान र इन्डोनेसियाका निर्वाचनमा पनि एआईको अत्यधिक प्रयोग भएको देखियो।

इमरान खानलाई एआईको राहत
गत फेब्रुअरी ८ मा सम्पन्न भएको पाकिस्तानको निर्वाचनमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए–इन्साफ (पीटीआई)ले समर्थन गरेका स्वतन्त्र सांसदले अप्रत्याशित जित हात पारे। इमरानलाई भ्रष्टाचार मुद्दामा जेल सजाय भएपछि उनको पार्टीलाई पनि निर्वाचन लड्न दिइएको थिएन। त्यस कारण पीटीआईका समर्थकहरू फरकफरक चिह्नमा स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिएका थिए।

यो निर्वाचनमा १०२ जना स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि ९३ देखि ९७ सांसद पीटीआई समर्थक रहेको बताइन्छ। बहुमतका साथ चुनाव जित्ने दाबी गर्दै आएका अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ७५ सिटसहित दोस्रो भयो। त्यस्तै, पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ५४ सिट जितेर तेस्रो भयो।

निर्वाचन लड्न रोक लगाइएको, चुनावी चिह्नसमेत प्रयोग गर्न नदिइएको, प्रचारप्रसार गर्दा सुरक्षाकर्मीबाट धरपकड भएको पार्टीका उम्मेदवारले कसरी यति ठूलो जित हात पारे त?

इमरानलाई कारबाही भएसँगै उनको पार्टी पीटीआई समर्थकलाई चुनावचिह्न ‘क्रिकेट ब्याट’ प्रयोग गर्न निर्वाचन आयोगले रोक लगाएको थियो। सर्वसाधारण नागरिकले थाहा पाएको चुनावचिह्न नै प्रयोग गर्न नपाइने भएपछि पार्टीमा ठूलो धक्का लाग्यो। त्यसको क्षतिपूर्तिका लागि पीटीआईले एआईको सहारा लियो।

गत डिसेम्बरमा मात्रै इमरानको एक भिडियो सार्वजनिक भएको थियो, जसमा उनी आफैँ बोलेर आफ्नो पार्टीलाई भोट दिन अपिल गरिरहेका थिए। एकै दिन लाखौँले हेरेको उक्त भिडियोको आवाज भने वास्ताविक थिएन। भिडियोको शुरूको केही सेकेन्ड पुरानो भिडियोबाट लिइएको र बाँकी भिडियो फुटेज, फोटो तथा आवाज एआईद्वारा बनाइएको थियो।

 आमचुनाव अघि भोटको लागि आह्वान गर्न पूर्व प्रधानमन्त्री इमरान खानको एआई निर्मित भाषण कम्प्युटरमा हेर्दै एक व्यक्ति। तस्वीर: रोयटर्स

निर्वाचन आसपास इमरानका यस्ता थुप्रै भिडियो सामाजिक सञ्जालमा छाए। ती भिडियोमा आवाजदेखि उनले बोलिरहेको सबै च्याटजीपीटी, डिपफेकलगायत एआईको संयोजन थियो।

त्यस्तै, पीटीआईले पाकिस्तानको प्रत्येक निर्वाचन क्षेत्रका लागि ह्वाट्सएप च्यानलहरू बनाएको थियो जहाँ पार्टीका समर्थकहरूले भोटिङको जानकारी पाउँथे। त्यसमाथि एआई च्याटबटलाई इमरान खानको फेसबुक प्रोफाइलमा सेटअप गरिएको थियो जहाँबाट भर्चुअल रूपमा इमरान खानबारेका जानकारी आममानिससम्म पुर्‍याइन्थ्यो।

पीटीआईको चुनावी एजेन्डा हेर्ने जिब्रान इलियासले अल जजिरासँगको कुराकानीमा भनेका छन्, “यस च्याटबटमार्फत तपाईं इमरान खानसँग कुरा गर्दै हुनुहुन्छ जस्तो लाग्छ। त्यसमा तपाईंले आफ्नो नेतालाई तपाईंको निर्वाचन क्षेत्रबारे सोध्दै सन्देश पठाउनुहुन्छ र उहाँले तपाईंलाई भोट गर्न आग्रह गर्नुहुन्छ।” 

इलियासका अनुसार पार्टीको यही अभियानले मत बटुल्न ठूलो राहत पुगेको थियो। पीएमएल-एनको बहुमतको सम्भावनालाई पीटीआईको एआई रणनीतिले नै बिथोलेको भने प्रष्ट छ। त्यहाँ कुनै पनि दलले बहुमत नल्याउँदा सरकार गठनबारे अझै टुंगो लाग्न सकेको छैन।

