Saturday, April 27, 2024

-->

समाचार प्रभाव
बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा प्लटिङ प्रकरणः अख्तियारले नगरपालिकालाई काट्यो पत्र

ललितपुरको गोदावरी नगरपालिकाले खोला पुरेर निजी जग्गा प्लटिङलाई सघाउन बाटो निकालेपछि चर्चामा आएको प्रकरणमाथि अख्तियारले चासो देखाउँदै नगरपालिकालाई पत्र काटेको छ।

बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा प्लटिङ प्रकरणः अख्तियारले नगरपालिकालाई काट्यो पत्र

काठमाडौँ– एउटा व्यापारिक घरानाले गरिरहेको जग्गा प्लटिङलाई सघाउन बगिरहेको खोला पुरेर बाटो निकाल्ने स्थानीय सरकारको अग्रसरतामाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो देखाएको छ। ललितपुरको गोदावरीमा व्यापारिक घरानाको जग्गा प्लटिङलाई सघाउन गोदावरी नगरपालिकाले गरेको खोला पुर्ने कार्यमा चासो देखाउँदै अख्तियारले पत्र काटेको हो।

गोदावरीमा पुस्तौँ अघिदेखि बगिरहेको फन्टे खोला पुरेर जग्गा प्लटिङलाई सघाउने उद्देश्यले बाटो बनाउनमा सहयोगी भएर नगरपालिकाले गरेका शृंखलाबद्ध प्रयत्नबारे उकालोले उजागर गरेको थियो। गत माघ २८ गते प्रकाशित त्यससम्बन्धी रिपोर्टका आधारमा त्यसको भोलिपल्टै अख्तियारले यो प्रकरणबारे चासो देखाएर नगरपालिकालाई पत्र काटेको हो।

गोदावरी नगरपालिका वडा नम्बर १०, ११ र १३ को सिमाना छुट्ट्याउने फन्टे खोला प्याङगाउँबाट सांग्रिला इन्टरनेसनल स्कुलको डोलक्षेत्र हुँदै डाँडागाउँसम्म पुग्ने क्रममा करिब ३०० मिटर हराएको छ। यो खोला जहाँ हराएको छ, त्यो ठाउँमा व्यापारिक घराना, कन्टिनेन्टल ग्रुपले ठूलो मात्रामा जग्गा प्लटिङ गरिरहेको छ। त्यसकै अर्कोतर्फ शुभकामना हाउजिङ नामको कम्पनीले पनि जग्गा प्लटिङ गरिरहेको छ।

कन्टिनेन्टल ग्रुप नेपालमा किया कम्पनीका मोटर आयात गरेर बिक्री गरिरहेको ‘किया मोटर्स’को पनि मातृ कम्पनी हो। शुभकामना हाउजिङका सञ्चालकहरू पनि जग्गा प्लटिङमा परिचित अनुहारहरू हुन्। उनीहरू दुवैलाई सघाउन गोदावरी नगरपालिकाले फन्टे खोलालाई ह्युमपाइपभित्र सीमित गरेर बाटो निकाल्न शुरू गरेको थियो।

तस्वीर सौजन्य : दयासागर केसी

अख्तियारले उक्त खोलामा ह्युमपाइप राखेनराखेको सम्बन्धमा अध्ययन गरी फिल्डको अवस्था देखिने फोटोसमेत संलग्न राखेर कार्यालयको राय प्रतिक्रिया सहितको स्थलगत छानबिन प्रतिवेदन पत्र पाएको मितिले १५ दिनभित्र पठाउन नगरपालिकालाई समय दिएको छ। 

“गोदावरी नगरपालिका वडा नं. १० स्थित कन्टिनेन्टल डेभलपर प्रालि र शुभकामना ल्यान्ड एन्ड हाउजिङको जग्गा प्लटिङ अनुमति के कुन कार्यालयबाट दिइएको हो? उक्त प्लटिङको बीचमा पर्ने खोलाको जग्गा अतिक्रमण भएको छ/छैन?” पत्रमा नगरपालिकालाई प्रश्न गरिएको छ। 

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले गोदावरी नगरपालिकासँग सम्पूर्ण स्थलगत विवरण माग गरिएको बताए। त्यसबाहेक अनुसन्धानरत विषयमा आयोगबाट निर्णय भएपछि मात्र सार्वजनिक गर्न मिल्ने भएकाले यससम्बन्धी थप जानकारी नगरपालिकाबाटै लिन उनले आग्रह गरे।

