Saturday, April 27, 2024

-->

बाल संगठनमा बेथिति
बालमन्दिरको बर्बादीमा जोडिएका महासचिव गणेशभक्त : टेकुको जग्गा आफैँले हडपेर व्यापार

बाल संगठनको जग्गा हिनामिनामा तत्कालीन अध्यक्ष रीता सिंहको ‘विश्वासपात्र’को भूमिकामा देखिन्छन् गणेशभक्त श्रेष्ठ। दुईपल्ट महासचिव बनेका श्रेष्ठले नै संगठनको टेकुस्थित जग्गा हडपेर व्यापार गरिरहेका छन्।

बालमन्दिरको बर्बादीमा जोडिएका महासचिव गणेशभक्त  टेकुको जग्गा आफैँले हडपेर व्यापार

काठमाडौँ– उपत्यकामा अहिले सम्भवतः सबभन्दा व्यस्त र सवारी चाप धेरै हुने सडकमा पर्छ, त्रिपुरेश्वर–कालिमाटी सडकखण्ड। यही सडकसँगै जोडिएर टेकुस्थित कनक पेट्रोल पम्पको ठिक अघिल्तिर ‘एल’ आकारमा लस्करै १६ वटा सटर छन्। ती सटरमा मोटरसाइकलका हेल्मेट र विद्युतीय सामग्रीदेखि विभिन्न सामग्रीका पसल र रेष्टुरेन्टसम्म छन्।

सानोतिनो ‘बजार’ बनेको यो ठाउँ पछिल्लो पाँच वर्षयता गुल्जार छ। सटर भाडामा लिएर व्यापार गरिरहेकाहरुले कति कमाउँछन् भनेर त खोल्न चाहेनन्, तर साहुले अचाक्ली भाडा लिइरहेको सुनाए। महिनैपिच्छे भाडा बढाउन खोज्ने, भाडा बुझाउन एक–दुई दिन ढिलो भए सटर खाली गर्न आदेश दिने जस्ता व्यवहार भइरहेको गुनासो गरे। “यत्तिको पसल चल्ने अर्को ठाउँ नपाइएला भनेर छाड्न सकिएको छैन,” त्यहाँका एक व्यापारीले भने। 

     यो पनि: बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ

यी सटर फेयर इन्टरनेशनल प्रालि नामको कम्पनीले बनाएको रहेछ। कम्पनीका सञ्चालक हुन् गणेशभक्त श्रेष्ठ र श्रेष्ठकै नातेदार निकेश प्रधान। रोचक त सटर निर्माण गरिएको जग्गा फेयर इन्टरनेशनल, गणेशभक्त वा निकेश कसैको नाममा छैन। त्यो जग्गा नेपाल बाल संगठन केन्द्रीय कार्यालयको नाममा रहेछ।

बाल संगठनको यो जग्गा ‘लिज’मा लिएर फेयर इन्टरनेशनलले सटर निर्माण गरेको हो। अनाथ, टुहुरा र सहाराबिहीन बालबालिकाको हितका निम्ति खुलेको बाल संगठनले उनीहरुकै निम्ति जोरजाम गरेको जग्गा कसरी व्यापारीको हातमा पुग्यो? जग्गालगायत सम्पत्ति हिनामिनामा कहलिएको बाल संगठनको तत्कालीन नेतृत्व यसमा समेत जोडिन आइपुग्दो रहेछ। त्यसको केन्द्रीय पात्र हुन्– उनै गणेशभक्त। 

बाल संगठनमा बसेर गणेशभक्तले गरेको पद दुरूपयोग
गणेशभक्त श्रेष्ठ को हुन्? बाल संगठनको जग्गालाई उनले व्यापार गर्ने थलो कसरी बनाए? 

नेपाली कांग्रेसका कार्यकर्ताका रूपमा चिनिन्छन् गणेशभक्त। यही परिचयकै बलमा उनी बाल संगठनमा भित्रिएका थिए। कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी पुत्री रीता सिंह तीन दशकअघि बाल संगठनको अध्यक्ष बनेपछि गणेशभक्तको बाल संगठन प्रवेश जुरेको हो। उनको निकटता अहिले गणेशमानपुत्र प्रकाशमानसँग पनि छ।

बाल संगठनका वार्षिक लेखापरीक्षण प्रतिवेदनहरु केलाउँदा गणेशभक्त पहिलोपटक २०५४/५५ मा संगठनको केन्द्रीय कार्यसमितिमा महासचिव बनेको देखिन्छ। महासचिव बनेका उनी केही वर्षपछि औपचारिक जिम्मेवारीबाट त बाहिरिए, तर संगठनमा उनको प्रभाव बढिरह्यो।  

उनकै सक्रियतामा २०७१ भदौ ५ गते संगठनको जिल्ला कार्यसमिति काठमाडौँले टेकुस्थित त्रिुपरेश्वर–कालिमाटी सडकसँग जोडिएको, संगठनको स्वामित्वमा रहेको कित्ता नम्बर ७ र १८ को १ रोपनी ११ आना जग्गामध्ये एक रोपनी जग्गा नरेन्द्रलाल प्रधानलाई लिजमा दिने सम्झौता गरेको थियो। नरेन्द्रलाल गणेशभक्तका जेठान हुन्। 

