Monday, April 29, 2024

-->

राष्ट्रिय अभिलेखालयबाट चोरिएको १ हजार वर्ष पुरानो ‘गाताचित्र’ ५४ वर्षपछि घर फर्किंदै

राष्ट्रिय संग्रहालयबाट चोरिएका यी सम्पदा बेल्जियमका एक संग्रहकर्ताबाट फिर्ता लिन सफल एआरआईका संस्थापक क्रिस्टोफर ए. मारिलेनोले शुक्रबार ब्रसेल्सस्थित नेपाली दूतावासमार्फत नेपाललाई जिम्मा लगाउँदैछन्।

राष्ट्रिय अभिलेखालयबाट चोरिएको १ हजार वर्ष पुरानो ‘गाताचित्र’ ५४ वर्षपछि घर फर्किंदै
नेपाल फर्काइन लागेका एक हजार वर्ष पुरानो ‘गाताचित्र’ र इटुम्बहाको प्राचीन टुँडाल।

काठमाडौँ– नेपालमा भेटिएकामध्ये सबैभन्दा पुरानो मानिने एघारौँ शताब्दीको गाताचित्र राष्ट्रिय अभिलेखालयबाट चोरी भएको आधा शताब्दीपछि बेल्जियमको राजधानी ब्रसेल्सका संग्रहकर्ताले फिर्ता गरिदिने भएका छन्।

अभिलेखालयमा २०२६ सालको अन्त्यसम्म सुरक्षित रहेका र त्यसपछि चोरिएका शिवधर्म, विष्णुधर्म र भागवत पुराणका हस्तलिखित काठका गाताचित्रमध्ये ब्रसेल्समा फेला परेको ‘शिवधर्मशास्त्रम्’ कृतिका दुई थान गाताचित्र घर फिर्ता हुन लागेको हो। २०२४ सालमा स्थापित राष्ट्रिय अभिलेखालयमा वीर पुस्तकालयबाट ल्याइएका राजदरबारका २५ हजार हस्तलिखित ग्रन्थमध्ये यी धार्मिक कृतिहरू पनि संकलित थिए। 

अन्तर्राष्टिय« रूपमा प्रचलित आर्ट रिकभरी इन्टरनेशनल (एआरआई) को पहलमा यो साता ब्रसेल्सस्थित नेपाली दूतावासमा बुझाइन लागेको गाताचित्रसहित इटुम्बहालको पुरातात्विक कलात्मक टुँडाल पनि फिर्ता आउने भएको छ। यी सम्पदा फर्काउन ‘लस्ट आर्टस् अफ नेपाल’ र सम्पदा पुनर्स्थापना अभियानले सोध–अनुसन्धान, पत्राचार तथा कानूनी प्रकृयामार्फत अभियान चलाउँदै आएका थिए।

बेल्जियममा रहेका कला संग्रहकर्ताले आफ्नो परिचय नखुलाई र कुनै कानूनी प्रकृयाबिनै यी सम्पदा फिर्ता गर्न तयार भएको एआरआईका संस्थापक सीईओ क्रिस्टोफर ए. मारिलेनोले जानकारी दिए। “कुनै क्षतिपूर्तिको माग नराखी, बिनाशर्त यसरी सम्पदा फिर्ता हुनुले कला–सम्पदा पुनर्स्थापनाको सरोकार र विश्वासलाई अझ अर्थपूर्ण बनाएको छ,” उनले भने।   

यसअघि २०१३ मार्चमा अमेरिकाको न्यूयोर्कस्थित कला–सम्पदा केन्द्र क्रिस्टिजले अभिलेखालयबाटै चोरिएका अरू गाताचित्रको लिलाम गर्न लागेको सूचना पाएर पुरातत्व विभागले हस्तक्षेप गरेको थियो। लगत्तै इन्टरपोलको सहयोगमा ती सम्पदा फर्काइयो। लिलामी हुन लागेका ती सम्पदामा शिवधर्म र विष्णुधर्मका हस्तलिखित रंगीन काष्ठ गाताचित्र (६ थान) थिए, जसको मूल्य एक लाख ५० हजार डलर राखिएको थियो।

अमेरिकास्थित लिलामगृह क्रिस्टिजले भने यी गाताचित्रहरू सन् १९८९/९० मा पेरिसस्थित क्रिस्टिज संग्रहमा आइपुगेको स्पष्टीकरण दिएको थियो। 

अध्येता प्राध्यापक सावित्री मैनालीका अनुसार यो गाताचित्र माइक्रोफिल्म प्रकृयापछि राष्ट्रिय अभिलेखालयमा राखिएको भए पनि यसको आकृति (प्रतिलिपि) भने त्यति स्पष्ट छैन। गाताको मध्यभागमा उमामहेश्वर बसिरहेको देखिन्छ, जसको व्याख्यान र भूस्पर्श मुद्रा पहिल्याउन सकिन्छ। 

