Saturday, April 27, 2024

-->

उपत्यकाका प्राचीन पोखरी ब्युँताउन लागिपरेका स्थानीय सरकार

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै नेपाल मण्डलका रैथाने बस्तीमा मासिएका पुराना पोखरीहरू ब्युँतिँदैछन्। पुनर्निर्मित पोखरीको दीर्घकालीन संरक्षण र सम्बर्द्धनमा भने सम्पदाप्रेमीहरू ढुक्क हुन सकेका छैनन्।

उपत्यकाका प्राचीन पोखरी ब्युँताउन लागिपरेका स्थानीय सरकार
दुई वर्षअघि नगरपालिकाले पुनर्निर्माण गरी २२ वर्षपछि सर्वसाधारणका लागि प्रवेश खुला गरेको भक्तपुरको प्राचीन रानी पोखरी। तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयसँगै चारकुने आकारको ठूलो खाल्डो छ, जसको बीचबाट विद्यालय पुग्ने बाटो बनेको छ। खाल्डोलाई दायाँ–बायाँ दुवैतर्फ पारेर स्कुलसम्म पुग्ने धेरैलाई थाहा नहुन सक्छ, यो खाल्डो एउटा विशाल पोखरी पुरिएर बाँकी रहेको अवशेष मात्र हो। 

खाल्डोलाई देखाउँदै स्थानीय सानु मानन्धर (६६) ले भनिन्, “अस्ति (२०७२ साल) को ठूलो भूकम्पमा मानिसहरू आफ्नो घर छाडेर यहीँ बसेका थिए।” खाल्डोको लम्बाइ र चौडाइले प्राचीन पोखरी निकै ठूलो थियो भन्ने अनुमान गर्न गाह्रो पर्दैन। कुनै समयको भव्य इखाः पुखु (पोखरी) मासिएपछि बाँकी रहेका यससम्बन्धी अनेकौँ किंवदन्तीहरू भने अझै जीवित छन्। 

“यो पोखरी सात इनार बराबर गहिरो थियो रे, मान्छेलाई तान्थ्यो रे,” पोखरीबारे बचपनमा सुनेका किस्सासँग आफ्ना स्मृति मिसाउँदै सानुले भनिन्, “मेरा दिदीहरू त पोखरीको डिल नजिक जाँदा पनि डराइडराई हिँड्थे।”

सानुले बाल्यकालमा देखेको पोखरी मासिएर खाल्डोमा परिणत हुँदा त्यसले ओगटेको आयतन पनि खुम्चियो। क्षेत्रपाटी चोकबाट गंगालाल मार्गतर्फ लाग्दा आँखा अस्पताल रहेको स्थानसम्म पोखरीको किनारा फैलिएको उनले बताइन्। त्यसबेलाको विशाल पोखरी यसरी खाल्डोमा बदलिएला भन्ने कल्पनासमेत नगरेको उनी बताउँछिन्। आफू सानो छँदा पोखरीमा हाँसहरू पौडिँदै लेउ खाने गरेको उनको सम्झनामा अझै ताजा छ। 

बाल्यकालमा देखिएको टिलपिल पानीको पोखरी स्मृतिको कुनामा सीमित गराइदिने मानवीय गतिविधिप्रति व्यंग्य गर्दै उनी भन्छिन्, “पहिले पोखरीका भूतप्रेतले तान्छ भनिन्थ्यो। अहिले ती भूतप्रेत कहाँ गए कुन्नि, अब त मान्छे नै भूतप्रेत भइसके!”

इखाः पुखुको अवशेष

क्षेत्रपाटीमा जन्मेर त्यहीँ बिताएकी मसिनु मानन्धर उमेरले ९१ वर्ष पुगिन्। उनको दैनिकी पूजाआजा तथा परिवारका सदस्यहरूसँगको बसउठमै बित्छ। इखाः पोखरीमा खेल्ने हाँसको सम्झना उनलाई विशेष लाग्छ। अहिलेको खाल्डो पहिले पोखरी छँदाको स्वरूपमा नरहेको उनी बताउँछिन्। पोखरीकै भागमा अहिले अस्पताल बनेको छ, जसले सबैलाई सेवासुविधा दिएको सम्झेर स्थानीय वासिन्दाले चित्त बुझाएका छन्। 

