Wednesday, July 24, 2024

-->

बालमन्दिर जग्गा प्रकरण: पक्राउ परे पूर्वमहासचिव गणेशभक्त

नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा केन्द्र भागमा देखा परेका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ पुर्जी जारी भएको एक महिना ७ दिनपछि आइतबार पक्राउ परेका छन्।

बालमन्दिर जग्गा प्रकरण पक्राउ परे पूर्वमहासचिव गणेशभक्त

काठमाडौँ– नेपाल बाल संगठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा संगठनको तत्कालीन नेतृत्व तहमा रहेका दुई जना व्यक्ति अरूभन्दा धेरै चर्चामा थिए। एक, तत्कालीन अध्यक्ष रीता सिंह। दुई, तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ। सिंह नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहपुत्री भएको र त्यही पहुँचका कारण बाल संगठनको नेतृत्वमा पुगेकाले पनि चर्चामा थिइन्। श्रेष्ठ भने बाल संगठनको सम्पत्ति हिनामिनामा प्रत्यक्ष संलग्न भएकाले नै चर्चामा थिए।

तिनै श्रेष्ठ आइतबार पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ गर्न अनुमति लिएपछि सम्पर्कविहीन बनेका श्रेष्ठलाई आइतबार ललितपुरस्थित उनको निवासबाटै पक्राउ गरिएको सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले उकालोलाई बताए। 

प्रहरीका अनुसार पक्राउ पुर्जी जारी भएपछि श्रेष्ठ भागेर भारत पुगेका थिए। त्यहीक्रममा लुकीलुकी नेपाल आएका उनलाई आउनसाथ पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

काठमाडौँ जिल्ला अदालतले गत वैशाख २७ गते श्रेष्ठसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसमध्ये यसअघि तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरिए पनि बयान लिएर छाडिएको थियो। 

बालमन्दिर प्रकरणमा श्रेष्ठ
अनाथ र सहाराविहीन बालबालिकाको लालनपालन र पढाइका लागि भनेर सरकारले अधिग्रहण गरेर बाल संगठनलाई नक्सालमा जग्गा उपलब्ध गराएको थियो जहाँ संगठनको केन्द्रीय कार्यालय र बालमन्दिर सञ्चालनमा छ। त्यहीमध्ये २९ रोपनी जग्गा सिंह अध्यक्ष बनेपछि व्यापारीलाई सुम्पने निर्णय भएको थियो। बाल संगठनबाट ६० वर्षभन्दा लामो समयका लागि लिजमा हात पारेको जग्गामा अहिले व्यापारिक घराना विशाल ग्रुपको अधिकांश लगानी रहेको बृहस्पति स्कुल सञ्चालन भइरहेको छ। बृहस्पतिबाटै केही जग्गा सबलिजमा हात पारेर विशाल ग्रुपकै धेरैजसो लगानी रहेको राय स्कुल सञ्चालन भइरहेको छ।

बाल संगठनले केही समयअघि मात्र यो लिज सम्झौता रद्द गर्ने निर्णय गरेको छ। लिज सम्झौता रद्द गर्ने निर्णय भएपछि संगठनले दिएको जाहेरीका आधारमा सीआईबीले यसमा जोडिएका २० जना व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

तिनैमध्ये श्रेष्ठ बाल संगठनमा दुई पटक महासचिव बनेका व्यक्ति हुन्। उनी पहिलोपटक २०५४–५५ तिर महासचिव बनेका थिए। दोस्रोपटक भने २०७४ सालमा महासचिव बने। दुवै पटक अध्यक्ष रीता सिंहले उनलाई संगठनको पदाधिकारी बनाएर भित्र्याएकी थिइन्।

पहिलोपटक महासचिव बनेका बेला उनले बाल संगठनको २९ रोपनी जग्गा बृहस्पति विद्या सदनलाई लिजमा सुम्पने सम्झौतामा हस्ताक्षर गरेका छन्। अनि दोस्रोपटक  महासचिव भएका बेला बाल संगठनको टेकुस्थित १ रोपनी ११ आना जग्गा आफ्नै स्वामित्त्व रहेको कम्पनीलाई ३० वर्षका लागि लिजमा मिलाउन पनि उनको भूमिका छ। टेकुको त्यो जग्गामा टहरा निर्माण गरेर उनले आर्थिक लाभ लिइरहेका छन्।