हिन्दू सूक्ष्म चित्रकलाका बारेमा मैनालीले लेखेको कृति ‘हिन्दू मिनिएचर पेन्टिङ्स अफ द काठमाडौँ भ्याली, २००९’ मार्फत् ‘शिवधर्मशास्त्रम्’ कृतिको गाताचित्र अभिलेखालयबाट चोरिएको सूचना पहिलोपटक बाहिर आएको थियो। इतिहासअनुसार ‘शिवधर्मशास्त्रम्’ राजा रुद्रदेवको पालामा नेपाल सम्वत् २९० (वि. सं. ११७०) मा लेखिएको कृति हो। 

विगतमा फर्काइएका गाताचित्र।

यसरी शिवधर्म र विष्णुधर्म पाण्डुलिपिका गाताचित्र क्रिस्टिजबाट नेपाल फर्काइएको घटनाक्रमबारे राष्ट्रिय अभिलेखालयका तत्कालीन प्रमुख एवं पुरातत्वविद प्रकाश दर्नालले अभिलेखालयको वार्षिक जर्नल ‘अभिलेख’ (२०७०, पूर्णांक ३१) मा विस्तृतमा लेखेका छन्। अभिलेखालयमा राखिएका सम्पदाहरू के कसरी र कुन माध्यमबाट चोरिएर युरोपको बजारसम्म पुगे भन्ने प्रश्नको जवाफ भने आउन सकेको छैन। 

हराएका गाताचित्रको अवस्थिति र प्रमाणबारे जानकारी बाहिर आएपछि पुरातत्व विभागले २०६९ चैत २० गते विज्ञ दर्नालकै संयोजकत्वमा उत्तम खनाल, श्यामसुन्दर राजवंशी, सुरेश श्रेष्ठ र राजु रिमालसमेत रहेको पाँच सदस्यीय छानबिन समिति बनाएको थियो। समितिले जर्मन प्रोजेक्टमा माइक्रो–फिल्मिङ भैसकेका शिवधर्म संग्रह, विष्णुधर्म, भागवत पुराण र विष्णुधर्मका गाताचित्रहरू अभिलेखालयबाट हराएको तथ्य बाहिर ल्यायो। 

२०२६ सालमा नेपाल–जर्मनी हस्तलिखित ग्रन्थ संरक्षण परियोजना पूरा हुनासाथै उक्त गाताचित्रहरू हराएको तत्कालीन छानबिन समितिका संयोजक दर्नालको दाबी रहिआएको छ। ती गाताचित्र हराएकोबारे अभिलेखालयका तत्कालीन प्रमुखहरू बलरामदास डंगोल, सानीमैया राणा, सानुनानी कंशाकार, सरला मानन्धर, भीमप्रसाद नेपाल र प्रकाश दर्नाल सबैले ‘आफूलाई थाहापत्तो नभएको’ बताएका थिए। 

“सोधकर्ता मैनालीले अभिलेखालयप्रमुख सरला मानन्धरको कार्यकाल (२०५८–२०६३) मा अनुसन्धान गर्दा शिवधर्मको गाताचित्र नभएकाले माइक्रोफिल्मबाट प्रतिलिपि राखेको भनिन्। तर त्यसबारे सोधीखोजी नगरी एकैपटक १५ मार्च २०१३ मा क्रिस्टिजले लिलाममा राखेका कलाकृतिहरूबारे इमेलका प्रतिलिपिसँगै प्राध्यापक हारुनागाले जानकारी दिएपछि मात्रै इन्टरपोलमा हराएको रिपोर्ट औपचारिक रूपले दर्ता भयो”, अभिलेखालयका तत्कालीन प्रमुख (२०६८–२०७२) दर्नालले ‘अभिलेख’ जर्नलमा लेखेका छन्। 

चोरिएकामध्ये शिवधर्म र विष्णुधर्मका गाता क्रिस्टिज, अमेरिकाबाट अगस्ट १६, २०१३ मा पुरातत्व विभागमा फिर्ता आइसकेका छन्। सन् १९७० को दशकमा एकैचोटि अभिलेखालयबाट हराएको भागवत पुराणको हस्तलिखित कृतिका दुई थान गाता भने अझै फेला परेका छैनन्।   

कलात्मक टुँडाल पनि फर्कंर्दै
गाताचित्रसहित ब्रसेल्सका संग्रहकर्तासँग रहेको अर्को पुरातात्विक महत्वको कलात्मक टुँडाल पनि फिर्ता आउने छ। काठमाडौँको इटुम्बहाबाट २०२६ सालपछि चोरिएको र अहिलेसम्म पत्ता लगाउन नसकिएको कलात्मक काठे टुँडाल आर्ट रिकभरी इन्टरनेशनलका मारिलेनोको पहलमा फर्काइन लागेको हो।

बाह्रौँ शताब्दीको सिर्जना मानिने काठमा कुँदिएको ‘सालभन्जिका याक्षी’ टुँडालको तस्वीर हन्टिङ्टन–अर्काइभमा पनि सुरक्षित छ। एशियाली क्षेत्रका विशेषत बौद्ध सम्पदाहरूको तस्वीर र अभिलेख राख्ने यो परियोजनामा जोन सी. हन्टिङ्टन (सन् १९३७–२०२१) र सुसन एल. हन्टिङ्टन (सन् १९४१) को विशिष्ट योगदान छ।