गणेशभक्तले शुरुमा यो जग्गा आफ्नै नाममा लिज सम्झौता गर्न खोजे पनि अचानक पछि हटेको घटनाक्रमले देखाउँछन्। महाबौद्ध निवासी नरेन्द्रलाल पूर्वराजपरिवार सदस्य हेलन शाहले पत्याउने व्यापारीको रूपमा चिनिन्थे। उनी तत्कालीन राजपरिवार हुँदै नेपाल ट्रष्टको नाममा आइपुगेको टेकुस्थित २१ रोपनी जग्गामा ‘बुधबारे कम्प्लेक्स’ निर्माण गरी भाडामा दिइरहेको यती डेभलपर्ससँग जोडिएका थिए। त्यो कम्पनीको प्रबन्ध निर्देशक (एमडी) रहेका नरेन्द्रलाललाई ट्रष्टको जग्गासँगै जोडिएको बाल संगठनको जग्गा लिजमा लिन गणेशभक्तले नै सुझाएका थिए। 

   यो पनि: बाल संगठनका पदाधिकारी–कर्मचारीबाट बर्बाद अनाथ बालकको जीवन–कथा

बाल संगठनमा ज्वाईं (गणेशभक्त)को प्रभाव रहेका बेला सजिलै जग्गा लिजमा लिन सकिने ठानेर हुनसक्छ, नरेन्द्रलाल उत्साहित भए। त्यो जग्गा त्यसबेला अरूले नै लिजमा लिएर टहरा बनाएका थिए। उपत्यका विकास प्राधिकरणले सडक विस्तारका क्रममा त्यहाँका टहराको अघिल्लो भाग भत्काएको थियो। भत्काइएका टहरा मर्मत गरेर व्यापार गर्ने बहाना बनाएर गणेशभक्तले पुरानो लिज सम्झौता खारेज गर्न लगाए। 

बाल संगठन केन्द्रीय कार्यालयको नाममा रहेको यो जग्गा गणेशभक्तले त्यसपछि संगठनको जिल्ला कार्यसमिति काठमाडौँबाट जेठान नरेन्द्रलाललाई लिजमा दिने निर्णय गराए। हामीले डिल्लीबजारस्थित मालपोत कार्यालयबाट प्राप्त गरेको जग्गाधनी प्रमाण–पत्रले यो जग्गा नेपाल बाल संगठन केन्द्रीय कार्यालय नक्सालको नाममा देखाउँछ। अर्थात् बाल संगठन केन्द्रीय कार्यालयको अनुमतिबिनै जिल्ला कार्यसमिति काठमाडौँले यो जग्गा नरेन्द्रलाललाई लिजमा दिन सम्झौता गरेको रहेछ। यो बदमाशी ढाकछोप गर्न हुनसक्छ, सम्झौता–पत्रमा जग्गा केन्द्रीय कार्यसमिति काठमाडौँको ‘पूर्णस्वामित्व हकभोगको अधिकारमा’ रहेको उल्लेख गरिएको छ। 

सम्झौतामा संगठनको जिल्ला कार्यसमिति काठमाडौँका तत्कालीन सभापति भगवान शाक्यले प्रथम पक्ष र नरेन्द्रलाल प्रधानले दोस्रो पक्षका रूपमा हस्ताक्षर गरेका छन्। संगठनका सचिव राजेन्द्रकुमार श्रेष्ठ र कोषाध्यक्ष प्रयागराज श्रेष्ठ साक्षी बसेका छन्। (हेर्नुहोस् सम्झौता)

शक्तिको आडमा कार्यविधि मिचेर सम्झौता
टेकुस्थित जग्गा बाल संगठन केन्द्रीय कार्यालयको नाममा रहे पनि पञ्चायतकालमा जिल्ला कार्यसमिति काठमाडौँले भोगचलन गर्दै आएको थियो। पछि अनियमितता भएको भन्दै जिल्लाबाट भोगाधिकार खोसिएको थियो। तर, नरेन्द्रलाललाई जिम्मा लगाउन जग्गाको भोगाधिकार पुनः जिल्ला कार्यसमितिलाई नै दिने निर्णय गरेको देखिन्छ। 

२०६९ असोज २५ गते बाल संगठनका अध्यक्ष रीता सिंहको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले त्यो जग्गा जिल्ला कार्यसमिति काठमाडौँलाई ‘हकभोग गर्न दिने’ निर्णय गरेको थियो। त्यसपछि २०७० चैत ८ गते बसेको संगठनको अर्को बैठकले जिल्ला कार्यसमिति काठमाडौँका सभापति भगवान शाक्यलाई ‘सम्पूर्ण अधिकार प्रदान गर्ने’ निर्णय गर्यो।  

    यो पनि: ‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’

गणेशभक्तको स्वार्थमा लिज सम्झौता गराउन थालिएको भेउ पाएपछि संगठनका केही कर्मचारी विरोधमा उत्रिए। तर, त्यसले केही असर पारेन। बरु बाल संगठनको कार्यविधि तथा निर्देशिका २०६४ मिचेरै सम्झौता गरियो।