“भक्तपुर र पाटनले कति पोखरी बनाइसके। यहाँ त कहिले बन्ने हो खोई,” उनी भन्छिन्, “पहिले मान्छे तान्छ, खस्छ भनेको पोखरी अहिले खाली छ।” हाल पोखरी बन्न लागेको सुनेपछि भने उनी खुशी देखिएकी छन्। 

सोही पोखरीलाई करिब साढे तीन करोडको बजेटसहित काठमाडौँ महानगरपालिकाको १७ नम्बर वडाले पुनर्निर्माण गर्ने भएको छ। हाल पोखरी निर्माणका लागि टेन्डर आह्वान गरिएको वडाध्यक्ष नवीन मानन्धरले बताए। “पुरानो पोखरी सुकेर बाँकी रहेको खाल्डोमा पानी भर्न लागेका छौँ,” उनले भने। 

काठमाडौँको छिमेकी, भक्तपुर नगरपालिकाको लागि फागुन २५ गते विशेष दिन हुँदैछ। दूधपाटीस्थित भक्तपुर बुहुमुखी क्याम्पस परिसरभित्र रहेको ८०० वर्ष पुरानो ‘भाजु’ पोखरीको उद्घाटन त्यसै दिन हुँदैछ। योसँगै नगरपालिकाले ब्युँताएको यो दोस्रो महत्वपूर्ण पोखरी हुनेछ। यसअघि २०७८ सालमा रानी पोखरी (न्हुः पुखु) पुनर्निर्माण गरी त्यहाँ सार्वजनिक प्रवेश खुला गरिएको थियो। 

भक्तपुरको रानी पोखरी

नेपाली सेनाको अधिनमा रहेको उक्त पोखरीमा २२ वर्षसम्म सर्वसाधारणले प्रवेश पाएका थिएनन्। नेपाल संवत् ७४७ (विक्रम संवत् १६८४) मा तत्कालीन राजा जगज्योतिर्मल्लले यस पोखरीको निर्माण गरेको इतिहासकार प्राडा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। 

नगर क्षेत्रका पोखरीहरू ब्युँताउन आफ्नो पहिलो कार्यकालदेखि काम भइरहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति बताउँछन्। सात वर्षअघि शुरू भएको कामले लामो अध्ययन–अनुसन्धानपछि बल्ल मूर्त रूप लिँदैछ। भाजु पोखरी निर्माणका क्रममा पोखरीको बीचमा जलेश्वर मन्दिर रहेको पत्ता लागेपछि पोखरी पुनर्स्थापनाको लागि थप समय लिनु परेको नगरपालिकाले जनाएको छ। 

भाजु पोखरी र रानीपोखरी बाहेक भोलाछेँ, इताछेँलगायत ठाउँका प्राचीन पोखरी पुनर्स्थापना गर्ने काम पनि भइरहेको नगरप्रमुख प्रजापतिले बताए।  

ललितपुर महानगरपालिकाले पनि पोखरी पुनर्स्थापनामा सक्रियता देखाएको छ। लगनखेल तरकारी बजारपछाडि रहेको रानी पोखरी, बालकुमारी मन्दिरस्थित बालकुमारी पोखरी, पूर्णचण्डी मन्दिरअगाडि रहेको पूर्णचण्डी पोखरी लगायतका जलाशयहरू ब्युँतिएबाट नगरवासी खुशी छन्। 

पूर्णचण्डी पोखरी, ललितपुर

दुई वर्षअघि नगरपालिकाले फर्काएको बालकुमारी पोखरी देख्दा स्थानीय आशिष मिश्र दंगदास छन्। उनका बाजेबज्यैका पालामा चुडाकर्म गर्दा सोही पोखरी परिक्रमा गर्ने चलन थियो। उनको पालासम्म आउँदा न पोखरी रह्यो, न कुलको चलनले नै निरन्तरता पायो। 

“अलि वर्ष अघिसम्म यो पोखरी नभई डम्पिङ साइटजस्तो थियो, बाटोको लेभलबराबर फोहोरले भरिएको थियो। उनी सम्झन्छन्, “यहाँको वडाले यो पोखरी ब्युँताउन निकै ठूलो योगदान गरेको छ।

बालकुमारीको उक्त क्षेत्र पूरै खेतको फाँट भएका कारण त्यही नै पोखरीको जलस्रोत हुनसक्ने उनी बताउँछन्। आठ वर्षअघि पक्की बाटो विस्तार भएसँगै पानीको प्राकृतिक स्रोत मासियो वा के भयो उनी अचम्मित छन्। बालकुमारी पोखरी वडा नम्बर ९ मा पर्छ। वडाका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन मापदण्डअनुसार पोखरी ब्युँताउने काम भएको बताउँछन्। बजेट विनियोजन गरी भूकम्पपछि मासिएका पोखरीहरूको विशेष प्राथमिकताका साथ पुनर्निर्माण भइरहेको उनले बताए।

