Friday, March 29, 2024

-->

बालमन्दिर प्रकरण : पर्साको जग्गामा पनि व्यापारीको कब्जा, बाबुले निर्णय गरेर छोरालाई दिए

अनाथ बालबालिकालाई आश्रय दिन खोलिएका बालमन्दिरको जग्गा बाल संगठनका पदाधिकारीसँगको मिलेमतोमा व्यापारीले हत्याउने शृंखला काठमाडौँमा मात्र सीमित छैन, जिल्ला–जिल्लामा पनि यो ‘धन्दा’ चलिरहेछ।

बालमन्दिर प्रकरण  पर्साको जग्गामा पनि व्यापारीको कब्जा बाबुले निर्णय गरेर छोरालाई दिए

मधेश प्रदेशको एक मात्र महानगर, वीरगन्जमा दीपक शाक्यको अलग परिचय छ। शिक्षाको विकासमा उनी यो क्षेत्रको अगुवाका रूपमा चिनिन्छन्। सार्वजनिक वृत्तमा उनले बौद्धिक व्यक्तित्वको बेग्लै छवि बनाएका छन्। वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा लामो समय प्राध्यापन गरेका उनी अरू विभिन्न शैक्षिक संस्थामा समेत संलग्न छन्।

यिनै परिचयले उनलाई यतिबेला मधेश विश्वविद्यालयको उपकुलपतिको भूमिकामा पुर्‍याएको छ।

शाक्य यसबाहेक अरू कैयौँ सामाजिक गतिविधिमा पनि सक्रिय छन्। तिनै गतिविधिको जगमा उनी २०६८ सालमा नेपाल बाल संगठन पर्साको कार्यसमिति सदस्य बनेका थिए। बाल संगठन अनाथ र असहाय बालबालिकाको पालनपोषण र शिक्षादीक्षाका लागि बालमन्दिर सञ्चालन गर्न स्थापित परोपकारी संगठन हो। काठमाडौँमा केन्द्रीय बाल संगठनबाहेक यसका विभिन्न जिल्लामा पनि यसका संगठन–संरचना छन्।

बाल संगठनको पर्सा जिल्ला कार्यसमितिमा सदस्य रहँदा शाक्यले गरेको एउटा निर्णयले भने उनको बारेमा बनेको छवि र व्यक्तित्वमै प्रश्न उब्जाएको छ।

उनले गरेको त्यो निर्णय हेरौँ। शाक्य बाल संगठन पर्साको कार्यसमिति सदस्य हुँदा २०६८ असार १० गते संगठनको कार्यसमिति बैठकबाट एउटा निर्णय गराएका थिए। त्यो निर्णय थियो, बालमन्दिर सञ्चालन गर्न बाल संगठनले जोरजाम गरेको जग्गा र भवनबारे। वीरगन्जमा बाल संगठन जहाँ छ, त्यहीँ नै संगठनको नाममा २५ कट्टा जग्गा छ। त्यो जग्गामा कार्यालय सञ्चालनका लागि भवन, दुईवटा गोदाम घर पनि बनाइएको थियो।

त्योमध्ये एक भवनसहितको १२ कट्टा जग्गा भाडामा दिने निर्णय त्यस दिनको बाल संगठन बैठकले गरेको थियो।

यस्तो निर्णय गरेको ११ औँ दिनमा, २०६८ असार २१ गते शाक्यले अझ अनौठो अर्को निर्णय गरे। त्यो निर्णय थियो, बाल संगठनको भवनसहितको जग्गा आफ्नै छोरा संकल्प शाक्यलाई भाडामा दिने।

हामीले फेला पारेका कागजातले नेपाल बाल संगठन पर्साका तत्कालीन अध्यक्ष अशोक जयसवाल र दीपक शाक्यका छोरा संकल्प शाक्यबीच २०६८ असार २१ गते बाल संगठनको १२ कट्टा जग्गा २७ वर्षका लागि भाडाको सम्झौता भएको देखाउँछन्।

सम्झौता–पत्रमा ‘नेपाल बाल संगठन केन्द्रीय कार्यालय नक्सालको सहमतिमा’ यो जग्गा भाडामा दिइएको उल्लेख छ। हामीले यसबारे बुझ्न नेपाल बाल संगठनका केन्द्रीय अध्यक्ष विद्या न्यौपानेलाई सम्पर्क गर्‍यौँ। न्यौपानेले जग्गा भाडामा दिने सम्झौता जिल्ला कार्यसमितिले नै गरेको, बुवा कार्यसमितिमा हुँदा छोरालाई जग्गा दिएको देखिएको र यसमा केन्द्रले सहमति नदिएको बताइन्।