निर्देशिकाअनुसार खुला प्रतिस्पर्धाबाट मात्र बाल संगठनको जग्गा लिजमा दिन या बिक्री गर्न पाइन्छ। संगठनको जग्गा लिजमा दिँदा राष्ट्रिय समाचारपत्रमा १५–२१ दिनसम्मको समय दिएर कम्तीमा दुईपटक सूचना प्रकाशन गर्नुपर्ने, जिल्लाको हकमा लिजसम्बन्धी सम्पूर्ण विवरण संगठनको स्रोत व्यवस्थापन तथा परिचालन उपसमितिमा पठाउनुपर्ने, सो विवरणको अध्ययनपछि केन्द्रीय कार्यालयको निर्देशनमा जग्गा लिजमा दिने प्रक्रिया अघि बढाउनुपर्ने निर्देशिकामा उल्लेख छ। जिल्लाकै जग्गा लिजमा दिन पनि समाचारपत्रमा अनिवार्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ। (हे. निर्देशिका)

तर, टेकुको जग्गा लिजमा दिँदा कुनै सूचना प्रकाशन गरेको देखिएन। बाल संगठनको तत्कालीन जिल्ला कार्यसमिति काठमाडौँका सभापति भगवान शाक्यले नै सूचना प्रकाशन नगरेको स्वीकारे। अर्थात् नरेन्द्रलाललाई ‘नेगोसेसनका आधारमा’ सोझै जग्गा जिम्मा लगाइयो। 

यसमा शाक्यको दाबी झन् अनौठो छ। उनले आफूलाई कार्यविधि र निर्देशिकाबारे जानकारी नै नभएको बताए। “सायद म हतारिएँ अथवा समाचारपत्रमा सूचना निकालेर प्रतिस्पर्धा गराएर जग्गा लिजमा दिनुपर्छ भन्ने कुरा बुझिनँ। म अधिवक्ता होइन, कानून पनि बुझ्दिनँ। कानुनी पाटोमा मेरो ध्यान नपुगेर पनि हुनसक्छ, समाचारपत्रमा सूचना प्रकाशन गरिएन,” उनले भने। 

उनले काठमाडौँका केही सार्वजनिक स्थानमा जग्गा लिजमा दिनलाई सूचना टाँसिएको दाबी गरे। र, केन्द्रीय कार्यालयको अनुमतिबिना लिज सम्झौता गरेर गल्ती भएको स्वीकारे। तर, यसमा आफूमात्र नभएर संगठनका सबैजसो पदाधिकारी संलग्न रहेको जिकिर गरे।

“बाल संगठन केन्द्रीय कार्यसमितिको नाममा लालपुर्जा भएपनि भोगचलन हामीले गर्दै आएका थियौँ। त्यो बेला हामीले विधान हेरेनौँ, कानूनबारे थाहा भएन। केन्द्रले मौखिक सहमति दिएपछि लिज सम्झौता गरियो। लिखित सहमति माग्नु पर्ने, यसमा हाम्रो गल्ती भयो,” शाक्यले भने, “गलत भएको हो भने संगठनले अहिले पनि सम्झौता खारेज गर्न सक्छ। त्यसमा म आफ्नो हिस्साको कारबाही भोग्न तयार छु।” (हे. शाक्यको भिडियो)

बाल संगठनका कानूनी सल्लाहकार भीम ढकाल भने सार्वजनिक ठाउँमा सूचना टाँस्नुलाई आधिकारिक सूचना मान्न नसकिने बताउँछन्। “कार्यविधिमा जे छ त्यहीअनुसार हुने कामलाई मात्र आधिकारिक मानिन्छ। समाचारपत्रमा छाप्नुपर्ने सूचना सार्वजनिक ठाउँमा टाँसेका थियौँ भनेर उम्कन मिल्दैन,” ढकालले भने।  

सम्झौताअनुसार नरेन्द्रलालले १५ वर्ष अर्थात् २०८६ मंसिरसम्म टेकुको जग्गा भोगचलनको अधिकार पाएका छन्। ‘प्राइम लोकेसन’को यो जग्गाको पहिलो तीन वर्षको भाडा प्रतिवर्ष १० लाख २० हजार, दोस्रो दुई वर्षको वार्षिक ११ लाख २२ हजार र तेस्रो दुई वर्षको प्रतिवर्ष १२ लाख ३४ हजार रूपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, चौथो दुई वर्षमा प्रतिवर्ष १३ लाख ५७ हजार ६२०, पाँचौँ दुई वर्ष वार्षिक १४ लाख ९३ लाख ३ हजार ८२, छैटौँ दुई वर्षमा प्रतिवर्ष १६ लाख ४२ हजार ७२० र सातौँ दुई वर्षमा वार्षिक १८ लाख ६ हजार ९९२ रूपैयाँ भाडा निर्धारण गरिएको छ।