बालकुमारी, शंखमूल र नख्खु ललितपुरका प्रमुख तीन मसानको रूपमा प्रयोग हुने क्षेत्र हुन्। सँगै रहेको पोखरीमा मृत्यु संस्कारसँग सम्बन्धित कार्यहरू हुने गर्थे। तर पोखरी बिलाएसँगै त्यो परम्परा पनि विस्थापित भएको स्थानीय वासिन्दासमेत रहेका उनी बताउँछन्। 

बालकुमारी पोखरी

महर्जनले भने, “काजक्रियापश्चात् जलाशयमा गर्नुपर्ने नुहाइधुवाइ तथा अन्य कार्यसंस्कार पनि पोखरीसँगै हराएको छ। पोखरी ब्युँतिए पनि सँगै जोडिएका परम्परागत चालचलन हराउँदा पोखरीको जीवन्तता हराएजस्तो लाग्छ।” बढ्दो जनसंख्या र आधुनिकीकरणले पछिल्ला केही दशकमा स्थानीय सम्पदा मासिने र अतिक्रमण हुने क्रममा उक्त पोखरी पनि निशानामा परेको वडाध्यक्ष महर्जन बताउँछन्।

पोखरी ब्युँताउनेमा भक्तपुर अग्रणी
भक्तपुर नगरपालिकाले आफ्नो पालिका क्षेत्रमा मात्र नभई छिमेकी दुई महानगरपालिकालाई समेत पुराना पोखरीलाई पुनर्जीवन दिन प्राविधिक तथा जनशक्ति सहयोग गरेको छ। काठमाडौँ तथा लगनखेलको रानी पोखरी पुनर्निर्माणमा भक्तपुरले सहयोग गरेको थियो। 

लोप भएर अवशेषमात्र बाँकी रहेको ऐतिहासिक पोखरी ब्युँताउन भक्तपुर नगरपालिका र स्थानीयको योगदान उच्च रहेको इतिहासकार श्रेष्ठ बताउँछन्। “विभिन्न प्राकृतिक विपत्तिपछि खण्डित भएको सम्पदाले पुनः सास फेर्न थालेको छ, यसको श्रेय निश्चित पालिका तथा स्थानीय वासिन्दालाई जान्छ,” उनी भन्छन्, “यसैलाई नेपालका अन्य पालिकाले पनि अनुकरण गर्नु सराहनीय हुन्छ।”

भक्तपुरका नगरप्रमुख सुनिल प्रजापतिका अनुसार त्यहाँ भाजु पोखरी बनाउने कामको थालनी गर्दा काठमाडौँको रानी पोखरी पुनर्निर्माणमा विवाद भइरहेको थियो। उनी भन्छन्, “महानगरपालिकाले पोखरीलाई मौलिक स्वरूपमा भन्दा पनि कंक्रिट शैलीमा, क्याफे तथा पार्कसहित बनाउने तयारी गरेपछि भूकम्पपछि बनेको पुनर्निर्माण प्राधिकरणले त्यो पोखरी बनाउने जिम्मा लियो।

रानी पोखरी, भक्तपुरको एक दृश्य

सोही क्रममा प्राधिकरणका प्रतिनिधिले भक्तपुरमा बनिरहेका पोखरी, त्यसका प्रविधि र निर्माण शैलीबाट प्रभावित भई भक्तपुर नगरपालिकालाई रानी पोखरी पुननिर्माणमा सहयोगको लागि अपिल गरेको प्रजापति बताउँछन्। 

“डकर्मी र कालिगड गरी हामीले १०० जना कर्मचारी पठाएका थियौँ,” उनले भने, “त्यसपछि ललितपुरको जावलाखेलमा रहेको न्हुः पुखु (रानी पोखरी) का लागि पनि त्यहाँका वडाध्यक्ष र उपभोक्ता समितिको अनुरोधमा सहयोग गर्न पायौँ।”