वृद्ध प्रोबोओ बने ‘भुन्टे’ उम्मेदवार
एआईले चुनावी प्रचारप्रसारमा सहयोग त गर्छ नै, उम्मेदवारबारे नागरिकको धारणा नै बदले के होला! इन्डोनेसियामा यस्तै भयो।

विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा राष्ट्रपतिसँगै उपराष्ट्रपति तथा संसद्का लागि गत फेब्रुअरी १४ मा आमनिर्वाचन भएको थियो। उक्त निर्वाचनमा  राष्ट्रपतिका तीन उम्मेदवारमध्ये सबैभन्दा चर्चामा प्रोबोओ सुबिआन्तो आए।

सेनाको कमान्डर हुँदा मानव अधिकार उल्लंघनको आरोपसमेत लागेका ७२ वर्षीय सुबिआन्तो वर्तमान सरकारका रक्षामन्त्री पनि हुन्। उनले यसअघि राष्ट्रपतिको चुनाव दुई पटक हारिसकेका थिए। तर यसपटक किन यति चर्चा?

जेनेरेटिभ एआईको प्रयोग गरेर बनाइएको उनको कार्टुनले चुनावी चर्चा बटुल्यो। उपराष्ट्रपतिका उम्मेदवार ३६ वर्षीय जिब्रान राकाबुमिङसँगको उक्त कार्टुनमा दुवैजनालाई ‘क्युट’ देखाइएको छ। पुक्क परेका गाला र मृगको जस्तो ठुलठूला आँखासहितको बालकजस्तो देखिने उक्त कार्टुनले युवा मतदाताहरूको ध्यान तानेको थियो।

तस्वीर: रोयटर्स

उनले उक्त कार्टुनमा आफ्नो नाम पनि दिए– जिमोइ। जसरी नेपालमा कुनै बालकलाई माया गरेर ‘भुन्टे’ भनिन्छ, त्यसैगरी इन्डोनेसियामा प्यारो बालकलाई जिमोइ भनिन्छ। उक्त कार्टुनलाई देशका विभिन्न ठाउँमा 'होडिङ बोर्ड'मा लगाइयो। टिकटक ह्वाट्सअपमा भाइरल भयो। त्यही कार्टुनलाई नै पात्र बनाएर एआई जेनेरेटेड विज्ञापन बनाइए र सामाजिक सञ्जालमा भाइरल गरियो।

त्यहाँका धेरैजसो उम्मेदावरहरूले उनलाई नचिने पनि उक्त कार्टुनले गर्दा उनैलाई भोट दिने निर्णयमा पुर्‍यायो। कसलाई भोट दिने भनेर रोयटर्सले चुनावअघि सोधेको प्रश्नमा एक मतदाताले भनेकी थिइन्, “म त प्रोबोओलाई भोट दिन्छु किनकि उनी मेरो जिमोइ हुन्।”

यसबाहेक त्यहाँका उम्मेदवारहरूले चुनावका बेला ‘पेमिलु एआई’ सफ्टवेयरको पनि प्रयोग गरे। उक्त एआईबाट उम्मदेवारहरूलाई आफ्नो निर्वाचन क्षेत्रका नागरिक तथा त्यहाँको वस्तुस्थितिबारे जानकारी मिल्छ। त्यसमा प्रयोग गरिएको जेनेरेटिभ एआईले सामाजिक सञ्जालमा शेयर गरिएका स्टाटस, विभिन्न सरकारी तथ्यांक आदिको विश्लेषण गरिदिन्छ। ओपन एआईको च्याटजीपीटी–४ र ३.५ द्वारा सञ्चालित यसले सामाजिक सञ्जाल पोस्टहरू र अभियान व्यापारका लागि नक्कली डिजाइनहरू पनि उत्पन्न गर्न सक्छ। उक्त उपकरणको प्रयोग ७०० उम्मेदवारहरूले गरेका थिए।

चुनावको आधिकारिक नतिजा आउन भने अझै दुई हप्ता लाग्न सक्ने बताइएको छ।

चुनावलाई आफ्नो पक्षमा पार्न एआई तथा डिपफेकको प्रयोग गर्ने इमरान र प्रोबोओ मात्र छैनन्। यो मामलामा छिमेकी देश भारत झन् अग्रणी स्थानमा देखिन्छ।

भाषिनीका अनेक भाषा
आगामी मार्च या अप्रिलमा भारतमा आमनिर्वाचन हुँदैछ। यही बेला भारतका सफ्टवेयर इन्जिनियरहरूले नयाँ एप बनाएका छन्– भाषिनी। एआईको प्रयोग गरिएको भाषिनी ‘रियल टाइम ल्यांग्वेज ट्रान्सलेसन टुल’ हो। अर्थात् एक भाषामा बोलेको कुरा त्यही समयमा अर्को भाषामा पनि सुन्न मिल्छ। केही समय पहिले नरेन्द्र मोदीले बनारस पुगेर हिन्दीमा गरेको भाषणको भिडियो दक्षिण भारतका नागरिकले तमिल भाषामा सुनेका थिए।