सम्झौता व्यक्तिसँग, अधिकार कम्पनीलाई
नरेन्द्रलालले जग्गाभाडा तिरे–नतिरेको रेकर्ड भने बाल संगठनमा भेटिएन। बरु एकैपटक २०७३ असोज ५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा उनको नाममा ‘फेयर इन्टरनेशनल प्रालि’ नामको कम्पनी दर्ता भएको देखिन्छ। जग्गाको लिज सम्झौता गर्दा नरेन्द्रलालले आफूसमेत संलग्न भई कुनै कम्पनी खोलेमा यो सम्झौतालाई त्यसै कम्पनीले गरेको मानिने र आफ्नो सम्पूर्ण अधिकार सोही कम्पनीमा सार्नसक्ने अधिकार पाएका थिए। सम्झौताको बुँदा ‘च’मा उल्लेख छ, “दोस्रो पक्षले आफूसमेत रहेको कुनै संस्था गठन गरेमा यस सम्झौतलाई त्यसै संस्थाले गरेको मानि आफ्नो सम्पूर्ण अधिकार उक्त संस्थामा सार्न सक्नेछ।” 

कम्पनी रजिष्ट्रारको कार्यालयका एक अधिकारी भने पहिले दर्ता नै नभएको या अस्तित्वमै नआएको कम्पनीमा व्यक्तिले पाएको अधिकार सार्न नपाइने बताउँछन्। “सार्वजनिक महत्वको जग्गामा व्यक्तिले लिज सम्झौता गर्ने, अनि भविष्यमा आफूले खोल्नसक्ने कम्पनीले नै सम्झौता गरेको भनेर मान्नुपर्ने प्रावधान राख्न पाइँदैन। यो असल नियतले गरिएको सम्झौता हुँदै होइन,” ती अधिकारीले भने। 

    यो पनि: बालमन्दिरको थप जग्गा हडप्ने प्रयास, २९ रोपनी जग्गामा मिश्रको ‘कब्जा’

सम्झौताले नरेन्द्रलाललाई ‘जे गर्न पनि’ छुट दिएको उल्लेख गर्दै उनले प्रश्न गरे, “कुनै नयाँ संस्था बन्दा जो पनि संलग्न हुनसक्छ, जति पनि लगानीकर्ता हुन पाउँछन्। आफै मात्रै संलग्न भएर कम्पनी खोल्छु र पहिले आफू (व्यक्ति)ले गरेको सम्झौता पछि आफ्नो कम्पनीले गरेको मानिनेछ भन्न कहाँ पाइन्छ?”

सम्झौतामा थप अनौठो व्यवस्था छ। त्यो हो– कम्पनी दर्ता गर्दा, कुनै नयाँ व्यक्तिलाई कम्पनीमा थप्दा वा स्वामित्व परिवर्तन गर्दा बाल संगठनको जिल्ला कार्यसमिति काठमाडौँबाट अनुमोदन गराउनुपर्ने। 

बाल संगठनका वर्तमान केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले यो सम्झौता नै गैरकानूनी र बदनियतपूर्ण रहेको बताइन्। सम्झौतापछि, कम्पनी खोल्नुभन्दा पहिले जग्गा लिजमा लिएबापत नरेन्द्रलालले बाल संगठनलाई भाडा बुझाएको कुनै कागजात संगठनमा नभेटिएको उनको भनाइ छ। 

“तलदेखि माथिसम्म मिलेर संगठनको कार्यविधि र निर्देशिकाविपरीत सम्झौता गरिएको रहेछ। सम्झौतापछि नरेन्द्रलालले भाडा बुझाएको कागजात फेला नै परेन,” उनले भनिन्। (हे. न्यौपानेको भिडियो

त्यो कम्पनीबारे बुझ्दै जाँदा नरेन्द्रलाल होइन, खासमा गणेशभक्त नै हर्ताकर्ताका रूपमा देखापरे। कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त विवरणअनुसार कम्पनी खोल्दा नरेन्द्रलालले ४० हजार कित्ता र गणेशभक्त आफैले २५ हजार कित्ता सेयर लगानी गरेको देखिन्छ। २५ हजार कित्ता भने बलबहादुर कुँवरको नाममा छ। खोज्दै जाँदा भेटियो, कुँवर नरेन्द्रलाल र गणेशभक्तले भाडामा लगाउन सटर निर्माण गर्दा निर्माण कार्यमा खटिएका रहेछन्। 

कम्पनीमा शैलेन्द्र कुईंकेलको नाममा १० हजार कित्ता सेयर छ। शैलेन्द्र पनि त्यसबेला नरेन्द्रलाल एमडी रहेको यती डेभलपर्समा कार्यरत कर्मचारी रहेछन्।

शैलेन्द्र कुईंकेल।

लिजमा लिएको जग्गामा व्यापार गर्न कम्पनी दर्ता गरेर तम्तयार भएका नरेन्द्रलालको अचानक मृत्यु भयो। त्यसपछि गणेशभक्त यसको सर्वेसर्वा बने। उनले एक महिनामै नरेन्द्रलालको नाममा रहेको सेयर उनका छोरा निकेश प्रधानको नाममा सारिदिए। कम्पनी रजिष्ट्रारको कार्यलयमा पेस गरिएका कागजात केलाउँदा २०७३ फागुन २९ गते नरेन्द्रलालको सेयर निकेशको नाममा सारिएको देखिन्छ। कुँवर र कुईंकेल निमित्त पात्रजस्तै थिए, त्यसपछि कम्पनीमार्फत् गणेशभक्त र निकेश मिलेर व्यापार अघि बढाए।  