भक्तपुर नगरपालिकासँग आफ्नै डकर्मी छन्, प्राविधिकका लागि इन्जिनियरिङ कलेजका विद्यार्थीहरू उत्पादन भएका छन्, यो पालिकाको बलियो पाटो भएको उनले बताए। “आफ्नो क्षमता र दक्षताको हिसाबमा पोखरी ब्युँताउने कार्यमा सहयोगी हुन पाउनु गौरवको विषय हो,” उनी भन्छन्।

पालिकाले आन्तरिक स्रोतसाधान र उपभोक्ता समितिमार्फत काम गर्दै आएको र आफ्नो सम्पदामा विदेशी तथा बाहिरी लगानी हुँदा सम्पदाको मौलिक अस्तित्वमा प्रभाव पर्न सक्ने सम्भावनाका कारण कुनै प्रकारको बाहिरी सहयोग नलिने नगरप्रमुख प्रजापति बताउँछन्। पुनर्स्थापित पोखरी मौलिक रहने दाबी गर्दै उनले हराइसकेको जलेश्वर महादेवको मन्दिरलाई समेत पुनः अस्तित्वमा ल्याइएको बताए। 

ललितपुरको जावलाखेलस्थित  रानी पोखरी

स्थानीय सरकार आएसँगै जनताको आवाज र पहल तथा जनप्रतिनिधिको जिम्मेवारीबाट पुराना पोखरीहरू फर्कन थालेको ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन बताउँछन्। 

अलि पहिले कंक्रिट, सिमेन्ट र छडले ढलान गरिएका पोखरी बन्न थालेकोमा पछिल्लो समय पुराना पोखरीलाई मौलिक रूपमा फर्काउने अभ्यास देखिएको शहरी विकासविज्ञ, लेखक पद्मसुन्दर जोशी बताउँछन्। परिकल्पना गर्न नसकिने कंक्रिटको प्रयोग काठमाडौँको रानी पोखरीमा हुन लागेको विषयबारे कोही अनभिज्ञ नरहेको उनले बताए। 

“स्थानीय सरकार आइसकेपछि एकाधलाई छोडेर राम्रै काम भएको छ,” उनी भन्छन्, “तर पोखरीमा आवश्यकताभन्दा बढी पर्खाल र बार लगाइनु शोभनीय होइन। त्यसो गर्नु स्थानीय संस्कार र संस्कृति होइन।”

मानिसले पोखरीको पानी छुन पाउनुपर्ने उनको तर्क छ। सुरक्षाको कारण देखाउँदै पोखरीमा आम मानिसको प्रवेशलाई बन्देज लगाउने चलन बढेकोमा चिन्तित जोशी सुरक्षाकै हिसाबमा पनि बारको विकल्प खोज्नुपर्ने बताउँछन्। बार लगाउनाले पोखरीको सौन्दर्य निस्तेज भएको उनको टिप्पणी छ।  

यद्यपि इतिहास शिरोमणि हरिराम जोशी यसलाई भिन्न तरिकाले हेर्छन्। “स्थानीय सरकारले आफूअनुकूल पोखरीहरू ब्युँताइरहेका छन्,” उनी भन्छन्, “ललितपुर महानगरले सप्तपाताल पोखरी पुनरुत्थान गर्न र काठमाडौँले छाया सेन्टर भत्काएर कमलपोखरी ब्युँताउन सक्छ त? यसमा भक्तपुर नगरपालिकालाई भने खोट लगाउने ठाउँ छैन।”

४ प्रकारका पोखरी
लेखक जोशीको ‘हिति प्रणाली’ पुस्तकमा उल्लेख भएअनुसार, मल्लकालीन शहरहरूमा सिरानका पोखरी, बस्तीबीचका पोखरी, बस्ती पुछारका पोखरी र फ्वति/फ्वंगाः गरी चार प्रकारका पोखरीहरू छन्।

पहाडको बस्ती छिचोलेर बेशीतिर सर्दाको हल्का भिरालोपनसहित टार परेको स्थानमा पानी जमेर बनेका पोखरी सिरान पोखरी हुन्। विभिन्न मण्डलाकार शैलीमा बसेको नेवारबस्तीको दुवैतिर समानान्तर पानीढलो हुन्छ। त्यस्ता ठाउँमा बनेका पोखरी बस्तीबीचका पोखरी हुन्। यी पोखरीले बाढीको भेल थेग्ने काम गर्ने जोशीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। भक्तपुरको पलेस्वाँ पुखु (कमलपोखरी), लगनखेलको न्हुः पुखु (रानी पोखरी) यसका उदाहरण हुन्। 