“केन्द्रको सहमति केही पनि, कतै पनि देखिन्न। सहमति दिएको भए त केन्द्रको पदाधिकारी पनि सम्झौताको बेला कहीँ न कहीँ हुनुपर्ने, कहीँ न कहीँ देखिनुपर्ने हो नि। तर, त्यस्तो देखिन्न,” उनले भनिन्, “केन्द्रले सहमति दिएको भए चिठी दिएको होला, उहाँहरूले त्यो चिठी देखाए भइहाल्यो नि। कसैले मौखिक भनेको रहेछ भने पनि मुखले भनेकै भरमा सहमति दिएको हुँदैन।”

बाल संगठनबाट भाडामा लिइएको यो जग्गामा संकल्प शाक्यले २०७१ सालदेखि ‘आदर्श सेकेन्डरी स्कुल’ नामको निजी विद्यालय सञ्चालन गरिरहेका छन्।

यो पनि : बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ

बाल संगठन अब १३ कट्टा जग्गामा खुम्चिएको छ। तर, त्यही जग्गा पनि ऊसँग छैन। बाँकी रहेको १३ कट्टा जग्गा र स्थापनाकालमा बनाइएका दुई वटा गोदाम घर वीरगन्ज महानगरपालिकाले प्रयोग गरिरहेको छ। बाल संगठन पर्साका पूर्वकार्यसमिति सदस्य गणेश लाठका अनुसार खाली रहेको भनेर त्यो जग्गा वीरगन्ज महानगरपालिकाले पार्किङका रूपमा प्रयोग गरेको हो। महानगरले पार्किङस्थल बनाएको यो जग्गा अहिले विभिन्न ठेकेदार कम्पनीले ‘हेभी इक्युपमेन्ट’ राख्ने थलोसमेत बनेको छ।

काठमाडौँमा बाल संगठनको केन्द्रीय कार्यालय र केन्द्रीय बालमन्दिर सञ्चालनमा रहेको नक्सालस्थित करिब ५७ रोपनी जग्गा संगठनका तत्कालीन पदाधिकारीसँगको मिलेमतोमा व्यापारीले कब्जा गरेका छन्। बाल संगठनका जिल्ला–जिल्लामा रहेका जग्गा पनि व्यापारीको कब्जामा पुग्न थालेको उदाहरण पर्साको यो घटना हो।

अनाथ बालबालिकालाई राख्ने योजना कागजमै थन्कियो
पर्सामा २०२१ सालमा बाल संगठन र बाल मन्दिर स्थापना भएको हो। जिल्लामा बाल संगठन स्थापना गरिनुको उद्देश्य थियो– सहाराविहीन अनाथ र असहाय बालबालिकालाई संरक्षण गर्ने र पढाउने। बाल संगठन पर्साका निवर्तमान अध्यक्ष रामकिशोर सिंहका अनुसार त्यस्ता बालबालिकालाई पौष्टिक आहार वितरण गर्नु पनि यसको उद्देश्यमै थियो।

पर्सामा बाल संगठन स्थापना भएको पाँच वर्षपछि, २०२६ देखि विपन्न तथा गरिब परिवारका बालबालिकालाई बालमन्दिरमा राखेर पढाउन शुरू गरिएको थियो। त्यतिबेला गरिब तथा विपन्न परिवारका बालबालिकालाई पढाउन भनेर स्थापना गरिएको बालमन्दिर आधारभूत विद्यालय अहिले पनि कायम छ। तर, यो स्थापनाकालको अवस्था भन्दा फरक शैलीमा चलिरहेको छ। विद्यालयका प्राचार्य चन्देश चौहानका अनुसार बालमन्दिर विद्यालय २०३२ सालसम्म बाल संगठन मातहत नै थियो। २०३२ सालमा सरकारले स्वामित्व ग्रहण गरेपछि यो पूर्णतः सरकारी (सामुदायिक) विद्यालय बन्यो।

यो विद्यालयका लागि भनेर ‘राउन्ड टेबल’ नामको गैरसरकारी संस्थाले बाल संगठनकै जग्गामा भवन पनि बनाइदियो। 

कक्षा ८ सम्म पठनपाठन हुने बालमन्दिर विद्यालयमा करिब ३०० विद्यार्थी अध्ययनरत छन्। अहिले बाल संठगनको एउटै कम्पाउन्डभित्र बाल संगठनको जग्गा भाडामा लिएर दीपक शाक्यले सञ्चालन गरेको निजी विद्यालय एकातिर छ, अर्कोतर्फ विगतदेखि सञ्चालन हुँदै आएको सरकारी स्कुल, बालमन्दिर आधारभूत विद्यालय छ।