बाल संगठनको जग्गामा व्यापार गरिरहेकै बेला संगठनकी तत्कालीन अध्यक्ष रीता सिंहले २०७४ मा गणेशभक्तलाई पुनः संगठनको महासचिव बनाउने पहल थालिन्। तर, संगठनकै जग्गा भाडामा लिएर व्यापार गरिरहेको कम्पनीको सञ्चालक रहेर महासचिव बन्दा विवादमा परिने भन्दै निकटस्थहरुले उनलाई सेयर बेच्न सुझाए। “उहाँ कम्पनीको सञ्चालक रहेरै महासचिव बन्न चाहनुहुन्थ्यो, त्यसो गर्दा अप्ठेरो पर्नसक्छ भनेपछि उहाँले हतार–हतार सेयर बेचेर महासचिव बन्नुभो,” त्यसबेला बाल संगठनमा कार्यरत एक कर्मचारीले भने। 

श्रीमतीको नाममा सेयर राखेर महासचिव
कागजात केलाउँदा गणेशभक्तले कम्पनीको सेयर आफ्नो श्रीमती अनिता प्रधानलाई बिक्री गरेको देखिन्छ। तर, सेयर स्वामित्व कागजी रूपमा श्रीमतीलाई हस्तान्तरण गरिए पनि कारोबार गणेशभक्त आफैले गरिरहेका थिए। कम्पनीका सेयर सदस्य फेरबदल गर्दा प्रथम पक्षलाई जानकारी दिनुपर्ने सम्झौताको प्रावधानअनुसार उनले सेयर बिक्रीका लागि अनुमति मागेर बाल संगठनको जिल्ला कार्यसमिति काठमाडौँलाई पत्र लेखेका थिए। तर, त्यो पत्र फेयर इन्टरनेशनलको नामबाट लेखिएको थियो।

२०७४ भदौ १ को पत्रमा ‘घरायसी र व्यावहारिक कारणले गणेशभक्तले आफ्नो सेयर बिक्री गर्न चाहेको’ उल्लेख गर्दै कम्पनीको सञ्चालक समितिले अनुमोदन गरेको व्यक्तिलाई सेयर बिक्रीका लागि स्वीकृति दिन अनुरोध गरिएको छ। (हे. पत्र)

त्यसपछि बाल संगठनको जिल्ला कार्यसमिति पनि गणेशभक्तको सेयर बिक्रीका लागि स्वीकृति दिन हतारियो। २०७४ भदौ ४ मा सभापति भगवान शाक्यको अध्यक्षतामा बसेको बैठकले कम्पनीले अनुमोदन गरेको व्यक्तिलाई सेयर बिक्री गर्न स्वीकृति दियो। अनौठो के भने बैठकको एक मात्र अजेण्डा गणेशभक्तको सेयर बिक्री थियो। त्यसको १२ दिनपछि जिल्ला कार्यसमितिले बैठकको निर्णयभन्दा फरक पत्र फेयर इन्टरनेशनललाई पठायो जसमा ‘फेयर इन्टरनेशनलाई सेयर बिक्री गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको’ उल्लेख छ। जबकि, बैठकको ‘माइन्यूटिङ’मा गणेशभक्तले चाहेको व्यक्तिलाई सेयर बिक्री गर्न स्वीकृति दिएइको उल्लेख छ। (हे. निर्णय र पत्र)

सेयर बिक्रीको अनुमति पाएपछि २०७४ भदौ ६ गते गणेशभक्तकै अध्यक्षतामा बसेको कम्पनीको सञ्चालक समिति बैठकले त्यसपछिका बैठकको अध्यक्षता निकेश प्रधानले गर्ने निर्णय गर्यो। यो निर्णयपछि गणेशभक्तले आफ्नो सेयर श्रीमतीको नाममा नामसारी गर्ने प्रक्रियालाई तीव्रता दिए। २०७४ कात्तिक १ गते गणेशभक्तले आफ्नो २५ हजार कित्ता सेयर अनिता प्रधानलाई बिक्री गर्न मञ्जुरी पाऊँ भनेर फेयर इन्टरनेशनलमै निवेदन दिएको देखिन्छ। अनौठो चाहिँ निवेदनमा उनले अनितासँगको नाता खुलाएनन्। (हे. निवेदन

त्यही दिन अनिताको नामबाट फेयर इन्टरनेशनलमा दिइएको निवेदनमा उल्लेख छ, “कम्पनीको सेयर बिक्रीमा भएको जानकारीमा आएकाले उक्त सेयरमा लगानी गर्न पाऊँ।” यो निवेदनमा पनि गणेशभक्त र अनिताको नाता खुलाइएको छैन। अनिताले कसको सेयर खरीद गर्न चाहेको भन्ने पनि उल्लेख छैन। (हे. निवेदन