यति मात्र होइन, भारतमा चुनावी माहोललाई आफ्ना पक्षमा पार्न मृत्यु भइसकेका नेताहरू पनि लागिपरेका छन्। मरिसकेकाहरू कसरी चुनावी अभियानमा लाग्न सक्छन् भनेर अचम्म लाग्ला! डिपफेक प्रविधिको प्रयोग गरेर यो सम्भव भएको छ। 

सन् २०१८ मा निधन भएका भारतीय सिनेमा र राजनीतिका आइकन मानिने मुथुवेल करुणानिधि विगत ६ महिनायता सामाजिक सञ्जालमा छाइरहेका छन्। कहिले मिडिया कार्यक्रममा पुग्छन् भने कहिले पुस्तक विमोचनहरूमा। ती कार्यक्रममा उनी आफ्ना छोरा एमके स्टालिनको प्रशंसा गरिरहेका हुन्छन्, जो तमिलनाडुका मुख्यमन्त्री पनि हुन्। आउँदो चुनावमा पनि उनैलाई जिताउन ‘डिपफेक करुणनिधि’ लागिपरेका छन्।

एम करुणानिधिको एआई निर्मित भिडियोको स्क्रिनसट

मोदीको भाषण अनुवाददेखि करुणानिधि डिपफेक बनाउने टेक कम्पनीको नाम हो ‘मुओनी’। कम्पनीका संस्थापक सेन्थिल नायकम यस वर्षको भारतीय चुनावअघि महात्मा गान्धीलगायत ४५ वर्तमान र पूर्व भारतीय राजनीतिक नेताहरूको आवाज क्लोन गरिसकेको बताउँछन्। उनका अनुसार प्रधानमन्त्री मोदीको भाषण ३० भाषामा अनुवाद गर्न सकिन्छ। 

अमेरिकामा एआई प्रभाव
विश्व व्यवस्थालाई नै प्रभावित पार्ने अमेरिकाको राष्ट्रपतिमा को चुनिन्छ भन्ने कुराले ठूलो महत्व राख्छ। त्यसैले आउँदो नोभेम्बरमा हुने त्यहाँको राष्ट्रपति निर्वाचनमा विश्वको ध्यान केन्द्रित छ। तर यहीबीच एआई/डिपफेकले चुनावलाई कमजोर पार्ने सम्भावनाबारे पनि बहस हुन थालेको छ।

गत वर्ष मार्चमा अमेरिकी ग्रान्ड जुरीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो चुनावमा धाँधली गरेको आरोप लगाएको थियो। त्यहीबीच, राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ह्वाइट हाउसमा उत्सव मनाइरहेको भिडियो भाइरल भयो। भिडियोलाई राम्ररी नियाल्दा त्यो एआईले बनाएको भन्ने थाहा हुन्छ। उनीहरूका यस्ता नक्कली तस्वीरहरू लाखौँ मानिसहरूलाई पनि पठाइएको थियो।

तस्वीर: एएफपी फ्याक्ट चेक

यस्तै, गत जनवरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनको भएको दाबी गर्दै एक नक्कली ‘रोबोकल’ले न्यु हेम्पसायरका मतदाताहरूलाई प्राथमिक चुनावमा भोट नहाल्न आग्रह गरेको थियो। बाइडेनको आवाजमा आएको उक्त आवाज कसले पठाएको हो भन्ने थाहा छैन।

निर्वाचनमा एआईको चुनौती
पाकिस्तान र इन्डोनेसियामा भैका निर्वाचनमा एआईले मतदाता प्रभावित त बनायो तै भारत र अमेरिकामा अब हुने निर्वाचनमा पनि त्यस्तै हुने अनुमान गर्न सकिन्छ। चुनावताका उम्मेदवार तथा पार्टीका धारणाबारे भ्रामक जानकारी फैलाउन एआईको व्यापक प्रयोग भइरहेको देखिन्छ। गलत व्यक्तिलाई पनि सही भन्नको लागि डिपफेक प्रविधिमार्फत् चर्चित पूर्वनेताहरूलाई वर्तमान अलोकप्रिय उम्मेदवारबारे बोल्न लगाएर भोट बटुल्न एआईले मद्दत गर्ने छ।

