Saturday, April 27, 2024

-->

अत्यधिक गतिविधिले बिग्रियो दशरथ रंगशालाको मैदान, एन्फाले गुमाउँदैछ अन्तर्राष्ट्रिय प्रतियोगिता

खेलकुद मात्र नभई अन्य कार्यक्रमसमेत हुने दशरथ रंगशाला मैदान लगातार प्रयोगले बिग्रिँदा अन्तर्राष्ट्रिय फुटबल नै नहुने अवस्था आएको छ। जस कारण ‘१२औँ खेलाडी’ भनिने दर्शक मात्र होइन र आम्दानी पनि गुम्दैछ।

अत्यधिक गतिविधिले बिग्रियो दशरथ रंगशालाको मैदान एन्फाले गुमाउँदैछ अन्तर्राष्ट्रिय प्रतियोगिता
तस्वीर : कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत समूह ‘एच’मा रहेको नेपाली टोलीले यसअघि यूएई र यमनसँग भएको खेलमा पराजय बेहोरिसकेको छ। बहराइन पनि यही समूहमा छ। अर्को चरणमा पुग्न नेपाल बाँकी सबै खेल जित्नै पर्ने दबाबमा छ। 

छनोट खेलहरू ‘होम एन्ड अवे’का आधारमा सञ्चालन हुन्छन्। नेपालले आगामी चैत ८ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बहराइनविरुद्ध खेल्ने तालिका छ। तर यो खेल हुनेमा आशंका छ। कारण हो– असुरक्षित मैदान।

अखिल नेपाल फुटबल संघ (एन्फा)का एक पदाधिकारीका अनुसार केही दिनअघि बहराइनका सहायक प्रशिक्षकसहितका प्रतिनिधि दशरथ रंगशालाको निरीक्षणमा आएका थिए। तर मैदानको अवस्था कमजोर देखिएपछि उनीहरू खेल गराउन नहुने निष्कर्षसहित स्वदेश फर्किए।

एन्फाका ती पदाधिकारी भन्छन्, “मैदानमा दुबोभन्दा माटो बढी देखिएपछि ‘यस्तो मैदानमा हाम्रो खेलाडीलाई खेलाउदैनौँ, खेल्नलाई असुरक्षित छ’ भनेर गएका थिए।” बहराइनले एशियाली फुटबल महासंघ (एएफसी)लाई मैदान असुरक्षित रहेको उजुरी गरेको पनि उनी बताउँछन्।

बहराइनको उजुरीपछि फिफा प्रतिनिधि तथा ‘म्याच कमिस्नर’ भुटानका मिन्दु दोर्जेले सोमबार दशरथ रंगशालाको निरीक्षण गरेका थिए। निरीक्षणपछि उनले रंगशालाको अवस्था राम्रो नरहेको जानकारी दिएको ती पदाधिकारी बताउँछन्। यो मैदानमा खेल गराउन नमिल्ने भनेर दोर्जेले एन्फा महासचिव किरण राईलगायतलाई मौखिक जानकारी दिइसकेका छन्।

“सबै खेल र कार्यक्रम यही एउटै रंगशालाले धानिरहेको छ। पछिल्लो पटक चीनको प्रान्तीय टोली र नेपाल यू–२३ बीच गेम हुँदा नै मैदानको अवस्थालाई लिएर आलोचना भएको थियो,” ती पदाधिकारी भन्छन्, “त्यसपछि मर्मत भएन। निरीक्षण गर्दा दोर्जे खुशी देखिएनन्। महासचिव (राई)ले पनि गेम हुँदैन भनेर हामीलाई भनिसक्नुभएको छ। तर आधिकारिक पत्र आएको छैन, एकदुई दिनसम्ममा आउने कुरा छ।”

दशरथ रंगशालालाई भार धान्नै मुस्किल
दशरथ रंगशालामा फुटबल मात्र नभई अन्य खेल र कार्यक्रम पनि हुन्छन्। त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह यहीँ गर्ने गरेको छ। गत साता यो मैदानमा राष्ट्रिय रग्बी लिग च्याम्पियनसिप भएको थियो। गत पुसमा भने निजी क्षेत्रले गर्ने नेपाल सुपर लिग भएको थियो।