२०७४ कात्तिक १५ गते गणेशभक्तले फेयर इन्टरनेशनल प्रालिको सञ्चालकबाट राजीनामा दिएको, त्यसको भोलिपल्ट सञ्चालक समितिको बैठक बसेको र सोही बैठकमा अनितालाई आमन्त्रित सदस्यको रूपमा भित्र्याइएको कागजातले देखाउँछन्। त्यो बैठकले गणेशभक्तको सेयर अनिताको नाममा सार्ने निर्णय गरेको थियो।

तर, यी निर्णयबारे आफूहरू बेखबर रहेको कम्पनीका सेयरधनीद्वय कुँवर र कुईंकेल बताउँछन्। “मेरो जानकारीअनुसार कम्पनीमा गणेशभक्त नै हुनुहुन्थ्यो, उहाँले श्रीमतीको नाममा सेयर नामसारी गर्ने निर्णय बैठकबाट गराएको मलाई जानकारी छैन,” कुँवरले भने। 

कुईंकेलले पनि यस्तै जवाफ दिए। उनले भने, “उहाँहरू (गणेशभक्त र निकेश) ले के के गर्नुभयो, हामीलाई केही थाहा छैन। हामीलाई सोधेर गणेशभक्तले सेयर नामसारी गर्नुभएको होइन।”

पुनः महासचिव बनेलगत्तै विवादास्पद सम्झौता 
२०७४ पुस ९ गते बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंहले गणेशभक्तलाई संगठनको केन्द्रीय सदस्य मनोनीत गरेको र त्यसको दुई दिनपछि, पुस ११ गते उनी महासचिव बनेको कागजातले देखाउँछन्। तर, कम्पनी रजिष्ट्रारको कार्यालयमा भने २०७५ असोज १६ गते मात्र उनले आफ्नो सेयर अनितालाई बिक्री गरेको अभिलेख छ। अर्थात् फेयर इन्टरनेशनलको सेयरधनी–सञ्चालक रहेरै उनी बाल संगठनको महासचिव बनेका थिए। 

आफ्नो सेयर श्रीमतीको नाममा सारेर मात्र बाल संगठनको महासचिव बनेको देखाउन खोजेका गणेशभक्त कागजी काम र प्रक्रियामा भने चिप्लिएको देखिन्छ।

बाल संगठनको महासचिवमा उनको दोस्रो कार्यकाल झन् विवादित बन्यो। उनी महासचिव रहेकै बेला २०७५ असार १ गते बाल संगठनको जिल्ला कार्यसमिति काठमाडौँ र फेयर इन्टरनेशलबीच पहिले लिजमा लिएको जग्गाबारे पुनः लिज सम्झौता भयो।  

नरेन्द्रलालसँग १५ वर्षलाई (२०८६ मंसिरसम्म) लिज सम्झौता भएको थियो। कम्पनीसँग पनि सोही अवधि राखियो, जग्गाको भाडा भने केही हेरफेर गरियो।

सम्झौतामा प्रथम पक्ष (नेपाल बाल संगठन जिल्ला कार्यसमिति काठमाडौँ) का तर्फबाट पुरानै हस्ताक्षरकर्ता र साक्षी छन्। कम्पनीको तर्फबाट बलबहादुर कुँवरले हस्ताक्षर गरेका छन् भने कुइँकेललाई साक्षी बनाइएको छ। पद नखुलाइएका कुमार खड्का पनि साक्षी बसेका छन्। (हे. कम्पनीसँगको सम्झौता)

बाल संगठनको विधान २०४९ को दफा १६ ले संगठनका पदाधिकारीले आर्थिक कारोबार, ठेक्कापट्टासम्बन्धी व्यवहारमा हिस्सा लिन नमिल्ने भनेको छ। गणेशभक्तले पदाधिकारी रहेरै यस्ता गतिविधि गरेको कागजातबाटै देखिन्छ। 

हामीसँगको कुराकानीमा भने उनले आफूबाट कुनै गल्ती नभएको जिकिर गरे। “यो सम्झौता भगवान (बाल संगठन जिल्ला कार्यसमिति काठमाडौँका सभापति भगवान शाक्य) र रीता दिदी (बाल संगठनका तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह) को समन्वयमा गरिएको हो। मैले कसैलाई दबाब दिएको थिइनँ। म संगठनको महासचिव र कम्पनीमा लगानीकर्ता भएका बेला सम्झौता गरिएको पनि होइन”, गणेशभक्तले भने। 

जेठान (नरेन्द्रलाल) ले कम्पनीमा बस्न आग्रह गरेकाले आफूले सेयर लिएको, तर, त्यो सेयर श्रीमती अनितालाई बिक्री गरेको बताएका गणेशभक्तले पछिल्लो सम्झौताबारे भने सिधै तथ्यसँग नमिल्ने तर्क गरे। बाल संगठन जिल्ला कार्यसमिति काठमाडौँ र फेयर इन्टरनेशनलबीचको सम्झौता हुँदा नरेन्द्रलाल नै कम्पनीमा रहेको दाबी उनले गरेका थिए। जबकि, त्यसबेला नरेन्द्रलालको मृत्यु भइसकेको थियो। (सुन्नुहोस् गणेशभक्तको अडियो