नेपालको कला–संस्कृति र इतिहासकी अमेरिकी अध्येता मेरी सेफर्ड स्लसर (१९१८–२०१७) ले आफ्नो कृति ‘द एन्टिक्विटी अफ नेप्लिज वुड–कार्भिङ’मा यो कलात्मक टुँडालको सौन्दर्य र महत्ताबारे बुझाएकी छन्। काठमाडौँ महानगरपालिका–२४ को इटुम्बहाल क्षेत्रमा रहेको टुँडालको स्लसरले सन् १९७० मा तस्वीर खिचेकी थिइन्। उनले पुस्तकमा लेखेअनुसार सन् १९७२ मा इटुम्बहाल पुरातात्विक बहाको छानो खसेपछि यसमा रहेका टुँडाल र अरू सम्पदाहरू पनि लथालिंग बनेका थिए। 

हराएका वा चोरिएका नेपाली सम्पदाको सोधखोज तथा घरफिर्ती अभियानमा सक्रिय अभियान ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, इटुम्बहाबाट हराइरहेका तीन वटा कलात्मक टुँडालमध्ये एउटा न्यूयोर्कको ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट’बाट नेपाल फर्काइएको थियो। सन् १९९५ देखि मेट्रोपोलिटन म्युजियममा रहेको यो टुँडाल दुई वर्षअघि ल्याइएको थियो। उक्त टुँडाल अहिले बहाभित्रको बिहारमा यथास्थितिमा सजाएर राखिएको छ। अब ब्रसेल्सबाट फिर्ता आउन लागेको टुँडाल पनि इटुम्बहा बिहारभित्रैको सम्पदा हो। 

को हुन् क्रिस्टोफर ? 
कानूनकर्मी क्रिस्टोफर ए. मारिलेनो (५९) हराएका/चोरिएका सम्पदा/सम्पत्तिको पहिचान तथा घरफिर्तीमा कहलिएका अभियन्ता हुन्। बेलायत, अमेरिका र इटालीमा कार्यालय रहेको आर्ट रिकभरी इन्टरनेशनल (एआरआई) का संस्थापक मारिलेनोले इजिप्ट, आयरल्यान्ड, स्विडेन, सिरिया, इराक, रोमानिया, कम्बोडिया, भारत, बोलिभिया, ब्राजिल, पेरु, इटाली लगायतका मुलुकबाट हराएका/चोरिएका सम्पदालाई घरफिर्ती गराएका छन्। उनी यस्ता अनधिकृत सम्पदाको संग्रह गर्ने म्युजियम, निजी संग्रहकर्ता वा व्यापारीसँग कानूनी समन्वय गर्ने र विवाद सुल्झाउने सफल समन्वयकर्ताका रूपमा परिचित छन्। 

क्रिस्टोफर ए. मारिलेनो

आर्ट रिकभरी इन्टरनेशनल र मारिलेनो स्वयंले सम्पदा घरफिर्तीमा पहल गरेको पछिल्लो उदाहरण भारतबाट चोरिएको आठांैँ शताब्दीको योगिनी मूर्ति थियो, जुन एकजना बेनामी इटालियन कला संग्रहकर्तासँग थियो। उक्त मूर्ति भारत, उत्तरप्रदेशको लोखरीस्थित एक मन्दिरबाट सन् १९८० को दशकमा चोरी भएको थियो। ‘इन्डिया प्राइड प्रोजेक्ट’सँगको समन्वयमा मारिलेनोले २०२२ फेब्रुअरीमा उक्त मूर्ति भारत फर्काएका थिए।

क्रिस्टोफरका अनुसार नेपाल फर्काइन लागेका पुरातात्विक गाताचित्र र कलात्मक टुँडाल सन् १९९० को दशकको शुरूदेखि बेल्जियमका संग्रहकर्तासँग थियो।  

राष्ट्रिय संग्रहालयबाट चोरिएका प्राचीन सम्पदा बेल्जियमका एक संग्रहकर्ताबाट फिर्ता लिन सफल एआरआईका संस्थापक क्रिस्टोफर ए. मारिलेनोले शुक्रबार ब्रसेल्सस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई जिम्मा लगाउँदैछन्। 

“नेपालको सम्पत्ति रहेका गाताचित्र र कलात्मक टुँडाल बेल्जियमको एउटा निजी संग्रहकर्तासँग रहेको जानकारी पाएँ। उत्पत्तिको पहिचानसहितका प्रमाण जुटेपछि शुक्रबार (फागुन १८ मा) ब्रसेल्सस्थित नेपाली दूतावासलाई यी सम्पदा हस्तान्तरण गर्दैछु”, इमेल प्रश्नोत्तरमा मारिलेनोले भने। 

नेपालको पुरातात्विक सम्पदाको पहिचान र घरफिर्तीसम्मको यो क्षणलाई विशेष उत्सवका रूपमा आयोजना गर्न लागिएको ब्रसेल्सस्थित नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले बताए।


सम्बन्धित सामग्री