यस्ता पोखरीलाई रणनीतिक पोखरी पनि भनिन्छ। बढी अतिक्रमित पोखरीमा पनि यिनै पर्छन्। ठमेलको छायादेवी कम्प्लेक्स बनेको स्थानमा पहिले रहेको पलेस्वाँ पुखु (कमलपोखरी), ललितपुरको कुमारीपाटीस्थित तः पुखु, पुल्चोकको सप्तपाताल पोखरी आदि यसका उदाहरण हुन्।  

गुजुमुज्ज घरहरूका बीच बर्खाको पानी संकलन गर्न यस्ता पोखरीहरू बस्तीबीच बनाउने गरिन्थ्यो। ढलको आकार सानो भएर वर्षाको पानी जम्मा गर्नु परेमा र घरेलु उपयोगका लागि पनि यस्ता पोखरीको आवश्यकता पर्छ। क्षेत्रपाटीको इखाः पुखु यसको राम्रो उदाहरण हो। वषौँअघि पोखरी अस्तित्वमा रहँदा वरपरका मानिसले शौचालयका लागि सोही पोखरीको पानी प्रयोग गर्ने गरेको स्थानीयहरू बताउँछन्। 

जोशीको पुस्तकमा उल्लेख भएअनुसार, बस्तीबीचका पोखरीहरू आगलागी हुँदा, घरपालुवा पशुलाई खुवाउने पानी लगायतका प्रयोजनमा बुहउपयोगी थिए। ललितपुरको पूर्णचण्डी, पिम्बहालको जगमदु पुखु, थिमीको निगु पुखु (दुई पोखरी) यसका उदाहरण हुन्। 

बस्तीबाट ओर्लने ठाउँ वा भिरालोको ठीक अगाडि बस्तीको पुछारमा रहेको पोखरी सामान्यतया सानो आकारका हुन्छन्। यी पोखरीहरूमा वर्षभर पानी नहुन सक्छ। यस्ता पोखरी राँगाभैसी, सुँगुरलाई आहाल बसाउन तथा नेवारहरूको खिखामुगाः, वा मःला जस्ता पराम्परागत सार्वजनिक खुला शौचालयमा पनि उपयोग हुने जोशीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। यसको उदाहरणमा भक्तपुरको नुगुः पुखु, पाटनको च्यासः पुखु, गुइता पुखु इत्यादि पर्छन्। 

फ्वति/फ्वंगा खासगरी ग्रामिण परिवेशका बस्तीहरूमा पानीका आहाल जम्ने स्थान हुन्। राजकुलोको पानी विभाजन वा वितरण गर्ने कतिपय स्थानमा यस्ता पोखरी पाइन्थे। मानभवन नजिकको दक्षिणकाली पुखु (मासिइसकेको), थेच्वको ख्योः स्थित फ्वंगा पुखु, बालकुमारी पोखरी आदि यसका उदाहरण हुन्।

‘झ्याउ, लेउ लाग्नु पोखरीको प्रकृति हो’
मध्यपुर ठिमीका स्थानीय समिर शंखदेव (३३) लाई सम्झना भएसम्म ठिमीको दुई पोखरीमा पछिल्लो पटक गायक दीपक बज्राचार्यले 'कन्सर्ट' गरेका थिए। त्यसअघि ‘कुटुम्ब’ ब्यान्डले पनि त्यही ठाउँमा ‘लाइभ पर्फमेन्स’ दिएको उनलाई याद छ। पोखरीमा भिन्न समयमा मेला तथा महोसत्व भइरहेका हुन्छन्। मेला, कन्सर्टमा दुई पोखरीको राम्रो उपयोग हुँदा पनि कार्यक्रमपछि पोखरीलाई गरिने बेवास्ताले भने उनलाई दु:खी बनाएको छ।

दुई पोखरी, मध्युपुर ठिमी

समिर भन्छन्, “कार्यक्रम सकिएको भोलिपल्ट पोखरीको स्थिति नाजुक हुन्छ। आयोजक समितिले संरक्षण र सरसफाइमा ध्यान दिँदैन। सेलिब्रेटीलाई भन्ने कुरा हुँदैन, यस्तोमा नगरपालिकाले उचित भूमिका खेल्न सकेको छैन।” साथै, दुईमध्ये एउटा पोखरीको अवस्था बिग्रँदै गएको उनी बताउँछन्। वरपर फोहोर, प्लास्टिकका बोतल र कागज थुप्रिने, पानी कालो हुँदै जाने, लेउ लाग्ने लगायतका समस्याले पोखरीको सौन्दर्य छोपिएको उनी बताउँछन्।