त्यो सम्झौताबारे बुझ्न बाल संगठनका तत्कालीन अध्यक्ष सिंहलाई सम्पर्क गर्दा उनको जवाफ थियो, “मैले जे जति भन्नुपर्ने थियो, पहिल्यै भनिसकेँ। अब म केही बोल्दिनँ।” 

कुँवर र कुईंकेलको कथा
बलबहादुर कुँवरले नरेन्द्रलालकै आग्रहमा टेकुमा लिजमा लिइएको जग्गामा सटरहरू निर्माण गरिदिएका थिए। तर, पारिश्रमिक नपाएको, पटक–पटक धाउँदा पनि पारिश्रमिक नदिएपछि ताकेता गर्नैछाडेको, पछि अचानक आफूले पाउनुपर्ने रकम फेयर इन्टरनेशनलको सेयरमा हालिदिएको जानकारी पाएको उनले बताए। 

पछिल्लोपटक लिज सम्झौता गर्दा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाइएको कुँवर बताउँछन्। “काम गरेको पैसा पाइनँ, अचानक उहाँहरू (नरेन्द्रलाल र गणेशभक्त)ले मैले पाउनुपर्ने रकम सेयरमा हालिदियौँ भन्नुभो। मलाई लिज सम्झौतामा हस्ताक्षर गर्न मन थिएन, हस्ताक्षर गर्न लगाइयो,” उनले भने। 

नरेन्द्रलालको मृत्युपछि गणेशभक्त र निकेशले कम्पनीका गतिविधि र कारोबारबारे कुनै जानकारी नै नदिएको, कम्पनीबाट केही लाभ पनि नपाएको कुँवरले बताए। भने, “कम्पनीले कति कमाउँछ, त्यो रकम कसलाई जान्छ, मलाई थाहा छैन। हामीले बैठक डाक्नुस् भन्दा पनि उहाँहरुले कहिल्यै सुन्नुभएन।” 

उनले कम्पनी छाड्न खोजे पनि नपाएको गुनासो सुनाए, “म हैरान भइसकेको छु। मेरो सेयर किन्नुहोस्, म कम्पनीमा बस्दिनँ भन्दा उहाँहरू (गणेशभक्त र निकेश) मान्नुहुन्न। अब आफ्नो सेयर यतिकै छाड्नुपर्ने अवस्था आएको छ।” (सु. कुँवरको अडियो)

१० हजार कित्ता सेयर रहेका कम्पनीका अर्का सेयरधनी शैलेन्द्र कुईंकेलले नरेन्द्रलालकै कारण फेयर इन्टरनेशनलमा लगानी गर्न बाध्य भएको सुनाए। “नरेन्द्रलाल मेरो हाकिम हुनुहुन्थ्यो, उहाँले आफ्नो कम्पनीमा लगानी गर्न पटक–पटक भन्नुभयो। त्यो बेला मसँग धेरै पैसा नभए पनि कम्पनीको १० हजार कित्ता सेयर किन्न बाध्य भएँ,” उनले भने। 

नरेन्द्रलालको निधनसँगै गणेशभक्तले कम्पनीलाई एकलौटी गर्न खोजेपछि आफूले कम्पनी छाड्न निवेदन दिएको उनले बताए। “नरेन्द्रलाल सर हुँदा कम्पनीका धेरै काम मैले नै हेर्थें। उहाँको निधनपछि हामीलाई पन्छाउन खोजियो। मैले कम्पनीमा नबस्ने निर्णय गरिसकेको छु, तर उहाँहरुले छोड्न दिनुभएको छैन,” कुईंकेलले भने।

उनले बाल संगठन जिल्ला कार्यसमिति काठमाडौँसँग गरेको लिज सम्झौताले पछि विवाद निम्त्याउनसक्ने भनेर आफू त्यतिबेलै चिन्तित रहेको, पछि त्यही नै भएको बताए। “गणेशभक्त बाल संगठनको महासचिव भएका बेला श्रीमतीकै सयेर भएको कम्पनीलाई जग्गा लिजमा दिने सम्झौता गर्दा पछि विवाद आउँछ भन्ने मलाई पहिल्यै शंका थियो,” उनले भने, “विवादमा पर्नेगरी काम नगर्न सल्लाह पनि दिएँ, उहाँले वास्ता गर्नुभएन।” (हे. कुईंकेलको भिडियो) 

जाँचबुझ आयोगले उठाएको प्रश्न  
बाल संगठनको सम्पत्ति हिनामिना र त्यहाँभित्रका बेथितिबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले टेकुको जग्गा लिजमा दिन पहिले नरेन्द्रलाल र पछि फेयर इन्टरनेशनलसँग भएको सम्झौता पारदर्शी, नियमसम्मत र प्रतिस्पर्धी नभएको ठहर गरेको छ। सरकारले २०७७ कात्तिक १७ गते आयोग गठन गरेको थियो।