सरकारी विद्यालयमा आर्थिक अवस्था कमजोर रहेका गरिब र विपन्न परिवारका बालबालिका पढ्छन्। सँगै रहेको, शाक्यले सञ्चालन गरेको आदर्श सेकेन्डरी स्कुलमा वीरगन्जका केही हुनेखानेका बालबालिका पढ्छन्।

शाक्यले जुन भवन र जग्गा भाडामा लिएर निजी विद्यालय चलाएका छन्, त्यहाँ वीरगन्ज र आसपासबाट अलपत्र अवस्थामा उद्धार गरिएका बालबालिकालाई आश्रय स्थल बनाउनेबारे २०६५ देखि २०६७ सालसम्म करिब तीन वर्ष छलफल चलेको थियो। यही विषयमा दुई पटक त जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक नै बसेको थियो।

यो पनि : बालमन्दिरको थप जग्गा हडप्ने प्रयास, २९ रोपनी जग्गामा मिश्रको ‘कब्जा’

तत्कालीन जिल्ला बालकल्याण समिति पर्साकी अधिकृत सावित्री भण्डारी बालमन्दिरमा रहेको बाल संगठनको भवनमा अभिभावकसँग बिछोडमा परेका, हराएको अवस्थामा फेला परेका वा अलपत्र भेटिएका बालबालिकाको लागि विभिन्न सरोकारवालाको सहयोग लिएर सञ्चालन हुने गरी बाल संरक्षण गृह स्थापना गर्ने छलफल चलेको बताउँछिन्। “छलफल निकै अघि पनि बढेको थियो। नेपाल बाल संगठनको केन्द्रमा पनि यसबारे लेखेर पठाइएको थियो,” भण्डारी भन्छिन्, “तर पछि के के भयो, प्रक्रिया नै अघि बढेन।”

बाल संगठन पर्साले त्यो जग्गा शाक्यलाई भाडामा दिएपछि भने त्यहाँ रहेको भवनलाई असहाय बालबालिकाको आश्रयका लागि बाल संरक्षण गृह बनाउने छलफल पनि त्यत्तिकै हरायो।

बाल संगठन पर्साका तत्कालीन अध्यक्ष जयसवाल र शाक्यबीच भएको सम्झौता–पत्रमा पहिलो दुई वर्ष वार्षिक १६ हजार १०० र तेस्रो वर्षदेखि वार्षिक २१ हजार १०० रुपैयाँका दरले जग्गा भाडा सम्झौता भएको छ। २०६८ असार १० को बाल संगठन कार्यसमिति बैठकले भने २१ हजार १०० रुपैयाँ भाडामा प्रत्येक तीन वर्षमा १० प्रतिशत वृद्धि हुने निर्णय गरेको थियो।

बालमन्दिर सञ्चालन गर्न बाल संगठनले जम्मा गरेको जग्गा हत्याएर छोरालाई निजी विद्यालय सञ्चालन गर्न दिएपछि वीरगन्जमा शाक्यले बाल संगठनको जग्गा कब्जा गरेको भनेर आलोचना पनि हुने गरेको छ। बाल संगठनको जुन कार्यसमिति बैठकले यो जग्गा भाडामा दिने निर्णय गरेको थियो, त्यसबेला कार्यसमिति सदस्य रहेका सुबोध गुप्ता जग्गा भाडामा दिने निर्णय गरेको बैठकमा आफू उपस्थित नभएको बताउँछन्। “मैले बैठकको माइन्यूटमा पनि हस्ताक्षर गरेको छैन,” उनले भने।  

यो पनि : ‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’ 

त्यसबेला कार्यसमितिमा रहेका अर्का सदस्य जितेन्द्र पुरुष ढकालको भने फरक तर्क छ। उनी त्यसबेला कोही पनि जग्गा लिन तयार नभएको दाबी गर्छन्। “यो खेर गइरहेको जग्गा थियो, खुला दिशा गर्ने ठाउँ बनेको थियो। अहिले राम्रो भएपछि सबैको आँखा लाग्यो,” उनले भने। 

अहिले मधेश विश्वविद्यालयका उपकुलपति रहेका, त्यसबेला बाल संगठनको कार्यसमिति सदस्य रहँदा आफ्नै छोरालाई जग्गा भाडामा दिने निर्णय गरेका दीपक शाक्य भने आफूले बाल संगठनको जग्गा संरक्षण गरिरहेको दाबी गर्छन्। “बालमन्दिरको अवस्था जीर्ण थियो, बाल संगठनको यो जग्गा विद्यालयलाई भाडामा नदिएको भए अरूले लिन्थे,” उनले भने, “त्यही भएर कार्यसमितिले त्यो बेला जबरजस्ती नै भए पनि यस्तो निर्णय गरेको हो।”