यति मात्रै होइन, एक भाषामा बोलेर अन्य भाषी समुदायलाई रिझाउन, आफूले थाहा नभएको विषयमा पनि सम्बन्धित क्षेत्रका नागरिकलाई आफू जानकार भएको विश्वास दिलाउन र उनीहरूको प्रिय उम्मेदवार बनेर भोट आफ्नो पोल्टामा हाल्न एआईले सहयोग गर्नेछ। 

नेपाल जस्तो भाषिक, सांस्कृतिक विविधता भएको देशमा जनतालाई ‘भ्रम छर्न’ एआई बलियो साधन हुने देखिन्छ। सामाजिक सञ्जालमा झुम्मिने नेपाली समाजमा गलत तथा भ्रामक सूचना सिमलको भुवाझैँ फैलिन बेर लाग्दैन। यस्तो अवस्थामा कुनै निहित स्वार्थ र निर्वाचन भड्काउने जस्ता अभिव्यक्तिसहित कसैले कुनै नेताको एआई निर्मित भिडियो, अडियो वा तस्वीर सार्वजनिक गरिदिए त्यो भाइरल हुन बेर लाग्दैन। जसले मताधिकारको दुरूपयोग हुने जोखिम बढाउँछ।

त्यसैले लोकतान्त्रिक निर्वाचन प्रणालीमा एआई अवसरसँगै चुनौती बनेर आउँदैछ। यो चुनौतीसँग जुध्न विश्वव्यापी रूपमै बहस छेडिएको छ। चुनावमा एआईको दुरूपयोगको आँकलन गरेको अमेरिकाको सिनेटले बेलाबेला यस क्षेत्रका व्यक्तिलाई बोलाएर छलफल गर्दै आएको छ। 

यस्तै, भारतले चुनावमा फैलिनसक्ने भ्रामक सूचना, खबर, अडियो, भिडियोलाई ‘फिल्टर’ गर्न एआईको प्रयोग गर्ने भएको छ। भारतको निर्वाचन आयोगले आगामी लोकसभा चुनावमा सामाजिक सञ्जाल ट्र्याक गर्न एआई प्रयोग गर्ने भएको हो। 

नेपालमा के हुन्छ?
नेपालमा स्थानीय तह तथा संसदीय निर्वाचन भएको एक वर्ष नाघेको छ। स्थानीय तहको निर्वाचन हुन अब करिब साढे तीन वर्ष र संसदीय निर्वाचन हुन करिब चार वर्ष बाँकी छ। नेपालमा चुनावी प्रचार तथा अभियानसम्बन्धी कानून पुरानै छन्। तर एआई एक निरन्तर विकसित प्रविधिका रूपमा उदाएको छ। दिन प्रतिदिन अब्बल संस्करणका साथ उदाइरहेको एआईसँग सामना गर्न नेपालले के गरिरहेको छ त?

“एआईले चुनावमा ल्याउने सम्भावित जोखिमलाई हेरेर हामी कानून निर्माण गरिरहेका छौँ,” प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्छन्, “अबको निर्वाचन भनेको सडकमा मान्छे–मान्छे लड्ने होइन। एआई र सामाजिक सञ्जाल लड्छ भन्ने आँकलन छ। यसको निम्ति हामीले नयाँ निर्वाचन कानूनमा पनि यो कुरा उल्लेख गरेका छौँ जुन सरकारसमक्ष पेस गरेको अवस्था छ।” 

एआईको प्रयोगले निर्वाचनमा हुनसक्ने सम्भावित आक्रमण र त्यसले पार्ने प्रभावबारे आयोगले बनाउने चौँथो रणनीतिक योजनामा त्यसलाई उल्लेख गरिने उनको भनाइ छ। 

साइबरसम्बन्धी क्रियाकलापमाथि नियमन गर्ने जिम्मेवारी नेपाल प्रहरीको साइबर ब्युरोलाई छ। तर अहिलेको अवस्थामा साइबर ब्युरो आर्थिक र प्राविधिक रूपमै कमजोर छ। चुनावलाई बिथोल्ने त्यस्ता गतिविधिमाथि नियमन गर्न ब्यूरोको अहिलेको साधनस्रोतले धान्न नसक्ने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नबिन्द अर्याल बताउँछन्।

“एआई जेनेरेटेड फोटो भिडियोलगायत कुरा हेर्न डिटेल फरेन्सिक गर्नैपर्छ। हामीसँग प्राइमरी टुलहरू त केही छन्, तिनीहरूबाटै हामीले तयार गरिरहेका छौँ। तर यति मात्र प्रविधिले सम्भव हुँदैन,” उनी भन्छन्, “प्रविधिको हिसाबमा पनि एकैपटक ठूलो उपलब्धि हात पार्न समस्या हुन्छ नै, त्यसमाथि अहिले हाम्रो आर्थिक अवस्था पनि कमजोर छ।”


सम्बन्धित सामग्री