दशरथ रंगशालामा कन्सर्ट पनि हुने गरेको छ। गत वर्ष फागुनमा एक भारतीय कम्पनीले ‘नेदरल्यान्ड कन्सर्ट’ भएको थियो। त्यस बेला कन्सर्टका लागि स्टेज बनाउने क्रममा फलामका डण्डी गाडिँदा मैदान नै बिग्रिएको थियो। कन्सर्टका कारण दुबो पनि मरेको थियो। यस्ता गतिविधि दशरथ रंगशालामा भइरहन्छन्।

नेपाली फुटबललाई प्रायः दशरथ रंगशालाले धानेको छ। ठूला प्रतियोगिता र अन्तर्राष्ट्रिय खेल यही हुन्छन्। घरेलु प्रतियोगिताका केही खेल च्यासलस्थित रंगशाला र एन्फा परिसरको मैदानमा हुने गरे पनि सेमिफाइनल र फाइनल भने दशरथ रंगशालामा नै खेलाइन्छ। अहिले जारी केपी ओली कप फुटबल प्रतियोगिताका लिग चरणका अधिकांश खेल च्यासल मैदानमा भए। तर सेमिफाइनलका दुवै खेल एकै दिन फागुन १७ गते दशरथ रंगशालामा भए। फाइनल फागुन १९ गते यही मैदानमा हुँदैछ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने १४ क्लब काठमाडौँ उपत्यकाकै छन्। ‘बी’ डिभिजनका १३ मध्ये १२ र ‘सी’ डिभिजनका १४ मध्ये १० क्लब पनि काठमाडौँ उपत्यकाकै हुन्। ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरूले हत्तपत्त रंगशालामा प्रतियोगिता खेल्न पाउँदैनन्। तर ‘ए’ डिभिजनका १४ क्लबले यहीँ खेल्छन्। 

गत वर्ष फागुन १९ देखि जेठ २७ गतेसम्म ‘डबल राउन्ड रोबिन’मा आयोजना भएको ‘ए’ डिभिजन लिगमा १८२ खेल भएका थिए। तीमध्ये ९० खेल दशरथ रंगशालामा भए। ‘ए’ डिभिजन चल्दै गर्दा गत वर्ष चैत ८ देखि १७ गतेसम्म नेपाल, भुटान र लाओसबीच भएको प्रधानमन्त्री त्रिदेशीय कपअन्तर्गतका सात खेल यही मैदानमा भए। लगत्तै नेपालको महिला फुटबल टोलीले पेरिस ओलम्पिक छनोटअन्तर्गत भियतनामसँग चैत २२ र २५ गते दुई खेल खेल्यो।

गत साउन २३ गते एएफसी कपको प्रारम्भिक चरणका खेलमा मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसीसँग एक खेल पनि दशरथ रंगशालामा नै खेल्यो। गत असोजमा साफ यू–१९ फुटबल प्रतियोगिता भयो। उक्त प्रतियोगिताका नौ खेल यही मैदानमा भए। मंसिर ८ देखि पुस १४ गतेसम्म भएको दोस्रो संस्करणको नेपाल सुपर लिगका ४० खेल यहीँ भएका थिए। 

रंगशालामा २०/२५ वर्षदेखि निर्माण भएका भौतिक पूर्वधार सन्तोषजनक नरहेको खेलाडी संघका अध्यक्षसमेत रहेका राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य विक्रम लामा बताउँछन्। बनेका भौतिक पूर्वाधारको गुणस्तर कायम गर्न र थप गर्न एन्फा तथा राष्ट्रिय खेलकुद परिषरले नसकेको उनको भनाइ छ। मैदानको अवस्थाले खेलाडीको व्यक्तिगत प्रदर्शनमा पनि फरक परिरहेको उनको तर्क छ।

“राम्रो भौतिक पूर्वधार भए हामीले खेलहरू गुमाउनु पर्दैन थियो। यसले व्यक्तिगत प्रदर्शनमा त असर गरेकै छ, प्रतियोगिताहरूको आयोजनामा पनि असर गरेको छ,” उनी भन्छन्, “मैदानको कुरा अहिले मात्रै होइन नि, २० वर्ष अगाडिदेखि गुनासोहरू आइरहेका थिए।”