भाडा नतिर्ने, हिसाबमै गोलमाल
वीरगन्जमा रहेको बाल संगठनको जग्गा भाडामा दिएको ११ वर्ष बितिसकेको छ। अनौठो के भने त्यो जग्गाबाट अहिलेसम्म पनि भाडा उठाउन समस्या भइरहेको छ। बाल संगठन पर्साका निवर्तमान अध्यक्ष रामकिशोर सिंहले शाक्यले जग्गा भाडामा लिएपछि लामो समयसम्म भाडाबापत तिर्नुपर्ने रकम नतिरेको बताए। “धेरै ताकेता गरेपछि सम्झौता गरेको ९ वर्षबाट मात्र भाडा तिर्न थाल्नुभयो। म अध्यक्ष भएर आएपछि, निकै ताकेता गरेपछि अहिलेसम्म करिब १६ लाख तिर्नुभएको छ,” सिंह भन्छन्, “फेरि जग्गाको भाडासम्बन्धी हिसाब गर्न ताकेता गर्दा आउनु भएकै छैन।”

सम्झौता–पत्रमा दोस्रो पक्ष भनिएका संकल्प शाक्यले प्रथम पक्ष (नेपाल बाल संगठन पर्सा)लाई भाडा बुझाउँदा त्रैमासिक रूपमा पहिलो किस्ता वैशाख पहिलो साता र चौथो तथा अन्तिम किस्ता माघ मसान्तसम्म बुझाउनुपर्ने उल्लेख छ। प्रत्येक किस्ताको भाडा रकम अग्रिम बुझाउनुपर्ने र अग्रिम नबुझाएमा हर्जाना स्वरूप १० प्रतिशत थपेर बुझाउने सम्झौता–पत्रमा उल्लेख छ।

संकल्पका बुवा दीपक शाक्यले भने भाडा नतिरेको कुरा स्वीकार गरेनन्। आफूले अग्रिम रकम दिएको दाबी गर्दै उनले भने, “अहिलेसम्म मैले सबै पैसा अग्रिम नै दिएको छु। मैले बनाएको करिब दुई करोडको संरचना भोलि बाल संगठनलाई नै दिने हो नि।”

यो पनि : लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्‍याएको आयोग प्रतिवेदन 

उनले बत्तीसमेत जडान नभएको बाल मन्दिरमा आफूले करोडौँका संरचना बनाएको, बाल मन्दिरको भाग खाएर आफूलाई केही नहुने जिकिर गर्दै भने, “मैले एक रुपैयाँ खानुपर्ने छैन। मलाई भगवानले सबै चिज दिएका छन्। बरु मैले जीर्ण सम्पत्ति संरक्षण गरेर राखिदिएको छु।”

उनले आफूलाई दुई लाख भाडा दिन अरू मानिस आइरहेको दाबी गरे। “पार्टी प्यालेस खोल्छु, प्रतिमहिना दुई लाख भाडा तिर्छु भनेर मानिसहरू आइरहेका छन्,” उनले भने, “बाल संगठनको जग्गा शैक्षिक बाहेक अरू प्रयोजनमा लगाउनु हुन्न भनेर मैले त्यसलाई नसुनेको हो। म त ३० वर्षदेखि यहाँ बसेर काम गरेको छु नि। विद्यालय खोल्ने, पर्खाल लगाउने सबै काम मैले गरेँ। यस्ता कुरा आउँदा धेरै दुःख लाग्छ।”

बाल संगठन पर्साका निवर्तमान अध्यक्ष रामकिशोर सिंहले जग्गाको कम्पाउन्ड निर्माण गर्दा खर्च गरेको पैसालाई पनि शाक्यले भाडामा मिलान गर्न खोजेको बताए। “उहाँ बनाइएका संरचनाको लागतलाई पनि भाडामा मिलाउनुपर्छ भनिरहनुभएको छ,” सिंहले भने, “उहाँको कुरा सम्झौता विपरीत छ। हामीले सबै हरहिसाबका लागि लेखा परीक्षकलाई जिम्मा लगाएका छौँ। हिसाब मिलान गरेर यो विषय अब नेपाल बाल संगठन केन्द्रीय समितिको जिम्मा लगाउने हो।”

सम्झौता–पत्रमा भने भाडामा लिइएको जग्गामा पर्खाल तथा तारबार दोस्रो पक्षले लगाएर उपभोग गर्नुपर्ने उल्लेख छ।


सम्बन्धित सामग्री