नगरपालिकाको वडा नं. १०, ११ र १३ को सिमानामा पर्ने फन्टे खोला छोपेर बाटो बनाइएकोमा अख्तियारले पत्र काटेपछि खोलाले ओगटेको क्षेत्र खुला गर्ने तयारी थालिएको नगरपालिकाले जनाएको छ। पालिकाका मेयर गजेन्द्र महर्जनले उकालोसँगको कुराकानीमा ह्युमपाइप निकाल्न लागिएको बताए। 

उनका अनुसार अख्तियारबाट भएको पत्राचारबारे जग्गा प्लटिङमा संलग्न व्यवसायी (कन्टिनेन्टल डेभलपर्स तथा शुभकामना ल्यान्ड एन्ड हाउजिङ) लाई नगरपालिकाले दुई दिन अघिमात्र पत्रमार्फत् जानकारी गराएको छ। “ह्युमपाइप हटाउने निश्चित समयसीमासहित अख्तियारको पत्रबारे जानकारी दिएका छौँ। त्यसैका आधारमा उहाँहरूले ह्युमपाइप हटाउनुभयो भने ठीकै छ, नत्र हाम्रो नगर प्रहरीले गएर हटाउनेछ,” उनले भने। 

जग्गा नापजाँच आइतबारबाट हुने 
दुई साताअघि अख्तियारबाट प्राप्त भएको पत्रमा फन्टे खोला कहिले र कसरी पुरियो त्यसको विस्तृत विवरण पठाउन भनिएको गोदावरी नगरपालिका वडा नं. १० का अध्यक्ष शेखर न्यौपानेले बताए। उक्त खोला आफ्नो वडा क्षेत्रमा पर्ने भएकाले खोलाको अवरोध पन्छाउने प्रक्रिया वडा कार्यालयले नै अघि बढाउने जानकारी पनि उनले दिए।   

अख्तियारले पठाएको पत्रबारे हाल चलिरहेको कार्यपालिका बैठकमा पनि छलफल भएको वडाध्यक्ष न्यौपानेले बताए। “बैठकबाट यसका लागि एउटा समिति गठन गरिने भएको छ,” उनले भने, “समितिको संयोजकत्व मैले नै गर्दैछु।” समितिले खोला मासेर कसरी ह्युमपाइप राखियो, कसको पालामा, के कसरी त्यस्ता काम भए भन्नेबारे अध्ययन गरेर प्रतिवेदन तयार पार्ने जानकारी पनि उनले दिए। 

“नगरपालिकाबाट ह्युमपाइप राख्ने निर्णय भएको देखिँदैन। हामी आउनुभन्दा अघिल्लो कार्यकालमा वडाबाट निर्णय भयो अथवा तत्कालीन पदाधिकारीहरूले आफैँ मनलाग्दी गर्नुभयो त्यसको अध्ययन हुनेछ,” अध्यक्ष न्यौपाने भन्छन्, “प्रतिवेदनको लागि १५ दिनको समयसीमा तोक्ने कुरा निश्चित भइसकेको छ। त्यसभित्र उहाँहरू (प्लटिङ व्यवसायी) ले पाइप उठाइसक्नु पर्नेछ।” 

पहिलो चरणमा व्यवसायीलाई राखेर पाइप निकाल्न सूचना दिइसकिएकाले १५ दिनभित्र उनीहरू आफैँले खोलाबाट ह्युमपाइप हटाउनुपर्ने र त्यसपछि नगरपालिकाले हटाउनुपर्ने अवस्था आएमा व्यवसायीहरूबाट मेसिन भाडासमेत असुल उपर गरिने उनले बताए। 

यसबारे व्यवसायीको प्रतिक्रिया कस्तो छ भन्ने प्रश्नमा वडाध्यक्ष न्यौपाने भन्छन्, “यस विषयमा अब व्यवसायीको कुनै पनि प्रतिक्रियाले महत्व राख्दैन। हामीले निश्चित समयसीमा तोकेर उहाँहरूलाई जानकारी दिएको हो, हटाउन मान्नुभएन भने हामी आफैँले निकालेर राखिदिने छौँ।”

पुराना निर्णयपुस्तिका अध्ययनबाट यसअघि वडा वा नगरपालिकाको स्वीकृतिमा खोलामा ह्युमपाइप राखिएको भेटिएमा त्यसलाई पुनः बैठक बसेर उल्ट्याइने उनले बताए। 

खोलालाई यथावत् स्थितिमा फर्काउनको लागि जग्गा नापको काम अघि बढाइसकिएको जानकारी पनि न्यौपानेले दिए। “आइतबारबाट जग्गा नापको काम हुँदैछ। खोल्साको वास्तविक जग्गा छुट्ट्याएपछि ह्युमपाइप निकालेर दायाँ–बायाँ दुवै छेउबाट बाटो खोल्ने तयारीमा हामी छौँ,” उनले भने। 


सम्बन्धित सामग्री