घरेलु दर्शक ‘१२औँ खेलाडी’
घरेलु मैदान र हजारौँ दर्शकले फुटबलमा धेरै फरक पार्छ। यही कारण विश्वका जुनसुकै टोली घरेलु मैदानमा खेल्न चाहन्छन्। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप छनोटका लागि २०११ जुलाई २३ मा अम्मानमा भएको खेलमा घरेलु टोली जोर्डनले नेपाललाई ९–० गोल अन्तरले पराजित गरेको थियो। तर त्यसको पाँच दिनपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोक्यो। 

तर विश्वकप २०२२ र एशियन कप २०२३ छनोटअन्तर्गत दोस्रो चरणमा घरेलु मैदानमा खेल्ने अवसर नेपालले गुमाएको थियो। उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा थियो। नेपाल रहेको समूहमा जोर्डनसँगै अस्ट्रेलिया, कुवेत र चाइनिज ताइपेई थिए। नेपालले ‘होम एन्ड अवे’को आधारमा चार खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो। 

शुरूका चार खेल विदेशी मैदानमा खेलेको नेपालले बाँकी चार खेल पनि विदेशी मैदानमा नै खेल्नु परेको थियो। पाँचौँ खेल २०१९ नोभेम्बर १९ मा कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भए पनि भूकम्पपछि रंगशाला पुर्ननिर्णमानमा ढिलासुस्ती हुँदा ‘तटस्थ भूमि’ भुटानमा आयोजना भयो। पहिलो चरणमा कुवेतसँग ७–० गोलअन्तरले पराजित भएको नेपालले थिम्पुस्थित चाङलिमिथाङमा रंगशालामा भएको खेलमा कुवेतलाई १–० गोलमा रोकेको थियो।

त्यस बेला राष्ट्रिय टोलीबाट खेलेका विक्रम लामा भन्छन्, “छनोट चरण भएको भएर अंकको महत्त्व बेग्लै थियो। हामीलाई जित्नै पर्ने दबाब थियो। यस्तो अवस्थामा कुवेतलाई एक गोलमै रोक्नु उपलब्धि भए पनि अंक पाएनौँ। घरेलु मैदानमा भएको भए समर्थक हुन्थे, हौसला मिल्थ्यो, खेल्ने जोशजाँगर नै अर्कै हुन्थ्यो। नेपालमा भइदिएको भए पराजित नै गर्न सक्थ्यौँ कि!”

नेपालले उक्त खेल गुमाएपछि बाँकी तीन खेल पनि घरेलु मैदानमा खेल्न पाएन। कोरोना महामारीका कारण तीन वटै खेल तटस्थ भूमि कुवेतमा भएको थियो।

गुमाउँदै आम्दानी
फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत गत मंसिर ५ गते यमनविरुद्ध भएको खेल हेर्न १३ हजार ७३५ दर्शक दशरथ रंगशालामा उपस्थित थिए। १५ हजार दर्शक क्षमताको रंगशालामा उपस्थित दर्शकबाट एन्फाले करिब ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो। यस्तै, फिफा र एएफसीबाट करिब ७३ लाख ६८ हजार ४०० रुपैयाँ प्राप्त गरेको थियो। ‘कमर्सियल एन्ड मिडिया राइट्स’ र प्रायोजनबाट गरेको आम्दानी भने एन्फाले देखाएको छैन। 

यसपटक बहराइनविरुद्धको खेल भए एन्फाले कम्तीमा ६० लाख रुपैयाँ कमाउने आँकलन थियो। खेल नहुँदा त्यो आम्दानी गुमेको एन्फा उपाध्यक्ष विराटजंग शाही बताउँछन्। “खेल भए ६० लाखभन्दा बढी नाफा हुने थियो, त्यो गयो। हाम्रा दर्शकहरूले आफ्नै मैदानमा गेम हेर्न पाउँथे, त्यो अवसर पनि गयो,” उनी भन्छन्।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा यसमा एन्फाको कमजोरी देखिएको बताउँछन्। दशरथ रंगशाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मातहतमा भएको कारण सदस्य सचिव टंकलाल घिसिङलाई बेलैमा एन्फाले खबर गर्न नसकेको उनको भनाइ छ। “राखेपको मैदान व्यस्त छ, यस्तो अवस्थामा हाम्रो खेल यो बेला हुँदैछ भनेर खबर गर्नुपर्ने, चिठी लेख्नुपर्ने हो। एन्फाले समयमा मैदान लिएर मर्मत गर्नु पर्ने हो। तर यो सबै गर्न नसक्नु एन्फाको कमजोरी हो,” उनी भन्छन्।