२०७७ सालमा नगरपालिकाका तत्कालीन प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा शुरू भएको पोखरी पुनर्स्थापनाको कामले राम्रो गति लिएको उनी बताउँछन्। पहिले उपभोक्ता समिति गठन गरेर संरक्षण हुने गरेको पोखरी हाल नेतृत्त्व परिवर्तनसँगै खस्किएको र ब्युँतिएका पोखरीमा समेत आवश्यक सरसफाइ हुन नसकेको उनको गुनासो छ।

“स्थानीय सरकार फेरबदलले पनि निकै प्रभाव पर्ने रहेछ,” उनले भने, “जिम्मेवार निकायले हेर्न सक्दैन भने कुनै समिति वा स्थानीयलाई जिम्मेवारी सुम्पनुपर्छ।” अघिल्लो कार्यकालका जनप्रतिनिधिले जस्तो चित्तबुझ्दो काम हाल निर्वाचित जनप्रतिनिधिले गर्न नसकेको उनको टिप्पणी छ। 

अवशेष हराएका पुखु, संरचनालाई मौलिक स्वरूपमा ल्याउनु चुनौतीपूर्ण भएको जनप्रतिनिधिहरू बताउँछन्। भाजु पोखरीको अध्यययनको लागि मात्र सात महिना लागेको भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति बताउँछन्। “उत्खनन् गर्दै गर्दा त्यहाँ प्राप्त वस्तुको अध्ययन, मन्दिरको बनोट शैली, प्रयोग भएका सामग्रीअनुसार निर्माण गर्न धेरै समय लाग्छ। त्यसपछि संरक्षणको पाटो आउँछ। त्यसका लागि हामीले मानिस खटाएका छौँ,” उनले भने।

नगरप्रमुख प्रजापति यसमा स्थानीय सरकारसँगै स्थानीयको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने बताउँछन्। “हामीले एक सम्पदा–एक विद्यालय, एक सहकारी–एक सम्पदा लगायतका कार्यक्रममार्फत स्थानीयलाई सम्पदा संरक्षणमा संलग्न गराउने छौँ,” उनले भने, “सबै कुरा नगरपालिकाको बसमा हुँदैन।” पोखरीबाट आम्दानी गर्न डुंगा सयरको व्यवस्था गरिएको छ। त्यसले संरक्षणका लागि स्रोत जुटाउन मद्दत गर्ने उनी बताउँछन्। 

विभिन्न पोखरीको भिन्नाभिन्नै लक्षण र उपयोगिता हुने कारण एक पोखरीको आकारप्रकार, बनोट र उपयोगिता अर्कोसँग दाँज्न नमिल्ने लेखक पद्मसुन्दर जोशीको मत छ। “भक्तपुरको सिद्ध पोखरी र बालकुमारीको बालकुमारी पोखरी भिन्नाभिन्नै हुन्। सिद्ध पोखरीसरह बालकुमारी पोखरी अथवा मध्यपुरको दुई पोखरी सबै उस्तै देखाउने प्रयास प्राकृतिक हुँदैन,” उनी भन्छन्, “प्रायः कतिपय अवलोकनकर्तालाई घाँस उम्रिएको, लेउ उम्रिएको मन पर्दोरहेनछ। तर पोखरीको प्रकृति नै त्यही हो।”

पानीमा घाम परेपछि लेउ लाग्न शुरू हुने उनी बताउँछन्। स्विमिङ पुलको जस्तो सफा पानी पोखरीमा हुन पनि नहुने तर्क गर्दै उनी भन्छन्, “पोखरीको पानीको आफ्नै इकोसिस्टम हुन्छ। त्यहाँ लेउ हुनुपर्छ। नत्र माछा, भ्यागुता लगायतका जलचर प्राणीले के खाने? फिल्टर गरेको पानीमा माछा बाँच्दैन।” झारले पोखरीलाई पूरै बिगारेर गन्ध आउन थाल्यो भने मात्र पोखरीको सरसफाइ गर्नुपर्ने सुझाउँदै जोशी भन्छन्, “लेउ लाग्नु पोखरीको आफ्नै चरित्र हो। कतिपय मानिसहरू लेउले पोखरी फोहोर भएको ठान्छन्। मलाई भने अझ प्राकृतिक लाग्छ।”


सम्बन्धित सामग्री