आयोगले बाल संगठनका केन्द्रीय महासचिव संलग्न कम्पनीलाई नै जिल्ला कार्यसमितिले आफ्नो भोगचलनमा रहेको जग्गा भाडामा दिने निर्णयमाथि प्रश्न उठाएको छ। शुरूमा लिज सम्झौता गर्दा योजनाबद्ध तरिकाले बोलकबोलसम्बन्धी झुटा कागज तयार गरिएको, सम्झौता कार्यान्वयनका लागि पछि कुनै कम्पनी स्थापना गर्नसक्ने र कम्पनी स्थापना गरेको सन्र्दभमा सो सम्झौता उक्त कम्पनीसँग भएको मानिने व्यवस्था उल्लेख गर्नुले संगठनका पदाधिकारीदेखि कर्मचारीसम्मको नियत प्रष्ट हुने आयोगको प्रतिवेदनमा उल्लेख छ।

     यो पनि: लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्‍याएको आयोग प्रतिवेदन

लिज सम्झौता गर्दा ग्रिन कन्सल्ट, शैलेन्द्र कुइँकेल, बलबहादुर कुँवर र नरेन्द्रलाल प्रधानबीच प्रतिस्पर्धा गराएको दाबी गरिएपनि त्यसलाई विश्वास गर्ने आधार नभेटिएको, सम्झौता गरिसकेपछि खोलिएको कम्पनीमा उनीहरू नै संस्थापक शेयरधनी देखिनुले नियत प्रष्ट भएको आयोगको निष्कर्ष छ। 

“सो जग्गा भाडामा लिने–दिने क्रियाकलापका सम्बन्धमा अख्तियारप्राप्त निकायबाट बिस्तृत अनुसन्धान गरी कानूनबमोजिम कारवाही गर्नुपर्ने देखिन्छ,” प्रतिवेदनमा उल्लेख छ। 

आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन। आयोगको सिफारिसकै आधारमा सरकारले संगठनका तत्कालीन अध्यक्ष सिंहसँगै श्रेष्ठलाई पनि २०७७ साल साउन १२ गते बाल संगठनको जिम्मेवारीबाट हटाएको थियो।   

गणेशभक्तका ती काण्ड
बाल संगठनमा पहिलो पटक महासचिव बन्दा गणेशभक्तले बृहस्पति विद्या सदन (जसमा अधिकांश लगानी विशाल ग्रूपको छ) लाई लिजमा दिइएको जग्गाको सम्झौता एकाएक लम्ब्याइदिएका थिए। बाल संगठनको १४ रोपनी ९ आना जग्गाबारे संगठन र बृहस्पतिबीच भएको दोस्रो सम्झौताको अवधि २०६१ माघ १० मा सकिँदै थियो। त्यसपछि सम्झौता खारेज गरिनुपर्ने माग संगठनभित्रै उठिरहेको थियो।

शुरूमा प्रतिस्पर्धाबेगर संगठनका तत्कालीन अध्यक्ष रीता सिंहले बृहस्पतिका संस्थापक पुरूषोतमराज जोशीसँगको मिलेमतोमा यो जग्गा बृहस्पतिको जिम्मा लगाएकी थिइन्। फेरि त्यही गल्ती दोहोर्याउन नहुने माग संगठनभित्र उठिरहेकै बेला गणेशभक्तले २०५८ साल जेठ ८ गते बृहस्पतिसँग थप ३० वर्षलाई लिज सम्झौता गरेका थिए। सम्झौतामा संगठनबाट महासचिवको हैसियतमा उनकै हस्ताक्षर छ।  

      यो पनि- बालमन्दिर प्रकरण : पर्साको जग्गामा पनि व्यापारीको कब्जा, बाबुले निर्णय गरेर छोरालाई दिए

यही सम्झौतापछि बृहस्पति नाफामुखी कम्पनीमा बदलियो, बाल संगठनको भने अधोगति शुरु भयो। त्यही सम्झौताले बृहस्पतिलाई बाल संगठनसँग लिजमा लिएको जग्गा ‘सबलिज’मा पनि दिन मिल्ने विवादास्पद अधिकारसमेत दियो। उकालोले यो प्रकरण उजागर गर्दा गणेशभक्तले पुरानो घटना आफूले बिर्सिइसकेको र यसलाई कोट्याउन आवश्यक नभएको टिप्पणी गरेका थिए।  

गणेशभक्तमाथि बाल संगठनको महासचिव रहँदा संगठनमा आश्रित बालबालिकालाई धर्मपुत्र/धर्मपुत्री बनाएर विदेशी नागरिकको जिम्मा लगाउँदा ठूलो रकम चलखेल गरेको आरोप पनि लागेको छ। उच्चस्तरीय जाँचबुझ आयोगले यस विषयमा श्रेष्ठमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। “धर्मपुत्र/धर्मपुत्री सम्बन्धी शर्त प्रक्रिया २०६५ लागु हुनुभन्दा पहिले संगठनबाट ८७६ जना बालबालिका धर्मपुत्र/धर्मपुत्रीका रूपमा गएबापत प्राप्त भएको सहायता रकम दुरूपयोग भएको हुनसक्ने हुँदा अख्तियारप्राप्त निकायबाट बिस्तृत अनुसन्धान हुनुपर्ने देखिन्छ,” प्रतिवेदनमा उल्लेख छ।


सम्बन्धित सामग्री