बहराइनले नेपालमा नखेलेको अवस्थामा खेल तटस्थ भूमिमा हुने छ। तर एन्फाले भने उक्त खेल बहराइनमै लगेर खेल्ने योजना बनाइरहेको छ। दुवै खेल बहराइनमा गर्न नहुने एन्फाका अर्का पदाधिकारी बताउँछन्। “बहराइनले मैदान छान्ने होइन, नेपालले नै छान्ने हो। तर अहिले दुवै खेल बहराइनमा गर्ने कुरा पनि छ। यस्तो भयो भने म्याच फिक्सिङको जोखिम हुन्छ,” ती पदाधिकारी भन्छन्, “पहिला २०१९ मा कतारले भुटानमा खेल्न मानेको थिएन। तर एन्फा नेतृत्वले आफूसँग अधिकार रहेको भन्दै थिम्पुलाई रोजेको थियो।”

अर्को रंगशालाको खाँचो छ : महासचिव राई
एन्फा महासचिव किरण राई नेपालसँग एक मात्रै अन्तर्राष्ट्रिय मैदान हुँदा सधैँ गाह्रो हुने गरेको बताउँछन्। सबै खेलको भार यही मैदानले थेगिदिएको कारण फुटबल गतिविधिमा असर परिरहेको उनको भनाइ छ। त्यसैले अन्तर्राष्ट्रिय खेल हुनुअगाडि निरीक्षणमा आउने पदाधिकारीहरू सन्तुष्ट नदेखिने गरेको उनी बताउँछन्।

“विभिन्न कार्यक्रम यही हुने भएपछि फुटबलमा असर त परिरहेकै छ। अहिले पनि त्यहाँ कार्यक्रम छन्। यही बेला हाम्रो प्रतियोगिता पनि थियो,” उनी भन्छन्, “फिल्ड भिजिटमा आएका प्रतिनिधि त्यति खुशी देखिएका छैनन्। परिणाम त के हुन्छ त्यो आधिकारिक पत्र आएपछि थाहा हुन्छ।”

यद्यपि आफूहरूले राखेपलाई यो खेलबारे बेलैमा जानकारी दिएको उनको दाबी छ। तर राखेपले पनि यही मैदानमा विभिन्न कार्यक्रम गर्न दिनुपर्ने दबाब हुन सक्ने राईको भनाइ छ। घरेलु मैदानमा विश्वकप छनोट खेल्न नपाउनु दुखद् हुने उनी बताउँछन्।

तर दरशथ रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नसक्ने रंगशाला नभएको राईको दाबी छ। त्यसकारण अहिले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको ४० देखि ४५ हजार दर्शक क्षमताको रंगशाला आवश्यक रहेको उनी बताउँछन्। नयाँ आधुनिक रंगशाला नबनाए भविष्यमा पनि यस्ता प्रतियोगिताहरू गुमाउँदै जानुपर्ने स्थिति सिर्जना हुने उनको भनाइ छ। तर एन्फासँग यत्रो रंगशाला बनाउने क्षमता नरहेको उनले बताए।

“फिफा र एएफसीबाट आउने रकम मर्मत र सामान्य कामको लागि खर्च गरिरहेका हुन्छौँ। तर ४०/४५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय र आधुनिक रंगशाला बनाउन खर्बौँ लाग्छ नि। त्यो रकम जुटाउन एन्फाबाट सम्भव छैन। त्यसैले फुटबल विकासका लागि सरकारले नै यो काम गर्दियोस् भनेर आह्वान गर्न चाहन्छु,” उनी भन्छन्।


सम्बन्धित सामग्री