श्रेष्ठमाथि यो भन्दा संगीन आरोप पनि लागेको छ। बाल संगठनले आश्रय दिएका अनाथ र सहाराविहीन बालबालिकालाई संगठनबाटै बेचबिखन गर्ने वा बेपत्ता पार्ने कार्यमा उनी संलग्न रहेको सरकारले नै गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले ठहर गरेको छ। सरकारले २०७७ सालमा गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले संगठनको सम्पत्ति हिनामिना र बालमन्दिरमा भर्ना भएका बालबालिका बेपत्ता पार्ने काममा श्रेष्ठ संलग्न भएको निष्कर्ष निकालेको थियो। 

यो प्रकरणमा बाल संगठनका तत्कालीन अध्यक्ष सिंह, पूर्वमहासचिवहरू श्यामकुमार आले, प्रचण्डराज प्रधान, रामकाजी कोने र सुवासकुमार पोखरेल, संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य, कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्य कृष्णशंकर साहविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। 

प्रहरीले बृहस्पतिका सञ्चालकहरू प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलगायतलाई समेत पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ। 

बालमन्दिर प्रकरण : सम्बन्धित समाचार
पैसाका लागि बालमन्दिरबाटै बेपत्ता पारिन्थ्यो अनाथ र सहाराविहीन बालबालिका
बालमन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको दुई साता बित्यो, कोही पक्राउ परेनन्
बालमन्दिर प्रकरण: रीता सिंहदेखि सिद्धार्थ केडियासम्मलाई पक्राउ पुर्जी, कसको के भूमिका?
बालमन्दिर जग्गा हिनामिना प्रकरणः बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरूद्ध पक्राउ पुर्जी जारी
‘बैंकमा रोक्का’ बाल संगठनको ५१ रोपनी जग्गासम्बन्धी अभिलेख पछ्याउँदा..

सीआईबीले छानबिन थाल्दा बृहस्पति सक्रिय, बाल संगठनको जग्गा ‘लियन’ राखेर लिएको ऋण रातारात चुक्ता
बालमन्दिर प्रकरणमा अख्तियारको प्रवेश, सीआईबी पनि छुट्टै अनुसन्धानमा
२ वर्षमा सकिनुपर्ने बालमन्दिर प्रबलीकरण ४ वर्षसम्म अधुरै, टहरामा उकुसमुकुस छन् बालबालिका
बालमन्दिरको जग्गामा व्यापारीको कब्जा: गैरकानूनी सम्झौता रद्द गर्न सरकारकै असहयोग
बाल संगठनको घरजग्गामा आँखा : नमूना नगर भक्तपुरमा बालगृहलाई नै ‘बारबन्देज’
बालमन्दिरको जग्गामा १० तले कम्प्लेक्स बनाउने विशाल ग्रुपको योजनामा ‘अंकुश’
बाल संगठनबाटै बालक 'बेपत्ता' प्रकरण अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, मानव बेचबिखन ब्यूरोले थाल्यो अनुसन्धान
बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा
बाल संगठनले ५ वर्षको हुँदा बेपत्ता पारेका टुहुरा बालकलाई १७ वर्षदेखि खोजिरहेका मामा
बालमन्दिरको २९ रोपनी जग्गा हडप्ने योजनामा अंकुश, रीता सिंह र मनोज मिश्रबीचको सम्झौता खारेज
बालमन्दिरको बर्बादीमा जोडिएका महासचिव गणेशभक्त : टेकुको जग्गा आफैँले हडपेर व्यापार
बाल संगठनको जग्गा हडप्न गरिएको सम्झौतालाई सरकारकै टेको!
बाल संगठनका पदाधिकारीहरूले गुहारे सरकार– बृहस्पतिलाई जग्गा दिने सम्झौता खारेज गरिदेऊ
बाल संगठनका पदाधिकारी–कर्मचारीबाट बर्बाद अनाथ बालकको जीवन–कथा
लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्‍याएको आयोग प्रतिवेदन
बालमन्दिर प्रकरण : पर्साको जग्गामा पनि व्यापारीको कब्जा, बाबुले निर्णय गरेर छोरालाई दिए
‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’
बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ


सम्बन्धित सामग्री